हजार बुद्धको मल्लकालीन मन्दिर पैसा नभएर जिर्णोद्वार हुन सकेन

तस्बिर सौजन्यः आवर ग्लोबल ट्रेक डटकम


पाटन दरबार स्क्वायरबाट दक्षिणपूर्व ओकुबहालको एउटा घरमा बुट्टा कुँदिएको खुला ढोका छ। भित्र सानो गल्ली छ। दस मिटर जति हिँडेपछि अर्को ढोका आउँछ। त्यो ढोका छिरेपछि घरैघरबीचमा एउटा चोक छ।

त्यही सानो चोकमा छ, हजारौं बुद्धको मन्दिर, महाबुद्ध।

साततले यो मन्दिर ‘ग्रन्थकुट’ अर्थात् शिखर शैलीमा बनेको छ। मन्दिरमा ९ हजार ९ सय ९९ वटा ‘टेराकोटा’ इँटा छापिएका छन्। टेराकोटा भनेको उच्च तापमा पोलिएको माटोको इँटा हो। प्रत्येक इँटामा बुद्ध आकृति कुँदिएको छ। त्यही भएर यसलाई हजारौं बुद्ध मन्दिर पनि भनिने पुजारी दिलजान शाक्य बताउँछन्।

सानो चोकभित्र लुकेको यो मन्दिरको इतिहास पुरानो छ। पुजारी शाक्यका अनुसार यो १५ औं शताब्दीमा बनेको हो। त्योबेला पाटनमा राजा अमर मल्लको शासन थियो। उनकै शासनकालमा अभयराज शाक्य नाम गरेका शाही कलाकार एवं पण्डित थिए। उनी एकपटक तीर्थ गर्न भारत पुगे। भ्रमण बेला उनलाई वोधगयाको महावोधी मन्दिरले मोहित बनायो। मन्दिरको अनुपम सुन्दरताको चित्र बनाएर उनी फर्किए।

उनले नेपालमा त्यस्तै मन्दिर बनाउने संकल्प लिए। सन् १५६४ मा आफ्नै निवास बाहिरको खाली ठाउँमा मन्दिर बनाउन सुरु गरे। पूरा गर्न भने सकेनन्।

निर्माणाधीन मन्दिर केही समय यसै रह्यो। अभयराजका छोरा जीवराज काम पूरा गर्न कस्सिए। उनले पनि सकेनन्।

सन् १६०० मा शिवसिंह मल्ल पाटनका राजा भए। मन्दिर बनाउन थालेको ३६ वर्ष भइसकेको थियो। त्यही वर्ष बल्ल जीवराजका छोराले मन्दिर निर्माण पूरा गरे।

जिर्णोद्वार गर्न तयारी गरिएको महाबुद्ध मन्दिर (बाँया) र मायादेवी मन्दिर (दायाँ)। तस्बिरः सेतोपाटी

यसरी ४१७ वर्ष पहिले निर्माण भएको उक्त मन्दिरको पहिलो तल्लामा भूमिस्पर्श गरिरहेका शाक्यमुनि बुद्धको मूर्ति छ। ‘यसको अर्थ हामी शून्यबाट आएका हौं भन्ने हो,’ पुजारी शाक्यले भने।

दोस्रो तल्लामा अमिताभ बुद्ध, तेस्रोमा पञ्चशिलाल्य स्वयम्भू महाचैत्य, चौथोमा धर्मधातु मण्डला र पाचौंमा बज्रधातु मण्डला छन्। छैठौं तलामा शून्य निरञ्जन महाचैत्य छ। ‘यसले पनि शून्यकै संकेत गर्छ,’ शाक्यले भने, ‘अर्थात् शून्यबाट आएका हामी शून्यमै बिलाउँछौं।’

मन्दिरको माथिल्लो भागमा स्वर्ण चैत्य छ। यो मन्दिरभित्र स–साना खुड्किला उक्लेर सबै तला हेर्न सकिन्छ। अहिले भने निषेध छ।

‘मन्दिरका सबै तलासम्म सहजै पुगेर अवलोकन गर्न सकिने भए पनि अहिले निषेध छ,’ शाक्यले भने, ‘७२ सालको भुइँचालोले जीर्ण भएको छ।’

भुइँचालो गएको तीन वर्ष पुग्न लाग्दा जिर्णोद्वार सुरु समेत भएको छैन। ‘बाहिरी भाग खासै केही भएको छैन। भित्र पूरै जिर्णोद्वार गर्नुपर्नेछ,’ महाबुद्ध मन्दिर संरक्षण समितिका अध्यक्ष माननर्सिङ शाक्यले भने, ‘गाराहरू भत्किएका छन्। मूर्ति चर्किएका छन्।’

मन्दिर मर्मत तथा संरक्षणका निम्ति सन् १९९९ मा महाबुद्ध मन्दिर संरक्षण समिति बनाइएको थियो। जिर्णोद्वारमा लाग्ने रकम अपुग भएकैले काम सुरु नभएको अध्यक्ष शाक्य बताउँछन्।

उनका अनुसार जिर्णोद्वारमा अनुमानित ५ करोड रुपैयाँ लाग्छ। समितिले भुइँचालोपछि नै अनुदान र विदेशी सहयोग संकलन गरिरहेको उनले जानकारी दिए। ‘यहाँ सहयोग पेटिका राखिएको छ। पर्यटकले केही सहयोग गर्छन्। यस्तै स्थानीय र अन्य क्षेत्रबाट पनि जुटाइरहेका छौं,’ उनले भने।

सरकारी सहयोग भने हालसम्म नपाएको उनको भनाइ छ।

‘सरकारी सहयोग निम्ति हामी धाएका हौं। पाइएला जस्तो लागेन,’ अध्यक्ष शाक्यले भने, ‘त्यसैले अनुदान र आफ्नै समितिमार्फत् काम अघि बढाउने तयारीमा छौं।’

भुइँचालाको तीन वर्ष हुनै लाग्दा एक छेउ पनि काम सुरु गर्न नसक्दा दुःख लागेको पुजारी शाक्य बताउँछन्। जबकि, ९० सालको भुइँचालोमा मन्दिर पूरै भाँचिदा समेत चार वर्षमा काम सकिएको थियो।

‘त्योबेला भाँचिएको मन्दिर पुनर्निर्माण स्थानीयले गरेका हुन्,’ पुजारी शाक्यले भने, ‘अग्लो मन्दिर पुरानै शैलीमा फर्काउन निकै चुनौती थियो। उनीहरू जग्गा–जमिन, धनसम्पति नै धितो राखेर निर्माणमा जुटेका थिए।’

यति मात्र होइन, त्यो पुनर्निर्माण बेला यो सानो चोकमा अर्को संरचना पनि थपियो– मायादेवी मन्दिर।

तस्बिर सौजन्यः आवर ग्लोबल ट्रेक डटकम

महाबुद्ध पछाडिको यो मन्दिर पूर्ण नयाँ संरचना होइन। महाबुद्धकै एक भाग हो। पुजारी शाक्यका अनुसार मन्दिर भाँचिएर बाँकी रहेको भाग मर्मत गरेर मायादेवी मन्दिर बनाइएको हो। मायादेवी गौतम बुद्धकी आमा हुन्।

यसको अगाडि विद्याधरी देवी मन्दिर छ। विद्याधरीलाई ज्ञान, सीप र संगीतकी देवी मानिन्छ।

महाबुद्ध मन्दिर भारत महावोधीकै प्रतिरुप मानिन्छ। ‘यहाँ आउँदा भक्तजनलाई वोधगया नै पुगेको महशुस हुन्छ,’ पुजारी शाक्यले भने।

मन्दिर सुरक्षा र पूजापाठ निम्ति यसकै निर्माता पण्डित अभयराजका पुस्ता बस्छन्। परिवारका एक–एक सदस्य प्रत्येक महिना पालो गरी पुजारी बस्ने चलन छ।

बौद्ध धर्मका अन्वेषक हेमराज शाक्यले यो मन्दिरबारे ‘महाबुद्ध मन्दिर संक्षिप्त इतिहास’ नामको किताब लेखेका छन्। किताबमा उल्लेख भएअनुसार ९० सालको भुइँचालोपछि चार वर्षमै पुनर्निर्माण सकेको खुसियालीमा ‘महाअहोरात्र यजना’ समारोह गरिएको थियो। यसमा जुद्धशम्शेर पनि सहभागी थिए।

मन्दिर पुरानै शैलीमा फर्किएला भनेर जुद्धशम्शेरले विश्वास नै गरेका थिएनन्। पुरानै शैलीमा फर्केको देखेर उनले पुनर्निर्माणमा लागेको सबै ऋण माफ गरिदिए।

यसरी पुनर्निर्माण भएको मन्दिर अहिले भने जीर्ण छ। संरक्षण समितिका अध्यक्ष शाक्यका अनुसार मन्दिरको नक्सा बनाउने काम सकिएको छ। अनुमानित रकम पुगे एक महिनाभित्र काम सुरु हुने उनी बताउँछन्।

तस्बिर सौजन्यः इकोटुरिजम

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.