बिहान–बेलुकी कार्यालय समयमा राजधानीका सार्वजनिक सवारी हेर्नुपर्छ, यस्तो लाग्छ भित्र कोचिएका यात्रु सास पो कसरी फेरिरहेका छन्!
अझ माइक्रो–ट्याम्पो स्टेसनहरूमा एकछिन अडिनुपर्छ, यस्तो लाग्छ गाडी चढ्न खोजेका यात्रु युद्ध मैदानमा पो चढाइँ गर्दैछन्!
यही राजधानीमा यस्तो ठाउँ पनि छ, जहाँ यात्रुहरू माइक्रो चढ्न दौडादौड गर्दैनन्। एकअर्कालाई कुइनाले ठेलेर घम्साघम्सी गर्दैनन्। न असिनपसिन खाँदिएरै बस्छन्।
उनीहरू त व्यवस्थित ढंगले लाम बस्छन्। र, कसैले कसैलाई उछिनपाछिन नगरी आ–आफ्नो पालोमा सजिलै माइक्रो चढ्छन्।
यात्रु चार जना हुन् कि चालीस जना, लाम नबसी माइक्रो नचढ्ने यहाँ नियमै छ।
त्यही ठाउँ पुग्न वनस्थली, चक्रपथको सिद्धार्थ वनस्थली स्कुललाई दाहिने पारेर अघि बढेपछि हामीले एक जनालाई सोध्यौं, ‘खरिबोट जाने बाटो यही हो?’
उनले अलिकति अगाडि बढेर देब्रे मोडिन सुझाए।
देब्रे, त्यसपछि दाहिने, अलिकति घुम्ती र सोझो बाटो हुँदै अघि बढेपछि ओरालो आयो।
त्यही ओरालो झर्दाझर्दै हामीले तल चोकमा एउटा सेतो माइक्रो देख्यौं। दिउँसो पौने १२ बजेको थियो। झन्डै १५–१६ जना यात्रु थिए, माइक्रो एउटै। न त्यहाँ दौडादौड थियो, न ठेलमठेल न त घम्साघम्सी। बैंकमा चेक साट्न बसेका ग्राहकझैं यात्रु शान्त थिए। र, लस्कर लागेर पालैपालो माइक्रो चढ्दै थिए।
‘कसैले कसैको पालो नमिची व्यवस्थित भएर गाडी चढेको तपाईं काठमाडौंमा अन्त कहाँ देख्नुहुन्छ, ल भन्नुस् त?’ माइक्रो रोकिने खरिबोट चोकस्थित ग्रिन हाउस सेन्टरकी भावना सिंखडा भन्दै थिइन्।
वनस्थली–१६, खरिबोटमा यस्तरी लामबद्ध भएर माइक्रो चढ्ने चलन सुरु भएको ९ महिना भयो। यहाँ २३ ‘क’ नम्बर रूटका १२ वटा माइक्रो चल्छन्। दिनको कुनै पनि समय यात्रु चढाउन र ओराल्न भीडभाड हुँदैन। अत्यधिक चाप हुने कार्यालय समयमा पनि यात्रुहरू पालो मिच्दैनन्।
भावनाका अनुसार सार्वजनिक विदाको दिनबाहेक अरू बेला बिहान ९–१० बजेतिर लगभग ६०–७० मिटरसम्म यात्रुको लाम लाग्छ।
‘त्यस्तो बेला भर्खर आएको मान्छे पनि खुरुक्क पछिल्लो लहरमा उभिन जान्छ,’ उनले हाँस्दै भनिन्, ‘नयाँ मान्छे पर्यो भने अगाडि आएर एकछिन अलमलिन्छ, अनि सबै लाम बसेको देखेपछि खुरुखुरु पछाडि गएर उभिन्छ।’
यहाँको अर्को विशेषता भनेको, भरसक क्षमताभन्दा बढी यात्रु कोचिँदैन। लाममा उभिएकाहरू माइक्रोमा अट्नेजति चढ्छन्। त्यसपछि जसको पालो पर्छ, उभिएर जाने कि नजाने उसैको इच्छा हो। ऊ उभिएर जान चाहँदैन भने छेउ लाग्न सक्छ। उसको ठाउँमा पछाडिको मान्छे जान पाउँछ। अर्को माइक्रो आएपछि अघि छेउ लागेको यात्रुले पहिलो पालो पाउँछ। प्रत्येकचोटिको सवारीमा यही क्रम चलिरहन्छ।
यस्तो नियम सुरु भएदेखि यात्रुहरूलाई त सुविस्ता भएकै छ, माइक्रो चालकहरू पनि दंग छन्।
‘यो त अन्त कहीँ नपाइने सुविधा हो,’ लामबद्ध यात्रु हेमचन्द्रले भने, ‘साह्रै सजिलो भएको छ, खरिबोटबाट रत्नपार्क जाँदा अचेल कहिल्यै उभिएर जानुपरेको छैन।’
बरु यहाँ सुविस्तासँग माइक्रो चढ्ने बानी लागेपछि बेलुकी आरएनएसी वा रत्नपार्कबाट फर्कंदा साह्रै सकस हुन थालेको उनले अनुभव सुनाए।
‘जाने बेला त हामी यस्तो आनन्दसँग जान्छौं, फर्कंदा उही ताल हो,’ उनले भने, ‘पहिले यहाँ माइक्रो चढ्न पनि लाइन लाग्ने जस्तो हुन्थ्यो, अचेल उता घम्साघम्सी गरेको देख्दा दिक्क लाग्छ, यस्तो हुलमा कसरी चढ्ने जस्तो हुन्छ!’
एक साताअघि मात्र यो चोकमा बस्न आएकी लक्ष्मी अर्याल त आउनेबित्तिकै माइक्रो चढ्ने थिति देखेर छक्कै परेको बताउँछिन्।
चितवनकी उनी करिब सात वर्षदेखि काठमाडौं बस्दै आएकी छन्। यसअघि बालाजुमै अलि मास्तिर बस्थिन्। ‘मैले यस्तो त कहिल्यै देखेको थिइनँ, कोही कसैसँग झगडा गर्दैन, एकअर्कालाई ठेलठाल गर्दैन, लाइन बस्छ, खुरुखुरु (गाडी) चढ्छ,’ औषधि पसल चलाउन चोक झरेकी उनले भनिन्, ‘माइक्रो सिंगै खाली छ, यात्रुहरू चार–पाँच जना मात्र छन् भने पनि लाम बसेरै चढ्छन्, हानथाप हुँदै हुन्न।’
उता, माइक्रो चालक र सहयोगीहरू त यो नियमले यति उत्साहित छन्, अरू टोलका बासिन्दालाई पनि यस्तै नियम बसाल्न सुझाउँछन्। कोही यात्रुले चढ्दा र झर्दा बलमिच्याइँ नगर्ने हो भने दुर्घटनाको जोखिम कम हुने उनीहरूको भनाइ छ।
‘यसले हामीलाई जति सजिलो त कसलाई भा होला!’ माइक्रो सहयोगी सुनील सुर्खेतीले भने, ‘हामीले घाँटी सुक्ने गरी कराइरहनै पर्दैन, सबै आरामले आउँछन्, आरामले चढ्छन्, हामीलाई सन्चो छ। यस्तै नियम अरू ठाउँमा पनि होस्।’
चालक देव श्रेष्ठले सही थापे।
‘पहिले अफिस टाइममा माइक्रो चढ्ने भनेपछि महाभारतै हुन्थ्यो, यात्रुहरू जसको शक्ति उसको भक्ति भनेझैं ठेलठाल गरेर छिर्थे,’ उनले भने, ‘अचेल लाममा जो अगाडि छ, ऊ पहिला चढ्छ। झगडा पर्दैन, जतिसुकै धेरै मान्छे भए पनि हुलमुल हुँदैन।’
खरिबोटमा सार्वजनिक सवारी चढ्ने यो थिति बसाल्नमा यहाँका स्थानीयलाई नै श्रेय जान्छ। त्यसमा पनि अग्रणी भूमिका निर्वाह गर्नेमध्ये पर्छन्, त्यही चोकको ग्रिन हाउस सेन्टरका सञ्चालक सुदीप सिंखडा।
उनका अनुसार लाम लगाएर गाडी चढाउने थिति बसाल्नमा यात्रुको ठेलमठेलले हुने दुर्घटना मुख्य कारण हो।
यो नियम लागू हुनुअघि यहाँ हप्तैपिच्छे एउटा न एउटा दुर्घटना भएकै हुन्थ्यो। चार–पाँच जना एकैचोटि हानथाप गर्दै ढोकाबाट छिर्न खोज्दा कतिको हात च्यापिन्थ्यो भने कति त लडेर घाइते हुन्थे। हुलमुलमा कति यात्रुको मोबाइल, पर्स खस्थ्यो। एकचोटि कलेज जाने हतारमा रहेका विद्यार्थी छुट्न लागेको गाडी समात्न दौडिँदै आउँदा भुइँमा पछारिएर घाइते भए। उनलाई अस्पतालै लैजानुपर्यो।
‘यही घटनापछि यो बेथिति अन्त्यको पहल सुरु भयो,’ सिंखडाले भने, ‘प्रकाश अधिकारी भन्ने एक जना भाइ यहाँ सधैं आइरहन्थे, अहिले उनी विदेशमा छन्। उनी, म र यहीँ समर्पण बस्तीका एक जना इञ्जिनियर दाइले सरसल्लाह गर्यौं।’
यात्रुलाई लामबद्ध गराएर माइक्रो चढाउनसके दुर्घटनाको समस्या हल हुने र व्यवस्थित पनि हुने उनीहरूको निष्कर्ष रह्यो।
वर्षौंदेखि घम्साघम्सी गर्ने बानी परेका यात्रुलाई नयाँ बाटोमा हिँडाउने प्रयास सजिलो भने थिएन। लगभग एक साता खुबै मिहिनेत गर्नुपर्यो। तीनै जनाले माइक्रो चढ्न आउनेलाई दिनहुँ सम्झाउँदै–बुझाउँदै लाम बसाल्न थाले। कतिसँग त झगडाधरि पर्यो।
‘न हामी टोलका अगुवा न त माइक्रो सञ्चालकहरूसँग हाम्रो कुनै सम्बन्ध, हाम्रो कुरा कसले किन टेर्थे,’ सिंखडाले भने, ‘लाइन बसेर गाडी चढौं न भनेर सम्झाउन खोज्दा मान्छेहरू ‘तपाईंलाई के को सरोकार, यतिका मान्छे भएपछि भिडभाड हुन्न’ भन्दै बाझ्न आउँथे। ‘तपाईंलाई अप्ठ्यारो परे बस चलाउने व्यवस्था मिलाउनुस्, अनि बल्ल हुल हुँदैन’ भन्दै उल्टो उपदेश दिन्थे। तै हामीले हार खाएनौं।’
स्थानीयको यो पहललाई टोल व्यवस्थापन समितिले पनि साथ दियो। त्यसपछि भने थिति बसाल्न अलि सजिलो भयो। कहिले नम्र भएर त कहिले अलि चर्को स्वरमा सम्झाएर यात्रुहरूलाई विस्तारै लामबद्ध हुन बानी पार्दै गए।
‘अहिले त यसमा टोलका सबैको साथ छ, सबैलाई बानी परिसक्यो, खरिबोटमा लाइन नबसी माइक्रो चढ्न पाइँदैन भन्ने सबैले बुझिसके,’ सिंखडाले भने।
यो पनि हेर्नुहोस्;
यात्रुलाई लामबद्ध गराउनमा केही योगदान होस् भनेर आफ्नो पसलअगाडि लाम्चो कुर्सीको व्यवस्थासमेत गरेको उनले बताए। आठ–दस जना अट्ने त्यो कुर्सीले लामबद्ध यात्रुलाई माइक्रो नआउञ्जेल सुस्ताउन सुविस्ता भएको छ।
काठमाडौं उपत्यकामै सम्भवतः अन्त कतै नदेखिने यस्तो थिति बसाल्न सकेकोमा यहाँका स्थानीय गर्व मान्छन्। सबभन्दा ठूलो खुसी त्यतिखेर हुन्छ, जब अरू ठाउँमा बस्ने साथीभाइ यसबारे सोधपुछ गर्छन्। र, आफूकहाँ पनि यस्तै भइदिए हुन्थ्यो भन्दै चुक्चुकाउँछन्।
‘टोलका केही मान्छेले लामबद्ध यात्रुको फोटो फेसबुकमा राख्नुभएछ, त्यसपछि त के चाहियो, चिनेजानेकाहरू सोधेका सोध्यै गर्छन्। तेरो टोलमा त यस्तो भाको छ रे नि, कसरी गर्यौ, किन गर्यौ भनेर जिज्ञासा राख्छन्,’ भावनाले भनिन्, ‘यही टोलवासीको नाताले यति राम्रो काम भएकोमा बधाइ खान पाउँदा गर्व लाग्छ।’
[caption id="attachment_100914" align="alignnone" width="1200"]
सुदीप सिंखडा[/caption]
प्रशंसाको बीचमा एउटा चुनौती पनि छ।
आरएनएसीबाट छुट्ने यी माइक्रोको अन्तिम स्थायी स्टेसन खरिबोट होइन। सुरुमा यी माइक्रो वनस्थलीसम्म मात्र आउँथे। बाटो तन्किएपछि र बस्ती बढेपछि त्यही बस्ती पछ्याउँदै खरिबोटसम्म आउन थाले। केही महिनायता बाटो अझ तन्किएको छ। बस्ती अझ बढेको छ। माइक्रोहरू नयाँ बस्ती पछ्याउँदै एक किलोमिटर परको ‘प्लानिङ’ क्षेत्रसम्म पुग्ने भएका छन्। त्यसपछि अन्तिम स्थायी स्टेसन त्यहीँ हुनेछ। खरिबोट बाटोमा पर्ने एउटा स्टेसन मात्र रहनेछ।
त्यो बेला उतैबाट आधाउधि भरिएर आउने गाडीमा यात्रुलाई लामबद्ध गराएर कसरी चढाउने भन्ने चुनौती सिंखडाले देखेका छन्। ‘जहाँ इच्छा त्यहाँ उपाय, यतिका समय लाइन बस्ने बानी परिसकेपछि यात्रुहरू फेरि तछाडमछाड त नगर्लान् नि!’ उनले आसा व्यक्त गरे।
सँगसँगै उनलाई एउटा खुसी छ।
खरिबोटको यो थितिबाट प्रभावित भएर छेउछाउ टोलका स्थानीय पनि गाडी चढ्न यतै आउँछन्। उनीहरूले आफ्नो टोलमा यसको सिको गर्ने प्रयास गरिरहेको उनले बताए।
‘बोहोराटारका स्थानीय अहिले यही कोशिसमा छन्,’ उनले भने, ‘खरिबोटको यो नियम काठमाडौं उपत्यकाका सबै टोलवासीले सिकून् र सबैतिर यही थिति फैलियोस् भन्ने हामी चाहन्छौं।’
यसमा काठमाडौं महानगरपालिका, वडा कार्यालयहरू, टोल व्यवस्थापन समिति, ट्राफिक प्रहरी र स्थानीयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ छ। ‘यो माइक्रो सञ्चालकहरूको निम्ति पनि सजिलो कुरा हो, उनीहरूले यसमा सहकार्यको हात बढाउनुपर्छ,’ उनले भने।
सिंखडाले भनेझैं खरिबोटका स्थानीयको पहल सबैतिर अनुसरण भए बल्ल एकदिन यस्तो आउनेछ, जब राजधानीका सार्वजनिक सवारीभित्र यात्रु सुविस्तासँग सास फेर्दै यात्रा गरिरहेका हुनेछन्!
माइक्रो–ट्याम्पो स्टेसनहरूमा गाडी चढ्न उभिएका यात्रुले युद्ध मैदानमा चढाइँ गर्नुपर्ने छैन!
https://www.youtube.com/watch?v=pjk70bs_Fbc&feature=youtu.be