फोर्ब्सको सूचीमा चढेकी कवाडीवाली (भिडियोसहित)


करिब एक वर्षअघि खालीसिसी म्यानेजमेन्ट प्रालि दर्ता गर्दा आयुषी केसीलाई सबैभन्दा बढी चिन्ता अनिश्चित ‘करियर’ को थियो।

चिन्ता अस्वभाविक थिएन। उनी राम्रो आइएनजिओको जागिर, बेलाबेला विदेश भ्रमणको अवसर, आर्कषक तलब र सेवा सुविधा त्यागेर बिल्कुलै नौलो पेसामा हात हाल्दै थिइन्। तर चिन्तासँगै उनमा दृढता पनि थियो।

व्यवसाय गर्न उनले खालीसिसी संकलक र बिक्रेताको नौलो क्षेत्र रोजिन्।

परिवारलाई आफ्नो योजना सुनाइन्। परिवारले मानेन। उनले परिवारलाई मनाउन प्रयास छाडिनन्। अन्तत: परिवारले स्वीकृति दियो।

त्यसपछि उनले कम्पनी खोलिन्। खालीसीसी डटकमको नाममा वेवसाइट र फेसबुक पेज तयार पारिन्। फोन, वेवसाइट र फेसबुकबाट कवाडी सामानको अर्डर लिन थालिन्।

कम्पनी सुरू गरेको केही महिनासम्म दिनको फाट्टफुट्टमात्र अर्डर आउँथे। संकलकहरू अलमलमा पर्थे।

उनले कम्पनीको प्रचार जारी राखिन्। संकलकहरूलाई समेत आफूसित जोडिँदाका फाइदा र कसरी काम गर्ने भनी बुझाउँदै गइन्।

करिब एक वर्ष पूरा गर्दा उनको कम्पनीले ठूलो आकार लिइसकेको छ।

सुरु गरेको तीन महिनासम्ममा मुस्किलले १५ वटासम्म दैनिक अर्डर आउने गरेकोमा अहिले भने औसतमा दैनिक ३० वटासम्म पुग्ने गरेको छ। क्याफे, विद्यालय, कलेज, होटल, रेष्टुरेन्ट, अफिसदेखि दुतावाससम्मबाट नियमित अर्डर आउने गरेको छ।

उनीसँग आवद्ध हुने कवाडी संकलक पनि बढ्दै गएका छन्। हाल उनीसँग १५० जना संकलक जोडिएका छन्, पहिले १० जनामात्र थिए।

‘अर्डर दिने संस्था र संकलक दाइहरूको संख्या बढ्दैछ। अहिले नियमित अर्डर दिनेमा साना तथा ठूला संस्थाहरू पनि छन्। उचित प्रचार र सबैले विश्वास गरेकाले कम्प्नीको व्यापार पनि विस्तारै बढ्दै गएको छ,’ आयुषीले  सेतोपाटीसँग भनिन्।

अर्डर बढेसँगै संकलकको कमाइ पनि बढेको छ। पहिलेको भन्दा संकलकको आम्दानी ३० प्रतिशतले बढेको उनले दाबी गरिन्। उनी आफैं पनि यसैबाट पालिएकी छिन्।

यसबाहेक उनीहरू विद्यालय गएर फोहोरको व्यवस्थापन गर्न सिकाउन थालेका छन्। विद्यार्थी र संकलकबीच फोहोर संकलन र व्यवस्थापन प्रक्रियाबारेमा अन्तरक्रिया गराउँछिन्।

‘यसो गर्दा विद्यार्थीले फोहोरको व्यवस्थापनबारे प्रत्यक्ष रूपमा जान्न पाउँछन्। संकलक दाइहरू पनि आफ्ना अनुभव र ज्ञान सिकाउँदा खुशी हुने गर्नुभएको छ’ उनले भनिन्।

यसबाहेक उनको कम्पनीले स्मार्टफोन बोक्ने संकलकलाई सम्बन्धित ठाउँमा पुग्न सहज होस् भनेर ‘गुगल म्याप’बाट बाटो पत्ता लगाउनसमेत सिकाएको छ। मोबाइल नबोक्नेहरूले बढेको आम्दानीबाट स्मार्टफोन किनेको उनले सुनाइन्।

कम्पनीले संकलकलाई परिचयपत्रसमेत दिएको छ। परिचयपत्र पाएपछि संकलकलाई कुनै कार्यलयले प्रवेशमा रोक्दैनन्। समाजमा उनीहरूलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आउन थालेको उनको बुझाइ छ।

‘उहाँहरू अहिले प्रविधिमैत्री हुनुभएको छ। आफ्नो कामको गरिमा बढेको महशुसमात्र गर्न थाल्नुभएको छैन्, कामको आधारमा विगतमा गरिने भेदभावमा पनि विस्तारै सुधार हुँदै गएको छ’ उनले भनिन्।

कवाडी संकलकले  साथी र चिनेजानेकालाई खालीसिसीसँग जोडिन सिफारिस गर्न थालेको उनले दाबी गरिन्।

आयुषीसँग काम गर्दा आफूहरु निकै लाभान्वित भएको कवाडी संकलक बताउँछन्।

१२ वर्षदेखि काठमाडौंमा कवाडी संकलन गर्दै आएका बाराका मुकेशकुमार यादवले खालीसिसीसँग जोडिएपछि आम्दानी र सम्मान दुबै पाएको बताए।

यादवले पहिले मासिक १२ देखि १४ हजारसम्म बचत हुने गरेकोमा अहिले २० हजारसम्म पुगेको बताए।

‘खालीसिसीसँग काम गर्न थालेपछि काम र दाम दुबै बढेको छ। पहिले ठूला ठाउँमा छिर्नलाई अनेकै उल्झन ब्यहोर्नु पर्थ्यो। परिचय पत्रले पहुँच सजिलो बनाएको छ,’ उनले भने।

उनीहरूको कामको सम्मान यति बढेको छ, उनीहरूको कसैले ‘खालीसिसीवाला’  भनेर बोलाउँदैन।

‘हामीलाई पनि ‘सर’ भनेर बोलाउन थालेका छन्’, यादवले भने, ‘निकै खुसी लागेको छ।’

यो पनि हेर्नुहोस् :

‘कवाडीवाली’ आयुषी

 

त्यस्तै यादवले बाटो थाहा नहुँदा निकै दु:ख पाइने गरेकोमा खालीसिसीसँग जोडिएपछि सहज हुँदै गएकोसमेत बताए।

‘मोबाइल हाम्रा लागि फोन गर्न र गीत सुन्नमै सीमित थियो। यसमा त कुन बाटो गए कता पुगिने हो सबै हेर्न मिल्ने रहेछ। म पनि सिक्दैछु, अलि­अलि त जानी पनि सकेँ,’ यादवले अनुभव सुनाए।

आयुषीको कम्पनीलाई कवाडीको काम गर्ने ‘टेक कम्पनी’ भनिएको छ। उनलाई ‘कवाडीवाली’ को प्रमाणपत्र दिइएको छ।

उनी आफैं भने कवाडी संकलनको काम गर्दिनन्। उनको काम भनेको कवाडी बेच्नेबाट अर्डर लिने र किन्नेलाई त्यसको जानकारी दिनु हो। अर्डर दिनेकोमा कवाडी संकलक पुग्छन् र सामान खरिद गर्छन्। यसबापत् आयुषीको कम्पनीले १५ प्रतिशत कमिशन लिन्छ।

‘कम्पनी दर्ता गर्न जाँदा हामीले गर्न खोजेको कामलाई कवाडीको प्रकृतिमा वर्गिकरण गरिदियो। मलाई संस्थापक भएको नाताले कवाडीवालीमा,’ आयुसीले भनिन्, ‘त्यही दिनबाट म कवाडीवाली भएकी छु।’

आजकाल आयुषीभन्दा पनि ‘कवाडीवाली’को उनको परिचय बढी ‘हिट’ छ। ‘मलाई यसमा गर्व छ,’ उनले भनिन्।

यिनै कवाडीवाली आयुषीलाई हालै प्रसिद्ध अमेरिकी म्यागेजिन ‘फोर्ब्स’ ले प्रकाशित गरेको ‘३० मूनिका ३०’ प्रभावशाली एसियालीको सूचीमा समावेश गरेको छ।

कम्पनीले खालीसिसी संकलकमार्फत् पुन:प्रयोग गर्न मिल्ने फोहोरको व्यवस्थापनमा उल्लेख्य योगदान दिएवापत् आयुषीलाई सो सुचीमा राखेको ‘फोर्ब्स’ ले जनाएको छ।

‘खालीसिसीले काठमाडौंका घर, संस्था, होटल, रेष्टुरेन्ट लगायतबाट दैनिक निस्किने नकुहिने फोहोरलाई पुनःप्रयोगमा ल्याउन उल्लेख्य योग्दान दिएको छ’, फोर्ब्सले भनेको छ, ‘यसबाहेक रिसाइक्लिङको महत्व र फोहोर संकलकप्रतिको मानिसको बुझाइसमेत परिवर्तन गर्न क्रियाशील छ।’

सूचीमा समावेश हुनेहरूलाई सो पत्रिकाले आउँदो जुलाईमा हङकङमा आयोजना गर्ने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताको अवसर प्रदान गर्नेछ।

विश्वभरीका लगानीकर्ता तथा सोही क्षेत्रमा क्रियाशील संस्था तथा व्यक्तिहरू सो भेलामा आउनेछन्। सबैलाई नेटवर्किङ, लगानी जुटाउने र अवसर साटासाट गर्ने मौका मिल्नेछ।

फोर्ब्समा आफ्नो नाम चढेकोमा थप हौसला मिलेको आयुषीले बताइन्।

‘म निकै खुसी छु। फोर्ब्सले खालीसिसीलाई दिएको सम्मानले म र मजस्तालाई थप हौसला मिलेको छ,’ उनले भनिन्।

आयुषीसँगै फोर्ब्सको सुचीमा ४ नेपाली कम्पनीबाट ६ जनाको नाम समावेश भएको छ।  घाम पावरका अञ्जल निरौला, इकोसेलका सुवास श्रेष्ठ, सचित पण्डित र निशान श्रेष्ठ, दिगो मत्स्यखेती अभियानकी कञ्चन अमात्य सूचीमा परेका छन्।

सन् २०१६ बाट फोर्ब्सलेयस्तो सुची प्रकाशित गर्न थालेको हो। २०१७ मा ५ जना नेपाली सूचीमा छानिएका थिए।

परम्परागत शैलीलाई चुनौती दिँदै आउँदो पुस्तालाई मार्ग निर्देशन गर्ने किसिमको काम गरी समाजमा सकारात्मक प्रभाव पार्ने ३० जनाको सूचीमा नेपाली महिला भने यसपटक अटाएका हुन्।

सूचीमा छनौट हुने आयुषीसँगै दिगो मत्स्यखेती अभियानकी संस्थापक कञ्चन अमात्य अमेरिका बस्दै आएकी छिन्। उनको संस्था ग्रामीण क्षेत्रका महिलाको जीवनस्तर सुधार्ने कार्यमा प्रयत्नशील छ।

सूचीमा नेपाली महिलाको समावेशले समाज उनीहरूको बढ्दो भूमिका र क्षमता प्रतिविम्वित गर्छ।

‘महिलाको अवस्था अब पहिलेजस्तो छैन्। समाजका प्रभावशाली भूमिकामा महिलाहरू पुगेका छन्। फोर्ब्सको सूचीमा हामी पर्नुले यहाँका महिलाहरूको  कामलाई संसारले हेरिरहेको छ भन्ने बुझाउँछ,’ आयुषीले भनिन्।

फोर्ब्सको सुचीमा नाम चढेदेखि उनको कामको थप प्रचार भएको छ। धेरैले उनलाई ‘प्रेरणा’का रूपमा लिन थालेका छन्।

उनले यहाँसम्मको बाटो सहजै पार गरेकी भने होइनन्। यसअघि पनि धेरै टाढासम्मको लक्ष्य छ, उनको।

उनको दिमागमा खालीसिसीको अवधारणा फोहोर देखेरै आएको थियो।

करिब एक वर्षअघि उनी कामको सिलसिलामा अमेरिका पुगेकी थिइन्। देश छोड्दा फोहोरको डंगुर देखेर गएकी उनलाई सबैभन्दा अचम्म त्यहाँको सरसफाई देखेर लागेछ।

त्यति ठूलो देश, त्यही अनुपातमा जनसंख्या, उद्योग, कलकारखाना। जहाँ जाँदा पनि सफा र चिटिक्क देखेपछि व्यवस्थापन विषयमा स्नाकोत्तर गरेकी उनी एउटै प्रश्नमा घोत्लिरहिन्, ‘यहाँ फोहोरचाहिँ कसरी व्यवस्थापन हुँदो रहेछ?’

भेटेकाहरूसँग सोधिन्। गुगलमा खोजिन्। पत्ता लगाइन्, ‘त्यहाँ फोहोरको प्रकृतिअनुसार त्यसलाई भरमा पहिल्यै छ्ट्याएर राखिँदो रहेछ, जैविक फोहोरलाई मल तथा बिजुली उत्पादन गरिँदो रहेछ भने अजैविक फोहोरलाई पुनः प्रयोगमा ल्याँइदो रहेछ।’

काठमाडौं फर्किएपछि उनले नेपालको फोहोर व्यवस्थापनबारे अध्ययन गरिन्। वातावरण इन्जिनियर सूर्यमान शाक्यसँग सल्लाह गरिन्। त्यसक्रममा उनले थाहा पाइन, काठमाडौं महानगरपालिकामा मात्र हरेक दिन पाँच सय ५० टन फोहोर उत्पादन हुनेरहेछ। त्यसमध्ये ६५ प्रतिशत जैविक र ३५ प्रतिशत अजैविक हुने रहेछन्। तर, जैविक र अजैविक फोहोरलाई नछ्ट्याउँदा पुनः प्रयोगमा ल्याउन सकिने ७० प्रतिशत फोहोर खेर गइरहेको र उचित व्यवस्थापन भइरहेको ३० प्रतिशतमा समेत कवाडी संकलकको योगदानले सम्भव भएको पत्ता लगाइन्।

यसपछि उनी कस्सिइन, फोहोरबाट मोहोर बनाउने योजनामा। बाटो अझै सहज भइसकेको थिएन्।

‘खालीसिसी सुरु गर्दा ‘कवाडीवाली रे’ भनेर खिस्सी गर्नेहरूको कमी हुँदैन थियो। ‘उ आयो कवाडीवालीको भैया…’ भनेर हाँस्नेहरू प्रशस्त हुन्थे। अरु केही गर भनी सुझाव दिनेहरू बढी हुन्थे’ उनले विगत सम्झँदै भनिन्, ‘अहिले तिनै मानिस सल्लाह माग्न आउँछन्।’

आयुषी कम्पनीको कार्यक्षेत्र बढाउन चाहन्छिन्। हाल काठमाडौं उपत्यकामा मात्रै सीमित उनको कार्यक्षेत्रलाई आगामी ६ महिनाभित्रमा देशभरि फैलाउने उनको योजना छ।

‘हामी देशभरीका संकलक र बिक्रेतालाई जोड्न चाहन्छौं। यसका लागि थप लगानी र बाहिरको फोहोर व्यवस्थापनको संस्कृति अध्यनको खाँचो पर्छ। त्यसमै अहिले काम भइरहेछ। ६ महिनाभित्र यो काम गरिसक्ने योजना छ’ उनले भनिन्।

यसबाहेक ७० प्रतिशत पुन: प्रयोग गर्न मिल्ने फोहोरसमेत ल्याण्डफिल साइटमा (फाहोर फाल्ने क्षेत्र) पुग्ने गरेको भन्दै मूल लक्ष्य भनेको ‘जिरो वेस्ट गोल’ प्रप्तिका लागि काठमाडौंमा मात्रै करिब १३ हजारको संख्यामा  रहेका सबै कवाडी संकलकलाई जोडेर त्यस्ता फोहोरको व्यस्थापन गर्न थप कार्य गर्ने उनले बताइन्।

त्यस्तै ‘आफ्नै केही गर्न पाए हुन्थ्यो, तर यो वा त्यो छैन्’ भन्ने युवा समेत आफूसँग जे छ त्यस्मै अवसर खोज्नतिर लाग्नुपर्ने उनको सुझाव छ।

उनी भन्छिन्, ‘हामी देशमा केही भएन भनेर अरूलाई गाली गर्दै विदेशीन उद्धत हुन्छौं, तर साँच्चै नियालेर खोज्ने हो भने हरेक समस्यमा अवसर भेट्न सकिन्छ। हामी युवाले त्यो अवसर  भेट्टाउनुपर्छ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.