जुम्लामा विज्ञ टोलीलाई अञ्चलाधीशले भने–‘लुट्छन्, फर्किहाल्नुस्’

तस्बिर : निशा भण्डारी/सेतोपाटी


खस सभ्यता खोज्दै महाविकट कर्णाली–३

हामी चढेको छ जनामात्र अटाउने प्लेन कालीगण्डकीको खोँचै खोँच उडिरहेको थियो। अग्ला डाँडाहरूको तुलनामा प्लेनले लिइरहेको उचाइ अलि तलै थियो। पहाडहरूसँग लुकामारी खेल्दै उडिरहेजस्तो।

यो पाँच दसक पहिलेको कुरा हो। त्यसमाथि जुम्ला जान लागेको ‘सिंगल इन्जिन’ जहाज। हामी कुनै चौरमै ओर्लँदै छौं भन्ने पनि सबैलाई थाहा थियो।

सबैको सात्तोपुत्लो उडेको थियो। तै पनि सम्हालिएर बसेका थियौं।

नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका लागि नेपाली भाषाको ब्यूत्पत्ति थलो खोजी गर्न जाने मेरो एकोहोरो अडानकै नतिजामा यो यात्रा भइरहेको थियो। साथमा थिए साँस्कृतिक नृतत्वशास्त्री (कल्चरल एन्थ्रोपोलोजिस्ट) विहारीकृष्ण श्रेष्ठ, भूगोलशास्त्री स्थिरजंगबहादुर सिंह, भाषाशास्त्री चूडामणि बन्धु र संस्कृतिविद् प्रदीप रिमाल।

भाषासम्बन्धी अध्ययन गर्ने विदेशी संस्था सिल (समर इन्स्टिच्यूट अफ लिंग्विस्टिक)ले उसको विमान दिने भएपछि हाम्रो यात्रा यस रूपमा हुँदै थियो। त्यो संस्था त्रिभुवन विश्वविद्यालयसँगै मिलेर काम गथ्र्यो। चुडामणिजी त्रिविकै प्राध्यापक भएकाले उनीमार्फत् प्लेनको बन्दोबस्त भएको थियो। नत्र त्यसअघि त हामी कसरी कर्णाली जाने भन्ने पनि भेउ पाइरहेका थिएनौं। साधन उपलब्ध भएपछि हामी जाने दिन पनि तय भयो। पाँच जनाको त हामी अध्येताहरूको टोली नै थियो। जहाजका ती विदेशी पाइलटसमेत गरेर छ जना।

घरमा ‘म अध्ययनका निम्ति कतै बाहिर जाँदैछु’ मात्र भनेको थिएँ। कहाँ र कस्तो ठाउँ हो भनेर परिवारलाई सुनाएको थिइनँ। हामी त आफैँ आँट गरिसकेपछि छाड्ने कुरा हुँदैन भन्ने मनःस्थितिमा थियौं भने उनीहरूलाई किन बेकारमा अत्याउनु?

जे होस्, जाने दिन आइपुग्यो। २०२७ सालको बैशाख महिना नै हुनुपर्छ।

त्योताका त्रिभूवन विमानस्थल अहिलेको जस्तो ब्यस्त हुन्थेन। कोइ–कोइ बेला मात्र जहाज उडेको देखिन्थ्यो।

निर्धारित दिनमा बिहानको खाना खाइवरि हामी सबैजना पोका बोकेर गौचरण अर्थात् त्रिभुवन विमानस्थल पुग्यौं। यस्तै बिहानको ११ वा १२ बजेको थियो।

पुतलीजस्तो जहाजमा चढ्यौं। अगाडिका बाटा कहाँ कहाँ भएर लैजाने हो, कसरी ओराल्ने हो– हामी यो सोचेर आत्तिएका थियौं।

चढ्नेबित्तिकै प्लेनको इन्जिन चलिहाल्यो। त्योबेला काठमाडौंको धावनमार्ग पक्की नै थियो। त्यो सानो प्लेन धावनमार्गमा राम्ररी गुड्नै नपाइ उड्यो। त्यसलाई परसम्म कुद्नु पनि नपर्ने रहेछ।

आकासमा उचाइ लिँदै गयो। एकैछिनमा हामी पोखरा माथि पुगेछौं। अहिले झझल्को जस्तो मात्र याद आउँछ।

पोखरा नाघेपछि कालीगण्डकीको तिर समातेको थियो। बाटोमा त्यो प्लेन कति हल्लियो हल्लियो। कुरै नगरौं। एक हिसाबले मनमा प्राणै गए पनि एकैपटक जाओस्–यति धेरै त नहल्लाओस्, भन्ने थियो। तैपनि परिस्थितिलाई छल्न हामी साथीहरू अनेक सन्दर्भ निकालेर गफ गर्न थाल्यौं।

त्योताका कालीकोटलाई तिब्रीकोट भनिन्थ्यो। जुम्ला, तिब्रीकोट, मुगु र हुम्लालाई सरकारले ‘दुर्गम क्षेत्र’ घोषित गरेको थियो। एकपटक पुगेर आएका कर्मचारीहरू कठोर बाटोघाटोमा भोग्नुपर्ने कठिनाइका डरलाग्दा वर्णन गर्थे।

हामी कर्णाली पुगेको भन्दा अझ पछि सन् १९७१ को नोभेम्बरमा नेसनल ज्योग्राफिकले त्यहाँको विकटताबारे एउटा लेखै प्रकाशित गरेको थियो। ‘रोडलेस कर्णाली’ शिर्षकमा। त्योबेला असाध्यै चर्चित थियो त्यो लेख। यसरी अन्तर्राष्ट्रिय जगतमै विकट ठाउँ भनेर चिनिएको भेग जाँदै थियौं।
हामीलाई उडाउँदै गरेका पाइलट चाहिँ यताको सारा अनुभव लिएर चलाख भइसकेका थिए। उनैको पोख्त उडानले गर्दा केही घन्टामै जुम्लाको आकाशमाथि पुग्यौं। अन्दाजी दुई–तीन घन्टा लागेको थियो लाग्छ।

घाँसपात उम्रिरहेको त्यो कच्ची मैदानमै उफार्दै र थचार्दै प्लेन एकैछिनमा अडियो।

जुम्लाको सदरमुकाम खलंगामा उत्रँदा घाम लागेकै थियो। हामी त्यो मैदानबाट सरासर हिँडेर अञ्चलाधीशकहाँ गयौं। त्योबेला बद्रीविक्रम थापा कर्णालीका अञ्चलाधीश थिए।

यो पनि हेर्नुहोस् :खस सभ्यता खोज्दै महाविकट कर्णाली–१

 

थापा हाम्रा निम्ति परिचित नाम थियो। २००७ सालको क्रान्तिका बेला सेनामा पहुँच भएका कांग्रेसी। उनले सैन्य हिसाबले नै क्रान्तिमा नेपाली कांग्रेसलाई सघाएका थिए। त्यसवापत राणाहरूबाट उनलाई मृत्युदण्डसमेत सुनाइएको थियो। सिन्धुपाल्चोकतिरका थापाले प्रजातन्त्र आएपछि प्रशासकका रुपमा लामो समय मुलुकको सेवा गरे। बडाहाकिम हुँदै अञ्चलाधीशसम्म। राजनीतिक परिचय र प्रशासनिक ओहदाका बाबजूद पनि उनी कर्मयोगी र समाजसेवीका रुपमा नेपालकै एक मानक व्यक्तित्व हुन्।

‘ए… ल, तपाईंहरू जम्मै पढेलेखेका विद्वानहरू टोली नै आउनुभएछ,’ हामीलाई देखेर दंग परेका उनले भने, ‘लौ अब गर्न खोज्नुभएका कुरा विस्तारमा सुनाउनुस्।’

हामीले आफ्नो उद्देश्य सुनायौं।

अञ्चलाधीशले त जिब्रो पो टोके।

‘हत्तेरी, बित्थामा दुःख पाउने हुनुभयो,’ उनले टोक्दै गरेको जिब्रोलाई दाँतबाट मुक्त गरेपछि एउटा टुक्कासमेत सुनाए, ‘गयो डोटी, खायो रोटी, फर्केर आउँदा धोती न टोपी– तपाईंहरूको हालत अब त्यस्तै हुने भयो।’ अगाडि थपे– ‘यहाँ त अब कति कति पैसा बोकेर ल्याउनुभएको छ। त्यो पनि थुत्छन्।’

‘यो त जुम्ला पो हो,’ उनले तर्साए, ‘यस्तो ठाउँमा आएर पनि त्यस्तो काम हुन्छ र?’

हामीले गाउँघरमा गएर सिधासाधा किसिमले काम गर्ने उल्लेख गर्यौं।

‘ओहोहोहो त्यस्तो कुरै नगर्नुस्,’ उनले भने, ‘तपाईंहरूलाई आफू कस्तो ठाउँमा आइपुगेको छु भन्ने थाहै छैन। फर्किहाल्नुस्।’

हामीले जे जस्तो भएता पनि आफूहरू आइसकेको र अब अञ्चलाधीशले यो टिमलाई मद्दत गरिदिनुपर्ने जिकिर गर्यौं।

‘अब के मद्दत गर्ने तपाईंहरूलाई?’ उनले भने, ‘दुईचार दिन बस्नुहुन्छ भने खानपिनको बन्दोबस्तसहित पाहुना मान्ने नै छु। अरु कुनै मद्दत चाहिँ यो ठाउँमा म केही पनि गर्न सक्दिनँ।’

हामीले त्यसभन्दा बढी सहयोग हुनसक्ला कि भनेर सोध्यौं।

‘यहाँबाट सिंजाखोलासम्म पुग्न एक रात बास बसेर जानुपर्छ,’ उनले भने, ‘तपाईंहरूलाई बाटो देखाउँदै त्यहाँसम्म पुर्याइदिने एउटा कर्मचारी खटाइदिन सक्छु। त्यसभन्दा बढी चाहिँ केही गर्न सक्दिनँ।’

उनले बाँकीको सहयोग मात्र होइन, हाम्रो उद्देश्यलाई नै सोझै ‘रिजेक्ट’ गरिदिए।

‘यस्तो ठाउँमा पनि यस किसिमको काम लिएर आउने हो?’ उनी भनिरहेका थिए, ‘त्यस प्रकारको कामै हुँदैन यहाँ।’

खुद अञ्चलाधीश भएर सदरमुकाममा बसिरहँदा पनि आफूले भोगिरहेका अनेक कठिनाइ उनले सुनाए।

जे होस्, हामीले दुई–तीन रात अञ्चलाधीशको आतिथ्य स्वीकारेपछि उनैले खटाइदिएको एउटा पिउन लिएर हिँड्यौं।

सदरमुकामबाट हिँडेपछि एक रात बीचमा बास बस्यौं। तिला नदीे किनारमा त्यो गाउँ थियो। भोलिपल्ट सिंजाखोला उपत्यका पुग्यौं। सिंजाखोला उपत्यकाको पनि हाटसिंजा गाउँलाई केन्द्र बनाएर हामीले काम गरेका थियौं।

काठमाडौंबाट आएको समूह देखेपछि त्यहाँका मानिसहरू हाम्रा वरपर झुम्मिए। ‘के गर्न आएको?’, ‘कति पैसा बोकेर ल्याएको?’ जस्ता अनेक जिज्ञासा थिए।

हामीले जति स्पष्ट पार्न खोजेता पनि उनीहरूको एउटै ध्याउन्न ‘यिनीहरूले टन्नै पैसा लिएर आएका छन्। कसरी खर्च गराउने?’ भन्ने किसिमकै थियो।

म त टिम लिडरै थिएँ। त्यत्रो स्वयं अञ्चलाधीशले नै सावधानी गराउँदा गराउँदै आँट गरेर लगेको छु। त्यसैले असाध्यै डर लागिरहेको थियो।

अर्कोतिर हामी पाँच जनाको टिम असाध्यै राम्रो थियो। त्यो टिमको खानपिनदेखि लिएर सम्पूर्ण बन्दोबस्तीको जिम्मेवारी मैले नै सम्हालेको थिएँ।
कुखुरा खोज्नेदेखि लिएर तरकारी पकाउनेसम्मका काम म आफैं गर्थेँ। टोलीलाई रिझाउन हरसम्भव प्रयत्नरत रहन्थेँ। लिडर मात्र होइन सारा सबैको बन्दोबस्तसमेत आफैंले मिलाएँ।

पछि पछि बिस्तारै गाउँलेले विश्वास गर्दै जान थाले। त्योबेलाको जुम्ली गाउँमा गेस्टहाउस कताबाट पाउनु? घर पनि बेग्लै पाराका थिए। उनीहरूकै परिवार अटाउने किसिमका। त्यस्तोमा हामीले चोटातिर बास पायौं।

हिउँ परिरहने भएकाले छाना पनि त्यस्तै किसिमको थियो। हिउँ फाल्न सजिलो होस् भनेर बनाइएका। प्यागोडा शैलीको नभएर समतल।
त्यस्ता घरमा जतिखेरै सल्लो बाल्थे। धुवाँ आएर हैरान। फेरि झ्याल कतै छैन। निकासका नाममा मात्र ठूल्ठूला दूलाहरू। महिलाहरूको अनुहार पनि त्यो धुवाँले पूरै कालो। देख्दै डरलाग्दा। हामी काठमाडौंबाट गएकाहरूलाई त्यो दुनियै अर्को थियो।

सुरुमा त हामी देखेर उनीहरू झस्कने, उनीहरू देखेर हामी तर्सने। तर, बिस्तारै हाम्रा चालचलन, कुराकानी बुझ्दै गएपछि ‘ए यी मानिसहरू पढेलेखेका सज्जन रहेछन्’ भन्ने किसिमले व्यवहार गर्न थाले।

त्यतिन्जेल गाउँमा फाट्टफुट्ट पुगेका बाहिरिया पनि अर्कै किसिमका हुने गरेकामा हामीप्रति चाहिँ उनीहरूको बेग्लै धारणा बन्दै गयो।
हामी उनीहरूसँग कहिले इतिहास, कहिले साहित्य, कहिले भाषा, कहिले चाडबाडका कुरा गथ्र्यौं।

उनीहरू कहाँबाट आएका हुन्, कहिले आएका हुन्, राजाको नाम कुन बेलादेखि सुरु भयो, पहिलेका जराहरू कहाँ कहाँ छन् जस्ता कुरा सोधिरहन्थ्यौं।

उनीहरूकै कुराकानी गर्दै गएपछि उनीहरूले हामीमा अपनत्व भेट्दै गए। लहसिन थाले।

त्यसपछि खोज्न जानु परेन। उनीहरू नै आउन थाले। आउन मात्र थालेनन्। यति प्रेम गरे कि कसैको घरमा पाकेका मासु वा मिठा मसिना खानेकुरा पनि हाम्रा निम्ति भनेर ल्याइदिन्थे।

त्यसपछि चाहिँ हाम्रो काममा रमझम पनि थपिँदै गयो। घरको न्याश्रो पनि मेटिन थाल्यो।

विहारीकृष्णजीले दियारगाउँका ठकुरीहरूको जनजीवन अध्ययन गरेका थिए। त्यसका निम्ति उनले आफूलाई त्यहीँका ठकुरी सरह परिणत गरे। त्यस गाउँकै एक पारिवारिक सदस्य सरह भइ त्यहीँकै स्थानीय भाषा बोलीमा आफूलाई पोख्त पारे।

गाउँको बनोट, साँस्कृतिक गुण, साँस्कृतिक आदर्श र सामाजिक संगठन, जनजीवन चक्र र सामाजिक अवस्थितिका पद्धति एक एक गरेर बुझे। यसरी साँस्कृतिक नृतत्वशास्त्रका विभिन्न कार्यपद्धतिहरूको प्रयोगद्वारा तथ्यांक संकलन भएको थियो।

देवदार (दियार)का रुखको पृष्ठभूमिमा अवस्थित भएकैले त्यस ठाउँले दियारगाउँ नाम पाएको थियो। गाउँका वरपर ३२ फिटसम्म चौघेरा भएको देवदारको रुख पनि सयौं वर्षको घामपानी आँधीबेरी र हिउँ भोगेर ठडिएकै अवस्थामा देखिन्थ्यो।

कर्णालीजस्तो दुर्गम एवं विशाल क्षेत्रमा लोक सँस्कृति खोजीजस्तो ब्यापक विषयलाई हाम्रो सीमित अवधिको भ्रमणमा सम्पन्न गर्न सकिन्न थियो।

यो त मुख्यतया हाटसिंजा गाउँमा कार्यान्वित गरेको एक ‘केस स्टडी’ मात्र थियो। त्यो केस स्टडीका अतिरिक्त कर्णाली अञ्चल भित्रका अन्य जिल्ला, दरा र गाउँसँग सम्बन्धित कुराहरू पनि लहराले पहरा तानेजस्तो समेटिएका थिए। त्यसैले अध्ययनमा सिंजाखोला उपत्यकालाई केन्द्रित गर्दागर्दै पनि यसले कर्णाली अञ्चलकै लोक सँस्कृतिको वास्तविक चित्र समेटेको थियो।

त्यो खानीजस्तो क्षेत्रबाट लोकगीत, लोककथा, लोकनृत्य आदिको संकलन गर्दा संख्यामा भन्दा तिनीहरूमा पाइने विविधता र विशेषतामा जोड दिइयो। छानिएका लोकगीत लोककथाहरू टेप गर्नुको साथै तत्कालै लिपीबद्ध गरी सबैका टिप्पणी र पृष्ठभूमि तयार गर्ने काम पनि सम्पन्न गरिएको थियो।

यसरी काम गर्दा लोकगीत, लोककथा आदिको चोखोपना कायम हुनपुगेको थियो। लोकजीवनसँग त्यसको जुन सम्बन्ध कायम भएको छ त्यसलाई जस्ताको तस्तै उतारिएको थियो।

हामीलाई यी काममा सघाउने तिब्रीकोट बोहरा गाउँका महाशंकर देवकोटा, जुम्ला लुडखुका तुंगनाथ पाध्या, लक्ष्मीनिधि उपाध्याय, गौरीकान्त न्यौपाने, पद्मशरण पाध्या, हाटसिंजाका धनलाल हमाललगायत साथीहरूको सहयोग विशेष उल्लेखनीय थियो।

केही लोकगीतहरूको स्वर लिपीबद्ध गर्ने काममा रङ्गराव कादम्बरीबाट पनि सहयोग पायौं।

हामीले गाउँलेहरूसँग सामान्य ढंगबाट कुरा गर्दागर्दै त्यहाँको जीवनका गम्भीर तथ्य निस्कन्थे।

उनीहरूलाई हामीले के गर्न लागेका हौं भन्ने थाहा थिएन। रहँदा बस्दा केवल ‘यी हाम्रो भलोका निम्ति काम गर्न आएका हुन्’ भन्ने मात्र पार्न सफल भएका थियौं।

प्रदिपजी लोकवार्तामा काम गर्नुपर्ने मान्छे। त्यहाँ मस्टोको सन्दर्भ आयो। मस्टोका धामीहरूले ‘पढेली पढ्ने’ गर्थे। त्यो सवाइ जस्तै थियो। एकदम बेग्लै भाषा जुन काम्दै उच्चारण गरिन्थ्यो।

गाउँलेहरू धामी नजिक आउँथे। ‘गोसाइँ महाराज’ भन्दै अनेक थोक सोध्थे। धामीले काम्दै जवाफ दिन्थे। त्यसमा मौसम, मुद्दामामिलादेखि लिएर रोगब्याधसम्मका प्रश्न र उत्तर हुन्थे।

त्यत्रो भिडका माझ ती धामीको बलियो पकड थियो। खाली हात मुठ्ठी बाँध्दै माथि लैजान्थे र यसो घुमाएपछि मुठ्ठीबाट तेल निस्कन थाल्थ्यो।

साइबाबाले खरानी निकालेजस्तो। त्यही तेल भक्तजनका निधारमा छापजस्तो पारेर लगाइदिन्थे। त्यो तेल लगाउन पाउनु भनेको ठूलै शुभ लक्षण मानिन्थ्यो। यसरी चमत्कारी कामसमेत हुन्थ्यो। यी सबै कुराले गाउँलेमाझ मस्टोका धामी असाध्यै शक्तिशाली देखिन्थे।

त्यो ‘पढेली’ भनेको सितिमिति अरुले नबुझ्ने भाषा थियो। यस्तोमा भनेको कुरै राम्ररी नबुझेपछि त्यसलाई लेख्ने कसरी? फेरि त्यस्तो समाजमा त्यस किसिमले व्यवहार गरिँदै आएको धामीका अगाडि जे पायो त्यही लैजान पनि नहुने। अहिलेजस्तो सानो रेकर्डर पनि त्योबेला नपाइने।

त्यस्तो अवस्थामा प्रदिपजीलाई खास्टो ओढाएर क्यासेट प्लेयर बोक्न लगाएका थियौं। त्यसैमा लुकाएर आवाज रेकर्ड गरिएको थियो।

यसरी हामी झण्डै तीन महिना त्यो अनकन्टार गाउँमा बस्यौं। त्योबेला हिजोआजको जस्तो संचार कहाँ हुनु? केही थिएन। फोन त धेरै टाढाको कुरा चिठ्ठीपत्र पनि थिएन। न उताबाट यता केही आउने न यताबाट उता केही जाने।

उतैको जुम्ली भएर बस्यो, खायो, अध्ययन गर्यो। बस्।

र, यो पनि :खस सभ्यता खोज्दै महाविकट कर्णाली –२

 

यसरी हाम्रा काम अघि बढ्दै गए।

मैले ‘सँस्कृतिमा इतिहासको प्रभाव’बारे काम गरेको थिएँ। त्यसैगरी स्थिर जंगबहादुर सिंहजीले भूगोलको प्रभाव, सामाजिक आर्थिक प्रभाव र जीवनचक्रका बारेमा साँस्कृतिक नृतत्वशास्त्री विहारीकृष्णजीले, भाषिक प्रभाव भाषाशास्त्री चूडामणि बन्धुजीले, त्यसैगरी लोकवार्ताका प्रभाव जसमा त्यहाँका धर्म सम्प्रदाय मष्टोहरू सबै प्रदिप रिमालजीले। यसरी पाँच किसिमका काम हामीले सम्पन्न गर्यौं।

हरेक बिहान खाना खाइसकेपछि पाँच जना मानिस पाँच ठाउँमा लाग्थ्यौं। सोध्नुपर्ने ठाउँमा सोधेर, जानुपर्ने ठाउँमा गएर, हेर्नुपर्ने ठाउँमा हेरेर, अन्वेषण गर्नुपर्ने ठाउँमा अन्वेषण गरेर दिनभरिको काम सक्थ्यौं।

बेलुकीपख फेरि सबैजना बसेर समूहमा छलफल र बहस गथ्र्यौं। दिनभर कस कसले के के पायो भन्ने सबै फेहरिस्त खोल्थ्यौं। यसरी सबैका टिपोटहरू फाइनल भएपछि रिपोर्ट तयार हुन्थ्यो।

सिंजाखोला र वरपरको त्यो बसाइमै हामीले त्यति सानो ठाउँको पनि ब्यापक फैलावटलाई अवलोकन गरेका थियौं। त्यहाँबाट मानिस बम्बई पुगिरहेका हुन्थे। नैनीताल पुग्ने पनि उत्तिकै। उति पर कोलकाता पनि पुगेका हुन्थे। त्यसैगरी यताबाट चामल ओसार्दै उताबाट नून ल्याउन कर्णाली तरेर भोटतिरको मानसरोबर पुग्ने जुम्ली पनि हुन्थे। अहिलेको जस्तो साल्ट ट्रेडिङको नून त्योबेलाको जुम्लामा कहाँबाट पाउनु?

चाडबाडका बेला ती–ती ठाउँहरुबाट आफूलाई आवश्यक मालसामान किनेर फर्किरहेकाहरूले गाउँमा बेग्लै रमिता लगाउँथे।
ती सारा कुराहरू हामीले अध्ययनमा समेटेका थियौं।

यसरी हामी पाँच जनाको रिपोर्ट तयार भयो। ‘यहाँसम्म आइहाल्यौं, काम सम्पन्न भइहाल्यो, अब राराको दर्शन गर्ने’ हामीले यस्तो सल्लाह गर्यौं र मुगुतर्फ लाग्यौं।

रारामा चार दिन बस्यौं। त्यसपछि मुगु भएर ठीक टाइममा विमान चढ्न सदरमुकाम खलंगाको उही मैदान पुग्यौं। त्योबेला त्यस हवाइजहाजको तोकिएको टाइम हुन्थ्यो। फलानो दिन फलानो समयमा भनेपछि मैदानमा पुगेर उभिनै पर्ने।

अलिक दिनमै पानी पर्न थालेपछि त त्यो हवाइजहाज ओर्लने कल्पना पनि गर्न सकिँदैन थियो।

हामी निर्धारित समयमा सदरमुकाम पुगिसकेका थियौं। हवाइजहाजको आवाज सुन्नेबित्तिकै गाउँभरि हल्ला मच्चियो। हामी कुदाकुद गर्दै मालसामान लाद्यौं।

यत्रो दिनको बसाइमा झण्डैझण्डै जुम्ली भइसकेका हामी अब फेरि परिवार भेट्न पाउने खुशीले रमाएका थियौं।

प्लेन उड्यो। फेरि उसैगरी कालीगण्डकीको माथिमाथि। वर्षात् सुरु हुनै लाग्दाको त्यो साँझ हामीलाई काठमाडौंमा ओरालिदियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.