राष्ट्रिय पुननिर्माण प्राधिकरणको शुक्रबार बसेको कार्यकारी समितिको बैठकले काठमाडौं उपत्यकाभित्र र बाहिरका परम्परागत बस्ती मौलिक शैलीमै पुनर्निर्माण गर्ने निर्णय गरेको छ।
उपत्यकाका खोकना, बुङमती, साँखु, किलागलजस्ता परम्परागत बस्ती र बाहिरका नुवाकोट, गोरखाका दरबार क्षेत्र एवं दोलखाको भीमसेन बजारजस्ता क्षेत्रमा परेका बस्तीको मौलिक स्वरुपलाई यथावत हुने गरी पुनर्निर्माण गर्ने निर्णय गरेको हो।
बैठकले ती क्षेत्रमा आवश्यक पर्ने बाटो, खानेपानी, ढलनिकास लगायतमा पूर्वाधारको पुनर्निर्माण गर्न सरकारले प्राधिकरणमार्फत् नै लगानी गर्ने निर्णय पनि गरेको छ। त्यस्ता बस्तीहरुमा रहेका निजी आवास पुनर्निर्माण गर्नुपर्ने घरधनीलाई मौलिक/पुरातात्विक शैलीमा पुनर्निर्माण गर्न थप ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ।
त्यसैगरी, कार्यकारी समितिले दुई वा बढी घरधनीले संयुक्त स्वामित्वमा घर निर्माण गर्न चाहेको खण्डमा उनीहरुलाई संयुक्त स्वामित्वका आधारमा घरधनीको संख्या गणना गरी अनुदान रकम उपलब्ध गराउनेसमेत निर्णय गरेको छ।
साथै, काठमाडौं उपत्यकाभित्रका बस्तीमा लाभग्राही सूचीमा परेका घरको पुनर्निर्माण गर्दा जोडिएको घर भत्कने स्थिति भए उक्त घरधनीलाई समेत लाभग्राही सूचीमा समावेश गरी अनुदान रकम दिने निर्णय पनि प्राधिकरण कार्यकारी समितिले गरेको छ।