दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा रामनाथ एकीकृत नमूना बस्ती निर्माण गरिने भएको छ ।
स्थानीयवासी शारदाप्रसाद ढकालले निःशुल्क उपलब्ध गराएको साँढे सात रोपनी जग्गामा बिहीबार नगरप्रमुख दीपनारायण रिजालले उक्त बस्तीको शिलान्यास गरेका हुन् ।
बीस घर भूकम्पपीडित र चार घर अन्य गरी २४ परिवारका लागि नगरपालिकाको पहलमा निर्माण गर्न लागिएको सो बस्ती देशकै नमूना बनाइने उनले बताएका छन् ।
बस्तीका लागि भूकम्पपीडितले पाउने प्रतिघर र तीन लाखको दरले ६० लाख र बाँकी रकम पुनःनिर्माण प्राधिकरण तथा नगरपालिकाले लगानी गर्ने जनाइएको छ ।
नगरपालिकाले घडेरी सम्याउन, नक्सा निर्माण तथा पास गर्न र प्राविधिक सहयोगसमेत गर्नेछ ।
सामुदायिक भवनसमेत निर्माण गरिने उक्त बस्तीमा बालबालिकाका लागि छुट्टै बाल उद्यान पनि निर्माण गरिने बस्ती निर्माण उपभोक्ता समितिका संयोजक प्रमेश ढकालले बतए ।
‘एक घर, एक उत्पादन’ गर्ने लक्ष्य लिइएको उक्त बस्तीभित्रका १६ घरको नक्सासमेत पास भइसकेको नगरपालिकाले जनाएको छ ।
हिमशृङ्खला तथा तराईका समथर भूभाग सजिलै देख्न सकिने विजयखर्कलाई पछिल्लो समय पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने तयारी गरिएको नगर प्रमुख रिजालले बताए ।
बहुउद्देश्यीय बस्ती निर्माणको काम दशैँ तिहारलगत्तै शुरु हुने जनाइएको छ ।
सगरमाथा राजमार्गले छोएको विजयखर्कमा पर्यटन विकासको सम्भावना छ ।