यो असनको त्यो घरको कथा हो, जहाँ भित्तामा घडी झुन्डिएको छ।
घडी नयाँ हो, घर पुरानो।
पुरानो घरले पुरानै समय जनाउँछ।
सम्पदाविद् प्राध्यापक सुदर्शनराज तिवारीका अनुसार मल्लकालमा काठमाडौंको सहरी संरचना विकास गर्दा चारथरीका सार्वजनिक स्थल बनाइएका थिए।
वसन्तपुर दरबार स्क्वायर सबभन्दा ठूलो थियो। यहाँ राज्यभरका मान्छे जमघट हुन्थे। दोस्रो तहका इन्द्रचोक, असन, जैसीदेवलजस्ता चोक मल्लकालीन ‘मार्केट स्क्वायर’ हुन्। तेस्रोमा सहरभित्रका बहाल पर्छन्। योभन्दा भित्र चौथो तहका स–साना चोक हामी देख्छौं।
असन, अन्नपूर्ण मन्दिर सामुन्नेको घडीघर दोस्रो तहको सार्वजनिक स्थलसँग जोडिन्छ।
मल्ल राजाहरूले ‘मार्केट स्क्वायर’ को अवधारणामा असन चोक बनाए। पसलहरू विकास गरे। असनको यो घर त्यतिबेलाकै सबभन्दा ठूलो किनमेल थलो हो भन्ने भनाइ छ। यहाँ आज पनि एकै छतमुनि विभिन्न थरीका १३ वटा पसल सञ्चालित छन्। तीनवटा परिवार एकै छतमुनि बसोबास गर्छन्।
तिनैमध्ये एक हुन्, सजीव बज्राचार्य।
आठ आना तीन दाम क्षेत्रफलमा बनेको घरको दक्षिणी मोहडामा उनको पसल छ। तीन फिट लम्बाई, दस फिट चौडाइ। यहाँ उनी मरमसला बेच्छन्। यही उनको रोजीरोटी हो। जीवन जिउने आधार।
‘हाम्रो पुर्खा झन्डै तीन सय वर्षदेखि यहाँ पसल चलाउँदै आएको हजुरबुवा भन्नुहुन्थ्यो,’ ६१ वर्षीय सजीव पुस्तान्तर हुँदै आएको स्मरण सुनाउँछन्।
उनी नापीको लगत र त्यसैलाई उद्धृत गरिएको एउटा सम्झौतापत्र देखाउँछन्।
२०३१ सालमा नापी विभागका अधिकारी यहाँ फित्ता लिएर आएका थिए। वरपरका सबैले लालपुर्जा पाए। यो घरमा भने कित्ताकाट भएन। पसलहरू स–साना कित्तामा बाँडिएकाले नापीले सबैको एकीकृत ‘फिल्डबुक’ बनाएर गयो।
उक्त फिल्डबुकमा ‘सन्तान दर सन्तानले बहाल बुझाएसम्म बस्न पाउने गरी भोगचलन गरिआएको’ उल्लेख छ।
गुठी संस्थानले २०७० फागुन ८ गते गरेको करार सम्झौतामा पनि ‘सन्तान दर सन्तानदेखि बसी आएको’ भनिएको छ।
घरका सबैले यी दुवै कागजपत्र सुरक्षित राखेका छन्।
यसले उनीहरूको पूर्खा मल्लकालदेखि बस्दै आएको प्रमाणित नगरे पनि बसोबास धेरै पुरानो भएको अवश्य बुझाउँछ।
मल्लकालीन काठमाडौं सम्पदाको झलक दिने र पुरातात्विक महत्वका आधारमा संरक्षण गरिनुपर्ने यो घरको अस्तित्व अहिले संकटमा छ। रेखदेख गर्ने र बहाल उठाउने जिम्मेवारी पाएको गुठी संस्थान नै घर भत्काएर व्यापारिक कम्प्लेक्स बनाउन खोज्दैछ।
गुठीले एक निजी व्यापारिक संस्थालाई जग्गा भाडामा दिने सम्झौता २०७४ सालमै गरेको हो। तीन वर्ष निर्माण अवधि तोकिएको छ। त्यसपछि २७ वर्षसम्म उक्त व्यापारिक समूहले अकन्टक कारोबार गर्नेछ। ‘सन्तान दर सन्तानदेखि’ बस्दै आएकाहरूको उठिबास हुनेछ।
सवाल, उनीहरूको उठिबास होला भन्ने होइन।
सवाल, उनीहरू अब कहाँ जालान् भन्ने पनि होइन।
सवाल हो, यो घर मासेर व्यापारिक कम्प्लेक्स बनाउन आवश्यक छ कि छैन?
मल्लकालीन ‘मार्केट स्क्वायर’ लाई पुरानै स्वरुपमा जीवित राख्नु राम्रो कि नयाँ संरचना ठड्याउनु?
यो इतिहास र सम्पदाप्रति हाम्रो चाख घट्दै जानुको परिणाम हो, वा व्यापारिक कम्प्लेक्सप्रति चाख बढ्दै जानुको?
पछिल्लो समय हामीकहाँ सार्वजनिक स्थल मासेर व्यापारिक कम्प्लेक्स बनाउने होड छ। सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरू नै यसमा बढी उद्यत छन्।
सरकारी संस्थानको सम्पत्ति भनेको सार्वजनिक हितमा प्रयोग हुनुपर्छ। त्यो सम्पत्ति उसलाई भोगचलन गर्न दिएकै सार्वजनिक हित सुनिश्चित होस् भनेर हो। हामीकहाँ भने निजी कम्पनीलाई जग्गा भाडामा दिने प्रवृत्ति बढ्दो छ। भाडा लगाउँदा कौडीको मूल्यमा दिएर निजी कम्पनी पोस्ने गरिन्छ।
यसरी जनताको सम्पत्ति व्यापारीलाई पोस्नु भ्रष्टाचार हो, चाहे त्यसमा आर्थिक चलखेल होस् कि नहोस्।
यस्ता उदाहरण थुप्रै छन्।
रेडियो नेपालले ललितपुर, खुमलटारस्थित ४२ रोपनी जग्गा निजी कम्पनीलाई भाडामा दिएको छ। मध्यसहरको यो जग्गामा सुन्दर पार्क बन्न सक्थ्यो। स्थानीयले त्यसैको निम्ति दबाब दिँदै आएका छन्। स्थानीय निकायको आग्रह पनि त्यही छ।
नारायणहिटी दरबारको ठीक सामुन्ने ठमेलतिर मोडिने कुनाको जग्गामा केही समयदेखि निर्माण तीव्र छ। राजा वीरेन्द्रको यो १ रोपनी १४ आना गणतन्त्रपछि जनताको स्वामित्वमा आयो। नेपाल ट्रस्टले रेखदेखको जिम्मा पायो। ट्रस्टले हरियाली पार्क बनाएको भए हुन्थ्यो। विश्वविद्यालयसँग सहकार्य गरेर पुस्तकालय बनाउन पनि सकिन्थ्यो। तर, न पार्क रोजियो, न पुस्तकालय। यहाँ अब चारतले व्यापारिक मल बन्दैछ।
ट्रस्टको संरक्षणमा आएका सार्वजनिक सम्पत्तिहरू यसैगरी भाडामा लगाइँदैछ। गणतन्त्रले राजाको सम्पत्तिमा जनतालाई अधिकार दियो, जनताले उपभोग गर्न भने पाएनन्। राजा गए, व्यापारी उदाए। कर्मचारीले जनतालाई पन्छाएर व्यापारी पोस्न थाले।
टुँडिखेलको यही हाल छ।
वर्षौंदेखि सेनाले मिच्दै आएको यो चउरमा महानगरपालिकाले पनि निशाना साँधेको छ। खुलामञ्चमा बसपार्क सारिएको छ। वीर अस्पतालले आफ्ना केही संरचना उभ्याएको छ।
असनको घडीघर कथा यही सम्पदा विनाशकै निरन्तरता हो।
गुठीले ‘३५ दिनभित्र घरपसल खाली गर्नू’ भनी असार २९ गते पत्र काटेको थियो। कसैले पत्र बुझेका छैनन्। बरु पुरातात्विक महत्वको घर विनाश गर्न लाग्यो भन्दै दबाब समूह खडा गरेका छन्।
त्यही समूहले स्थानीय निकायदेखि पुरातत्व विभागको ध्यानाकर्षण गराउँदै आएको छ।
गुठीले करार बाँकी छँदै हटाउन खोज्नु गैरकानुनी भएको उनीहरूको जिकिर छ।
यो करार २०७० फागुन १ देखि लागू भएको हो। पाँच वर्षको म्याद छ। त्यसपछि पनि हटाउने व्यवस्था छैन। प्रत्येक पाँच वर्षमा बहाल पुनरावलोकन गर्ने भनेको छ। पुनरावलोकन गर्दा पाँच प्रतिशत वृद्धि हुनेछ। यसमा दुवै पक्षले मञ्जुरी गरेका छन्।
सम्झौताअनुसार बहालवालाले नियमित भाडा बुझाएसम्म हटाउन मिल्दैन। महिना गुज्रेको ६० दिनभित्र बहाल चुक्ता नगरे बल्ल पसल कब्जामा लिन सकिने उल्लेख छ।
यही प्रावधानमा टेकेर बहालवालाले आफूमाथि अन्याय भएको दाबी गर्दै आएका छन्।
‘करार अवधि अझै छ महिना बाँकी छ। त्यसपछि बहाल पुनरावलोकनको कुरा आउँछ। हटाउने कुरा त आउँदै आउँदैन,’ महेन्द्रलाल श्रेष्ठ भन्छन्।
महेन्द्र ६२ वर्षका भए। उनको १६ जनाको परिवार यही घरको चौथो तल्लामा बस्छ। उनी असन डबलीमा पसल चलाउँछन्। भन्छन्, ‘म यही घरमा जन्मेँ–हुर्कें। मेरो बा यहीँ जन्मनुभयो। उहाँ जिउँदो भएको भए ९० वर्ष हुनुहुन्थ्यो। मेरो हजुरबा पनि यहीँ जन्मेको रे। जिजुबा पनि। अब आफैं भन्नुस्, हाम्रो पुर्खा यहाँ बसेको कति वर्ष भयो होला?’
‘के सबै कुरा प्रमाणित गर्न कागजको खोस्टा नै चाहिन्छ? जन्मे–हुर्केको ठाउँसँग जोडिने भावनाको कुनै अर्थ हुन्न,’ उनले भने।
स्थानीयका अनुसार यो घर पहिले तालुकदारको संरक्षणमा थियो। नापी विभागको कागजमा ‘श्री ५ वायुदेवता गुठी सञ्चालन गर्ने चौतारिया चित्रविक्रम शाह, रेशमविक्रम शाह, चुँडाविक्रम शाह लगायत’ को नाम उल्लेख छ। घर बहाल उठाउन उनीहरू नै आउँथे।
यो वायुदेवता गुठी पृथ्वीनारायण शाहकै पालामा स्थापना भएको मानिन्छ। पृथ्वीनारायणले काठमाडौं जितेपछि उनका छोरा बहादुर शाहले यो घर हडपेका थिए रे। उनले दरबारमा मरेका वा मारिएका मान्छेको आत्माको शान्तिका लागि पूजाआजा गराउन गुठी चलाए। गुठीले यही घरबाट हनुमानढोकासम्म पूजा लैजान थाल्यो। पूजाको प्रबन्ध मिलाउने सुसारेहरू धेरै पछिसम्म यहीँ बस्ने गरेको सजीव सम्झन्छन्।
यो नियम राजा वीरेन्द्रको पालासम्म चल्यो। घरबहालबाट उठेको पैसाले दसैं बेला हनुमानढोकामा पूजा लगिन्थ्यो। पूजा गरेर बचेको पैसा तालुकदार आफैंले राख्नू भनी वीरेन्द्रबाट हुकुमप्रमांगी भएको थियो।
हुकुमप्रमांगीको कागज उनीहरूसँग सुरक्षित छ। हनुमानढोकामा पूजा गर्ने चलन पनि कायम छ। पसलको बहाल भने आनका तान फेरियो। त्यो बेला कागजमा ५–१० रुपैयाँ लेखिएको हुन्थ्यो। व्यवहारमा पाँच सयदेखि हजारसम्म लिइन्थ्यो।
गुठीको स्वामित्वमा गएपछि तालुकदार पद खारेज भयो। बहाल गुठीमै बुझाउन थालियो। गुठीले पसलको आकार हेरेर भाडा लिँदै आएको छ। सजीवले महिनाको ५ हजार तिर्नुपर्छ। अरूको पनि यही हाराहारी रहेको उनी बताउँछन्।
सम्झौताअनुसार मासिक बहाललाई ६ ले गुणन गर्दा आउने रकम धरौटी राख्नुपर्ने व्यवस्था छ। सजीवले ३० हजार राखेका छन्। महिना गुज्रेको ३० दिनसम्म बहाल नबुझाए ५ प्रतिशत हर्जाना लाग्छ। अर्को ३० दिन नबुझाए १० प्रतिशत। ६० दिनभित्र अनिवार्य बुझाइसक्नुपर्छ। अन्यथा, घरपसल कब्जामा लिएर खाली गराउने प्रावधान लागू हुन्छ।
यो घरको अर्को साँस्कृतिक महत्व पनि छ।
जसरी यहाँ कित्ता छुट्टयाएर पसल चलाइएको छ, त्यस्तै एउटा कित्ता अशोक वृक्ष विहारको नाममा छ। विहारमा अमिताभ बुद्धको मन्दिर छ। यो मन्दिर पाँच सय वर्ष पुरानो भएको विहारका गुठियार बताउँछन्।
पहिले यो इतिहास प्रमाणित गर्ने शिलालेख थियो। शिलालेख चोरी भयो। अन्नपूर्ण मन्दिर अगाडिका दुई शिलालेखमा यो घर र विहारबारे उल्लेख भएको स्थानीय दाबी गर्छन्।
विहारमा हरेक वर्ष पञ्चदानको दिन ठूलो उत्सव हुन्छ। शाक्य, बज्राचार्यहरू भिक्षा माग्न आउँछन्। उनीहरूलाई गक्षअनुसार चामल, नुन, पैसा दान दिने चलन छ। यस वर्ष यही भदौ २२ गते पञ्चदानको साइत परेको छ।
‘अमिताभ बुद्धको यति पुरानो मन्दिर हुनु र पञ्चदानको पुरानो संस्कृति यही घरबाट चल्नुले यहाँको इतिहास झल्काउँछ,’ अशोक वृक्ष विहारका गुठियार उत्तमधर तुलाधर भन्छन्, ‘यस्तो साँस्कृतिक महत्वको घर भत्काएर कम्प्लेक्स बनाउन खोज्नु हाम्रो संस्कृतिमाथि अतिक्रमण हो।’
‘घर भत्काउने हो भने पाँच सय पुरानो मन्दिर नै मासिने खतरा छ। भगवानको मूति कहाँ लगेर राख्ने? नयाँ चिज बनाउने भन्दैमा पुरानो सबै उखेलेर फाल्दै जाने हो र? यसले त काठमाडौं सभ्यता के बाँकी रहने भयो?’ उनले प्रश्न गरे।
यहाँ अमिताभ बुद्ध मन्दिरको ठीक सामुन्ने सानो चोक छ। चोकमा बौद्ध चैत्य पुरिएको विश्वास गरिन्छ।
हरेक विहारको मुखमा चैत्य हुन्छ। यहाँको चैत्य कुनै कालखण्डमा भुइँचालो गएर पुरिएको हुनसक्ने जनविश्वास छ। उत्खनन् गरे फेला पर्ने तुलाधर बताउँछन्।
‘हाम्रो प्रमाण भनेकै हाम्रो भगवान हो। भगवानको ठाउँ हामी एक इन्च छाड्दा पनि छाड्दैनौं, अर्काको लिँदा पनि लिँदैनौं,’ उनले भने, ‘पैसाले सबथोक किन्न सकिएला, तर सत्य सत्य रहन्छ। सत्य के हो भने, यो पाँच सय वर्ष पुरानो भगवानको घर हो। व्यापारीको स्वार्थमा परेर यसलाई हामी कुनै हालतमा भत्काउन दिँदैनौं।’
व्यापारिक कम्प्लेक्सको योजना पहिलोपटक बनेको होइन।
यसअघि २०६२ सालमा पनि जग्गा भाडामा दिन खोजिएको थियो। त्यतिबेला एक जना तालुकदारले बहालवालालाई पत्तै नदिई नगरपालिकाबाट नक्सा पास गराएका थिए। बहालवालाहरूले मुद्दा हाले। जिल्ला अदालतले जितायो। पुनरावदेन र सर्वोच्च अदालतमा भने उनीहरू हारे।
कानुनी लडाइँमा हारे पनि उनीहरूले विरोध गरिरहे। स्थानीयले साथ दिए। घर भत्काउने प्रपञ्च सफल भएन। गुठी संस्थानले २०७० सालमा घरबहालसम्बन्धी सम्झौता नै गर्यो।
त्यही समूहले यसपालि फेरि गुठीलाई हात लिएर भत्काउने चेष्टा गरेको स्थानीय बताउँछन्।
हामीले यसबारे वडा नम्बर २५ का अध्यक्ष नीलकाजी शाक्यसँग कुरा गर्यौं।
असनको पुरानो घर भत्काएर व्यापारिक कम्प्लेक्स बनाउने योजना उनलाई पनि चित्त बुझेको छैन। स्थानीय निकायहरू काठमाडौं सभ्यता जोगाउने अभियानमा लागेका बेला मास्ने योजनामा आफूहरूको सहमति नरहेको उनले बताए।
‘असनका प्रत्येक घर र मन्दिरसँग काठमाडौं सभ्यता जोडिएको छ। यति पुरानो घर भत्काएर व्यापारिक कम्प्लेक्स बनाउँदा असनको पहिचान गुम्छ,’ उनले भने, ‘स्थानीय जनता यसको विरोधमा छन्। हामी मञ्जुरी दिन सक्दैनौं।’
उनले गुठी र बहालवाला दुवै पक्ष राखेर बैठक गराउन खोजेका थिए। गुठीका प्रतिनिधि समयमा नआउँदा छलफल हुन नसकेको उनले बताए।
गुठी संस्थानका मुख्य प्रशासक नारायण चौधरी भने भुइँचालोले घर जोखिमपूर्ण अवस्थामा पुगेकाले भत्काउन लागेको दाबी गर्छन्।
‘भुइँचालोले धेरै क्षति पुर्याएको छ। रेड स्टिकर लागेको घर हो,’ उनले भने, ‘त्यसैले नयाँ बनाउने निर्णय भएको हुनसक्छ। म आउनुअघि नै भाडामा लगाउने टेन्डर भइसकेको थियो।’
‘जीर्ण घरमा केही तलमाथि भए कसले जिम्मा लिन्छ?’ उनले भने।
व्यापारिक कम्प्लेक्स बने पनि अहिलेका बहालवालालाई मुख्य प्राथमिकता दिइने उनले बताए।
यहाँका बसोबासी भने गुठी संस्थानको ‘कृपा’ लिन चाहँदैनन्।
‘हाम्रो हक खोस्ने, अनि हामीलाई नै प्राथमिकतामा पसल दिन्छु भन्ने,’ सजीवले भने, ‘हामीलाई आफ्नो उठिबास होला भन्ने चिन्ता होइन। गुठीले पनि हाम्रो चिन्ता नलिए हुन्छ। हामीलाई यो घरको माया हो। असन संस्कृतिको माया हो।’
भुइँचालोको क्षति हेरेर भत्काउन खोजेको तर्कसँग पनि उनीहरू सहमत छैनन्। त्यस्तै हो भने असनका अधिकांश घर भत्काउनुपर्ने उनीहरूको भनाइ छ।
‘दक्ष प्राविधिक राखेर ‘रेट्रोफिट’ गर्न सकिन्छ। पूरै भत्काएर कम्प्लेक्स चलाउन भाडामा दिनु भनेको भ्रष्टाचार हो,’ उनले भने, ‘केही मर्मत गर्नुछ, वा भत्काएर नयाँ बनाउनुछ भने स्थानीय निकायको साझेदारीमा हामी आफैं गर्न तयार छौं।’
सम्झौतामा पनि दैवी वा प्राकृतिक प्रकोपका कारण कुनै क्षति भए बहालवालाले नै मर्मत गर्ने भनिएको छ। पसलको सामान्य मर्मतसम्भार बहालवालाले आफ्नै खर्चमा गर्नुपर्नेछ। ठूलो मर्मतसम्भार गुठीको अग्रिम स्वीकृतिमा बहालवालाले गर्ने उल्लेख छ।
त्यस्तै, पसल वा घरको समग्र जिर्णोद्धार र पुनर्निर्माण गर्नुपरे दुवै पक्षको सहमतिमा गरिने सम्झौतामा छ। यहाँ भने बहालावालालाई भुलभुलैयामा राखेर निजी कम्पनीलाई दिन खोजिँदैछ।
पुर्ख्यौली बसोबासी उनीहरूले विगतमा पनि सानाठूला मर्मत गरेकै हुन्।
‘१९९० सालको भुइँचालोमा घर भत्किएको थियो रे। हाम्रै बाबुबाजेले मर्मतसम्भार गरे,’ सजीवले भने, ‘२०७२ को भुइँचालोमा माथिल्लो तल्ला भत्कियो। त्यसलाई सफा गरेर हामीले छत हाल्यौं।’
‘हामी मल्लकालदेखि बस्दै आएका हौं कि होइनौं, थाहा छैन। तर, सय वर्ष पुरानो संरचनालाई पुरातात्विक सम्पदा मान्ने हो भने यो घर त्योभन्दा धेरै पुरानो हो। यति पुरानो सम्पदा मास्ने होइन, संरक्षण गर्नुपर्छ,’ उनले भने।
असनको यो घडीघर संरक्षणकै पर्खाइमा छ।