रानीपोखरी पुनर्निर्माण विज्ञ समूहको सिफारिसबमोजिम गर्नुपर्ने जनाउँदै सम्पदा बचाऔँ अभियानले काठमाडौं महानगरपालिकासँग पुनः माग राखेका छन्।
अभियानकर्मीले केही दिनअघि यस सम्बन्धमा पुरातत्व विभागलाई ज्ञापनपत्र बुझाएका थिए। गत आइतबार कामपा उपप्रमुख हरिप्रभा खड्गीलाई पनि ज्ञापनपत्र बुझाउँदै अभियानले रानीपोखरी पुनर्निर्माण गर्दा विज्ञ समूहको सिफारिसबमोजिम काम गर्न आग्रह गरेको थियो।
‘रानीपोखरीलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गर्ने यो एउटा अवसर हो। विज्ञहरूको समूहले एक किसिमको निर्णय निकालिसकेको अवस्था छ। त्यो नै उपयुक्त विकल्प हो, अबको केही दिनमा नै निर्माण कार्य सोहीबमोजिम सुरू गर्नुपर्छ’ ज्ञापनपत्रमा भनिएको छ।
ज्ञापनपत्र बुझ्दै उपप्रमुख खड्गीले सम्पदाप्रेमी र स्थानीय भावनाबमोजिम रानीपोखरी पुनर्निर्माण हुनेमा विश्वस्त हुन आग्रह गरे। यसअघि विज्ञ समूहले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई पनि ज्ञापनपत्र बुझाएको थियो।
यसैगरी गत बिहीबार सम्पदाप्रेमीको टोलीले पुरातत्व विभागका महानिर्देशक भेषनारायण दहालसमक्ष ज्ञापनपत्र बुझाएको छ। उक्त अवसरमा अभियानकर्मी गणपतिलाल श्रेष्ठले विज्ञ समूहको प्रतिवेदनबाट स्थानीयवासी विश्वस्त भएर बसेकाले सोहीअनुरुप रानीपोखरी पुनर्निर्माण गर्नुपर्ने बताए।
२०७२ को भूकम्पले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा पनि क्षति पुगेको थियो। त्यसको वास्तविक स्वरूप ग्रन्थकूटशैलीको थियो।
पुनर्निर्माणलाई प्रभावकारी र सहज बनाउन गत पुस १३ गते विज्ञ समूह गठन गरिएको थियो। उक्त विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने भन्दै सोहीअनुरूप निर्माण गर्न सुझाव दिएको थियो।