‘कवाडीवाली’ आयुषी


काम ठूलो–सानो हुँदैन त सबैले भन्छन्। तर, यो भनाइ धेरैको मुखमा मात्र झुन्डिन्छ, थोरैका हातखुट्टाले मात्र यो मान्यताको स्वाद चाख्न पाउँछन्।

आयुषी केसीले यो कुरा पढेकी थिइन्। सुनेकी थिइन्। कुनै समय त उनलाई पनि समाजले भन्ने गरेको इज्जतिलो र ठूलो काम गर्ने रहर थियो। त्यो इज्जतको काम कस्तो भने चिटिक्क सजिएर हिँड्ने, होटल÷रिसोर्टतिर मिटिङ भइराख्ने, बेला–बेला घुम्न जान पाइने, भित्र जे–जस्तो भए पनि बाहिरी दुनियाँ चम्किलो खालको।

आयुषीले केही समय यस्तो मान्यताभित्र पर्ने काम गरिन् पनि। व्यवस्थापन विषयमा स्नातकोत्तर आयुषी केसी पहिले एक आइएनजिओको जागिरे थिइन्। तलबसुविधा पनि राम्रै थियो। काम विशेषले नै भए पनि देशविदेश घुम्न पाउने सुविधा पाइन्थ्यो। त्यसरी जाँदाको खर्च मात्र होइन, छुट्टै भत्ताको व्यवस्था पनि हुन्थ्यो।

पाँच महिनाअघि आयुषीले यो जागिरलाई ‘बाईबाई’ गरिदिइन्। अहिले उनको परिचय भएको छ, कवाडीवाला। कवाडी भनेर जसरी हेयका दृष्टीले हेरिन्छ, आयुषी यसलाई तोड्ने कसरत गर्दैछिन्। उनी आफ्नो कवाडीवाला परिचयलाई गर्वसाथ चिनाउने गर्छिन्।

खालीसिसी म्यानेजमेन्ट प्रालि नाममा खोलिएको उनको कम्पनी छ। खालीसिसी डटकम नाममा उनले वेबसाइट पनि खोलेकी छन्। उनले पढेको व्यवस्थापन विषय व्यवसाय गर्दा काम लागेको छ। वेबसाइट र फेसबुक पेजमार्फत् कवाडी सामानको अर्डर लिन्छिन्। उनको सम्पर्कमा रहेका कवाडी संकलकहरुलाई कवाडी सामान रहेको स्थानको जानकारी गराउँछिन्। संकलकहरु ठाउँमा पुग्छन्। र, आफूले नियमित बेचिरहेको ठाउँमा लगेर बेच्छन्। त्यसबापत सामान बेच्दा आएको १५ प्रतिशत आयुषीलाई बुझाउनुपर्छ।

सरसर्ती हेर्दा आयुषी कवाडीवाला होइनन्! न उनीसँग सामान बटुल्ने साधन नै छ, न सामान भण्डार गर्ने ठाउँ। न उनी आफैं डुल्छिन्।

अफिसको नाममा एउटा सानो कोठा छ, त्यहीँबाट उनी अर्डर लिन्छिन्।

केही छैन, तर उनले रजिष्ट्रार कार्यलयमा दर्ता गराएको कम्पनीको प्रमाणपत्रमा लेखिएको छ, ‘कवाडीवाला।’

‘बाहिरबाट हेर्दा त मैले केही गरेजस्तो देखिँदैन,’ आयुषी भन्छिन्, ‘तर, सम्पर्कबाट संकलनको महत्व ठूलो रहेछ भन्ने त म आफैंले पनि बुझ्दैछु। जस्तोः तपाईंसँग कवाडी सामान छ। तर, तपाईंलाई कहिल्यै घर या कोठामा बस्ने फुर्सद छैन। कवाडी सामान उठाउन आउने मान्छेको आवाज सुन्नुहुुन्न या कवाडी उठाउने मान्छे पनि तपाईंसम्म पुग्न सक्दैन भने यसरी अनलाइनबाट सामानको जानकारी दिन सक्नुभयो नि। यसो गर्दा कवाडी संकलन गर्नेले पनि छिटो काम गर्न सक्छ। धेरैतिर दगुरिरहनुपर्दैन। सामान भएकाले पनि आफूले भनेको समयमा सामान बेच्न पाउने भयो।’

कवाडी संकलकले आयुषीको सम्पर्कमा आएका सामान मात्र संकलन गर्नुपर्छ भन्ने छैन। उसले नियमित आफ्नो काम गरिरहेकै बेला आयुषीले सम्पर्क गर्न सक्छिन्। फुर्सदको बेला सम्पर्कको सामान संकलन गरेर बेच्न सक्छ।

तीन महिनाको बीचमा १५ हजार गिलास, १५ सय किलो कागज, ५ सय किलो धातु, २ सय किलो प्लास्टिक, २० किलो विद्युतीय सामग्री अर्डरबाट संकलन भइसकेको आयुषीको भनाइ छ। ‘यसले उहाँहरुको आम्दानी वृद्धि भएको मात्र छैन, म आफैं पनि यसबाटै पालिएकी छु,’ उनी भन्छिन्।

होटल, रेष्टुरेन्ट, मल, कलेज, घरबाट धेरै अर्डर आउने गरेको आयुषीको भनाइ छ। अचेल दिनमा औषत १५ देखि २० वटा अर्डर आउने गरेको उनले बताइन्। अर्डर आउनेबित्तिकै सोही क्षेत्रको कवाडी संकलकलाई खबर गरिदिने गरेको उनले जानकारी दिइन्। हाल काठमाडौं उपत्यकाभर उनको सम्पर्कमा करिब सय जना कवाडी संकलकहरु छन्।

यसबीचमा एउटा कुराले उनलाई दुःखी तुल्याएछ।

‘कवाडी संकलन गर्ने काममा पनि सिन्डिकेट पो रहेछ,’ उनले भनिन्, ‘ठमेल क्षेत्रमा कोही नयाँ कवाडी संकलक जान नपाउने रहेछ। यहाँ पुरानैको राज चल्ने रहेछ। पुरानाले त्यस बापत ‘टोले गुण्डा’हरुलाई कमिसन नै दिनुपर्ने रे। हाम्रा कोही संकलकहरु पनि त्यहाँ जान मान्नुहुन्न। यदि कोही नयाँ क्षेत्रमा गए उसको सबै सामान खोसिदिने मात्र होइन, कुटाईसमेत खानुपर्छ रे।’

यस्ता केही समस्याबोह उनी आफ्नो व्यवसायबाट खुसी नै छिन्।

यसअघि उनी अन्तर्राष्ट्रिय गैर सरकारी संस्था युएसएआइडीमा जागिर खान्थिन्। तलब अहिले उनले व्यवसायबाट कमाइरहेको भन्दा धेरै थियो। तर, उनी सन्तुष्ट थिइनन्। केही वर्ष जागिर खाने र आफ्नै व्यवसाय सुरु गर्ने योजना बुनेकी थिइन्। तर, उनको एउटा सोच थियो, आफूले गर्ने कामबाट समाजलाई सानै भए पनि योगदान मिलोस्। तर, उनको मनमा त्यस्तो व्यवसायको कुनै चित्र कोरिएको थिएन।

करिब एक वर्षअघि उनी कामको सिलसिलामा अमेरिका पुगिन्। अमेरिकाका हरेक कुराले उनलाई लोभ्याएको थियो नै। देश छोड्दा फोहोरको डंगुर देखेर गएकी उनलाई सबैभन्दा अचम्म त त्यहाँको सरसफाई देखेर लागेछ।

त्यति ठूलो देश, त्यही अनुपातमा जनसंख्या, उद्योग, कलकारखाना। जहाँ जाँदा पनि सफा र चिटिक्क देखेपछि व्यवस्थापन पढेकी उनको मनमा एउटै प्रश्न चलिरह्यो, ‘यहाँ फोहोरचाहिँ कसरी व्यवस्थापन हुँदो रहेछ?’

भेटेकाहरुसँग सोधिन्। गुगलमा खोजिन्। पत्ता लगाइन्, ‘त्यहाँ फोहोरको प्रकृति अनुसार त्यसलाई भरमा पहिल्यै छ्ट्याएर राखिँदो रहेछ, जैविक फोहोरलाई मल तथा विजुली उत्पादन गरिँदो रहेछ भने अजैविक फोहोरलाई पुनः प्रयोगमा ल्याँइदो रहेछ। हामीबीच एउटा सोच व्याप्त छ। हामी फोहोरचाहिँं आफैं उत्पादन गर्छौं तर, त्यसको व्यवस्थापनको काम भने महानगरपालिकाले गर्नुपर्छ भन्ने ठान्छौँ र सबैखाले फोहोरलाई एउटा बोरामा कोचेर फोहोर बोक्ने गाडीमा हालिदिन्छौँ।’

काठमाडौं फर्किएपछि उनले नेपालको फोहोर व्यवस्थापनबारे अध्ययन गरिन्। वातावरण इन्जिनियर सूर्यमान शाक्यसँग सल्लाह गरिन्। त्यसक्रममा उनले थाहा पाइन्, काठमाडौं महानगरपालिकामा मात्र हरेक दिन पाँच सय ५० टन फोहोर उत्पादन हुने रहेछ। त्यसमध्ये ६५ प्रतिशत जैविक र ३५ प्रतिशत अजैविक हुने रहेछन्। तर, जैविक र अजैविक फोहोरलाई नछ्ट्याउँदा पुनः प्रयोगमा ल्याउन सकिने ७० प्रतिशत फोहोर खेर गइरहेको पनि उनले पत्ता लगाइन्।

उनको मनमा एउटा प्रश्न उब्जियो, ‘यत्रो फोहोर सिस्डोल (फोहोर थुपार्ने ठाउँ) ले धान्न छोड्यो भने त्यतिबेला काठमाडौंको अवस्था के होला?’
यसपछि उनी कस्सिइन्, फोहोरबाट मोहोर बनाउने योजनामा।

वतावराणविद्, इन्जिनियर, कवाडीसंकलकहरुसँग लामो सोधपुछपछि उनले आफ्नो दिर्घकालीन योजना बुनिन्, ‘जैविक तथा अजैविक फोहोरलाई पुनः प्रयोगमा ल्याउने उद्योग खोल्छु।’

‘मैले गर्न खोजेजस्तो काम यही रहेछ,’ उनी भन्छिन्, ‘आफ्नो व्यवसाय पनि हुने, त्यसबाट समाजलाई योगदान पनि हुने।’
उनले आफ्नो निर्णय परिवारलाई सुनाइन्।

कवाडी संकलकहरुलाई समाजले हेयका दृष्टिले हेर्छ। उनको परिवार पनि त समाजको अंग थियो। सहयोग नगर्ने घोषणा गरे। उनले आफ्नो योजना स्पष्ट रुपमा सुनाइन्। निकै दिनसम्म सुनाइरहिन्। अन्ततः परिवारले सहमति जनायो। त्यसलगत्तै उनले जागिर छोडिदिइन्।
उनी आफ्नो ‘कवाडीवाला’ परिचयमा गर्व गर्छिन्। कवाडीसंकलकहरुले वातावरण सफा राख्न ठूलो योगदान दिइरहेको तर, समाजले अपमानजनक भाषा बोल्दा उनलाई चित्त दुख्छ।

‘हामी सबैले देख्दै आएको कुरा हो, हाम्रो टोलमा खालीसीसी­पुरानो कागज भन्दै आउँछन्। तर, हामी उनीहरुलाई हियाउँदै एक रुपैयाँमा पनि मोलमोलाई गर्छौं। ठग भन्छौं। हामीलाई त्यो एक रुपैयाँको कम महत्व हुन सक्छ, तर कवाडीसंकलकको घरमा त्यही एक–एक रुपैयाँले चुल्हो बल्छ। बालबच्चाले पढ्न पाउँछन्। अर्को महत्वपूर्ण कुरा, वातावरण सफा राख्न उनीहरुले ठूलो योगदान दिएको छन्।’

अब चाँडै नै उनी कवाडी पसल खोल्ने योजनामा पुगेकी छन्। ताकि, संकलकहरुको सामान आफैं किन्न सकियोस्। यसले उनको व्यवसायलाई झनै ठूलो बनाउनेछ।

तस्बिरहरु- नारायण महर्जन

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.