पोषिलो खानाको व्यवस्था नहुँदा झापा मेचीनगर–१० की देवी मेचे(घिमिरे) र उनको नवजात शिशु बिचल्लीमा परेका छन्।
पोषिलो खाना र न्यानो कपडाको जोहो गर्न परिवारले नसक्दा स्तनपानमा समेत समस्या भएको २४ दिनकी यी सुत्केरीले बताइन्। गत कात्तिक गते पति बियोगको पीडा व्यहोरेकी मेचेले भनिन्, ‘मेरो शिशु र मलाई बचाइदिनुहोस्।’
सुत्केरी मेचेलाई न्यानो कपडाको पनि अभाव छ। बढ्दो चिसोले रात काट्न मुस्किल भएको उनले बताइन्। उनले भनिन्, ‘सुत्केरी अवस्थामा पोषिलो खाने कुराको अभावले नानीलाई स्तनपान गराउन सक्दिनँ, स्तनपान गर्न नपाएपछि रातभर रुन्छ।’
श्रीमानको मृत्युपछि उनका परिवार बेखबर छन्। उनले भनिन्, ‘भारततिरै बस्नुहुन्छ परिवार भन्ने सुनेकी छु,’ उनले भनिन्।
धुलाबारीको एक मारवाडीको घरमा घरेलु कामदारका रुपमा काम गर्ने क्रममा लुगा धोएर छतको तारमा कपडा सुकाउँदा करेन्ट लागेर दाहिने हात गुमाएकी घिमिरे देब्रे हातको सहारामा कामकाज गर्दैछिन्। उनको अढाइ वर्षकी अर्की छोरी पनि छिन्। नवजात शिशु र दुई वर्षकी छोरी लिएर उनी यतिबेला आ/र्थिक सहयोगको याचनाका गर्दै गाउँ–गाउँ पुगिरहेकी छन्।
मासिक एक हजार भाडा तिरेर मेचीनगरमा एउटा घरमा बहालमा बस्दै आएकी घिमिरे गाउँमा माग्दा पाएको चामलको खोलेभात पकाएर रात–दिन बिताइरहेकी छन्। उनले मेचीनगरपालिकाले केही सहयोग गरेको बताइन्। ‘मैले नगर प्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेतीको कार्यकक्षमै लिखित निवेदनमार्फत आर्थिक सहयोगको याचना गरेकी थिएँ। पोषण भत्ताबापत दुई हजार र अतिरिक्त तीन हजार गरी ५ हजार रुपैयाँ नगरपालिकाले सहयोग गर्यो।’
उपप्रमुख उप्रेतीले भनिन्, ‘प्रक्रियाभित्र रहेर सहयोग गरेका हौं।’
देवीको बिहे दर्ता र बच्चाको जन्मदर्ता समेत भएको छैन। आर्थिक अभावमा छटपटाइरहेकी मेचेको जीवन दयनीय बनेको छ। दुई जना छोरीको गाँस, बास र कपासको व्यवस्थापनकै चिन्ताले उनलाई पिरोलेको छ।