खस सभ्यता खोज्दै महाविकट कर्णाली –२


नेपाली भाषाको ब्यूत्पत्तिथलो खोजी गर्न २०२७ सालमा कर्णाली, त्यो पनि जुम्लाभन्दा अझ परको सिँजा उपत्यका जाने मेरो उद्देश्य प्रज्ञाप्रतिष्ठानका प्राज्ञहरुलाई अनौठो लाग्नु स्वाभाविक थियो। त्यसैले सुरुमा मैले यस्तो प्रस्ताव राख्दा अस्वीकृत हुनुमा कुनै आश्चर्य थिएन।

कुलपति केदारमान ब्यथितजी र प्राज्ञ साथीहरुले फेरि सोच्ने मौका दिँदा म आफ्नो विचारबाट परिवर्तन हुँला भन्ठान्नुभएको थियो। तर, मैले त अठोट नै गरिसकेको थिएँ। अन्ततः मेरो अडानले नै जित्यो।

यसरी कर्णाली जाने मेरो प्रस्ताव त पास भयो। तर, यस सम्वन्धि विज्ञ वा केहि काम लिन सकिने मानिस त फेरि एकेडेमीमा कोहि थिएनन्। काम गर्छु त भनेँ। तर, एक्लैले कसरी अनि के के गर्ने?

एकेडेमीका मानिसहरु त्यो बेलामा खुब गए भने पनि दार्जिलिङ वा कालिम्पोङसम्म गएर साहित्य सम्मेलनमा भाग लिएर आउँथे। त्यसैगरि अर्कोतिर बनारस जाने, किताब छापेको के कस्तो भयो भनेर निगरानी–खोजीनीति गर्ने र आउने पनि हुन्थ्यो। तर, अति दुर्गम कर्णालीजस्तो ठाउँ अध्ययनको निम्ति जाने वा त्यससम्वन्धि अनुभव बोकेका सम्वन्धित विज्ञ त कोहि भएनन्।

काम गर्छु भनेर जिम्मा लिएको म पनि नेपाली भाषाको खोजी गर्न जान्छु भनेर लागेको छु, आफुचाहिँ परेँ नेवारी मातृभाषी। सारा काम नेपालीमा गर्नु छ। यसरी मलाइ सघाउने एकेडेमीमा कोही नभएपछिको स्थितीमा बाहिर मानिस खोज्नुपर्ने अवस्था आइपर्‍यो।

यसो वरपर खोजविन र सरसल्लाह सुरुगरेँ।

त्यतिबेला डोरबहादुर विष्ट मेरो घरमा नियमित आइरहनु हुन्थ्यो। हामी चिया पिउथ्यौं र घन्टौं कुराकानी गथ्र्यौं। उहाँ घर छेवैको कन्या मन्दिर स्कुलको हेडमास्टर हुनुहुन्थ्यो। फुर्सद् पाउनेबित्तिकै गफ गर्न यता आउने।

त्योताकै उहाँ बेलायतबाट आएका क्रिस्टोफ हेमिन्डर्फको संगतमा पुग्नुभएको थियो। लण्डन विश्वविद्यालयका मानवशास्त्री प्राध्यापक डा. हेमिन्डर्फ सोलुखुम्बुतिरको अध्ययन गर्न नेपाल आएका थिए। दोभाषेका रुपमा काम गर्दागर्दै विष्टजी मानवशास्त्रको विशेष ज्ञानी बनिसक्नुभएको थियो। पछि हेमिन्डर्फले नै विष्टजीलाइ बेलायत बोलाए। उता रहँदा ‘कल्चरल एन्थ्रोपोलोजी’ (सांस्कृतिक मानवशास्त्र)मा दुवै मिलेर काम पनि गर्नुभयो। त्यसले विष्टजीमा अझ निखार ल्याएको थियो।

यसरी विष्टजी नेपालमा धेरै विदेशी अध्ययन संस्थाहरुका निम्ति उपयोगी अध्येता बन्न पुग्नुभयो। पछि उहाँ सिंहदरबारमै दुर्गम क्षेत्रको लियाजो अफिसर भएर एउटा कुनामा काम गर्नथाल्नुभएको थियो।

यस्तो अवस्थामा म घुम्दै फिर्दै सिंहदरबार पुगेँ। विष्टजीलाई भेटेँ।

भलाकुसारी भयो।

मेरो टाउकोमा त रातदिन एकेडेमीमा बुझाएको त्यो प्रस्ताव नै घुमिरहेको थियो। त्यसलाई कसरी अघि बढाउने भन्ने चिन्ता नै दिमागमा थियो। विष्टजीसँगको कुराकानीमा मैले त्यही भारी बिसाएँ।

‘विहारीकृष्ण श्रेष्ठ भन्ने एकजना मानिस अमेरिकाबाट कल्चरल एन्थ्रोपोलोजी पढेर आइरहेका छन्,’ डोरबहादुरजीले मलाइ भन्नुभयो, ‘उनी तपाइको निम्ति सहयोगी हुनसक्छन्।’

त्योताका विहारीकृष्णजी गृहमन्त्रालय अन्तर्गत पञ्चायत प्रशिक्षणमा प्रशिक्षक भएर काम गर्नको निम्ति बिर्तामोडतिर बसिरहनुभएको थियो। ठीक त्यतिबेला चाहिँ काठमाडौं नै आएको बेला परेछ। डोरबहादुरजीलाई यो कुराको जानकारी हुने नै भयो।

‘म उनको खोजी गरिदिन्छु,’ उहाँले नै भन्नुभयो, ‘एकपटक तपाइँले नै सम्पर्क गरेर सल्लाह लिनुस्।’

यस हिसाबले विहारीकृष्णजीको खोजी सुरुभयो। उहाँ त्यतिबेला काठमाडौंको लगनटोलमा डेरागरेर बसिरहनुभएको थियो। म डेरामै पुगेँ र कुराकानी गरेँ। एकेडेमी र कर्णालीसम्वन्धि सम्पूर्ण कुरा विहारीजी समक्ष राखेँ।

‘प्रस्ताव मलाइ मनपर्‍यो,’ उहाँले भन्नुभयो, ‘तपाइले मलाई गृह मन्त्रालयबाट काजमा झिकाउनुस्। म आएर काम गर्छु।’

मलाइ त यतिको योग्य मानिसले यसो भनिसकेपछि के चाहियो? तुरुन्त गृहमा पुगेँ र सबै कुरा बताएँ। गृहले पनि मञ्जुर गरिदियो।

यसरी म एक्लो मानिसको प्रयासमा अब अर्को एकजना कल्चरल एन्थ्रोपोलोजिस्ट जोडिन आइपुगे।

इमान्दारि साथ भन्छु, त्यतिन्जेल पनि मलाइ यो ‘कल्चरल एन्थ्रोपोलोजिस्ट’ भनेको के हो र यिनले कसरी काम गर्छन् भन्ने भेउपत्तो थिएन।

म त ठाडै भन्छु, म त्यस्तो पढेलेखेको मानिस पनि होइन। म त केवल लोकगीत संकलन गरेको मानिस थिएँ। त्यसैले कताकता पुर्‍यायो–पुर्‍यायो।

विहारीकृष्णजीलाई टिममा सरिक गराइसकेपछिको मेरो अर्को पाइला प्लानिङ कमिशन (योजना आयोग)तर्फ बढ्यो। त्यहाँ पुगेर पनि मैले उसैगरि आफुले गर्नखोजेको काम र त्यसलाई एकेडेमीले दिएको स्वीकृतिबारे जानकारी गराएँ।

‘तपाइँहरुले एकजना भूगोलविद्को बन्दोबस्त गरेर मलाइ उपलब्ध गराइदिनुभयो भने त्यो गाउँघरमा गएर हामीसँगै काम गरिदिन्थे,’ मैले भनेँ, ‘यो उद्देश्यका निम्ति सहयोग पुग्ने थियो।’

मेरो कुरा सुनिसकेपछि योजना आयोगका मानिसले ‘यो त राम्रो काम हो’ भन्दै ‘त्यो सम्पन्न भयो भने त हामीलाई त्यो ठाउँको निम्ति योजनाका क्षेत्रमा काम गर्न पनि उपयोगी हुन्छ’ भने।

योजना आयोगले स्थिर जंगबहादुर सिंहको छनौट गरिदियो। त्रिभूवन विश्वविद्यालयबाट भूगोलमै स्नातकोत्तर गरेपछि सरकारी अधिकृतका रुपमा जागिरे हुनुहुन्थ्यो स्थिर जंगबहादुरजी। बझाङका मानिस उहाँ असाध्यै भलाद्मी।

योजना अयोगबाट संकेत पाएपछि मैले उहाँको खोजी सुरुगरेँ र फेला पनि पारेँ। सम्पूर्ण योजना सुनाएँ।

‘ल तपाइलाई योजना आयोगले मसँग खटाइदिएको छ,’ मैले भनेँ, ‘अब सँगै जाने र मिलेर काम गर्ने हो।’

यसरी स्थिर जंगबहादुर सिंहलाई पनि काजमा लिएर आएपछि मेरो टिम तीन सदस्यीय हुनपुग्यो।

अबको मेरो पाइला चाहिँ त्रिभूवन विश्वविद्यालयतिर बढ्यो। म कीर्तिपुर पुगेँ। भाषा सम्वन्धि विभागमा गएँ।

यो पनि हेर्नुहोस्

‘म नेपाली भाषाको ब्यूत्पत्तिथलो खोजी गर्न गइरहेको छु,’ मैले विभागीय प्रमुखलाई भनेँ, ‘यहाँ स्नातकोत्तरका विद्यार्थीहरुलाई तपाइहरुको पठनपाठनको सारा विषय नै यही हो। लौ सघाउनु पर्‍यो।’

मैले यति भनिसकेपछि मभन्दा बढी उत्साह उहाँहरुमा देखियो। किनभने त्यत्रो वर्षदेखि जे विषय उहाँहरुले पढाउँदै आइरहनु भएको थियो त्यसैको खोजीखबर त्यतिन्जेलसम्म कसैले गरेको थिएन। कुनै दस्तावेजीकरण थिएन। यो भाषा कसरी आयो? कसरी यो संस्कृतिको संवाहक बन्न पुग्यो भन्ने कुरा केहि छँदै थिएन।

‘हामीले नै गर्नुपर्ने यस्तो महत्वपूर्ण काम एकेडेमीबाट तपाइले गर्न अघि सर्नुभएको रहेछ,’ उत्साहका साथ भने, ‘एकजना मानिस हामी खटाइदिन्छौं।’

यति भनेपछि त्रिभूवन विश्वविद्यालयले मेरो कामका निम्ति चूडामणि बन्धुको छनौट गरेर जिम्मा लगाइदियो। सिँजा खोलामा नेपाली भाषाको ब्यूत्पत्तिथलो खोजीगर्न जाने मेरो टिममा अब भाषाशास्त्रीका रुपमा बन्धुजी समेत समेटिन पुग्नुभयो।

मेरो टिम अब मानवशास्त्री, भूगोलविद् र भाषाशास्त्रीसमेत जोडिएर चारजनाको लोभलाग्दो बनिसकेको थियो। मलाइ चाहिँ एकजना थप मानिस भइदिए हुन्थ्यो भन्ने लागिरह्यो।

मैले यताउता खोजी गरेँ। त्योबेला प्रदिप रिमालजी खुबै सक्रिय मानिस। रिमालजी एकेडेमीकै जागिरे नभएता पनि म्यादीका रुपमा यताउता कामगरेर सघाइरहनु हुन्थ्यो। लोकगीत संकलन गर्ने, गाउने र सिनेमामा निर्देशन पनि दिने कामगर्दै आउनुभएका प्रदिपजी असाध्यै चल्तापूर्जा हुनुहुन्थ्यो। धेरै किसिमको सहयोग लिन सकिने। केहि आइपरेछ भने पनि हत्तपत्त जे पनि गरिदिनसक्ने।

मैले प्रदिपजीलाई सम्पर्क गरेर यस्तो किसिमको काममा म जानलागेको छुँ भनेँ। ‘मेरो टिममा आएर काम गर्ने हो भने तपाइलाई पनि लिएर जान्छु,’ मैले भनेँ, ‘के विचार छ?’

मेरो प्रस्ताव सुन्नेबित्तिकै प्रदिपजीले सहर्ष स्वीकार गरिहाल्नुभयो।

यसरी मसहित गरेर अब पाँच जनाको टोली बन्यो।

यसरी टिम बनेपछि जाने तयारी सँगसँगै काम विभाजन पनि गर्नुपथ्र्यो। हामी नियमित एकेडेमीमा बैठक बस्न थाल्यौं। बैठकमा मूलतः ओरिएन्टेसन (दिशानिर्देश)कै काम हुन्थ्यो। हामी यसरी जानुभन्दा पहिले उपलब्ध अन्य बुद्धिजिवीहरुको भनाइ पनि सुन्नुपर्छ भन्ने उद्देश्य थियो।

एकेडेमीकै कुलपति, उपकुलपतिलगायतका विभिन्न आमन्त्रित पाहुनाहरुलाई स्वागत गर्‍यौं।

त्यो बेलामा बम्बइमा समाजशास्त्र पढेर आउनेहरुको एउटा जमातै थियो। बनवारीलाल मित्तल, मोहम्मद मोहशिन जस्ता व्यक्तिलाई बोलाएर छलफल चलायौं। त्यसैगरि कानुन पढेर आएका, कला पढेर आएकाहरुलाई पनि एकेडेमीमा बोलायौं।

म पुरातत्वको निर्देशक हुँदै बम्बइमा ‘नेपाल दर्शन’ भनेर एउटा वृहद् कला प्रदर्शनी आयोजना गरेको थिएँ। त्योबेला डकोटा विमान भाडामा लिएरै म भारत पुगेको थिएँ। त्यो प्रसंग पछि उल्लेख गर्ने नै छु।

तर, यहाँ किन सम्झना भयो भने त्यो प्रदर्शनीमा बम्बइ पुगेकै बेला त्यहाँ बसेर पढिरहेका विभिन्न विधाका नेपाली विद्यार्थीहरुसँग मेरो चिनजान भएको थियो।

मैले यो कर्णालीको प्रोजेक्ट अघि बढाउँदै गर्दा उनीहरुमध्ये काठमाडौंमा उपलब्ध सबैलाई निम्तो गरेको थिएँ। सबैले म र मेरो टिमलाई जानेबुझेका सल्लाहहरु दिए।

यस्ता भेटघाटहरुका निम्ति मैले प्रश्नावलीहरु नै तयार पारेको थिएँ।

संस्कृतिमा इतिहासको कस्तो प्रभाव हुनेगर्छ, त्यसको भूमिका के हुन्छ भन्ने एउटा अध्यायको प्रश्नावली थियो जुन सोझै मेरो जिम्मामा राखेँ। त्यसैगरि कर्णाली पुगेपछि त्यहाँको भौगोलिक स्वरुप, हावापानी, खेतीपाती, वनजंगलको अध्ययन गरेर त्यसको प्रभाव के छ भनेर बुझ्नका निम्ति प्रश्नावली स्थिर जंगबहादुर सिंहजीलाई दिएको थिएँ।

त्यसैगरि त्यहाँका मानिसहरु जन्मेदेखि मृत्युसम्म कस्तो सामाजिक जीवन बिताउँछन् भनेर बुझ्नका निम्ति आवश्यक प्रश्नावली विहारीजीलाई सुम्पेको थिएँ।

नेपाली भाषा भनेर अहिले जसलाई हामी भन्छौं त्यसको अहिलेको विकासक्रम त थाहा छँदै थियो। त्योबेला कसरी सुरुभयो? उतिबेला खस भाषाको उत्पत्तिदेखि विकाससम्म बुझ्नका निम्ति त्यहाँ पुगेर कस्ता मानिससँग के कसरी बुझ्ने र त्यसको वैज्ञानिक तरिकाले कसरी रेकर्ड तयार पार्ने भन्ने हिसाबले भाषाशास्त्री चुडामणि बन्धुजीलाई प्रश्नावली सुम्पेको थिएँ। संस्कृतिमा भाषाको प्रभावबारे उहाँ अध्ययन गरिरहनुभएको थियो।

अन्तिममा पाँचौ सदस्य प्रदिपजीलाई ‘फोकलोर’ (लोकवार्ता)का सम्वन्धमा विस्तार अध्ययनको निम्ति उपयोगी प्रश्नावली सुम्पेँ। त्यसमा सिँजा उपत्यकाको लोकगीत, लोकनाच, गाउँखाने कथा, प्रहसनहरु, चाडवाड, धर्म, रितिथिति, चालचलन जस्ता कुराहरु खोजीगरेर संस्कृतिमा लोकवार्ताको प्रभाव कसरी संकलन गर्ने भन्ने काठमाडौंमा विज्ञहरुबाट प्राप्त सल्लाह सुझाव थियो।

यसरी एकेडेमीमा निरन्तर बैठक र अन्तक्र्रियापछि ‘अब हामी जान तयार छौं’ भन्ने मनःस्थितीमा एक दिन पुग्यौं।

यो २०२७ सालको अन्त्यतिरको कुरा हो। हामी कर्णाली जान तयार भयौं।

त्योबेला कर्णाली जाने त भन्यौं। तर, जाने पो कसरी? यताउता बुझ्दा जानै एक डेढ महिना लाग्छ भनिएको थियो। बाटो कताबाट हो भन्ने पनि थाहा थिएन। कुन बाटो कताबाट कसरी हिँड्ने?

त्यो बेलामा त्रैलोक्यनाथ उप्रेती त्रिभूवन विश्वविद्यालयका उपकुलपति थिए। उप्रेतीले अमेरिकातिरबाट एउटा टिम नेपाल ल्याएका थिए। सिल (समर इन्स्टिच्यूट अफ लिंग्विस्टिक) नामको त्यो भाषा सम्वन्धि अध्ययन गर्ने संस्था थियो। नेपालमा प्रशस्त भाषा थियो नै। यस्तो विविधताले भरिएका नेपालीहरुको भाषाको पनि अध्ययन गरिदिनुस् भनेर उप्रेतीजीले त्यस्तो टिमलाई भित्र्याएका रहेछन्। त्यो सिल टन्न पैसा भएको अन्तर्राष्ट्रिय संस्था रहेछ। उ काम गर्नको निम्ति नेपालजस्तो त्यो बेलाको विकट मुलुक आएको थियो। उसलाइ अध्ययन गर्नको लागि यताउता गइरहनु पर्ने। तर, जाने कसरी? यहाँ त बाटोघाटो नै थिएन। जाने भनेको उही हवाइजहाज। फेरि हवाइजहाज उतार्न पनि त धावनमार्ग चाहियो। त्यो बेलामा न हामीकहाँ त्यतिधेरै विमानस्थल थिए न हवाइजहाज नै थियो।

त्यस्तो बेलामा सानो चौरमै उतार्न र उडाउन सकिने किसिमको पुतलीजस्तै एउटा विमान उनीहरुले उतैबाट लिएर आएका थिए। ठूलो धावनमार्ग नै नचाहिने। विमान हो कि हेलिकोप्टर भनेजस्तो। झारपातले भरिएको सानो चौर भए पनि पुग्ने। एउटा मात्र इन्जिनमा उड्ने त्यो विमानमा छ जना मात्र बस्न मिल्थ्यो। एकजना पाइलट त विदेशी नै थियो। बाँकी पाँच जना हामी बस्दा ठ्याक्कै हिसाबै मिलाएजस्तो छ जना हुने।

ती पाइलट नेपालका डाँडाकाँडासँग पुरै अभ्यस्त भइसकेका पारंगत थिए। ती गोरा पाइलट कुन मुलुकका थिए भनेर चाहिँ सोधिएन। अध्येताहरुलाई कहिले धनकुटा, कहिले तेह्रथुम त कहिले पश्चिमको दैलेख उतार्ने र उडाउने काम गर्दैआएका उनले रहँदा बस्दा कुन डाँडामा कस्ता चौरहरु छन् भनेर गतिलै हिसाबकिताब राखिसकेका थिए।

त्यो बेलामा नै त्यो सिल नामको संस्थाले भित्र्याएको अर्को अजुबा थियो ‘अफसेट प्रेस’। हिजोआज त यो आम भइसक्यो। तर, त्यतिबेला त त्यस किसिमबाट प्रिन्टिङ प्रेसको त्यस्तो प्रविधिबारे यतातिर मानिसले कल्पना पनि गरेका थिएनन्। त्यो बेलामा त्रिभूवन विश्वविद्यालयमा त्यस्तो उच्च आधुनिक प्रेस सिलले ल्याएको थियो। सारा संसारको सम्पर्कदेखि पर्याप्त पैसा हुँदै प्रविधिसम्मले सम्पन्न त्यो संस्था हुनुका परिणाममै सबै थोक भित्रिएका थिए।

यस्तो अवस्थामा मैले चुडामणि बन्धुजीलाई कुराकानी गरेँ। बन्धु जी विश्वविद्यालयकै मानिस हुनुहुन्थ्यो।

‘बन्धु जी, तपाइले युनिभर्सिटीसँग कुरा मिलाउनु पर्‍यो,’ मैले भनेँ, ‘हामीलाई जुम्लासम्म चार्टर गरेर त्यो जहाजले लगिदियो भने सजिलो पर्नेछ।’

एक त यसै पनि त्यो सिल नामको संस्था यहाँ भाषासम्वन्धि काम गर्नकै निम्ति आएको थियो। हामी पनि त्यही काम गर्नको निम्ति यत्रो सारा गरिरहेका थियौं।

‘स्वयं तपाइजस्तो मानिस हामीसँग खटिरहनुभएको उनीहरुलाई अवगतै होला,’ मैले भनेँ, ‘तपाइको उनीहरुसँग कुराकानी पनि मिल्ने भएकाले यो कुरा लगेर राखिदिनुस्।’

त्यसका निम्ति जे जस्तो गर्नुपर्छ त्यो पनि मिलाइदिने संकेत मैले बन्धुजीलाई सुनाएको थिएँ।

कुरा राखिसकेपछि त यति धेरै गरिरहनु पनि नपर्ने रहेछ भन्ने महशुस भयो। त्यो त परोपकारी किसिमको संस्था रहेछ।

‘हाम्रो कामै यस्तो कुरामा मद्दत गर्ने हो,’ उनीहरुले भनेछन्, ‘तपाइहरुलाई हामी पक्कै मद्दत गर्नेछौं।’

यसरी त्यो हवाइजहाज हामीलाई उपलब्ध भयो।

उतिबेलाको त्यो अनकन्टार कर्णाली कसरी पुग्ने भनेर सोचिरहेको बेला यो सानो चौरमै ओर्लने जहाजले हामीलाई जुम्लाको सदरमुकाम खलंगामै ओह्रालिदिने भयो।

(बाँकी अर्को भागमा)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.