दुर्गम गाउँमा करोडको स्कुल बनाउने धावा


त्यो दिन उनी पर्यटकलाई मनास्लु घुमाउँदै थिए। हुनुहुनुनु आवाज आयो। अग्ला पहाड हल्लिए। आँखा अगाडिको पहाडबाट धुलो उड्यो। भर्खरै टेकेर आएको डिस्को पहिरोले सुलुलु बग्यो।

निरन्तर आइरहेका भूकम्पका धक्काले उनका गोडा काँपिरहेका थिए। एक मनले सोचे, गोराहरूलाई यहीँ छाडेर भाग्छु। अर्को मनमा लाग्यो–भाग्न हुन्न सुरक्षित तवरले गाउँ पुर्‍याउँछु।

गोरखाको छेकम्पारका ३७ वर्षिय (चुम्बा) धावा ग्याल्जेन लामाका दिमागमा अझै पनि २०७२ वैशाख १२ को भूकम्पको सम्झना ताजै छ।

त्यही भूकम्पकले चुम्चेतको चुम्लिङ गाउँलाई भुइँमा मिसायो। सुन्दर गाउँ क्षणमै बगर बन्यो। छेवैको सिद्धिगणेश प्राथमिक विद्यालय गर्यामगुर्लुम ढल्यो।

विद्यालय भवन भत्किँदै गरेका फोटा धावाले क्यामेरामा कैद गरे।

भूकम्प थामिएपछि अर्को दिन उनले क्यामेरामा भत्किएको स्कुलका तस्वीर हेरे। उनका मनमा कुरा खेले–बास बस्ने झुप्रो गाउँलेले जसोतसो बनाउँलान् तर, विद्यालय कसले बनाउँला? कसैले विद्यालय बनाएन भने यहाँका बालबालिकाको भविष्य कता जाला?

यी प्रश्नको उत्तरउनले आफैंसँग खोजे। स्कुल जानुपर्ने केटाकेटीले खेलेरै दिन बिताएको देखेपछि उनले प्रण गरे– जसरी पनि म भत्किएको स्कुल बनाउँछु।

चुम्लिङबाट राजधानी आएर धावाले राहत सामग्री गाउँ पुर्‍याए।

‘तपाईंहरू बास बस्ने घर बनाउनुहोस् स्कूल म बनाउँछु भन्दा गाउँलेहरुले पत्याएनन्, विश्वास गरेनन्’ लामाले भने।

गाउँलेले उनलाई विश्वास नगरे पनि उनले आफैंलाई भने धेरै नै विश्वास गरेका थिए।

पेसाले धावा पथपदर्शक (गाइड) हुन्। त्यही पेसाले केही विदेशीसँग उनको सम्बन्ध थियो।

विद्यालय बनाउन २०१५ डिसेम्वर २५ देखि उनले पैसा संकलन अभियान सुरु गरे।

‘मनास्लु क्षेत्र घुमेर फर्केका विदेशी मित्रले धावा, तिमीलाई के चाहिन्छ ? हामी सहयोग गछौं भने’ उनी सम्झन्छन्, ‘भूकम्पले घर ढलेको हो। हाम्रो मन, हातगोडा सग्लै छ, केही चाहिँदैन भनिदिएँ। बरू सक्छौ भने हाम्रा नानीबाबु पढ्ने स्कुल बनाउन सहयोग गरिदेऊ।’

ती विदेशीले सकेको सघाउने वचन दिए।

विदेशीसँग थप सम्पर्क बढाउने धावाले फेसबुकलाई माध्यम बनाए। उनले आफ्नो स्कुल बनाउनले सपनाबारे फेसबुकमा लेखे। स्कुलका भग्नावशेष हटाएका तस्बिरहरू पोस्ट गरे।

उनका पोस्ट र तस्बिरहरु देखेपछि केही नेपाली र विदेशी उनलाई सहयोग गर्न तयार भए।  फेसबुकबाट उनलाई ३५ लाख सहयोग गर्ने मान्छे/संस्था भेटिए।

गोरखा सदरमुकामबाट ६ दिन हिँडेपछि पुगिने चुम्लिङ गाउँमा अहिले पनि सडक सुविधा छैन। खाद्यान्नदेखि निर्माण सामग्री ढुवानी खच्चडबाट गरिन्छ। एकातिर निर्माण सामग्रीको मूल्य, अर्कातिर चुम्लिङसम्म पु¥याउन लाग्ने भाडाले विद्यालय बनाउन झन्डै करोड रुपैयाँ लाग्ने भयो।

विद्यालय निर्माण छिटो सकेर विद्यार्थीलाई पढाउनु पर्ने भएकोले सिमेन्टलगायत सामग्री उनले हेलिकोप्टरबाट पनि ढुवानी गरे।

विद्यालय र्निर्माण गर्न सुरुमा ८० लाख खर्च हुने स्टमेट थियो। विद्यालयको कोठा पाँचबाट दश वटा बनाउने भएपछि खर्च बढ्यो।

‘गो फन मी’ बाट ३५ लाख तथा विभिन्न संघसंस्था र मित्रबाट अर्थ, जस्तापातालगायत निर्माण सामग्री जुटाउन सहयोग गरेपछि विद्यालय बनाउन थाले।

दुर्गम गाउँमा विद्यालय ठड्याउन एमक्याप, क्यान नेपाल, सिड नेपाल, बिएनबी अमेरिका, तेन्जिङ फर डोल्मा, हेल्प नेपाल फ्रान्सजस्ता संस्थाले सघाए। भवनको नक्सा इञ्जिनियर सोनाम लामाले बनाइदिए।

धावाले साढे २ वर्षपछि विद्यालयको १० कोठे पक्की भवन बनाए।

विद्यालयको माथिल्लो तलामा सामुदायिक सभाहल छ। शिक्षकलाई बस्ने कोठाको व्यवस्था मिलाइएको छ। पुस्तकालय र कम्प्युटर कक्ष छ। यहाँ सरकारीस्तरबाट दुई जना शिक्षक छन् भने क्यान नेपालले एक शिक्षक राखेको छ। तीन कक्षासम्म चलेको विद्यालय पढ्न ४५ जना विद्यार्थी आउँछन्। पोशाक, स्टेशनरी र सरसफाइ सामग्रीको जोहो धावाले नै गरिदिएका छन्।

फागुन २८ गते धुमधामले विद्यालय भवन हस्तान्तरण गरे। गाउँमा विद्यालय बनेपछि खुसीयालीमा गाउँलेहरू रमाए। नाचगान गरे। त्यो दिन गाउँले रमाएका मात्र थिएनन् साढे २ वर्षअघि अविश्वास गर्ने आँखामा धावाप्रति गहिरो कृतज्ञता देखिन्थ्यो।

विद्यालय निर्माणमा ९५ लाख १६ हजार एक सय खर्च भयो। विद्यालय निर्माण अभियानमा ९६ लाख १४ हजार ७६० रुपैयाँ संकलन भएको धावा बताउँछन्।

चुम्लिङ आसपासमा ६० घरधुरी छन्। यहाँबाट तीन कक्षा पार गरेका विद्यार्थीहरु सदरमुकाम, राजधानी वा धार्मिक शिक्षा लिन गुम्वा जाने गर्थे। विद्यालयको नयाँ भवन बनेसँगै पाँच कक्षासम्म सञ्चालन गर्न लागिएको छ। स्थानीय भाषामा पनि पठनपाठन गराउने तयारी थालिएको छ।

‘गाउँलेलाई छोराछोरी विद्यालयमा पढ्न पठाउनुहोस् भनेका छौं, अधिकांश बालबच्चा विद्यालय शिक्षाबाटै बञ्चित छन्, अभिभावकमा चेतना बढाउनुपर्नेछ। सुरुमा स्कूल बनाउने कुरा हावा हो भनेर उडाउनेहरु पनि स्कूल बनेपछि खुसी छन् यसमा मलाई ठूलो सन्तुष्टि मिलेको छ,’ धावाले भने, ‘मनमा बुद्धत्व (सत्य) छ भने आँटेको काम पूरा हुन्छ। म बुद्धिजममा जन्मे, हिन्दुजममा पढेँ र टुरिजममा काम गर्दैछु।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.