नाटक अनुभव–१
सँस्कृति क्षेत्रमा लाग्दालाग्दै म नाट्य क्षेत्रमा पनि संलग्न भएँ। दुइटा भाषामा थुप्रै नाटक लेख्नुबाहेक मैले अभिनय पनि गरेको छु। यो फरक विधालाई लिएर यदाकदा प्रश्न आउने गरेका छन्।
म मुलुककै पुरानो नाट्य परम्परा ‘कात्तिक नाच’ हुने ललितपुरको बासिन्दा भएकाले पनि नाटकमा मेरो लगाव थियो। यो नाटक बर्सेनी देखाउन थालेको पौने चार सय वर्षभन्दा बढी भइसकेको छ। नाटकमा मेरो संलग्नता भने एउटा सिंगो समुदायका केटाकेटीको शिक्षा अवसरसँग जोडिएको छ।
राणाकाल सकिए पनि ललितपुरको भित्री टोलमा बस्ने कृषक परिवारका केटाकेटी स्कुल जान थालेका थिएनन्। परका स्कुल उनीहरू अनुकूल मान्थेनन्। केवल साहुमहाजन र जागिरदारका छोराछोरी मात्र जान्थे।
यस्तो अवस्थामा २००८ सालतिर तिनै कृषक समुदायका केटाकेटीलाई केन्द्रित गरेर मेरो घर छेवैमा श्री शान्ति विद्याश्रम स्थापना गरियो। त्यो मेरै पहलमा भएको थियो र स्कुलको नामाकरण पनि मैले नै गरेको थिएँ। अहिलेसम्म पनि चलिरहेको त्यो स्कुलमा हिजोआज १२ कक्षासम्म पढाइ हुन्छ। त्यतिबेला प्राथमिक तहसम्म पढाउनेगरी स्कुल स्थापना गर्ने काम चाहिँ एउटा अर्कै अभियानअन्तर्गत भएको थियो।
प्रजातन्त्र आएलगत्तै धेरै उथलपुथल मच्चियो। त्यही क्रममा गोर्खा दलको आतंक सुरु भयो। त्यो आतंक सामना गर्न सबैतिरका स्थानीय संगठित भए। त्यहीक्रममा ललितपुरमा भने मेरै नेतृत्वमा रक्षा दल बनेको थियो। हामीले विभिन्न गतिविधि चलायौं। रातभर पहरा दियौं। यसरी उक्त आतंक त निर्मूल भयो।
अब स्थापना भइसकेको त्यो संगठन के गर्ने भनेर कुराकानी निस्क्यो। ललितपुरको रक्षा दलका कार्यक्रममा मेरो निम्तो मानेर राजा त्रिभुवन पटक पटक सरिक भएको मैले उल्लेख गरिसकेको छु। त्यस्तो महत्वको संस्थालाई खारेज नगरौं भन्ने सुझाव मैले दिएँ। यसलाई समाजको भलो हुने काममा निरन्तरता दिने एकमत भयो।
त्यही संगठनका तर्फबाट हामीले श्री शान्ति विद्याश्रम खोल्यौं।
स्कुल त खोलियो। चलाउने कसरी?
हामी टोल छिमेककै पढेलेखेहरूले स्वयंसेवकका रुपमा पढाउन थाल्यौं। यो काममा धेरैको सहयोग थियो।
त्योबाहेक नाटक पनि देखाउने निधो गरियो। नाटकको नाम थियो ‘खड्गसिद्धि’।
काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्लको भोगाइमा आधारित उक्त नाटकका नायक अर्थात् जयप्रकाश मल्ल म आफैं बनेको थिएँ।
पृथ्वीनारायण शाहले हमला गर्नुअगावै जयप्रकाशले सत्ता गुमाएका थिए। उनका गलत चालचलनले गर्दा युवराजलाई राजा घोषित गर्दै रानीले सत्ता हातमा लिएकी थिइन्। यस्तो अवस्थामा अनेकतिर चहारेपछि अन्तिममा गुहेश्वरी मन्दिर पुगेर जयप्रकाशले खड्गसिद्धि साधना गरेको इतिहास छ।
साधनापछि पाएको शक्तिकै बलमा उनले फेरि भाइभारदार हातमा लिएर सत्ता फिर्ता पाएका थिए।
यही घटनामा आधारित नेवारी नाटक थियो ‘खड्गसिद्धि’। मास्टर हेमलालले लेखेको र निर्देशन गरेको नाटक। त्यो नाटकलाई जहाँ जहाँ बोलावट हुन्थ्यो हामी त्यहीँ पुगेर देखाउँथ्यौं। हनुमानढोकामा ‘च्वसा पासा’ नामको संस्थाले गरेको साहित्य सम्मेलनमा पनि देखायौं।
च्वसा पासा अर्थात् नेपालीमा पत्रमित्र। राणाकालमा संगठनको अनुमति नभएकाले उतिबेलै यसको स्थापना कोलकातामा भएको थियो। प्रजातन्त्र आएपछि त्यही संस्था यहाँ आएर सक्रिय भयो। च्वसा पासाको साहित्य सम्मेलनबेला बसन्तपुर डबलीमा मैले अभिनय गरेको थिएँ।
नेपालमा नाटक सुरुवातका प्रमाण लिच्छविकालदेखिकै पाइन्छन्। हाँडीगाउँतिर अहिले पनि डबलीका अवशेष देखिन्छ। त्यहाँ विभिन्न लेखोट छन्। तर, नाट्य परम्परा अर्थ्याउने खासै प्रमाण भने भेटिएको छैन।
मल्लकालका धेरै कुरा स्पष्ट छन्। मल्लहरुले शासन गर्न थालेदेखि नै यहाँ नाटकको बलियो प्रभाव देखिन्छ। प्रारम्भिककालको कुरा गर्ने हो भने मिथिलाञ्चलको प्रभाव यहाँका नाटकमा पाइन्छ। मैथिली भाषा र पद्दतीमै नाटक हुन्थे। मल्लहरूले पनि मैथिलीमै नाटक लेखेका थिए।
पछि नेवारी भाषाका नाटकमा निकै उन्नति भयो। त्यसमध्ये सबभन्दा धेरै भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्लका छन्। उनका मात्रै २२–२३ वटा छन्। नेवारी भाषा धनी बनाउने श्रेय उनलाई जान्छ। करिब आधा शताब्दी शासन गरेपछि उनकै पालामा पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गरेका थिए।
त्यतिबेला यहाँ देखाइने नाटक नेवारी भाषाकै भए पनि ती सँस्कृतकै नियममा बाँधिएका थिए। कालीदासको भैरवी वा साकुन्तलजस्ता नाटककै पद्दतीमा अघि बढ्थे। फरक के थियो भने, यता देखाइने नाटक संगीतप्रधान हुन्थे।
मंगलाचरण मात्र नभएर केही भन्नुपर्दा पनि श्लोक बनाएर सांगीतिक रुपमा अभिव्यक्त गरिन्थ्यो। कुन ताल र कुन राग हो भन्नेसमेत मिलाएर एउटा मिश्रित सिर्जना तयार हुन्थ्यो। कतिपय बेला परिस्थिति वर्णन गर्न सूत्रधार पनि राखिन्थ्यो।
रणजीत मल्लपछि शाहहरूले शासनसत्ता हातमा लिए। नाट्य परम्परा त्यही रुपमा अघि बढ्यो।
त्योभन्दा पहिले यहाँ एक किसिमको ‘ख प्याखँ’ भन्ने परम्परा थियो। ख प्याखँ अर्थात् खट भएको। किसानका घरमा चिउरा कुट्ने ठूल्ठूला ओखल हुन्थे। तिनै ओखललाई तलबाट चारैतिर राखेर माथि मञ्च बनाइन्थे।
यसरी खुलामञ्च जस्तो बनाएर नाटक देखाइन्थ्यो। ख प्याखँ धेरैजसो हास्यप्रधान हुन्थे। खासगरी गाइजात्रा र इन्द्रजात्राबेला यस्ता नाटक देखाउने छुट थियो। अघिपछि सितिमिति यस्ता नाटक देखाउन पाइँदैन थियो। गाइजात्राबेला त आठ दिनै नाटक देखाउन छुट थियो।
पाटनमा भने सिद्धिनरसिंह मल्लको पालादेखि कात्तिक नाचको असाध्यै बलियो परम्परा अघि बढ्यो। कति बलियो भने आजसम्म पनि चलिरहेकै छ।
कृष्णका वरपर रहने प्रत्येक पात्रलाई दिनको एकजना वर्णन गर्नेगरी सुदामा, सुरदास इत्यादि नाटक देखाइन्थे। यो हरिवंशका भागवतबाट लिइएका ‘प्लट’ हरूमै आधारित थियो। त्यसैगरी बराह अवतारको पनि नाच हुन्थ्यो। यसरी कात्तिक नाच सुरुमा सात दिनसम्म चल्थ्यो।
सिद्धिनरसिंहका छोरा श्रीनिवास राजा भएपछि त्यसमा ‘बाँठ’ भनेर बाठो मानिसको नाटक थपे। उनले कात्तिक नाचको अवधि बढाएर दुई साता पुर्याए।
बाँठ विशुद्ध लोक नाटक थियो। बाठो पात्रमा आधारित त्यो नाटकमा सामाजिक विसंगति माथि व्यंग्य गरिन्थ्यो। पात्रले नचिनिनेगरी मुखुण्डो लगाउँथ्यो। यसलाई संगीतले गाइड गर्थ्यो। नाटकको एउटा परिस्थितिबाट अर्को परिस्थिति बताउन संगीतकै सहारा लिइन्थ्यो। खीँ बाजाले संकेत गरेबमोजिम पात्रहरू ‘मुभ’ हुन्थे। मञ्चमा पात्रको प्रस्थान र प्रवेशमा जम्मै शास्त्रीय पद्दती अपनाइन्थ्यो।
त्योबेला यहाँ प्रचलित भाषालाई ‘देस भाषा’ भनिन्थ्यो। यही भाषामा नाटक बन्थे।
श्रीनिवासको निधनपछि उनका छोरा योगनरेन्द्र मल्लले फेरि त्यसमा ‘उषा हरण’ र ‘बानासुर’लगायत प्लट थपे। अवधि बढाएर एक महिना बनाइदिए।
कात्तिक शुक्ल त्रयोदशीका दिन नर्सिंहलाई मध्यरातमा निकाल्नै पर्थ्यो। मध्यरात किनभने हिरण्य कश्यपुले रात र दिनमा कसैले मार्न नसक्ने वरदान पाएका थिए। उसको संहार गर्ने नर्सिंह कृष्ण मन्दिरका पुजारीको सन्तान हुनुपर्थ्यो। यो परम्परा आज पनि छ।
नर्सिंह पात्रले सात दिनसम्मै पुरुषचरण गर्नुपर्थ्यो। ब्रम्हचार्य बस्नुपर्ने। सात दिनसम्मै नर्सिंहको मुखुण्डो पुजा गर्नुपर्ने। मुखुण्डोमा सत् हुन्छ। मुखुण्डो लगाएपछि देउता चढ्छ। उसैले छुनेबित्तिकै दैत्य अर्थात् हिरण्य कश्यपु ढल्छ।
कात्तिक नाचमध्ये यो एउटा खण्ड एक प्रकारको ब्याले नै हो। यसको नाच मौलिक छ। संसारमा अन्त कतैको नाचसँग यो मिल्दैन। कात्तिक नाचका अरु खण्ड भने संवादमा आधारित नाटक हुन्।
यसरी अघिबढेको कात्तिक नाच २००८ सालसम्म एक महिनै चल्थ्यो।
त्योबेला छेभडेल नामक एउटा अड्डा थियो, नगरपालिकाजस्तो। गुठीका धेरै काम त्यही अड्डाले गर्थ्यो। मान्छे धरपकड गर्ने हिसाबले कताकति प्रहरी जस्तो काम पनि गरिदिन्थ्यो। त्यही अड्डाले देवीदेवताका नाचगानको पनि व्यवस्थापन सम्हाल्थ्यो।
२००८ सालपछि भने कात्तिक नाच दुई दिन मात्र चलाउन थाले– बराह निकाल्ने र नर्सिंह निकाल्ने।
पछि २०३८ सालमा आएर नवयुवकहरूले एउटा कमिटी बनाए। यही कमिटीले सम्पदा संरक्षण गर्नुपर्छ भनेर फेरि त्यो नाचलाई आठ दिनको बनायो। बाँठ, सुरदास र सुदामा फेरि समेटिए। त्यसैले अहिलेसम्म निरन्तरता पाइरहेको छ।
इतिहासको कुरा गर्दा अझ अगाडिको एउटा अर्को नाटक ‘रामांक नाटिका’ को पनि प्रसंग आउँछ। त्यो विशुद्ध सँस्कृत नाटक थियो।
करिब पाँच छ सय वर्ष पहिले लेखिएको र ललितपुरमा मञ्चन गरिएको त्यो नाटक तालपत्रका रुपमा फेला परेको थियो। त्यसलाई पछि प्रज्ञाप्रतिष्ठानले अनुवाद गराएर किताब नै बनाएको छ।
उक्त नाटकको भूमिकाअनुसार त्योबेला ललितपुर भक्तपुरको अधीनमा थियो। केन्द्र भक्तपुर रहे पनि त्यसबाट अलिकता स्वायत्तता पाएर स्वतन्त्र जस्तो भएको उपलक्ष्यमा त्यो रामांक नाटक ललितपुरमा खेलाउन थालिएको हो।
तालपत्रमा सँस्कृत भाषामै नाटक फेला पर्नुको अर्थ त्यो कालखण्डमा यहाँ सँस्कृत भाषामा नाटक देखाइन्थ्यो भन्ने बुझिन्छ। मान्छेले भाषा बुझ्थे कि बुझ्थेनन्, थाहा छैन। हेर्न चाहिँ पक्कै हेर्दारहेछन्।
रामांक नाटक पछि कात्तिक नाच नै पुरानो हो।
त्यसो त हरिसिद्धि र नरदेवीको श्वेतभैरवी पनि पुराना नाच हुन्। तर, त्यसमा बली परम्परा जोडिएको छ। कात्तिक नाच शुद्ध ‘पफर्मेन्स’ हो।
यस्तो परम्परा अघि बढ्दै गएको मुलुकमा राणाकाल आएपछि पारसी थिएटर भित्रियो। पारसी थिएटर भनेको चारैतिर खम्बा गाडेर स्टेज बनाउने। त्यसमा किसिम किसिमका पर्दा प्रयोग हुन्थे। पर्दामा जंगल, नदीनालादेखि दरबारसम्मका चित्र कोरिन्थे। परिस्थितिअनुसार पर्दा तानेर देखाइन्थ्यो। त्यसैगरी मञ्चकै अगाडि पनि पसलको सटरजस्तो पर्दा हुन्थ्यो।
नक्कल गरेर ल्याइएको पारसी थिएटरसँगै उर्दू भाषाको प्रभाव पनि नाटकमा भित्रियो। संवाद, गीतदेखि लिएर प्लटमा पनि उर्दूकै प्रभाव विस्तार भयो।
त्योबेला यहाँ नाटक देखाउन ‘मुन्चा’ प्रसिद्ध नाम थियो। असनको त्यो तुलाधर परिवारले हरेक वर्ष गाइजात्रा र इन्द्रजात्रामा नाच र नाटक देखाउँथे।
राणाहरूले पर्सियन थिएटर भित्र्याएकामध्ये सबभन्दा प्रभावशाली सिंहदरबार भित्रै थियो। चन्द्रशमशेरले महँगा र ठूल्ठूूला १५–२० वटा पर्सियन पर्दाहरू राखेका थिए। फरक परिस्थिति दर्शाउन ती पर्दा अब्बल गुणस्तरका थिए।
सिंहदरबार हलमा पर्दा मात्र होइन अरू कुराको पनि प्रभाव निकाल्न अनेक उपाय लाइएको थियो। बिजुली गर्जिंदाको आवाज निकाल्न नेपथ्यमा माथिदेखि ठूलो ढुँगा काठको सिँढीबाट तल खसालिन्थ्यो। त्यो डाङडाङ डुङडुङ गर्दै ठूलै आवाज निकालेर तल खस्दा हलमा बसेका दर्शक चकित खान्थे।
त्यसैगरी बिजुली चम्काउन कार्बन प्रयोग हुन्थ्यो। स्टेजको तलतिर मानिस बसिरहेका हुन्थे। त्यही मानिसले दुईवटा कार्बन जोडिदिँदा ह्वार्रर ठूलो उज्यालो निस्कन्थ्यो।
यस्ता तरिका अपनाएर राणाहरूले पर्सियन थिएटरकै उत्कृष्ट नमूना काठमाडौंमा स्थापित गरेका थिए। सिंहदरबारभित्रको नाचघर पछिसम्मै सञ्चालनमा थियो। यसको छेउमा अहिले नेपाल टेलिभिजनको कार्यालय छ।
राजा महेन्द्रको राज्याभिषेक बेला (२०१३ साल) मैले त्यो नाचघरमा काम गरेको थिएँ। राज्याभिषेकको नाटक मूल समारोह समिति भनेर छुट्टै निकाय खडा गरिएको थियो। त्यसमा कवि शिरोमणि लेखनाथ पौड्याल अध्यक्ष थिए। सिद्धिचरण श्रेष्ठ सचिव। बालकृष्ण समदेखि केदारमान ब्यथितसम्म रहेको समितिमा म पनि थिएँ। यही आयोजनाबाट मेरो सामिप्य देशका कलासाहित्य क्षेत्रका व्यक्तिसँग भएको थियो।
राज्याभिषेकमा देखाउन समले लेखेको भिमसेन थापामा आधारित ऐतिहासिक नाटक ‘राजेन्द्रलक्ष्मी’ छानियो। यसमा समले आफूसहित छोरा, छोरी, नाति, ज्वाइँ सबैलाई अभिनय गराएका थिए।
राणाकालमा सिंहदरबारबाहेक अरू पनि नाटक हल थिए। नारायणहिटीमा हुने नै भयो। केशरशमशेरले पनि केशर महलभित्रै सानो नाचघर बनाएका थिए। त्यसैगरी दरबारिया शानमा बस्ने गुर्जुहरूले पनि नाचघर बनाएका थिए। थापाथलीमा पनि एकजना राणाजीले नाचघर बनाएका थिए। गाइजात्राबेला त्यहाँ पनि नाटक चल्थे।
काठमाडौंका नामी नाचघर यीनै थिए। त्यहाँ तीन–चार महिना तालिम गराएरै नाटक देखाइन्थ्यो। जनस्तरमा भने मुन्चा र मुसलमानहरूले पनि नाटक देखाउँथे।
ऐतिहासिक परम्परा छाडेर समकालीन नेपाली नाटकको इतिहासमा बलियो मोड कोर्ने श्रेय भने बालकृष्ण समको ‘मुकुन्द इन्दिरा’लाई जान्छ। एक हिसाबले भन्ने हो भने अहिलेसम्म पनि त्यसैको प्रभाव छ।
यो १९९५ सालको कुरा हो। त्यतिबेला समले दरबार हाइस्कुलका विद्यार्थी लिएर ‘मुकुन्द इन्दिरा’ खेलाएका थिए। म त्यहीँ चार कि पाँच कक्षामा पढ्थेँ। आफू विद्यार्थी भएकाले मैले नाटक हेर्ने मात्र होइन, त्यसका चहलपहल पनि देख्न पाएँ।पाटनदेखि ओहोर–दोहोर गर्नुपर्ने भएकाले नाटकमा भाग लिने मौका भने पाइनँ।
अहिले भन्दा मानिसले कत्तिको महशुस गर्लान्?
त्योबेला उक्त नाटकले एक किसिमको क्रान्ति नै गरेको थियो। नाट्य क्षेत्रमै ठूलो फड्को त्यसैले मारेको हो। नाटकमा उर्दूको एकछत्र प्रभाव चलिरहेको नेपाली समाजमा पहिलोपटक पूरै नेपालीमा लेखिएको नाटक थियो त्यो। गीत पनि नेपालीमै थिए।
त्योभन्दा अगाडि त नाटक मञ्चन मात्रै नेपालमा हुन्थ्यो। संवाद, गीत सबै उर्दूमै हुन्थ्यो। नेपाली भाषामा गीत गाउने कल्पना कसैले गरेका थिएनन्।
बालकृष्ण समको यो नयाँ प्रयोग थियो। उनको प्रयोग नाटकमा मात्र होइन, मञ्चमा पनि देखियो। उनले राखेका पर्दा सबै काला रङका थिए। परिस्थितिहरू झल्काउने रंगीविरंगी पर्दा थिएनन्।
नाटक हेर्न जुद्धशमशेर पनि आएका थिए। नाटक हेरेपछि उनले पुरस्कार वितरण गरे। त्यसपछि नाटक सिंहदरबार पुग्यो। त्यहाँ धेरै दिन चलेपछि नारायणहिटी लगियो।
नेपाली भाषामा पनि नाटक हुँदो रहेछ भन्ने मान्यता ‘मुकुन्द इन्दिरा’ले नै स्थापित गरिदियो।
नाटकमा छोरा लिन कोलकाता हिँडेका मुकुन्दका पिता भवदेवले लय हालेर ‘हे, पान्त (यात्री) के तिमी कहिल्यै पुगेका छौ नेपालमा?’ भनेर गाउँदा दर्शकको मनै हुरुक्क हुन्थ्यो।
एक त पहिलोपटक नेपाली भाषाको हेरेको, त्यहाँमाथि राष्ट्रवादी भावले भरिएको नाटक। भवदेवका लयसँगै हामी दर्शकका शरीरका रौं ठाडा हुन्थे।
त्योबेला नाटकमा स्त्रीको भूमिका पनि पुरुषले नै गर्थे। इन्दिराको भूमिका रामकेशरी नाम गरेका एक केटा विद्यार्थीले निभाएका थिए। उसलाई कपाल पाल्न लगाएर महिलाकै जस्तो स्वरमा बोल्न लगाइएको थियो।
मुकुन्द–इन्दिरा नाटक यति लोकप्रिय भयो, नाटक खेलेर रिझाएकै कारण कप्तान रहेका सम मेजर कप्तानमा बढुवा भए।
त्योबेला दरबार हाइस्कुलमा रुद्रराज पाण्डे हेडमास्टर थिए। विद्यार्थीलाई कुशलतासाथ व्यवस्थापन गरेर नाटक सम्पन्न गराएकोमा उनले गोरखा दक्षिणबाहु पाए। त्यसपछि त उनले आफ्नो नाम नै ‘गोदवा रुद्रराज पाँडे एम ए इलाहावाद’ लेख्न थाले।
उता नारायणहिटीमा पनि मुकुन्द–इन्दिरा हेरेर राजा धेरै खुसी भएको सुनियो। सबै कलाकारलाई दरबारभित्रै चाँदीका भाँडामा राखेर भोज खुवाएका थिए रे! नाटकमै सरिक मेरा सहपाठीले यी कुरा सुनाएका थिए।
कलाकारलाई कोलकाता लगेर डिस्क रेकर्डसमेत गराइयो। उनीहरूले रेकर्ड गरेर सात–आठवटा चक्का लिएर आएका थिए।
यसरी लामो समय बलियो पकड बनाउँदै आएको पारसी थिएटरलाई मुकुन्द इन्दिराले मिल्काइदियो। र, नेपालमा नाटकको नयाँ युग सुरु भयो।
समले भव्यताका साथ मुकुन्द–इन्दिरा देखाएपछि अर्को जोडदार उपस्थिति भिमनिधि तिवारीको भयो।
यो २००८ सालपछिको कुरा हो।
तिवारीले ‘सहनशिला सुशिला’ मञ्चन गरे।
राजा त्रिभुवन तिवारीबाट निकै प्रभावित भएका थिए। तिवारीले नाटक उत्थान गर्न एउटा संस्था खडा गर्ने इच्छा देखाएका थिए। त्रिभुवनले यसनिम्ति रानीपोखरी छेउको अञ्चलाधीश कार्यालयदेखि अहिलेको शान्ति वाटिका हुँदै सोह्रखुट्टे गणेशसम्मको जग्गा तिवारीलाई दिए। समले पनि राजालाई यतिसम्म रिझाएका थिएनन्।
तर राजाले दिएको जग्गा तिवारीले प्रयोग गरेनन्। यसको कारण भने थाहा हुन सकेन।
यसरी लिच्छविकालका अज्ञात परम्परा, मल्लकालका सम्पन्न नाटक हुँदै अघि बढेको नाट्य परम्परामा आज हामीकहाँ जे जति नाटक भइरहेका छन् त्यसको प्रारम्भ गराउने श्रेय बालकृष्ण समलाई नै जान्छ।
आगामी श्रृंखलामा एकेडेमीको स्थापनादेखि यताका नाटक अनुभवबारे उल्लेख गर्नेछु।