शान्ति निकुञ्ज माध्यामिक विद्यालयको ढोकाबाट छिर्नेबित्तिकै ४५ जनाको तस्बिर भित्तामा टाँगिएका थिए।
माथि ठूलो अक्षरमा लेखिएको थियो– बधाई ! बधाई ! बधाई !
राजधानीको मरुस्थित सरकारी स्कूलबाट एसइई परीक्षा दिएका ती ४५ मध्ये तीन जनाले ‘ए प्लस’ र आठ जनाले ‘ए’ ल्याएका छन्। ‘बी प्लस’ ल्याउने १६, ‘बी’ ल्याउने १५ र ‘सी प्लस’ ल्याउने तीन जना छन्।
अघिल्लो वर्ष ४८ जनाले एसइई दिएकामा एक जनाले मात्र ‘ए’ ल्याएका थिए।
२००२ सालमा स्थापना भएको यो स्कूलमा २००७ देखि प्रवेशिका परीक्षा सुरु भएको हो। सुरुआती दिनमा राम्रो नतिजा ल्याए पनि २०३६ सालतिर केही खस्किएको थियो।
प्रधानाध्यापक बुद्धशरण मानन्धरका पालामा २०५१/५२ सालदेखि उल्लेख्य सुधार गर्यो। त्यसै वर्षबाट कमजोर विद्यार्थीका लागि कोचिङ कक्षाको व्यवस्था गरिएको थियो। नर्सरी कक्षा सुरु भएको २०५२ मै हो।
यी सबै सुधारको परिणाम हो, २०६३ सालदेखि यो स्कूलले शतप्रतिशत नतिजा ल्याउन थाल्यो।
एसइई नतिजा गुणस्तरीय पढाइको मानक नभए पनि स्कूल छनौटमा ठूलो भूमिका खेल्छ। सरकारी स्कूलहरू यसैमा पछि पर्ने हुँदा धेरै अभिभावक निजीमै पढाउन चाहन्छन्। केही यस्ता सरकारी स्कूल छन्, जसको पढाइ र एसइई नतिजा निजीभन्दा कम छैन। शान्ति निकुञ्ज त्यसैमध्ये एक हो।
गत शुक्रबार हामी पुग्दा प्रधानाध्यापक ज्ञानकाजी महर्जन कक्षामा पढाउँदै थिए।
धेरै स्कूलमा प्रधानाध्यापकहरू कक्षा लिँदैनन्। ज्ञानकाजी भने कक्षा १० लाई अनिवार्य र ऐच्छिक गणित पढाउँछन्। कुनै दिन कुनै कक्षा खाली भए त्यहाँ पनि पढाउन जान्छन्।
विद्यार्थीको पढाइ र क्षमता स्तरबारे प्रत्यक्ष जानकार हुन प्रधानाध्यापकले कक्षा लिनैपर्ने उनको भनाइ छ।
‘मैले नपढाए त मेरा विद्यार्थी कस्ता छन् भन्ने जानकारी नै हुँदैन,’ उनले भने, ‘विद्यार्थीले कसरी पढिरहेका छन्, उनीहरूको मनोविज्ञान कस्तो छ भन्ने जान्न मैले कक्षा लिने गरेको हुँ।’
शिक्षा निकुञ्जले राम्रो नतिजा ल्याउनुको कारण यही मात्र होइन।
सरकारी स्कूलका धेरै विद्यार्थीलाई अंग्रेजी विषय पास गर्न गाह्रो हुन्छ। अंग्रेजीमा कमजोर भएकैले विज्ञान र गणित बुझाइ कम हुन्छ। यही देखेर महर्जनले २०६६ सालबाट अंग्रेजी माध्यममा पढाउन सुरु गरे। कमजोर विद्यार्थीका लागि बिहान–बेलुकी एक–एक घन्टाको कोचिङ कक्षा सञ्चालन गरे।
अंग्रेजी माध्यममा पढाउन थालेपछि निजी स्कूलबाट पनि विद्यार्थी आउन थालेको उनको अनुभव छ।
‘अधिकांश अभिभावकले अंग्रेजीको लोभमा केटाकेटीलाई निजी स्कूल लैजाने हुन्। हामीले पनि अंग्रेजीमै पढाउन थालेपछि त्यसैको निम्ति निजीमा गइरहनुपरेन,’ उनले भने, ‘एसइईमा राम्रो नतिजा आएपछि धेरै विद्यार्थी निजी स्कूल छाडेर यता आउन थालेका छन्।’
कक्षा ८ मा पढ्ने तपेन्द्रजंग बम यसका उदाहरण हुन्।
शान्ति निकुञ्जमा बाल क्लबदेखि अतिरिक्त क्रियाकलाप बढी भएकाले निजी स्कूल छाडेर आएको उनी बताउँछन्। उनका अनुसार यहाँ पनि अरू बोर्डिङमा जस्तै अंग्रेजीमा पढाइन्छ। अतिरिक्त क्रियाकलापका लागि शुक्रबारको दिन छुट्टयाइएको छ। त्यस दिन फुटबल, बास्केटबल, टेबलटेनिस, वादविवाद, हाजिरीजवाफ, कराते लगायत बौद्धिक तथा शारीरिक प्रतिस्पर्धा हुन्छ। जाडो विदामा अन्य खेलकूद प्रतियोगिता पनि हुन्छन्।
दुई कक्षादेखि यहीँ पढ्दै आएकी सजना थापालाई यिनै कारणले आफ्नो स्कूल निजीभन्दा कम लाग्दैन। ‘निजी स्कूल पढ्ने साथीहरूसँग पढाइ दाँज्दा हाम्रो कुनै दृष्टिमा कमजोर छैन,’ १० कक्षा पढ्ने उनले भनिन्।
यहाँ ६ सय ७८ विद्यार्थी छन्। वार्षिक दुई सय हाराहारी वृद्धि भइरहेको छ। नर्सरी, एलकेजी र युकेजी गरी तीन वर्ष पूर्व प्राथमिक कक्षा पनि सञ्चालन हुन्छ। नर्सरी पढ्नेलाई गएको वर्षबाट स्कूलले दैनिक तीन सय एमएल दूध खुवाउन थालेको छ।
यो वर्ष नर्सरी कक्षामा धेरै विद्यार्थी आएपछि भर्ना बन्द गर्नुपरेको प्रधानाध्यापक महर्जन बताउँछन्। उनका अनुसार एकै वर्ष ५८ विद्यार्थी नर्सरीमा भर्ना भएका छन्। उनीहरूलाई पढाउने, खेलाउने र स्याहार गर्ने तीन जना छन्।
शान्ति निकुञ्जका शिक्षक–शिक्षिकाहरू सैद्धान्तिक सँगसँगै प्रयोगात्मक पढाइमा जोड दिन थालेको बताउँछन्।
कक्षा ६ देखि १० सम्म जीव विज्ञान पढाउने अनुमा बज्राचार्यका अनुसार विज्ञान कक्षाको निम्ति यहाँ प्रयोगशालाको राम्रो व्यवस्था छ। त्यही भएर अरू सरकारी स्कूलको दाँजोमा यहाँका विद्यार्थी विज्ञानमा राम्रो भएको उनको दाबी छ। यो वर्ष एसइई दिने विद्यार्थीले विज्ञानमा राम्रो अंक ल्याएको उनले बताइन्।
शान्ति निकुञ्जले निजी स्कूलमा जस्तै विद्यार्थीको पढाइमा अभिभावकको सहभागितालाई जोड दिन थालेको छ।
शिक्षक राधेश्याम प्रधान विद्यार्थीको पढाइ, लेखाइ र कक्षामा सहभागिताबारे अभिभावकलाई नियमित जानकारी दिने गरिन्छ। अलि कमजोर विद्यार्थीलाई अभिभावककै सल्लाहमा अतिरिक्त कक्षा पढाउने गरेको प्रधानले बताए।
यहाँ पढ्ने अधिकांश विद्यार्थी निम्न र निम्नमध्यम वर्गका छन। कमजोर आर्थिक अवस्थाका अभिभावक आफ्ना केटाकेटीको पढाइमा उति समय दिन सक्दैनन्।
‘अभिभावकले दिन नसकेको समय हामीले दिने हो,’ बज्राचार्यले भनिन्, ‘हामी विद्यार्थीलाई सकभर पढाइ र अन्य अतिरिक्त क्रियाकलापमा व्यस्त राख्छौं।’
यो पनि हेर्नुहोस् :
ज्ञानोदयको रिजल्टले सरकारी स्कुलप्रति धारणा बदल्नसक्छ