२०१० जेठ १९ गते।
गौचरन एयरपोर्टबाट दिउँसो ३ बजे उडेको इन्डियन नेसनल एयरवेजले बेलुकी पटना पुर्यायो। त्यसको ११ वर्षपछि मात्र हो, त्रिभुवन विमानस्थल बनेको।
उतिबेला गौचरन एयरपोर्टबाट उड्ने भनेकै पटना मात्र थियो। पटनाबाट अर्को जहाज चढेर मुजफ्फरपुर। त्यसपछि फेरि अर्को जहाज चढेर कोलकाता।
कोलकाता पुगेकै दिन बेलायतकी वर्तमान महारानी एलिजाबेथ द्वितीयाको राज्याभिषेक थियो। त्यसको तीन दिनअघि मात्र न्यूजिल्यान्डका एडमण्ड हिलारी र नेपालकै तेन्जिङ नोर्गे शेर्पाले सगरमाथामा पहिलो मानव पाइला टेकेका थिए। यता भर्खर त्यो खबर आइपुगेको थियो। काठमाडौंमा त हामीले थाहा पनि पाएका थिएनौं।
त्यतिबेला न्यूजिल्यान्डमा बेलायतकै प्रभाव थियो। हिलारीले सगरमाथामा विजय हासिल गरेको क्षणलाई रानी एलिजाबेथको राज्याभिषेकसँग जोडेर कोलकातामा भव्य उत्सव मनाइँदै थियो।
यता म नेपालबाट न्यूजिल्यान्ड जानकै निम्ति कोलकाता लगिएको थिएँ।
मलाई सगरमाथाको सन्दर्भबारे केही ख्याल थिएन। एउटा छात्रवृत्ति पाएर न्यूजिल्यान्ड पढ्न जान लागेको मेरा निम्ति यो एक संयोग मात्र थियो।
कोलकातामा ‘दी ग्रेट इस्टर्न’ भन्ने असाध्यै भव्य होटल थियो। मैले अब प्रयोग गर्ने ‘ब्रिटिस ओभरसिज एयरवेज कर्पोरेसन’ को टिकट सुविधाअन्तर्गत त्यो होटलमा बस्न पाइने रहेछ। नभए त्यस्तो होटलबारे मलाई थाहा पनि थिएन। होटलकै गाडी विमानस्थलमा लिन आएको थियो।
यसरी कोलकाता पुगेपछि दिनभर घुमेँ। पाउन्ड साटेँ। त्यो बेला अहिलेजस्तो न्यूजिल्यान्डमा डलर नभएर बेलायतको पाउन्ड नै चल्थ्यो।
त्यति बेला नेपालमा राष्ट्र बैंक खुलेको थिएन। यहाँ विदेशी मुद्रा पाइँदैन थियो। बाटोमा अष्ट्रेलिया पनि पर्ने भएकाले कोलकातास्थित महावाणिज्य दूतावास गएर त्यहाँको पनि भिसा लिएँ।
म बसेकै होटलमा बेलुकी रानीको राज्याभिषेक र सगरमाथा विजयको धुमधामै कार्यक्रम थियो। बल डान्स चलिरहेको। यसो चिहाएको त गजबै सिँगारिएको देखेँ।
एकछिन त्यहाँको रमिता हेरेँ। भोलि बिहानै उड्नुपर्ने भएकाले सुतिहालेँ।
भोलिपल्ट सबेरै जहाजको गाडीले लिन आइहाल्यो।
त्यति बेला थोरै मात्र नेपालीलाई न्यूजिल्यान्ड भन्ने देश पनि छ भन्ने थाहा थियो। हामीबीच न व्यापार सम्बन्ध थियो, न दौत्य सम्बन्ध। २०१३ सालमा संयुक्त रूपले तयार पारिएको दुग्धशाला र २०१८ सालमा दौत्य सम्बन्धपछि बल्ल दुई मुलुकबीच सम्बन्ध जोडिएको हो।
वास्तवमा भन्ने हो भने मलाई त यो न्यूजिल्यान्ड भन्ने देश कतातिर पर्छ भन्ने नै भ्रम थियो। अन्तिममा 'ल्यान्ड' जोडिएका सबैजसो मुलुक युरोपकै हुन्थे। म पनि उतिबेला न्यूजिल्यान्ड युरोपमै पर्छ होला भन्ठान्थेँ। मान्छे र घरहरू पनि त उतैका जस्ता देखिन्थे।
मेरो न्यूजिल्यान्ड भ्रमण ‘युनाइटेड नेशन्स टेक्निकल एसिस्टेन्स एडमिनिस्ट्रेसन’ (युएनटिएए) मार्फत थियो। त्यसैका माध्यमबाट राष्ट्रसंघले विकासशील राष्ट्रकाहरूलाई 'फेलोसिप' दिँदोरहेछ, जुन मैले पाएको थिएँ।
त्यो बेला नेपाल राष्ट्रसंघको सदस्य भइसकेको थिएन। तै पनि यहाँको विकास कार्यमा सहयोग पुर्याउन सुरु गरिसकेको थियो। यस्तो अवस्थामा युएनटिएएका आर्थिक विकास तथा जनप्रशासन प्रमुख होबार्ड डानियलले न्यूयोर्कबाट नेपालका निम्ति चारवटा फेलोसिप प्रदान गरिएको पत्र पठाएका थिए।
चारवटामध्ये एउटा हाम्रो संख्या विभागमा आइपुग्यो। राणाकालमै भीमबहादुर पाँडेको नेतृत्वमा स्थापित यो औद्योगिक व्यापारिक समाचार संग्रह अड्डा र यसमा मेरो संलग्नताबारे मैले अघिल्लो लेखमा उल्लेख गरिसकेको छु।
उतिबेलै राष्ट्रसंघको जनसंख्या डिभिजनले विश्वभरि एकरुपता आउने गरी जनगणना गर्न हाम्रै कार्यालयमार्फत काम लिन थालेको थियो। यस्तो तथ्यांक संकलन गर्ने मामिलामा हामी असाध्यै कच्चा थियौं। हामीले सुरु गर्नुअघि यस्तो कुराको परम्परै थिएन। त्यसैले सुरुमा त हामीलाई राष्ट्रसंघले नयाँदिल्ली लगेर तालिम दिएको थियो। त्यहीँबाट संसारभरका जनगणना एकै ठाउँमा राखेर तुलनात्मक अध्ययन गर्न मिल्ने गरी एकरुपताका साथ संकलन गर्ने विधि र प्रश्नहरू हामीलाई उपलब्ध भएको थियो।
विश्वभरि चलाइएको त्यो कार्यक्रमअन्तर्गत दक्षिणपूर्वी एसिया अर्थात् यतातिरको बर्मा, श्रीलंका, थाइल्यान्ड, भारतजस्ता मुलुकका निम्ति दिल्लीमा ‘इन्टरनेसनल ट्रेनिङ सेन्टर अन सेन्सस एन्ड पपुलेसन’ भनेर तालिम केन्द्र नै खोलिएको थियो।
हामी नेपालको तर्फबाट जनसंख्याको तथ्यांक लिन पाँच जना र कृषिको तथ्यांक लिन एक जना नयाँदिल्ली गएका थियौं। तालिम सकेर आएपछि हामी काम गरिरहेका थियौं।
त्यही बेला तथ्यांक संकलनबारे तेस्रो मुलुक गएर अझ अगाडिको अध्ययन गर्न यस्तो फेलोसिप आएको थियो। मैले पाएको फेलोसिप न्यूजिल्यान्ड जाने र ‘आर्थिक विकाससँग सम्बन्धित तथ्यांक संकलन’ पढ्ने थियो।
विभागमा आएको त्यो फेलोसिप एक जनाको निम्ति थियो। हामी विभागमा काम गर्ने पाँच जना अधिकृत थियौं। त्यसमध्ये म सबभन्दा कनिष्ठ। ओहोदा र तलब त हाम्रो एक समान थियो। तै पनि काम गर्ने ठाउँमा मानमनितोका हिसाबले जेठा दाइ, माइला दाइदेखि कान्छासम्म थियौं।
पहिलोले प्राथमिकता पाए पनि जेठाले जाने रुचि नै लिएनन्। माइलाले पनि मानेनन्। सबैले नमानेपछि अन्तिममा ‘ल कान्छा भाइले के गर्ने?’ भनेर सोधे।
यसरी कसैले नमान्नुको पनि कारण थियो।
त्यो बेला यो न्यूजिल्यान्ड भन्ने देश कहाँ हो कहाँ? खोजी गरेपछि दक्षिणी गोलार्द्ध (एन्टार्कटिका) को सबभन्दा नजिकमा छ भन्ने पत्तो लाग्यो। अनकन्टार यस्तो ठाउँमा जान जो पनि तर्सिने।
त्यतिन्जेल कुनै नेपाली पुगेका छन् कि भनेर सोधिखोजी गर्दा पनि अष्ट्रेलियासम्म मात्र पुगेको पाइयो। न्यूजिल्यान्डमा त आजसम्मै कोही नपुगेको सुनियो। विद्यार्थी जीवनमा पढेको डड्ली स्ट्याम्पको भूगोलसम्बन्धि किताब पल्टाउँदा पनि यो मुलुकबारे असाध्यै थोरै उल्लेख थियो। त्यस्तो अनकन्टार।
यस्तोमा अरु कोही जान मानेनन्। मलाई भने जान मन लाग्यो। अज्ञात ठाउँमा घुम्न जाने उत्सुकता र रहर पहिल्यैदेखि थियो।
‘ल जाने भए तपाईं गए हुन्छ’ भनेपछि म तयार भएको थिएँ।
त्यो बेलासम्म हुलाक विभाग थिएन। चिठ्ठी ल्याउने-लैजाने काम हुन्थ्यो। तर, अड्डा थिएन। जाने बेला आइसक्यो। मेरो कागजपत्र आउँदैन त!
भद्रकालीको माथिल्लो तल्लामा एउटा कोठामा भएभरका चिठ्ठीपत्रको डंगुर थुपारिएको थियो। बाहिरबाट जे जति चिठ्ठी आउँथ्यो सबै त्यही रासमाथि खन्याउने। अनि त्यहीँबाट छुट्याएर फरक फरक ठाउँमा लगिन्थ्यो।
समय घर्किने अवस्थामा पनि मेरो कागजपत्र आएन। म त्यही कोठामा मेरा कागजपत्र खोज्दै पुगेँ।
त्यहाँको रासमा खोज्न थालेँ। मेरो निम्ति आएको चिठ्ठी भेटियो। विदेशीहरूले कत्रो विश्वासमा पठाएको त्यो चिठ्ठीभित्र मेरा सबै कागजातदेखि लिएर उड्ने टिकटसम्म अटाएको थियो। यहाँ चाहिँ त्यस्तो थुप्रोमा पुरिएर बसिरहेको।
त्यो नेपाल सरकारले पठाउने वा सरकारी खर्चको कुरा थिएन। सबै उतैबाट आउनुपर्ने। त्यस्तो चिठ्ठी त्यसरी थुपारेर राखिरहेको थियो। भेट्ने बित्तिकै म हतार हतार तयारीमा लागेँ। किनभने दुई-चार दिनमै उडिहाल्नु थियो। त्यो बेला विदेश यात्रा तत्काल बन्दोबस्त मिलिहाल्ने कुरा पनि थिएन। चिठ्ठीभित्र टिकटसहित विभिन्न सुझाव थिए। त्यहीअनुसार हतारमा यात्रा तयारी अघि बढाएँ।
पासपोर्ट पनि हुन्थेन। एउटा लिखित कागज हुन्थ्यो। काठमाडौंस्थित बेलायती दूतावासले नै न्यूजिल्यान्डको राहदानी जारी गर्थ्यो। स्वास्थ्यसम्बन्धी रिपोर्ट पनि कोलकाता पुगेर बनाउनु परेको थियो। पैसा साट्ने त झन् कुरै थिएन। यस्तो अवस्थामा कोलकाता पुगेरै मैले अधिकांश प्रक्रिया पूरा गरेको थिएँ।
कोलकाताबाट उडेको भयंकर ठूलो बिओएसी जहाजले मलाई सिंगापुरतिर लग्यो।
त्यो बडेमानको बिओएसी बेलायतबाट विभिन्न स्थान हुँदै अष्ट्रेलिया पुग्ने हिसाबले आएको थियो। जहाजमा हामी कहाँ र कति उचाइमा उडिरहेका छौं भन्ने विवरण बेलाबेला नक्सासमेत बोकेर आएका परिचारिकाले लाउडस्पिकर प्रयोग गरेर सुनाउँथिन्। ती परिचारिकाले बाटोमा पर्ने हेर्नेलायकका ठाउँको बयान पनि गर्थिन्।
यसरी सिंगापुरको कालाङ एयरपोर्टमा ओरालेपछि भव्य राफेल होटलतिर लगे।
सिंगापुरमा जताततै चिनियाँहरूका रमाइला पसल थिए। ठाउँ ठाउँमा चिनियाँहरू खर्पन बोकेर हिँडेको पनि देखिन्थ्यो।
राति खाना खान पुग्दा होटल त बन्द भइसकेछ। मलाई फरक मुलुकमा पुगेपछि त्यहाँको समयअनुसार घडी मिलान गर्नुपर्छ भन्ने थाहा भएन। नेपालको समयअनुसार खान पुग्दा होटल त राति अबेर भएकाले बन्द भइसकेको। यस्तो अवस्थामा झोलामा नेपालबाटै बोकेर लगेको च्यूरा र रोटी थियो। त्यही खाएर सुतेँ।
भोलिपल्ट बिहानै सिंगापुरबाट उडेपछि डेढ घन्टामा जहाजले भूमध्यरेखा पार गर्यो। त्यतिबेला भूमध्यरेखा पार गरेकामा जहाजले यात्रीलाई प्रमाणपत्र नै दिन्थ्यो। जहाजका कप्तान डिएन रोलिन्सनले हस्ताक्षर गरेर दिएको प्रमाणपत्र मैले पनि पाएँ।
त्यसपछि जहाज इन्डोनेसियाको जकार्तामा ओर्लियो। त्यो सहर पनि घुमेँ।
त्यहाँबाट फेरि जहाज उड्यो।
जहाज अष्ट्रेलियाको आकाशमा प्रवेश गरेपछि सबभन्दा पहिले डार्विनमा ओर्लियो। त्यहाँ खाना खुवाउन जंगलभित्रको एउटा रेष्टुरेन्टमा लगिएको थियो। त्यतिबेलै मैले कंगारु देखेँ। पेटमा बच्चा राखेर दुइटा खुट्टाले बुरुक्क टेक्दै उफ्रने त्यो विचित्रको प्राणी थियो। मलाई बल्ल अब अर्कै संसारमा पुगेछु भन्ने भयो।
त्यसपछि जहाजले सिड्नी लग्यो। म आएको जहाज त्यहाँबाट उता जाँदैन थियो। मेरो निम्ति फेरि अर्कै उडानको प्रबन्ध थियो। जे होस् म सिड्नी पुगेँ। मलाई सिड्नीको होटलमा लगेर राखे। जीवनमा पहिलोपटक बिजुलीबाट चल्ने भर्याङ त्यहीँ देखेँ।
यस्ता अनेक विचित्र देखेर कता कता रमाइलो त कता कता अत्यास पनि चल्दै थियो। सिड्नी पुगेपछि मलाई दिइएको सुझावअनुसार त्यहाँस्थित युएनडिपीको कार्यालयमा सम्पर्क गरेँ।
मेरो सम्पूर्ण व्यवस्था उनीहरूले मिलाइदिए। राति खानाको भव्य समारोह थियो। मैले दौरा सुरुवाल लगाएको थिएँ। उनीहरूले सुट लगाउन सुझाए। मैले सुट फेरेँ।
भोलिपल्ट सिड्नी कार्यालयबाट न्यूजिल्यान्डमा मेराबारे विस्तारमा उल्लेख गर्दै तार पठाए।
यसरी म सिड्नीबाट विदा भएँ।
होटलबाट निस्केँ। फेरि जहाज चढेर अष्ट्रेलियाबाट न्यूजिल्यान्ड पुग्दैछु भन्ने थाहा थियो। तर, ड्राइभर त मलाई समुद्र नजिक नजिक पो लैजाँदै छ।
यो के गर्न लागेको भनेर म आत्तिएँ।
अब यस्तोमा न केही सोध्नु न केही भन्नु! आफूले धेरै थोक नबुझिरहेको बेला जान्ने भएर केही भनिहाल्न पनि अप्ठ्यारो। यता हवाइजहाजमा उड्नुपर्ने मान्छेलाई पानीजहाज चढ्ने ठाउँतिर पो लैजाँदै छ।
एकछिन् आकुल-ब्याकुल भएर चुपै बसिरहेँ।
समुद्र किनारैनिर लगिसक्यो। ढुकढुकी बढिरहेको थियो।
एक मनले जंगबहादुर पनि पानीजहाज चढेरै उति परको बेलायत पुगेकाले मलाई पनि पानीजहाजबाटै लगे पनि के फरक पर्ला! भनेर चित्त बुझाइरहेको थिएँ।
तैपनि के हो? कसो हो? अलमल छँदै थियो।
त्यत्तिकैमा समुद्रमै हवाइजहाज पो देखियो।
त्यो जमिनमा भएजस्तो एयरपोर्ट पनि होइन। पानीबाटै उड्ने हवाइजहाज रहेछ। नाम चाहिँ 'स्काइ मास्टर'।
मलाई यस्तो हवाइजहाज पनि हुन्छ भन्ने थाहै थिएन। ‘फ्लाइङ बोट’ भन्दा रहेछन्।
समुद्रमा आधी भाग पानीभित्र र आधी भाग पानीबाहिर रहेको जहाज देखेपछि बल्ल सन्तोषको सास फेरेँ।
त्यो फ्लाइङ बोटभित्र पस्दा आफू बस्ने ठाउँ फेरि पानी सतहभन्दा मुनि हुँदोरहेछ। कोठा त पानीभित्र पो छ। कोठामा झण्डै ४० जना यात्री नै अटाउने। ठूलै जहाज थियो। कोठाबाट भर्याङ चढेर माथि आएपछि मात्रै समुद्रबाहिरको दृश्य देखिन्थ्यो।
एक त यस्तो विचित्रको जहाजमा छु। त्यसपछि उडेको एकैछिनमा आएकी परिचारिकाले जहाज दुर्घटना परे यसो गर्नुपर्छ र समुद्रमा यसरी तैरिनुपर्छ भनेर देखाएपछि मेरो सातोपुत्लो उड्यो। यो के आइलाग्यो भनेर चिन्तित भएँ। मैले मनमनै पशुपतिनाथ र गुहेश्वरी गुहारेर चित्त बुझाउने प्रयास गरेँ।
तै केही भएन। जहाजले न्यूजिल्यान्डमा पनि त्यस्तै समुद्र किनारमै उतारेको थियो। वेलिङटनमा।
अब मेरो ठूलो परीक्षा हुनेवाला थियो।
हो, ठूलो परीक्षा।
किनकि, त्यो सिंगो राष्ट्र मलाई स्वागत गर्न आतुर थियो। सत्यमोहन जोशीलाई होइन, नेपालबाट आएको एक जना व्यक्तिलाई।
भर्खर उसको नागरिक एडमण्ड हिलारीले त्यत्रो सफलता पाएको मुलुकबाट आइरहेको मान्छेका रूपमा विमानस्थलमै त्यो स्वागत हुनेवाला थियो।
अनि अर्कोतिर म थिएँ, जसलाई यस विषयमा कुनै जानकारी थिएन।
(बाँकी अर्को भागमा)