(हेर्नुहोस् यो शृंखलाको पहिलो भाग: हवाइजहाज चढ्न हिँडेको थिएँ, समुद्रमा पो लगे!)
सिड्नीको रोज बे अर्थात् पानीबाटै उडेको जहाजले लगातार सात–आठ घन्टाको यात्रापछि बल्ल ओर्लिने तारतम्य देखायो। हामी बिहान साढे ७ बजेतिर न्यूजिल्याण्डको राजधानी वेलिङटनमा ओर्लंदै थियौं।
झ्यालबाट बाहिर चिहाएँ। पानीको किनारमा हजारौं मानिस उभिएका देखिए। दौरा सुरुवाल र भादगाउँले टोपीमा सजिएर बाहिर निस्कँदै गर्दा दायाँ-बायाँ सबै यात्रुका आँखा मैतिर अडिएका थिए।
हवाइजहाजसँग जोडिएको फल्याक टेक्दै मैले भुइँमा खुट्टा राखेँ।
पानी परिरहेको थियो। असाध्यै जाडो लाग्न थाल्यो। त्यहाँ सबैजसो यात्री पानी नछिर्ने न्यानो ओभरकोट लगाइरहेका थिए। म चाहिँ लुगलुग कामिरहेको थिएँ।
नेपालमा ठीक त्यति बेला जेठको गर्मी चलिरहेको थियो। यो दक्षिणी गोलार्द्धमा चाहिँ अत्यन्त चिसो। अनौठो मानिस र अनौठा पहिरनले सबैको ध्यान मैतिर थियो।
यत्तिकैमा भुइँ टेक्नेबित्तिकै एक जना भलादमी म नजिकै आए।
‘एक्स्क्यूज मी, नेपालबाट पाल्नुभएको मिस्टर जोशी यहाँ नै हुनुहुन्छ कि?’ उनले सोधे।
मैले ‘हो’ भनेपछि उनले परिचयपत्र देखाउँदै आफू स्वागत निम्ति वैदेशिक मामिला विभागबाट खटिएर आएको बताए। उनी इबी वेबस्टर थिए।
वेबस्टरले मसँग भएका कागजपत्र मागे। मलाई एकछिन त्यतै बस्न लगाएर कागजपत्रका औपचारिकता पूरा गर्न अन्ततिर लागे। त्यहाँ भएभरका मानिस मलाई ट्वाल्ल परेर हेरिरहेका थिए।
एकछिनपछि फर्केर आएका वेबस्टरले मलाई सोझै भिआइपी कक्षतिर लिएर गए।
भिआइपी कक्षमा पुग्नेबित्तिकै म फेरि एकपटक झसंग भएँ। त्यो कक्ष प्रेसका मानिसले भरिएको थियो। म प्रवेश गर्नेबित्तिकै क्यामराका चर्का फ्ल्यास लाइट धमाधम बल्न थाले।
‘यो के भइरहेको हो?’ म असमन्जसमा आत्तिन थालेँ।
आजभन्दा ६५ वर्ष पहिलेको कुरा। संसार यसरी खुलिसकेकै थिएन। यस्तोमा अघि पनि बाटोभरि मैतिर क्वारक्वार्ती सबैले हेरिरहेका थिए। नेपालबाट आएको नौलो मानिस देखेर पो यसरी प्रेसै जम्मा भएको हो कि भनेर एकछिन मन थामथुम पारेँ।
त्यसपछि वेबस्टरले पत्रकारहरूतिर हेर्दै बोलेको वाक्यले बल्ल मैले कुरो बुझेँ।
‘भलाद्मीहरू, हाम्रो देशका सर एडमण्ड हिलारीले अस्ति मात्रै माउन्ट एभरेष्टको शिखरमा पाइला राखेको यहाँहरूलाई अवगतै छ। हिलारीका साथमा पुग्ने शेर्पा तेन्जिङ नोर्गेका गाउँले उहाँ नै हो। उहाँको शुभनाम जोशी हो। पूरा नाम सत्यमोहन जोशी।’
वेबस्टरले बोल्दाबोल्दै क्यामराका बत्ती फेरि भकाभक बल्न थाले। त्यत्रा बत्ती बलेको देखेर मेरा आँखा नै तिर्मिराउन थाले। लगत्तै एकपछि अर्को प्रश्नको वर्षात् सुरु भयो।
‘मिस्टर जोशी, हिलारी र तेन्जिङले एभरेष्टमा विजय हासिल गरेको समाचार तपाईंले कहिले र कहाँ सुन्नुभयो? त्यो खबर सुन्दा तपाईंलाई कस्तो लागेको थियो?’
मैले न्यूजिल्याण्ड आउँदै गर्दा बाटैमा कोलकाताको ‘अमृतबजार’ पत्रिका पढेर यो जानकारी पाएको उत्तर दिएँ।
अर्कोले फेरि सोधे, ‘सर हिलारी हाम्रै मुलुक न्यूजिल्याण्डको हो भन्ने तपाईंलाई जानकारी थियो कि थिएन?’
मैले सत्य बोल्नुपर्थ्यो। त्यसैले ‘अहँ मलाई थाहा छैन’ भनेर जवाफ दिएँ।
म के कति कारणले यस्तो अभूतपूर्व आतिथ्य पाइरहेको छु भनेर रनभूल्ल थिएँ। कारण उही हिलारीको सफलता रहेछ। सगरमाथा भएकै मुलुकका बासिन्दा आएको क्षण पनि न्यूजिल्याण्डका मानिसको निम्ति एउटा भारी उत्सवै भएको रहेछ। एउटा जात्राजस्तै हिसाबले मेरो स्वागत भइरहेको थियो।
यता म भने हर क्षण ‘अब यसपछि के हुने हो?’ भन्दै आलसतालस थिएँ।
ती बथान पत्रकारका प्रश्न यस्तैमा सकिए पनि त हुन्थ्यो! म त झन् पछि झन् उनीहरूका अनौठा जिज्ञासाले धर्मसंकटमा फस्दै गएँ।
कोही पत्रकार ‘तैंले यतिलाई कतिपटक देखेको छस्?’ भनेर सोध्छन् त कोही ‘त्यस्तो हिउँ नै हिउँ भएको ठाउँमा खेती कसरी हुन्छ?’ भनेर सोध्छन्।
पहिले त मैले त्यो ‘स्नोम्यान’ भनेर कसलाई भनिरहेका हुन् भन्ने नै बुझ्न सकिनँ। त्यसमाथि धमाधम क्यामराका चर्का बत्ती बलिरहेकै छन्। हे राम! यो ममाथि के आइलाग्यो? मैले के बुझ्नु त्यो के हो ‘स्नोम्यान’?
फेरि जवाफ सोच्न पाएको छैन, अर्को पत्रकार ‘तैंले कतिपटक हिमाल चढेको छस्?’ भनेर सोध्छन्!
चढ्दै नचढेको मानिसले के भनेर जवाफ दिने?
म त अलमल्ल पो परेँ।
‘मैले परैबाट हिमाल देखेको चाहिँ छु’ भनेर जवाफ फर्काएँ।
म इमानदारी कुरा गर्ने मानिस। त्यतिबेलासम्म सगरमाथाबारे सुनेको भए पनि त्यसको विस्तृत जानकारीसमेत मलाई थिएन। कस्तो देखिन्छ र कता पर्छ भन्ने आधारभूत ज्ञानसमेत नभएको मानिसले यतिका धेरै प्रश्नको के उत्तर दिने?
जसोतसो त्यो विमानस्थलको पत्रकार सम्मेलन सकियो। मैले चैनको स्वास फेरेँ।
अब हामी विमानस्थलबाट बाहिरिनु थियो। मेरो सुटकेस मिस्टर वेबस्टरले नै बोक्न खोजे। म फेलोशिप पाएर अध्ययन गर्न गएको मानिस पो थिएँ। आफ्नो सुटकेस म आफैंले उठाउने चाहना राखेँ।
‘तपाईं त माउन्ट एभरेष्ट भएको देशबाट आउनुभएको मानिस,’ वेबस्टरले हस्तक्षेप गर्दै लम्केर सुटकेस उठाएपछि भने, ‘हामी न्यूजिल्याण्डवासीका आदरणीय पाहुना पो हो त!’
मलाई यो सब परिस्थितिले अनौठो लगाइरहेको थियो। कस्तो फसाद्?
वेबस्टरले मोटर हाँक्दै मलाई वेलिङटन सहरको मध्यभागमा रहेको पाँचतारे रिजेन्ट होटलमा लगे। होटल भव्य थियो।
मैले जुन किसिमको मानमनितो पाइरहेको थिएँ, त्यसले कता कता लघुताभाष पो हुन थाल्यो। अलिक कमै आतिथ्य देखाइदिए हुन्थ्यो जस्तो भइरहेको थियो। होटल पनि अलिक ठीकठीकैकोमा राखिदिए सजिलो हुन्थ्यो जस्तो लागिरहेको थियो। तर, यस्तो कुरा भन्न पनि मिलेन। त्यसैले चुपचाप बसेँ।
भर्खर होटल पुगेको छु। लन्च खान टेबलमा लगिएँ। फेरि खाना खाँदै गर्दा वेबस्टर भन्छन्, ‘मिस्टर जोशी, यहाँको महत्वपूर्ण पत्रिकाका सम्पादकले भरे ५ बजे तपाईंसँग विशेष वार्ता गर्ने भनेर समय लिएका छन्। डायरीमा नोट गर्नुहोला।’
मैले अलमलकै बीच ‘हुन्छ’ भनेँ।
खानाको टेबलमा मलाई सर्भ गरिरहेकी युवती पनि ‘तपाईं त सर हिलारीसँगै एभरेष्ट चढ्ने तेन्जिङ नोर्गेको गाउँले हुनुहुन्छ, हैन?’ भनेर सोध्न थालिन्।
मैले ‘हो’ भनेर जवाफ दिँदा उनको अनुहारै खुसीले झलमल्ल बल्यो।
फेरि अर्को प्रश्न सोधिन्, ‘तपाईंले हाम्रा सर हिलारीलाई भेट्नुभयो त?’
मैले ‘भेट्न पाएको छैन’ भनेर जवाफ फर्काएँ।
उता खाँदाखाँदै फोन आएको जानकारी पाएर हिँडेका वेबस्टर हाँस्दै टेबलमा म नजिकै आएर भनिरहेका थिए, ‘मिस्टर जोशी, रेडियो न्यूजिल्याण्डले पनि तपाईंसँग समय मागेको छ।’
त्यतिबेलै मिस्टर वेबस्टरले ‘मिस्टर जोशी, अब यहाँ तपाईंको निम्ति मुख्य विषयवस्तु माउन्ट एभरेष्ट, नेपाल, नेपाली र तेन्जिङ नोर्गे हुनेछन्’ भने।
यो सुनेर एकछिन मलाई खलखली पसिना आएजस्तो भयो।
मिस्टर वेबस्टरले मिलाइदिएको तारतम्यअनुसारै म रेडियो न्यूजिल्याण्ड पुगेँ। कुराकानीकै क्रममा त्यहाँका कार्यक्रम प्रस्तोताले ‘तेन्जिङ नोर्गेको गाउँमा गाइने लोकगीतहरू कस्ता हुन्छन्?’ भनेर सोधे।
मलाई बल्ल राहत महशुस भयो।
बल्ल आफूले जानेको प्रश्न सामुन्ने आइपुगेको थियो। लोकगीतका बारेमा त म जानकारै थिएँ। त्यसैले मज्जाले दिल फुकाएर शेर्पा गीत गाएरै सुनाइदिएँ। उनीहरू पनि दंग परे।
अर्कातिर धमाधम पत्रिकाहरूको प्रथम पृष्ठमै मेरो तस्बिरसहितका समाचार आउने क्रम जारी थिए। एक त आफैं अलमलिएर जवाफ दिएको छु। त्यही जवाफका भरमा कत्रो महत्वपूर्ण स्थान मेरा फोटो र समाचारहरूले पाइरहेका छन्! यस किसिमका गतिविधिले मलाई ‘हैन, म पढ्न आएको हो कि के हो?’ भनेजस्तो पारिरह्यो।
जता पनि रातो कार्पेट ओछ्याएका छन्।
यसरी पत्रपत्रिका र रेडियोमा भ्याइनभ्याइ छ। अर्कातिर लगातार आइरहने फोन र खानाको निम्तो। ठूलाबडाहरूसँग भेटघाट तय गरिएका हुन्थे। त्यसबाहेक सोझै मसँग सम्पर्क गर्ने पनि उत्तिकै।
कतिसम्म भने, म बसुन्जेल न्यूजिल्याण्डको ट्याक्सीमा चढ्दा पनि त्यसका चालकले मलाई चिनिरहेका हुन्थे। मैले त्यस्तो माया पाएँ। त्यो सत्यमोहन जोशी भन्दा पनि हिलारीले विजय हासिल गरेको सगरमाथाको देशबाट आएको मानिसका रूपमा मैले पाएको सम्मान थियो। जबकि मेरो बसाइ अवधिभर हिलारी आफैं चाहिँ बेलायततिर थिए।
म तीन महिना त्यहाँ बसेँ।
न्यूजिल्याण्डमा म पुग्दा सप्ताहन्त चलिरहेको थियो। त्यहाँ शनिबार र आइतबार गरेर दुई दिन साप्ताहिक विदा हुन्थ्यो।
कार्यालय खुल्नेबित्तिकै वेबस्टरले मलाई सबैभन्दा पहिले उनी कार्यरत वैदेशिक विभागमा लगे। त्यहाँ पनि विभागीय प्रमुख एएफ क्याम्पबेलको मसँग मुख्य जिज्ञासा नै हिलारीको सगरमाथा विजयलाई लिएर थियो।
त्यसपछि बल्ल मलाई सरकारी तथ्यांकवेत्ता मिस्टर जिइ उडसँग भेटघाट गराइयो। अब बल्ल मेरो आफ्नो काम सुरु भएको थियो।
न्यूजिल्याण्ड सिंगो मुलुक नै तथ्यांकबाट चल्दो रहेछ। महँगी नियन्त्रणदेखि तलब वृद्धिसम्म तथ्यांकहरूको विश्लेषणका आधारमा हुँदो रहेछ। यस्तो अवस्थामा मैले नेपालमा हामीले गरिरहेका कामबारे सुनाउँदा उनीहरू आश्चर्य मान्थे।
काठमाडौंमा सरकारी ठेकेदारको ‘हिटी चोक’ बाट हाम्रो संख्या विभागले कसरी साप्ताहिक मूल्यसूची संकलन गर्छ देखि लिएर वर्षदिन लगाएर जनसंख्या लिनेबारे सुनाएको थिएँ। उनीहरूले मलाई हाम्रो त्यो परम्परागत शैलीभन्दा अब विश्वकै तथ्यांक संकलन विधिसँग एकरुपता हुने तौरतरिका सिकाउँदै गए।
न्यूजिल्याण्डमा रहँदाको बखतै मलाई त्यहाँको संसदमा गएर उनीहरूको कार्यप्रणाली हेर्ने अवसर पनि उपलब्ध गराइएको थियो।
त्यहाँ एक सदनात्मक संसदीय व्यवस्था थियो। जम्मा ८० सदस्यमध्ये ७६ जना गोरा र चार जना आदिवासी माउरी थिए। त्यसैगरी सत्ताधारी नेशनल र विपक्षी लेबर गरेर दुई मुख्य पार्टी।
सभामुखको ग्यालरीमा अतिथिहरूलाई बस्ने विशेष प्रबन्ध मिलाइएको थियो। त्यसैमा मलाई पनि बसाइयो।
त्यस दिन प्रधानमन्त्री होल्याण्डले भर्खरै विभिन्न मुलुकको यात्रा गरेर आएकोमा त्यसैको विवरण प्रस्तुत गरेका थिए। अन्तर्राष्ट्रिय मामिलाहरूलाई लिएर त्यस रात साढे १० बजेसम्म संसदमा भएका चर्काचर्की बहस सुनुन्जेल मलाई राणा शासनबाट मुक्त भएको दुई वर्ष बित्दा पनि अझै गुमनाम अवस्थामा रहेको आफ्नै मुलुकको स्थितिले झकझक्याइरहेको थियो।
त्यो संसदको अगस्त सेसनमा मलाई पाँचपटक त्यसरी विशिष्ट अतिथिका रूपमा सरिक हुने मौका दिइएको थियो।
न्यूजिल्याण्ड रहँदै मैले विभिन्न क्लब अनि संघ संस्थाहरूमा गएर नेपाली संस्कृतिबारे प्रवचन पनि दिएको थिएँ। वाइएमसिए, अप्टिमिस्टिक क्लब, ओभरसी लिग, राइटर्स क्लबदेखि लिएर आदिवासी माउरीहरुको ‘नेगाति पोनेके’।
न्यूजिल्याण्डका आदिवासीहरू आफूलाई ‘माउरी’ भन्ने गर्छन्। उनीहरू खुबै शूरवीर कहलिएका थिए। आफ्नै परम्परा, कला, संस्कृति र रीतिरिवाज थियो।
सन् १६६२ तिर युरोपका आबेल तासमायन नाम गरेका डच नाविक दक्षिण गोलार्द्ध पुग्दा न्यूजिल्याण्डलाई उनले नै सबैभन्दा पहिले पत्ता लगाएका थिए। पत्ता लगाउनेबित्तिकै उनले पहिलोपटक पाइला टेक्न खोज्दा आदिवासी माउरीहरूले उनलाई दुश्मन सम्झेर हमला गरेका थिए। अन्तिममा नसकेपछि तासमायन त्यत्तिकै फर्केर गए। तर, उनले यो जानकारी आफ्नो देशका सबैले थाहा पाउने गरी सार्वजनिक गरिदिए।
नयाँ ठाउँ देखेकै भएर त्यस मुलुकको नाम उतिबेलै न्यूजिल्याण्ड नामाकरण गरिएको थियो।
त्यस्तो मुलुक लामो समय राष्ट्रमंडल (कमनवेल्थ) अन्तर्गत प्रत्यक्ष बेलायतशासित रह्यो। विकासको गति समात्यो। बेलायतसँग ठ्याक्कै बाह्र घन्टाको समय अन्तरमा अवस्थित यो मुलुक भएकै कारण कुनै बेला ‘बेलायती साम्राज्यमा कहिल्यै घाम अस्ताउँदैन’ जस्ता कथन चर्चित थिए।
तीन महिनासम्म आफ्नो विषय अध्ययन र विभिन्न अनुभव समेटेपछि मेरो विदा हुने दिन नजिकै आइपुग्यो।
घर फर्कने तयारी सुरु गरेँ।
त्यसै क्रममा उनीहरूले नै ‘जोशी, फर्कनुअघि तिमीलाई कता कता घुम्न मन छ?’ भनेर सोधे। मैले चाहेका ठाउँहरू घुम्ने व्यवस्था आफूहरूले नै मिलाइदिने पनि उनीहरूले सुनाए।
न्यूजिल्याण्डमा दक्षिणतिर एउटा र उत्तरतिर अर्को गरेर दुईवटा टापू थिए।
मलाई दक्षिणतिर अर्थात् क्राइस्टचर्चबाट मिस्टर ब्रेटले चिठ्ठी पठाएरै निम्ता दिइरहेका थिए। दोश्रो विश्वयुद्धताका नेपालमा बसेर स्वयम्भू बारुदखानामा काम गरेका यी इन्जिनियरले पछि न्यूजिल्याण्डकी युवती बिहे गरेपछि यतै आइपुगेका रहेछन्।
त्यस्ता मानिसले एउटा नेपाली युवक न्यूजिल्याण्डसम्म आइपुगेको खबर अखबारहरूमा छ्यासछ्यास्ती छापिएको देखेपछि असाध्यै जिज्ञासु भएछन्। नेपाल बस्दाको प्रभावले हाम्रो देशप्रति हुरुक्क भएका यी गोरा न्यूजिल्याण्डमा पनि घर सजावटदेखि खानपानसम्म सबै नेपाली पारामा बाँचेका थिए।
उनले मेरो खोजीनीति गरे र चिठ्ठीपत्रमार्फत् नियमित सम्पर्कमा बसिरहे।
मलाई उनी बसेको ठाउँ घुमाउन अत्यन्त लालायित रहेको जानकारी पठाइरहेकै बेला यता पढाइ सकियो, उता विभागका साथीहरूले कतै घुम्न जाने इच्छा छ कि भनेर पनि सोधे।
म ब्रेटको निम्तो मान्न दक्षिणतिर गएँ।
पानीजहाजमा रातभरिको यात्रा गरेपछि बिहानपख त्यो टापुमा पुगेको थिएँ। ब्रेट लिन आए र नेपालीपनले सजिएको उनैको घरमा लगेर राखे।
आफू अधवैंशे भए पनि उनी न्यूजिल्याण्डकी भर्खरकी युवती बिहे गरेर निकै रमाएर बसेका रहेछन्।
म नेपालदेखि पुगेको मानिस भनेर मेरो बारेमा श्रीमतीलाई बताउँदा उनमा कत्रो हौसला देखिन्थ्यो। मेरो अत्यन्त इज्जत गर्नुका साथै ‘नेपालका परिकार यसरी बनाइन्छ’ भनेर जानकारी दिँदै पकाउनसमेत लगाउँथे। नेपालदेखि खानेकुरा बोकेर लगे पनि न्यूजिल्याण्डमा आफ्नो स्वादका खान्की पकाउन नपाएको मैले त्यो दम्पत्तिलाई गुन्द्रुक चखाएँ। उनीहरू खुब रमाए।
मलाई उनीहरूले थुप्रै आफन्त साथीभाइ पनि भेटाएका थिए। यसरी बल्लतल्ल आएको पहिलो नेपाली अब न्यूजिल्याण्डमै बसिदेओस् भनेर उनीहरू चाहना राख्थे।
‘हाम्रा हिलारीले अब नेपालमै बस्ने इच्छा देखाउन थाल्नुभएको छ रे,’ उनीहरू भन्थे, ‘तपाईं पनि अब यतै बस्नुस्।’
म हाँस्दै ‘यतै त छु’ भनेर टारिदिन्थेँ।
त्यहाँ चार दिनसम्म पाहुना लागेर अत्यन्तै रमाइलो क्षण बिताएपछि फेरि वेलिङटन फर्कें।
मेरो आखिरी भ्रमण उत्तरतिरको टापुमा भयो। उत्तर भन्नाले हिलारीको घर भएको क्षेत्र। अकल्याण्ड भएको टापुतिर। अकल्याण्डबाट ४० मिल दक्षिणमा हिलारीको घर पर्थ्यो।
हिलारीको घर एउटा सामान्य पर्यटकले जस्तै बाहिरैबाट हेरेर फर्किएको थिएँ। एक त हिलारी नै त्यहाँ थिएनन्। अर्को, मलाई लैजाने चालकले नै त्यो घर देखाइदिएका थिए।
त्यसरी लैजाने चालकले मलाई हिलारीबारे मोटामोटी बताएका पनि थिए। विशेषगरी उनले त्यहाँ भएका हिउँ पर्ने थुम्काहरू कसरी आरोहण गरेका थिए भनेर जानकारी गराइएको थियो। त्यहाँ त पाँच-छ हजार फिटमै हिउँले ढाकेका डाँडाहरू थिए।
हिलारी बेलाबेला दक्षिणी टापुस्थित माउन्ट कुक पनि चढ्न जाने गरेका रहेछन्। मलाई त्यता गएको बेला त्यो न्यूजिल्याण्डकै सर्वाधिक उँचो शिखर पनि देखाइएको थियो।
यसरी न्यूजिल्याण्डका मेरा तमाम इच्छा पूरा भएपछि फर्कने तयारी सुरु भयो।
न्यूजिल्याण्डका प्रत्येकजसो कार्यालयमा वर्षको एकपटक नाचगान (एनुअल बलडान्स) कार्यक्रम गरेर भव्य रूपले भोजभतेर गर्ने चलन रहेछ। अर्थात्, हरेकजसो तन्नेरी नाचगानका पारखी।
सेप्टेम्बर २८ तारिखको दिन तथ्यांक विभागको हलमा मेरो निम्ति विदाइको भव्य कार्यक्रम राखिएको थियो। विभागका प्रमुख जिइ उड सपरिवार आएका थिए। उनले आफू बसेको स्थानमै मलाई पनि सँगै बस्न लगाए। नाचगान सुरु भयो।
नाचगान भनेपछि मलाई जहिले पनि लैनसिंह बांग्देलको याद आउँछ। म अलिक पहिले सेतो दरबार (अमेरिकी सांस्कृतिक केन्द्र) मा काम गर्थें। पछि बन्द गरिएको त्यो केन्द्र उतिबेला काठमाडौंमा महत्वपूर्ण थलो थियो। यहाँका सम्भ्रान्त र शक्तिशालीहरू बेलाबेला भेला भएर नाचगान गर्थे। त्यस्तो भेलामा राजपरिवारका सदस्यको पनि उपस्थिति हुने गर्थ्यो।
अनि त्यस्ता भेलाको नायक बांग्देलजी हुने गर्थे। उनी असाध्यै नाच्न जान्ने मानिस थिए।
नेपालमा मैले नाच्न जान्ने देखेकै दुई जना हो। एउटा बांग्देल, अर्को नर्मदेश्वरलाल मास्के। मास्के डाक्टर थिए। यी दुवै जना बेलायतमा बसेर आएका।
बांग्देल कलाकार। उनले नृत्य गर्दा पनि एक किसिमको तरंग ल्याउने गरी मुडमा नाच्थे। राजा वीरेन्द्रको राज्याभिषेक बेला रानी ऐश्वर्यले बांग्देलसँग नाचेको घटना उतिबेला निकै चर्चित थियो।
महिलाहरू सितिमिति लोग्ने मान्छेसँग नाच्ने रहर गर्दैनन्। नाच्न जान्ने बांग्देललाई उनी बसिरहेको ठाउँबाटै बोलाएर लगेपछि ऐश्वर्यले साथमा नाचेकी थिइन्। फेरि राम्रो मानिससँग नाच्दा विभिन्न बान्की सिक्न पनि पाइन्छ। बांग्देल यो मामलामा माहिर नै थिए।
दरबारको पार्टी र विदेशीहरूको जमघटमा यस्ता नाच बारम्बार आयोजना हुन्थे। बांग्देल त्यस्ता समारोहमा प्रायः नटुटाएर निम्त्याइन्थे।
उनी मानिस पनि चिटिक्क परेका, चट्ट अनि छरितो ज्यानका थिए। हल्का रक्सी पिएपछि झनै रसिक भइहाल्थे। त्यो ताका उनीसँग मेरो नियमितजस्तै भेटघाट हुन्थ्यो।
अमेरिकी सांस्कृतिक केन्द्रमा मिस हाइटावर निर्देशक थिइन्। उनी त नृत्यमा झनै सिपालु। मिस हाइटावर पनि नृत्यका निम्ति बांग्देलै रोज्थिन्।
त्यहाँ बांग्देलसँग नाच्न अन्य महिलाहरू पनि खुबै रहर गर्थे। राजदरबारकै छोरीबुहारीहरू पनि उत्तिकै हुन्थे। प्रिन्सेप शाह पनि नाच्थिन्। ‘मे आई रिक्वेस्ट यु टु डान्स’ भन्थे र बांग्देललाई उठाएर लैजान्थे।
म चाहिँ उही मिस हाइटावरसँग बेलाबेला नाच्थेँ।
न्यूजिल्याण्डमा मेरो विदाइको निम्ति चलिरहेको भव्य बल डान्स पार्टीका बेला म तिनै कुरा सम्झेर अनि आफूसँग राखिएका जिज्ञासाको उत्तर दिएर बसिरहेको थिएँ।
त्यतिबेलै तथ्यांक विभागका प्रमुख जिइ उडकी छोरी सुश्री उड मेरो छेउकै कुर्सीबाट जुरुक्क उठिन्। मेरो अनुहार सामुन्ने ल्याएर हत्केला लरक्क लर्काइन्। र, उसैगरी भनिन्, ‘मे आई रिक्वेस्ट यु टु डान्स?’
म उठेँ। सुश्री उडको प्रस्तावलाई इज्जतका साथ स्वीकार्दै उनको हत्केला समातेँ।
हामी नाच्न थाल्यौं।