अन्तरजातीय विवाह गरेका तुलसीपुरका पाँच जोडी

अन्तरजातीय विवाह गर्ने जोडीलाई आमाभन्दा बाबुबाट समस्या


परिवर्तित समयसँगै आजभोलि समाजमा अन्तरजातीय विवाह सहज बन्दै गएको पाइएको छ। अन्तर जातीय विवाह गरेका जोडीहरूले दलित र गैर दलित जात बीचको विवाह समाजमा विस्तारै सहज रूपमा स्वीकार्य बन्दै गएको बताएका छन्।

५३औँ अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसका अवसरमा सेतोपाटीले दाङमा अन्तरजातीय विवाह गरेका केही जोडीहरूसँग बुधबार गरेको कुराकानीमा अन्तरजातीय विवाह समाजमा स्वीकार्य बन्दै गएको ती जोडीले बताए।

ती जोडीहरूमध्ये अधिकांशले अन्तरजातीय विवाह सामाजिक चेतना बढेसँगै स्वीकार्य बन्दै गएको बताएता पनि तर माइती पक्ष र घर पक्ष दुबै तर्फबाट मानसिक यातना दिने क्रम भने अझै पूर्ण रूपमा बन्द भइनसकेको गुनासो गरे। अन्तरजातीय विवाह गरेकामध्ये अधिकांशले आमाभन्दा बाबुबाट समस्या हुने गरेको अनुभव साटेका छन्।

दीपक/देवा जोडी

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ भमके निवासी २१ वर्षीय दीपक विक र २० वर्षीया देवा गिरीले भागी विवाह गरेको ६ वर्ष पुग्यो। उनीहरूबाट ५ वर्षीय एक छोरा र २ वर्षीया छोरी पनि छन्। उनीहरू एकै गाउँका थिए। प्रेम भएपछि भागी विवाह गरे । तर गिरीकी छोरी विकसँग भागेको भन्दै माइतीले २ वर्षसम्म स्वीकार गरेन। छुटाउन धेरै प्रयास भए।

‘तल्लो जातसँग विवाह गरी भनेर माइतीबाट धेरै छुटाउन प्रयास भएपनि म विचलित भइन,’ देवाले भनिन्। विस्तारै आमा बोल्न थालेपछि आफू माइतीमा आउने जाने गरेको तर बुबा भने अझै पनि राम्रोसँग बोल्न मन नगरेको देवाले बताइन्। आज दीपकले वाइरिङको काम गर्छन् भने देवाले  सिलाइ कटाइ गरेर राम्रैसँग गृहस्थी गरिरहेको बताइन्। सुरूमा अन्तरजातीय विवाह गर्दा आफ्नो व्यापक आलोचना भएपनि आज त्यो सहज बनेको देवा गिरीले बताइन्।

योयल / पवित्रा 

४ वर्ष पहिले प्रेममा परेर भागी विवाह गरेका तुलसीपुर ८ नयाँ बस्ती निवासी २४ वर्षीय योयल सुनारसँग सोही गाउँ निवासी १९ वर्षीया पवित्रा केसीले कक्षा १० मा पढ्दा पढ्दै विवाह गरिन्। अन्तरजातीय विवाह गरेपछि पवित्राका बाबु पनि उनीसँग अझैसम्म बोलेका छैनन्। तर, आमा भने बोल्छिन्।

‘मेरो विवाहको एक वर्षपछि आमा बोल्नु भयो, माइतीमा पनि बोलाउनु भयो तर, बुबा भने अझै बोल्नु भएको छैन,’ पवित्रा केसीले भनिन्। उनीहरूबाट जन्मिएकी ३ वर्षीया छोरीलाई भने सबैले बोलाउने गरेको उनले बताइन्।

गोविन्द/तारादेवी

तुलसीपुर १ पवननगर निवासी ७१ वर्षीय गोविन्द सापकोटा र ५९ वर्षीया तारादेवी सुनारले ३३ सालमा विवाह गरेका हुन्। उनी ३ वर्षको हुँदा बुबा बितेका थिए भने ६ वर्षको हुँदा  उनले आमा गुमाउनु परेको थियो।

गोविन्दले पहिलो पत्नी बेलमतीको मृत्यु भएपछि तारादेवीसँग प्रेम विवाह गरेको थिए। उनीहरूको एक छोरी पनि छन्। उनीहरूको जीवन राम्रै चलिरहेको जानकारी दिए। सापकोटाले अन्तरजातीय विवाहपछि थुप्रै समस्या झेल्नु परेको बताए।

‘कति पीडा खेप्नुपर्‍यो  कति त्यो भनेर साध्य नै छैन, अञ्चल प्रहरी र थानामा धेरै पटक थुनिएको तथा धेरै कुटाइ खाएको छु,’– गोविन्द सापकोटाले अगाडि थपे, ‘तर पनि हामी विचलित भएनौं घर गृहस्थी गरेरै देखाएका छौं।’

उतिबेला अहिलेको जस्तो खुला समाज र परिवेश नभएको हुँदा आफूले अन्तरजातीय विवाहपछि पाउनु दुःख पाएको सापकोटाले बताए। तर उनले त्यसलाई समाजको चेतना र शिक्षाको स्तरसँग तुलना गर्नुपर्ने बताए। बाहुनको छोरा किन दलितसँग विवाह गर्नु भयो त ? भन्ने प्रश्न गर्दा गोविन्दले भने ‘हेर्नुहोस्, सबैकुरा आफ्नो वैंशको हुन्छ, मन चित्तको हुन्छ, कि मात्यो धनले कि मात्यो मनले त्यही त हो।’ तर सापकोटाले भने आफूलाई महिला र पुरुष भन्ने जात मात्रै थाहा भएको र अन्य जातभातको कुराको मतलब नभएको बताए। आफन्तले के भन्छन् नि ? भन्ने प्रश्नमा जवाफ पनि गोविन्दले सहज रूपमै दिए ‘मनमा अलिअलि तुष त हुन्छ होला नै तर, मेरो अगाडि कसैले केही भन्न सक्दैनन्। आज मेरोमा आफन्त आवात जावातमा पनि समस्या छैन।’

संजिव/यशोदा

नेपालगञ्ज माइती घर भएकी २० वर्षीया यशोदा गुरुङ हाल पनि कोहलपुरको एउटा विद्यालयमा पढाउँदै आएकी छिन्। दाङको तुलसीपुर १ भमके निवासी २० वर्षकै संजिव नेपाली पनि बाँकेमा अध्ययन गर्ने क्रममा उनीहरूको माया प्रेम बसेपछि र चार महिनाअघि भागी विवाह गरेको उनीहरूले बताए।

संजिव मेडिकल ल्याबमा काम गर्छन् र यशोदा विद्यालयमा विज्ञान विषय पढाउँछिन्। आफ्नो राजीखुसीका साथ यो जोडीले बिहे गर्दा पनि माइती पक्ष र घर दुबै तर्फबाट समस्या भने झेल्नु परेको बताउँछन्।

‘मैले नेपालीसँग विवाह गरेपछि पारिवारिक समस्या भयो। बुबा मम्मी रिसाउनु भयो। तर आज विस्तारै सहज हुँदैछ,’– यशोदाले थपिन्,‘चार महिनापछि आज मम्मी बोल्नु हुन्छ। म माइती पनि जान थालेकी छु। मम्मीले संजिवसँग पनि फोनमा कुरा गर्न थाल्नु भएको छ। तर, बुबा भने बोल्नु हुन्न।’

शुक्रराज / बालिका

तुलसीपुर ८ दुधेना निवासी ३० वर्षीय शुक्रराज चौधरीले सोही ठाउँ निवासी २५ वर्षीया बालिका विकसँग प्रेम भएपछि भागेर विवाह गरे। उनीहरूको ६ वर्षे छोरा सन्दीप चौधरी पनि छन्। तर पनि उपल्लो जात मानिने चौधरीसँग विवाह गरेको भन्दै बालिकाको बाबु आमा रिसाएर ६ महिना घर पस्न नदिएको बालिकाले स्मरण गरिन्।

‘आफ्नो जातभन्दा माथिको सँग विवाह गर्ने भन्दै मसँग आमा बुबा रिसाएका थिए तर पछि विस्तारै मैले मनाउन सकेँ,’ बालिकाले भनिन्। सुरूमा घरमै उनीहरूलाई विकसँग बिहे गरेको भनेर खिसी गरे पनि पछि विस्तारै सहज भएको उनीहरूले बताए। तर, परिवारले आफूलाई छुट्याएर एक्लै बनाएको उनीहरूले बताए। अरुले जे गरेपनि आफूहरू भने खुसी राजी भएको उनीहरूको तर्क थियो।

‘जात भात भन्ने गलत कुरा हो। कोही मान्छे जातले उचो र निच हुँदैन,’– शुक्रराज चौधरीले भने, ‘सबैभन्दा महत्वपूर्ण सवाल व्यक्तिको चिन्तन हो, क्षमता हो र विश्वास हो।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.