अस्तव्यस्त रत्नपार्कमा माइक्रो चढ्न सभ्य लाम

अस्तव्यस्त रत्नपार्कमा माइक्रो चढ्न सभ्य लाम

रत्नपार्कबाट बानियाँटार जाने माइक्रो चढ्न लामबद्ध यात्रु। तस्बिरः सेतोपाटी


साँझको रत्नपार्क।

सिधा पाइला चाल्न हम्मे छ। मान्छे गाडी चढ्न ठेलमठेल गर्दै छन्। घम्साघम्सीमा कसैका झोला खस्छन्, कसैका खुट्टा किचिन्छन् त कसैका टाउका ठोक्किन्छन्।

यस्तो लाग्छ, मानौं त्यहाँ होडबाजी छ, गाडी चढ्नेको। यो होडमा सफल हुनेहरू सिटमा बसेर जितको खुइय मार्छन्, नसकेकाहरू सडकमै निरीह उभिन्छन्। कोही आधा जीउ कुप्य्राएर यी दुवै भावना छल्न खोज्छन्।

बिहीबार साँझ साढे ६ बजे हामी पुग्दा पनि रत्नपार्क यस्तै थियो, महानगरीय प्रहरी कार्यालय अगाडिको कुनोबाहेक।

अस्तव्यस्त रत्नपार्कको त्यो कुनोमा साँझको व्यस्त समय पनि मान्छे भलाद्मी बनेर लामबद्ध उभिएका थिए। चिलले चल्ला छोपेजस्तो माइक्रो देख्नेबित्तिकै सिट लुछाचुँडी गर्ने हतारो उनीहरूलाई थिएन। चिनीको ढिकामा वरिपरि झुम्मिने कमिलाझैं त्यहाँ कोही पनि माइक्रो घेरा हाल्न तम्तयार थिएनन्।

रत्नपार्कको यो कुनो गोंगबु–बानियाँटार जाने माइक्रो स्टप हो। झन्डै एक महिना भयो, यो रूटका यात्रु यसरी लामबद्ध हुन थालेको। उनीहरू लाममा उभिएरै माइक्रो कुर्छन्, र गाडी आएपछि कसैलाई नधकेली आफ्नो पालोमा चढ्छन्। एक ट्रिपमा नअटेकाहरू ठेलमठेल गर्दै घुस्न खोज्दैनन्। बरु, बाहिर उभिएर अर्को माइक्रो पर्खन्छन्।

बिहीबार हामी पुग्दा माइक्रो यात्रुको लाम परैबाट देखियो।

हामीले लाम बसेका समीर शर्मालाई सोध्यौं, ‘कति खेर आउँछ गाडी?’

‘खै, ढिला भइसक्यो। यतिखेर त कहिले आउँछ, कहिले आउँदैन,’ बानियाँटार पुग्न हतारिएका शर्माले मुखको मास्क फुकाल्दै भने, ‘जति हतार भए पनि लाइन नबसी गाडी चढ्न पाइँदैन। सबैले आ–आफ्नो पालोमा चढ्ने हो।’

समीर दिनहुँ यसैगरी लाम लागेर माइक्रो चढ्छन्। रत्नपार्कबाट बानियाँटार जाँदा मात्र होइन, बानियाँटारबाट रत्नपार्क आउँदा पनि। अझ उता लाम बस्न थालेको त छ महिना भइसक्यो।

‘पहिले हामी बानियाँटार स्टपमै लाइन बस्न थालेका हौं, लगभग पाँच महिनापछि रत्नपार्कमा पनि सुरु गर्नुपर्यो भनेर यता पनि बस्न थालियो,’ उनले भने, ‘अहिले त नियमजस्तै भइसक्यो। बानियाँटारको यो रूटमा दिनहुँ आउजाउ गर्नेलाई लाइन नबसी गाडी चढ्न पाइँदैन भन्ने थाहा छ।’

पहिले बानियाँटारमा मात्र लाम बस्ने नियम हुँदा उताबाट आउन सजिलो भए पनि फर्कंदा उस्तै घम्साघम्सी गर्नुपर्ने उनले सम्झे।

‘रत्नपार्कमा त अरू रूट र बानियाँटार रूटमा कुनै फरकै थिएन,’ उनले भने, ‘अफिस टाइममा युद्ध लडेझैं हुन्थ्यो। कतिको पर्स चोरियो, कति माइक्रोको ढोकामा चेपिएर घाइते नै भए। बानियाँटारबाट आउँदा जुन सुविस्ता हुन्थ्यो, यताबाट जाँदा उस्तै सकस।’

‘अहिले रत्नपार्कमा पनि लाइन बस्न थालेपछि बल्ल ढुक्क यात्रा गर्न पाइएको छ।’

बानियाँटारबासी माइक्रो लाममा कतिसम्म अनुशासित छन् भने, यहाँ कसैलाई पालो मिच्ने छुट छैन।

हामी त्यहाँ उभिँदा–उभिँदै एउटा माइक्रो आइपुग्यो। शान्त यात्रु सभ्य रूपमा पालैपालो माइक्रो चढ्न थाले। त्यही बेला एक जना लाम मिचेर छिर्न खोजे।

‘लाइन मिचेर चढ्न पाइँदैन,’ मुन्टो बटारेर ढोकातिर फर्केका गाडी चालकले हप्काए, ‘लाइनमा आउनुस्।’

पालो मिच्न खोज्ने ती व्यक्ति लुरुक्क पछाडि उभिन गए।

रत्नपार्कमा यो नियम लगाउने कुनै ‘ठूला मान्छे’ वा ‘निकाय’ होइनन्। बानियाँटारका स्थानीय हुन्।

‘यो नियम बानियाँटारवासी र माइक्रो समितिले नै मिलेर लगाएको हो,’ माइक्रो चालकले भने, ‘म यो रूटमा नयाँ हुँ, लाइन बस्ने नियमले गाडी चलाउन सबभन्दा सजिलो यही रूटमा रहेछ।’

सहयोगी निङ्मा लामा त झनै दंग थिए।

‘हामीलाई धेरै सजिलो भएको छ, कराउनै पर्दैन,’ उनले भने, ‘कसैलाई ए यता! ए उता! भन्नै पर्दैन। यात्रुहरू आफैं सरासर मिलेर बस्नुहुन्छ। सबैतिर यस्तै भइदिए हाम्रो घाँटी सुक्दैनथ्यो।’

लामाका अनुसार यो रूटका माइक्रोमा यात्रु कोचिएर बस्न पनि छाडेका छन्। अट्ने जति सजिलो गरी सिटमै बस्छन्, नअट्नेहरू अर्को गाडी कुर्छन्। ‘उभिएरै जाने भनेका त हतारै हुनेहरू मात्र हुन्,’ उनले भने।

टोखा नगरपालिका, बानियाँटारवासीले काठमाडौंको अस्तव्यस्त रत्नपार्कमा देखाएको यो अनुशासनले सभ्यताको परिचय दिएको छ।

यस्तरी लाम लागेर माइक्रो चढ्ने सुरूआत भने वनस्थली–१६, खरिबोटबाट भएको हो, करिब १० महिनाअघि।

यो पनि हेर्नुहोस्:

जहाँ यात्रु लामबद्ध भएर माइक्रो चढ्छन्

यो २३ ‘क’ नम्बर रूटमा पर्छ। बाह्रवटा माइक्रो ओहोरदोहोर गर्ने यो रूटमा दिनको कुनै पनि समय यात्रु चढाउन र ओराल्न भीडभाड हुँदैन। अत्यधिक चाप हुने कार्यालय समयमा पनि यात्रुहरू पालो मिच्दैनन्। बरू ६०–७० मिटरसम्मै लाम लाग्छन्।

यात्रुको ठेलमठेलले दुर्घटना बढेपछि स्थानीय युवाले खरिबोटमा यस्तो नियम बसालेका हुन्। यसको अनुशरण गर्दै छेउछाउका स्टपमा पनि लाम बस्ने चलन फैलिँदैछ।

बानियाँटार यसैको उदाहरण हो।

स्थानीय दीपेन्द्र पौडेलका अनुसार बानियाँटार भत्केको पुल, धनेश्वर र सूर्यदर्शन हाइटका माइक्रो स्टपमा करिब छ महिनाअघिबाट यात्रु लाम बस्न थालेका हुन्।

बानियाँटारको धनेश्वर माइक्रो स्टपमा लामबद्ध यात्रु। तस्बिरः उत्तम नेपालको फेसबुकबाट

‘ओहो! यी स्टेसनमा माइक्रो चढ्न यति धेरै समस्या थियो, धेरैको त झगडै पर्थ्यो,’ पौडेलले भने, ‘चोरी हुने, मान्छे लडेर घाइते हुने त सामान्य। हुँदा हुँदा माइक्रोमा उभिएकै कारण ढाडका बिरामी बढ्न थाले। गाडीबाट ओर्लिंदा ढाड दुखेर सोझ्याउन सकिन्नथ्यो।’

यो रूटमा २६ वटा माइक्रो चल्ने भए पनि यात्रु अनुशासित नहुँदा दिउँसोबाहेक अरू बेला महाभारत हुने उनले बताए।

आजित स्थानीयले खरिबोटको पहल थाहा पाएपछि बानियाँटारमा पनि त्यस्तै नियम बसाल्ने निर्णय गरे। ‘खरिबोटमा सम्भव भयो भने हामीकहाँ किन हुँदैन भनेर अगुवाहरूले लाइन बस्ने नियम सुरु गर्नुभयो,’ उनले भने, ‘धेरै गाह्रो पनि भएन। एक–दुई दिनमै सबै जना लाइन बस्न थाले। अहिले त लाइन मिच्न कोही आउँदैनन्। थाहा नपाएकाहरू पनि हामी सबै लाइन बसेको देखेपछि खुरुक्क पछाडि उभिन जान्छन्।’

स्थानीयकै पहलमा रत्नपार्कमा पनि यही थिति बसालेको उनले जानकारी दिए।

‘साँझ–बिहान रत्नपार्कबाट सिधा ज्यान लिएर घर फर्किनु त कल्पना मात्र हुन्थ्यो,’ उनले भने, ‘पाको उमेरका र केटाकेटीको बिजोगै हुन्थ्यो। लाइन बस्ने नियमको सबभन्दा बढी खाँचो रत्नपार्कमै थियो। अहिले हेर्नु त, यो रूटको यात्रा ट्याक्सीमा बसेजत्तिकै हुन्छ।’

बानियाँटारका स्थानीयले बस चलाउने प्रयास गरिरहेको पनि पौडेलले बताए। ‘यात्रुको चापले साना गाडीमा साह्रै गाह्रो हुन्छ। बस भए धेरै सहज हुन्थ्यो,’ उनले भने।

खरिबोट र बानियाँटारजस्तै अन्य रूटमा पनि यस्तै नियम भइदिए दुर्घटना जोखिम र यातायात समस्या दुवै कम हुने यात्रु बताउँछन्। माइक्रो चालक र सहयोगीहरू यसमा सहमत छन्।

‘यो नियम फैलिँदैछ,’ पौडेलले भने, ‘बानियाँटार आसपास अन्य स्टपमा पनि यात्रु लाइन लाग्न थालेका छन्। तै व्यवस्थित हुन समय लाग्ला।’

सुधार समाजबाटै सुरु हुन्छ। सरकार र सरोकारवालाको मुख नताकी आफैं पहल गर्न सकिन्छ भन्ने बलियो उदाहरण खरिबोट र बानियाँटारका स्थानीयले दिएका छन्। यो नियमले राजधानीका केही बस्ती र रत्नपार्कको एउटा सानो कुना मात्र किन नहोस्, सुधारको संकेत भने दिएको छ। र, स्थानीयले चाहे यस्ता सुधार सम्भव छ भन्ने पनि देखाएको छ।

‘कुनै दिन त आउला नि, जब काठमाडौंका सबै ठाउँमा मान्छे यसरी नै लाइन बसेर गाडी चढ्नेछन्,’ पौडेलले भने, ‘सभ्य पारामा।’

वनस्थली- १६, खरिबोटमा माइक्रो चढ्न लामबद्ध यात्रु। तस्बिर: नारायण महर्जन/सेतोपाटी

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.