यो पाटन दरबार क्षेत्रको यस्तो घरको कथा हो, जुन दरबारको हिस्सा होइन, तर दरबारभन्दा कम रोचक पनि छैन।
पुल्चोकबाट जाँदा जब हामी मंगलबजार पुग्छौं, सडकको बायाँ दरबार क्षेत्र छ। त्यहीँ दायाँतिर 'यल: लायकू' रेस्टुरेन्ट छेउमा अर्धगोलाकार गेट छ, जसको सिरानमा लेखिएको छ- 'हौस'।
'यो हौस भनेको के हो?' प्रश्न यहीँबाट सुरू हुन्छ।
यकिन जवाफ त यही घरकाले पनि दिन सकेनन्। छिपछिपे अनुमानसम्म लाउँछन्। कुनै विदेशीले 'इज दिस योर हाउस?' भनेर सोधे होलान्! त्यही हाउसबाट 'हौस' भनिएको हो कि?
नाउँ जसरीसुकै रहेको होस्, यही नाउँ घरको परिचय भने बनेकै छ।
राजकर्णिकारहरूको 'हौस' भनेपछि मंगलबजारमा नचिन्ने कमै होलान्। दरबार नभए पनि दरबारजस्तै लाग्ने यही घरको कथा बुझ्न हामी गेटबाट भित्र छिर्यौं।
पाँच-छ महिना अघिसम्म यहाँ फोहोरको थुप्रो थियो। सामान छरिएका थिए। वर्षको दुई-चारपटक पारिवारिक जमघट हुन्थ्यो, अरू बेला शून्य।
अहिले ‘हौस’ को रूप फिरेको छ। फोहोर छैन। सामान समेटिएका छन्। आँगनका पुराना मूर्ति टिलिक्क टल्काइएका छन्। यही क्रममा थुप्रै पुरातात्विक सामग्री फेला परे, जसको संरक्षण प्रयास भइरहेको छ। र, यसको नेतृत्व लिएका छन्, भूषण शिल्पकारले।
यो भूषणको मामाघर हो। संरक्षणको कुरा परिवारभित्र धेरै पहिलेदेखि चल्दै आएको थियो। उनले पहल थालेपछि साकार रूप लिएको छ।
‘पारिवारिक भेटघाट हुँदा जहिले पनि संरक्षणको कुरा हुन्थ्यो। संरक्षण गर्न सबभन्दा पहिला त पैसा चाहियो। त्यसपछि अग्रसरता कसले लिने? मलाई रूचि लाग्यो। म तात्तिएँ,' भूषणले भने, 'सरसफाइ गर्दा पुराना सामग्री फेला परेपछि झनै हौसला बढ्यो।'
भूषणका अनुसार पहिले यो घरमा १३ परिवार बसोबास गर्थे। समयक्रममा छुट्टभिन्न हुँदै ललितपुरकै विभिन्न ठाउँमा बसाइँ सरे। पुर्ख्यौली घर कहिलेकाहीँ चाडबाडमा भेला हुने थलो मात्र बन्यो।
घरको रौनक भनेकै त्यहाँ बस्ने मान्छे हो। मान्छेले छाडेर गएपछि एक्लो घर कसको साथ पाएर चम्कियोस्?
हौस पनि बिरानो हुँदै गयो। आँगनमा झाडी उम्रे। पर्खाल र भित्तामा लेउ लागे। रूखका हाँगा खिङरिङ्ग हुँदै गए। घरका काठ मक्किँदै गए, खिइँदै गए।
त्यही बेला आयो, २०७२ को भुइँचालो, जसले यो घरमा आंशिक क्षति पुर्यायो। बेलाबेला हुने पारिवारिक जमघट बन्दैजस्तो भयो।
‘रेखदेख गर्ने कोही नभएपछि घर घरजस्तै नहुँदो रहेछ। मलाई साह्रै थक्थकी लाग्थ्यो। मामाघर आउँदा सानैदेखि खेलेको, डुलेको घर बस्नै नहुने भएपछि केही त गर्नैपर्यो भनेर सबैलाई हौस्याएँ,' भूषणले भने, 'सबै जना हुन्छ हुन्छ भन्नुहुन्थ्यो, तर आफ्नो कामधाम छाडेर यो पुरानो घर संरक्षण गर्न तम्सिने को?'
एकदिन भूषणले मावली हजुरआमा र मामालाई प्रस्ताव राखे, 'सबैले मिलेर अलिअलि पैसा जम्मा गरौं। समय म दिन्छु।'
परिवारका सबै राजी भए।
पाँच महिनाअघि भदौ १ गतेबाट 'हौस' संरक्षण अभियान सुरू भयो।
सबभन्दा पहिला बगैंचाको मन्दिर जिर्णोद्धार गरियो। झारपात निकाल्ने, सुकेका रूख हटाउने, पर्खालमा उम्रेको झार उखेल्ने, बाटो सफा गर्ने लगायत काम भए। आँगनमा वल्लोपल्लो घरबाट मिल्काइएका फोहोरको चाङ थियो। ती सबै हटाएर सिनित्त पार्न लगभग महिनादिन लाग्यो।
त्यही आँगनमा नासःद्यः महादेवको मन्दिर थियो। मन्दिरका केही मूर्ति उनले टुटेफुटेको अवस्थामा फेला पारे। कुन टुक्रा कुन देवीको हो ठम्याउन सकेनन्। दैनिक पूजाआजाका कारण ती मूर्तिमा बाक्लो फोहोर जमेको थियो।
भूषणले मन्दिर जिर्णोद्धारमा संलग्न आफ्ना केही साथीभाइको मद्दत लिए। पुरातत्वविद् श्यामसुन्दर राजवंशी र काठमाडौं भ्याली प्रिजरभेसन ट्रस्टका निर्देशक रोहित रञ्जितकारको सहयोग महत्वपूर्ण रहेको भूषण सम्झन्छन्। उनीहरूले ती मूर्ति र मूर्तिका टुक्रा मट्टीतेलले घन्टौं सफा गरे। प्रतिस्थापन भएदेखि पहिलोपटक सफा गरिएको हुन सक्ने भूषण बताउँछन्।
सफा गर्दै जाँदा अनौठा कुरा देखे। वर्षौदेखि सरस्वती भनेर पूजा गरिएको मूर्ति अर्कै देवीको जस्तो देखियो। कसैले भगवती भने। कसैले ठूलो पेट हेरेर गणेश हुनसक्ने लख काटे। जामा पहिरिएकाले कुमार हुनसक्ने अनुमान पनि गरियो।
अनेकथरी कुरा उठ्दा एउटा नयाँ तथ्य अगाडि आयो।
त्यसबेला काठमाडौंमा पुरूषले पनि जामा लगाउने चलन थियो। मन्दिर प्रतिस्थापन गर्दा घरमुलीले आफ्नो मूर्ति राख्ने चलन रहेको संस्कृतिविद्हरूले बताए। जामा पहिरिएको त्यो मूर्ति पनि सरस्वती, भगवती, गणेश वा कुमारको नभएर त्यही घरका कुनै पुर्खाको हुनसक्ने अनुमान गरियो।
'मूर्तिको स्वरूप कुनै भगवानसँग मिल्थेन। अनुमानको भरमा सरस्वती मानेर पूजा हुँदै आएको थियो। संस्कृतिविद्हरूले त्यो मूर्ति हाम्रै पुर्खाको हुनसक्ने अनुमान गर्नुभयो,' भूषणले भने, 'यो हाम्रो निम्ति सबभन्दा ठूलो उपलब्धि थियो। वर्षौंदेखि आफ्नै पुर्खाको मूर्ति आँगनमा थियो, हामीले चिनेका थिएनौं।'
यही क्रममा चोकमा राखिएको घन्टी सफा गर्दा त्यसमा कुँदिएका अक्षर भेटिए। उक्त घन्टी १ सय ८० वर्षअघि स्थापना गरिएको रहेछ। छत्र सिंह नामका व्यक्तिले घन्टी चढाएको त्यसमा उल्लेख थियो।
राजकर्णिकारहरूको यो परिवारमा छ पुस्ता अगाडिसम्म छत्र सिंह नाम गरेका कोही नभएको भूषण बताउँछन्।
'मेरो मामाघरको छपुस्ते नालीबेली हेर्दा छत्र सिंह नाम गरेका कोही देखिन्नन्,' उनले भने, 'त्यसैले यो घन्टी छ पुस्ताभन्दा अगाडि नै स्थापना भएको हुनसक्छ।'
आँगनमा छरपस्ट सामग्री पन्छाउँदै जाँदा एउटा अझै पुरानो मूर्ति फेला परेको उनले बताए। ढुंगाको त्यो मूर्ति पृथ्वीनारायण शाहको पालाभन्दा अगाडि बनेको तथ्य फेला पर्यो।
यति मात्र होइन, भुइँचालोले आंशिक क्षति पुर्याएको वाल्मिकी ऋषिको मूर्ति पनि थियो। भूषणले यो मूर्ति सानैदेखि देख्दै आएका हुन्। कसले, कहिले, किन ल्याए, उनलाई थाहा छैन। यसको विशेषता के भने, यो मूर्ति इन्द्रजात्राको भोलिपल्ट सार्वजनिक रूपमा प्रदर्शन गरिन्छ। यसरी प्रदर्शन गरिनुको कारण पनि उनलाई थाहा छैन।
‘मेरो मावली हजुरबुवाको आमा बिहे गरेर आउनुअघि नै वाल्मिकीको मूर्ति यहाँ थियो रे। के प्रयोजनका लागि ल्याइयो थाहा भएन। कसैले भारतको बिहारतिरबाट ल्याएको हो कि भन्छन्,' उनले भने, 'मूर्ति राम्रो भएकाले इन्द्रजात्रा बेला धेरै मान्छे जम्मा हुँदा प्रदर्शनमा राख्न थालेको हुनसक्छ।'
नासःद्यः मन्दिरभित्रै हनुमानको मूर्ति थियो। अनुहार बिग्रेको अवस्थामा फेला परेको उक्त मूर्ति जिर्णोद्धार गरिएको छ।
'हनुमानको यो मूर्ति हामीले देख्दै आएकोभन्दा फरक छ। यसमा हनुमानको एउटा हातमा गदाको सट्टा हतौडा र अर्को हातमा पहाडको सट्टा आगो छ,' भूषणले भने, 'यो नेवारी शैलीको हनुमान मूर्ति भएको संस्कृतिविद्हरूले बताएका छन्।'
अनुहार नचिनिने अवस्थाका अन्य दुई मूर्ति महादेवका द्वारपाल नन्दी भृंगीको भएको पत्ता लाग्यो। संस्कृतिविद् नुतनधर शर्माले ती मूर्ति चिन्न मद्दत गरेका थिए। यसलाई पुष्टि गर्न उनीहरूले पाटनकै सौगलमा रहेको नासःद्यः मन्दिर गएर हेरे। त्यहाँ पनि नन्दी र भृंगीको मूर्ति यस्तै स्वरूपमा भेटियो। यसले जिर्णोद्धार गर्न सजिलो भयो।
आँगन र मन्दिर सँगसँगै भुइँचालोले क्षति पुगेका घरका भाग पनि पुनर्निर्माण गरिएका छन्। सबै काममा ५ लाख २९ हजार रूपैयाँ खर्च भएको भूषणले बताए।
पाटनको पुरानो इतिहासको एउटा अंश बोकेको 'हौस' घरमा अहिले ताल्चा लगाएर राखिएको छ। कारण सोध्दा भूषणले भने, ‘पूजाका लागि दैनिक बिहान एकपटक खुला गरिन्छ। अरू समय बन्द रहन्छ। दिनभरि कोही नहुने हुँदा यत्तिकै खुला छाडे फेरि सबै बिग्रने डर भयो।’
लगभग मासिने अवस्थामा पुगेको 'हौस' भूषणको सक्रियतामा फेरि ब्युँतिएको छ। यसलाई अझ परिस्कृत गर्दै लग्न सके पाटनकै एक हेर्नलायक गन्तव्य हुनसक्ने उनी बताउँछन्।