भक्तपुरका बूढापाकाको खेल ‘कसिप्याचा’

स‌ंरक्षण निम्ति पाठ्यक्रममा राख्ने तयारी हुँदै

कसिप्याचा खेल्दै। तस्बिरः सबिना श्रेष्ठ/सेतोपाटी


‍च्यामासिंहबाट दत्तात्रय जाने बाटोमा एउटा मन्दिर छ – वाकुपति नारायण। नेवारी भाषामा ‘वाकु’ भनेको धानकाे भारी र त्यसैबाट उत्पति भएको ‘चागुँनारायण’ भएकाले वाकुपति नारायण नाम रहन गएको स्थानीय पूर्णनारायण ज्याखः बताउँछन्।

यो मन्दिरमा साँझ आरती र भजन हुन्छ। त्यसमा पाका मान्छेको विशेष सहभागिता रहन्छ।

केही दिनअघि त्यहाँ पुग्दा मैले थाहा पाएँ, उनीहरु यहाँ भजन गाउन मात्र आउने रहेनछन्।

अर्को मग्सद पनि रहेछ, ‘कसिप्याचा’। भक्तपुरका बूढापाकाको समय बिताउने उपाय।

म हेरिरहेँ।

बाहरू भुइँमा वरिपरि गोलो भएर बसेका थिए। सबैको ध्यान बीचमा थियो। भुइँमा चकले बोर्ड जस्तो कोरिएको थियो। केही ढु‌ंगा र इँटाका स-साना टुक्रा थिए।

बाघचाल हो कि लुडो? अनौठो लाग्यो।

खेलमा दुई टोली जस्तो भएर बाहरु बसेका थिए। मुख्य खेलाडीले मसिनो बाँस दुई फ्याक बनाइएका लाम्चा टुक्रालाई मुख्य औजार बनाएर भुइँमा फ्याँके।

भुइँमा चार टुक्रा बाँस थिए, कुनै सुल्टा, कुनै उल्टा। त्यही हेरेर अंक निर्क्यौल भयो।

कोरिएका रेखामा ढुंगा र इँटाका टुक्रा चालियो। चाल्ने तरिका लुडोसँग मिल्दो जुल्दो लाग्यो। लुडोमा एउटा गोटी हुन्छ, जसमा १ देखि ६ सम्म अंक हुन्छ। गोटी फ्याँक्यो, जुन अंकमा रोकिन्छ, त्यही अनुसार बोर्डका कोठामा चाल्ने।

कसिप्याचामा पनि त्यस्तै हुँदै थियो। गोटीका ठाउँमा बाँसका टुक्रा फ्याँकिने। मैले जस्तै कसिप्याचा खेल देख्नेहरुले ‘परम्परागत लुडो’ नै भन्दा रहेछन्।

मन्दिरको खुला ठाउँमा कृष्ण वैध र राम बाला खेलिरहेका थिए। चार-पाँच जना भने दुई जनाको टोलीमा बाँडिएका जस्तै देखिन्थे।

पूर्णनारायण भने मलाई खेलबारे बताउँदै थिए।

‘यो खेल पुर्खाबाट हस्तान्तरण हुँदै आएको हो। मेरो विचारमा यो भक्तपुरको मौलिक खेल हो। कसिप्याचा जस्तै देखिने बाघचाल त अन्य ठाउँमा पनि खेलिन्छ तर यो कतै देखिन्न,’ उनले भने, ‘अचेल त भक्तपुरको पनि कुनै कुनै ठाउँमा मात्र  सिमित छ।’

सुकुलढोका, ल्याकु र इनाचोका पाटी, पौवा र मन्दिरमा यो खेल धेरै खेलिने उनले जानकारी दिए।

‘कसरी खेल्ने हो?’ मैले बुझाइ मागेँ।

उनले विस्तार लाए।

कसिप्याचा खेल्दै। तस्बिरः सबिना श्रेष्ठ/सेतोपाटी

बासँका चार स–साना टुक्राले अकं मापन गर्छन्। करिब ४ इन्च लामा बासँका टुक्रा भुइँमा फालिन्छ जसबाट १ देखि ५ सम्म अंक हिसाब गरिन्छ।

चार बासँमध्ये तीनवटा घोप्टो परेमा त्यो एक मानिन्छ।

दुईवटा घोप्टो परे दुई।

एउटा मात्र घोप्टो भयो भने तीन हुन्छ।

कुनै पनि घोप्टो नपरेमा चार हुन्छ ‍भने सबै घोप्टो परेमा पाँच अंक हुन्छ।

सबै बाँस घोप्टो पर्दा वा कुनै पनि नपर्दा भने खेलाडीले फेरि फाल्न पाउने नियम रहेछ।

पहिलो गोटी चाल्न भने ‘कसि’ अर्थात एक नै ल्याउनु पर्ने रहेछ।

हेर्दै जाँदा खेल बुझ्न समय लाग्ने रहेनछ।

पूर्णनारायणले भुइँमा कोरेको बोर्ड आकृतिबारे पनि जानकारी दिए।

दुईजनाले खेल्ने कसिप्याचामा दुईतर्फ नै १७-१७ कोठा हुन्छन्। यसको एकातर्फ इँटाको टुक्रा त अर्को तर्फ ढुंगा राखिन्छ। यिनको साटो अन्य कुनै बस्तु राख्दा पनि हुन्छ। कोठाको बीचमा भने अन्य खाली ठाउँ हुन्छ जहाँ गोटी घुम्छन्।

बोर्डको बीचका कोठामध्ये केहीमा ‘तारा’ जस्ता चिन्ह पनि थिए।

‘यो तारा चाहिँ किन बनाइएको?’

‘यसमा गोटी राख्यो भने सुरक्षित हुन्छ नि,’ पूर्णनारायणले भने, ‘तर अर्कोको गोटी छ भने यसमा राख्न नपाइने नियम छ।’

फेरि लुडोकै झल्को।

खेलका बाँकी प्रक्रिया भने ‘बाघचाल’ जस्तै लाग्यो। एकले अर्काको गोटी खाँदै जाने।

अन्त्यमा बोर्डमा जसको एउटा मात्र गोटी बाँकी रहन्छ त्यो हार्ने रहेछ।

खेलमा कृष्ण वैध दुई पटक हारे। उनले खल्तीबाट १० रुपैयाँ झिकेर राम बालालाई दिए। कृष्ण अझै खेल्न तम्सिए।

‘पैसाको बाजी पनि हुन्छ?’

‘विशेष त समय बिताउन मात्र खेल्ने हो। कोहिले भने चिया खान भनेर ५, १० रुपैयाँ बाजी राख्ने हुन्,’ पूर्णनारायणले भने।

उनका अनुसार सुरुआतमा पाका उमेरका बाहरु मन्दिरमा तास खेलेर समय बिताउँथे। भक्तपुर नगरपालिकाले रोक लगाएपछि भने कसिप्याचा खेल्न थालेका हुन्। खेल करिब २० मिनेटदेखि १ घण्टासम्म लम्बिने रहेछ।

कसिप्याचा खेल्दै। तस्बिरः सबिना श्रेष्ठ/सेतोपाटी

‘मन्दिर परिसरमा यसरी बूढापाका बसेर खेल्दा उनीहरुकाे समय पनि बित्छ, अापसी सद्भाव पनि कायम हुन्छ,’ अर्का स्थानीय राम कासिछ्वाले भने, ‘यो खेललाई नगरपालिकाले स्कुल पाठ्यक्रममा पनि राख्ने भनेको छ नि।’

उनले उत्साहित हुँदै भने, ‘स–साना विद्यार्थीलाई पनि सिकाएर प्रतियोगिता गराउने रे। यस्तो गर्ने हो भने त पुर्खौंदेखिको खेल संरक्षण हुन्छ।’

कासिछ्वाका कुरा नगरपालिकाका पाठ्यक्रम निर्माणदलका संयोजक यगेन्द्रमान बिजुक्छेले पुष्टि गरे। कसिप्याचा खेल संरक्षण निम्ति पहल भइरहेको उनले जानकारी दिए।

‘यो खेलमा हात र आँखाको समन्वय, खेलाडीको मनोविज्ञान जोडिएको हुन्छ,’ उनले भने, ‘यो खेल मात्र नभएर हामीले भक्तपुरका मौलिक खेल एवं परम्परालाई पनि जगेर्ना गर्ने पहल गर्दैछौं।’

विद्यार्थीसँग प्रत्यक्ष जोडिएको भएकाले शैक्षिक हिसाबमा कस्तो महत्व छ भनेर विश्लेषण गर्न भने बाँकी रहेको उनले बताए।

‘खेलको विषयमा सुझाव संकलन गर्ने, विश्लेषण गर्ने टोली बनाएका छौं,’ उनले भने, ‘केही दिनमा यो विषयमा निर्क्यौल हुन्छ।’

संस्कृतिविद तेजेश्वरबाबु ग्वंग कसिप्याचा भक्तपुर सम्पदाकै एउटा अंश भएको बताउँछन्। यसलाई संरक्षण गर्ने हो भने सम्पदा र परम्पराको दुवै जगेर्ना उनको भनाइ छ।

‘खेलले खाली ठाउँको महत्व र उपयोगिता पनि बताउँछ,’ ग्वगंले भने, ‘कसिप्याचा जोगिनु भनेको हाम्रो मौलिक परम्परा पनि जगेर्ना हुनु हो।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.