मल्लकालदेखि बाजा बजाउँदै, बाजा बनाउँदै

पाटन, सौगलमा पुस्तैनी बाजा व्यवसाय चलाउँदै आएका हरि कुलु। तस्बिर: सेतोपाटी


बेलायती रानी एलिजावेथ द्वितीय पहिलोपटक नेपाल घुम्न आएकी थिइन्।

लाजिम्पाटमा उनको स्वागत निम्ति अनौठो ढोका बनाइएको थियो। मादलै–मादल जोडेर बनाइएको त्यो ढोकाका सर्जक थिए– प्रेमलाल कुलु।
यो ढोकाको तस्बिर उनका छोरा हरिले आफ्नो ‘नेपाल सांस्कृतिक बाजा उद्योग’ मा सजाएर राखेका छन्।

बुबाको कला अनुसरण गर्दै हरिले ‘ललितपुर फेस्टिभल’ मा त्यस्तै सांगीतिक ढोका बनाए। परिमार्जित र सानो आकारको त्यो ढोका उनले बुबाले बनाएको ढोकाको तस्बिरसँगै सजाएर राखेका छन्।

योसँगै उनको उद्योगमा करिब सय प्रकारका परम्परागत र आधुनिक वाद्ययन्त्र छन्। यसरी संकलन गरेर सजाइएका वाद्ययन्त्रले उनको उद्योगलाई एउटा सांगीतिक संग्रहालयको स्वरूप दिएको छ।

पाटन, सौगल बस्ने हरि र उनका बुबा प्रेममात्र यो पेसामा सलंग्न होइनन्, सात पुस्ता भइसक्यो। ‘बुबाबाजेले भनेअनुसार मल्लकालीन राजाका पालादेखि हाम्रा पुस्ता बाजा बजाउँथे,’ उनले भने, ‘त्यही परम्परा जोगाउँदै आएका छांै। वाद्यवादन मैले बुबाबाट सिकेँ, उहाँले हजुरबुबाबाट। पुस्तेनी सिकाइ हुँदै आएको छ।’

हरि आफ्नो परम्परागत पेसा वरपर नै हुर्के। यसैले उनलाई १४ वर्षको उमेरमै सेनामा भर्ती गरायो। उनी त्यहाँ वाद्यबाजा बनाउने र मर्मत गर्थे। यसअघि उनका पुस्ताले पनि यही गर्दै आएका थिए।

‘सेनामा हुँदा टुडिँखेलमा एउटा कार्यक्रम भएको थियो। मैले ६५ वटा बाजा झुन्डाएर एकैसाथ बजाएको थिएँ,’ हरिले उत्साहित हुँदै सुनाए, ‘आर्मीमा मेरो तह सानो थियो। तर, मेरो कला देखेर सरकारले मलाई एकैपटक लप्टन बनाइदिनुभयो।’

कुलु परिवारमा यसरी सम्मान पाउने हरि मात्र होइनन्। श्री ३ को समयदेखि नै उनका पुस्ताले सम्मान पाउँदै आएको उनले बताए।

‘मैले घरमा भएका प्रमाणपत्रबाट थाहा पाएको हुँ,’ उनले भने, ‘अझै कत्ति थिए होलान्। सब फेला पार्न सकिन्नँ र थाहा पाउन पनि गाह्रो छ।’ आफ्ना पुस्ताले पाएको सम्मान प्रमाणपत्र उनले ‘सांगीतिक संग्रहालयमा सजाएर राखेका छन्।

पुस्ताबारे अध्ययन गर्दै जाँदा उनले आफ्नो थर ‘कुलु’ सम्बन्धी पनि खोजीनीति गरेका थिए। उनले थाहा पाए– कुलु कुनै थर होइन, ठाउँको नाम हो। ‘सबैभन्दा पहिले बाजा उत्पादन भएको ठाउँलाई कुलु भनिँदो रहेछ,’ उनले भने, ‘हाम्रा पुर्खाले पनि बाजा बजाउने र बनाउने भएकाले यही ठाउँको नामअनुसार थर दिएको हुनसक्छ।’

यी सब अध्ययन गर्ने हुटहुटी उनलाई सेनामा छँदै लागेको हो। जागिर क्रममै संगीत र यसका विशेषताबारे उनले विस्तृत अध्ययन गरे। २० वर्ष काम गरेपछि उनले अवकाश पाए। त्योबेला उनी ३५ वर्षका थिए।

जागिर छाडेपछि उनलाई अब के गर्ने भन्ने लाग्यो। सोच्दा–सोच्दै उनले निर्णय गरे– सांगीतिक वाद्यवादन संग्राहलय खोल्ने, जगेर्ना गर्ने र नयाँ पुस्तासम्म पुर्याउने।

‘आफ्ना बाजागाजा संरक्षण गर्नुपर्छ जस्तो लाग्यो,’ उनले भने, ‘त्यसैले एक कुनामा पुराना र लोपोन्मुख बाजा सजाएर राखेको हुँ, ताकि यो संरक्षण होस् र नयाँ पुस्ताले देख्न र चिन्न सकून्।’

उनी पुराना वाद्यवादन संरक्षण मात्र गर्दैनन्, मर्मत गर्छन् र नयाँ पनि बनाउँछन्। ‘कहीँ मर्मत हुन नसकेका बाजासमेत मैले बनाएको छु,’ उनले भने।

वाद्यवादन बनाउँदा निकै होसियार हुनुपर्ने उनको अनुभव छ। ‘जे बाजा बनाए पनि राम्रो काठ छान्नुपर्छ। त्यसपछि कम्तीमा तीन वर्ष यसै छाडिदिनुपर्छ। नभए चाँडै बिग्रिने, बांगिने र ‘ट्युन अफ’ हुने समस्या आउँछन्। यति मिहिनेत नगरेकै कारण अचेलका वाद्यवादन छिट्टै बिग्रिन्छन्। झन् चीनबाट आएका त साह्रै कमसल हुन्छन्।’

‘म भने यी सबमा निकै ध्यान दिन्छु,’ उनले भने, ‘नेपालको प्रसिद्ध सांगीतिक ब्यान्ड ‘कुटुम्ब’ ले यहीँबाट बाजा लैजान्छन्।’

हरि टुङना, सारंगी, तबला, मादलबाहेक आफ्नै मौलिक बाजा पनि बनाउँछन्। झ्याउँकिरी र समुद्रको छालजस्तो आवाज निकाल्ने उनका मौलिक बाजा हुन्।

‘सन् २००० तिर जर्मनीको सांगीतिक समूहसँग मेरो भेट भएको थियो। त्यो जमघटले संगीतका नयाँ कुरा थाहा भयो,’ उनले भने, ‘त्यही समूहको प्रेरणाले नै मैले यी मौलिक बाजा बनाउन सिकेको हुँ।’

हरिको चित्रकलामा पनि रूचि छ।

‘त्यही भएर मैले यो समुद्रको छालजस्तो आवाज निकाल्ने बाजालाई कलात्मक बुट्टाले सिँगारेको हुँ,’ उनले भने।

पुर्ख्यौली पेसा सम्हाल्दै आएका हरिसँग उनको परिवार पनि साथ छ। श्रीमती र छोरा उनलाई बाजा बनाउन र मर्मत गर्न सघाउँछन्। उनका दाजुभाइ पनि यही पेसामा छन्। ‘हामी सबै यसमा बाँधिएकाले पछिल्लो पुस्तासम्म हाम्रो पेसा जोगिने आशा छ,’ उनले भने।

उनको उद्योगमा अर्को महत्वपूर्ण काम पनि हुन्छ– संगीत प्रशिक्षण। संगीत प्रतिष्ठानमा उनी स–साना केटाकेटीलाई बाजाबारे सिकाउँछन्।

‘संगीत पेसा मात्र होइन, साधना पनि हो। साधनामा लिप्त भएको मान्छे यसबाट अलग्गिन सक्दैन,’ उनले भने, ‘यही साधनाले मलाई हाम्रा परम्परागत बाजागाजा जोगाउन प्रेरणा दिएको हो। यो उद्योग सानोतिनो संग्रहालय नै हो। अझै धेरै लोपोन्मुख बाजागाजा समेटेर यसलाई व्यापक बनाउने मेरो सपना छ। र, म यो सपना पूरा गर्न लागिपरेको छु।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.