एउटा हात र श्रीमानको साथ गुमाएकी सुत्केरीलाई घर बनाउन नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जग्गा किनिदिएका छन्।
‘चौबिस दिनकी सुत्केरीको बिचल्ली’ भएको समाचार सेतोपाटीमा पढेपछि शर्माले आफ्ना छोरा शीर्षकको जन्मदिनमा देवी मेचेलाई घर बनाउन मेचीनगर-९ मा ७ धुर जग्गा किनिदिएका हुन्।
दोस्रो पटक सुत्केरी भएको सात दिनमा उनका श्रीमानको मृत्यु भएको थियो। दस वर्षअघि करेन्टले उनले दाहिने हात गुमाएकी थिइन्। देवी मेचे अभियान समिति मेचीनगर झापाले शुक्रबार धुलाबारीमा गरेको पत्रकार सम्मेलनमा सहभागी शर्माले सुत्केरी मेचेलाई घर बनाउन जग्गा किन्ने बताएका थिए।
‘एक लाख रुपैयाँमा जग्गा किनिदिएका हौं,’ शर्माले सेतोपाटीसँग भने, ‘श्रीमानको निधन भएकोले उनी कोरामा छिन्। मालपोत गएपछि उनको नाममा जग्गा सर्छ।’
शर्माका अनुसार जग्गामा घर, आवश्यक फर्निचर, वार्षिक खर्च, देवीका छोरीहरुको शिक्षा र स्वास्थ्यका लागि सहयोग गरिन्छ।
पाँच लाख रुपैयाँको कोष खडा गरेर त्यसबाट आउने ब्याजले मेचे परिवारको वार्षिक खर्च धानिदिने योजना छ। मेचेकी अढाइ वर्षकी ठूली छोरी टुकुटुकु हिँड्न सक्ने भएकी छन्। उनकी सासु वृद्ध भइसकिन्, राम्रोसँग आँखा देख्दिनन्। मेचे परिवार कोठा भाडामा लिएर बसेका छन्। तर भाडा तिर्न नसकेको महिनौं भइसकेको छ।
मेचे परिवारलाई सहयोग गर्ने अभियानमा स्थानीय पत्रकार मुक्ति पौडेल, व्यवसायी विजय डालमिया, मेचीनगरका जनप्रतिनिधि टिकाराम मग्राती, संगीता थापा र प्रवक्ता शर्माकी श्रीमती कविता पनि जुटेका छन्।
भिन्न राजनीतिक आस्था र पेशामा आवद्धहरू मेचे परिवारलाई सहयोग गर्ने अभियानमा छन्।
वि.सं.२०४२ सालमा धुलाबारी माविका पढेका विद्यार्थीहरूको समूहबाट पनि एक लाख रुपैयाँ सहयोग गर्ने शर्माले पत्रकार सम्मेलनमा बताएका थिए।
‘घर बनाउन एक लाख रुपैयाँ सहयोग गर्छौ,’ उनले भने।
अभियानलाई काठमाडौंमा शंकरदेव क्याम्पसका उपप्राध्यापक डिल्ली भण्डारी र झापाका समाजसेवी पुनित वंशलले अगुवाई गर्दैछन्। चौबिस दिनकी सुत्केरीलाई पोषिलो खाना र न्यानो कपडाको जोहो गर्न नसक्दा स्तनपानमा समेत समस्या भएको उनले यसअघि सेतोपाटीसँग बताएकी थिइन्।
सुत्केरी मेचेलाई न्यानो कपडाको पनि अभाव छ। धुलाबारीको एक घरमा घरेलु कामदारका रूपमा काम गर्ने क्रममा लुगा धोएर छतको तारमा कपडा सुकाउँदा करेन्ट लाग्दा उनले दाहिने हात गुमाएकी थिइन्।
आफ्नो लागि जग्गा र घर निर्माण हुने भएपछि उनी दंग छिन्।
‘मलाई योभन्दा खुसीको खबर अरु के नै हुन्छ र,’ उनले भनिन्, ‘कोही नहुनेको पनि सहारा हुँदो रहेछ।’ एक हातले जेनतेन काम गर्दै आएकी मेचे सुत्केरी भएपछि परिवार झन् समस्यामा छ।
यो पनि हेर्नुहोस्
चौबिस दिनकी सुत्केरीको बिचल्ली