‘धूलोधुवाँको सागरमा बस्नेले कसरी जोगाऊन् केटाकेटी?’

तस्बिर: सेतोपाटी


मास्क लगाएका ४ वर्षीय बालक घरिघरि आमालाई सोध्छन्, ‘हाम्रो पालो आएन मामु?’

कान्ति बाल अस्पतालको दमरोग ओपिडीमा बिरामी खचाखच छ। चौध नम्बरको पालो भर्खरै आयो। अझै छ जनापछि बल्ल उनको पालो आउँछ। त्यतिञ्जेल बिरामी छोरा सम्हाल्न आमालाई हम्मे परिसक्यो।

आमा सीता कोइरालाका अनुसार उनलाई रुघाखोकी र सास फेर्दा छाती घ्यारघ्यार हुन थालेको गत वर्षबाटै हो। हल्का ज्वरो पनि आउँथ्यो। जीउ पसिनाले लुछुप्पै भिजिरहन्थ्यो। बच्चालाई त्यही बेला कान्तिमा लामो समय भर्ना गरियो। डाक्टरहरूले सुरुमा निमोनियाको शंका गरे। पछि दमरोग लागेको बताए।

‘यति सानो उमेरमै दम बढ्दो रैछ!’ छोराको ढाड सुम्सुम्याउँदै आमाले बुधबार सेतोपाटीसँग भनिन्, ‘एन्टिबायोटिक खुवाएपछि अस्पतालै भर्ना त गर्नुपरेको छैन, तर महिनैपिच्छे जचाउन ल्याइरहनुपर्छ।’

उनलाई दुइटा अवस्थामा दमले बढ्ता च्याप्छ– चिसो लाग्दा र धूलोधुवाँमा लामो समय बिताउँदा। यसपालि पनि चिसो बढेसँगै रोगका लक्षण बल्झेको कोइरालाले बताइन्।

‘डाक्टरले चिसो र धूलोधुवाँबाट जोगाउनु भनेका छन्,’ कलंकी बस्ने कोइरालाले भनिन्, ‘हामी त धूलोधुवाँको सागरमै बस्छौं, ख्वै कसरी पो जोगाउनु!’

ती बालक नर्सरी पढ्दै छन्। रोग बल्झेका बेला लामो समय स्कुल जान सक्दैनन्। पढाइ नै बिग्रेला भन्नेमा आमाको चिन्ता छ। र, त्योभन्दा बढी चिन्ता छ– ‘काठमाडौंको बढ्दो प्रदूषणबीच छोरालाई स्वस्थ कसरी राख्ने?’

यही चिन्ता काठमाडौंका हरेक आमाबाबुलाई छ, जहाँ सानो उमेरका केटाकेटीमै श्वासप्रश्वासका समस्या देखिन थालेका छन्। जाडो याममा यो अझ बढ्छ। यसको कारण चिसो मात्र होइन, चिसोले बढाउने प्रदूषण पनि हो।

कान्ति बाल अस्पतालका निर्देशक डा. गणेशकुमार राईका अनुसार इमरजेन्सीका अधिकांश बिरामी श्वासप्रश्वासकै छन्। वार्डमा यस्तै बिरामीको चाप बढी छ। विगतमा रुघाखोकी र सास फुल्ने रोग लागेका केटाकेटी फेरि बल्झेर ‘फलोअप’ निम्ति धाइरहेका छन्।

पछिल्लो १० वर्षमा दम, निमोनिया, जटिल रुघाखोकी लगायत श्वासप्रश्वासका बिरामी ५० प्रतिशत बढेको उनी बताउँछन्। यही क्रम जारी रहे २० वर्षमा दोब्बर पुग्ने उनको अनुमान छ।

दस वर्षअघि यहाँ झाडापखालाका बिरामी धेरै हुन्थे। झाडापखाला र श्वासप्रश्वासलाई ३०–३० बेड छुट्ट्याउने गरिन्थ्यो। विस्तारै झाडापखालाका बिरामी घट्दै गए, निमोनिया र दमका बढ्दै गए। अहिले ६० मध्ये ४५ जति त्यस्तै बिरामीले भरिन थालेको वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योतिरत्न धाख्वा बताउँछन्।

उनका अनुसार केटाकेटीमा श्वासप्रश्वास रोगको प्रकोप यति बढेको छ, ‘नेबुलाइजर’ प्रयोग गर्नुपर्ने अवस्थाकै बिरामी टन्नै आउन थालेका छन्। नेबुलाइजर भनेको श्वासप्रश्वास सहज बनाउन प्रयोग गरिने उपकरण हो।

‘यसका विभिन्न कारण हुनसक्छन्, त्यसमध्ये काठमाडौंको प्रदूषण मुख्य हो,’ उनले भने, ‘प्रदूषणले श्वासप्रश्वास समस्या बल्झाइदिन्छ। अरू कारणले लागेको भए पनि जति बढी धूलोधुवाँको सम्पर्कमा बस्यो, रोग निको हुन उति लामो समय लाग्छ।’

उनले भनेजस्तै लक्षण बुधबार बिहान इमरजेन्सीको बेड नम्बर १ मा भर्ना गरिएका सातवर्षे बालकमा देखिएको छ।

सास फुलेर छट्पटाइरहेका ती बालकलाई दुई वर्ष भयो, दम देखिएको। यसबीच रोगले च्याप्ने र छाड्ने क्रम चलिरहेको छ। जति उपचार गराउँदा पनि सन्चो भएको छैन।

‘चिसो बढ्नासाथ लक्षण बल्झन्छ,’ बूढानिलकण्ठ बस्ने ती बालककी आमा रजिना लामाले भनिन्, ‘धूलोमा खेलेर आएको बेला त सास घ्यारघ्यार हुन थालिहाल्छ। केटाकेटी हो, बाहिर खेल्नै नजाऊ कसरी भनूँ?’

धेरै अभिभावकको चासो यही हो।

प्रदूषण काठमाडौं जीवनशैलीको हिस्सा बनेका बेला ठूलै मान्छे त पन्छिन सकेका छैनन् भने केटाकेटी कसरी जोगिऊन्!

वातावरण विभागको तथ्यांकअनुसार केही दिनयता काठमाडौंको प्रदूषण मापदण्डभन्दा दोब्बर छ।

प्रदूषणका कण ‘पार्टिकुलेट म्याटर’ (पिएम) मा नापिन्छ। यो धूलोका कणको आकार हो। यो हामीकहाँ दुई इकाईमा नापिन्छ — पिएम-२.५ र पिएम-१०।

पिएम-२.५ भनेको २.५ माइक्रोमिटर र पिएम-१० भनेको १० माइक्रोमिटरसम्मका धूलोका कण हुन्। यी कण कति मसिना हुन्छन् भन्ने बुझ्न हाम्रो कपालको मोटाइसँग तुलना गरौं।

कपालको सामान्य मोटाइ ७० माइक्रोमिटर हुन्छ। यही आधारमा २.५ माइक्रोमिटर भनेको कति सूक्ष्म हो भन्ने सहजै अन्दाज गर्न सकिन्छ। यसलाई आँखाले देख्न सकिन्न। हाम्रो नाकका रौंले पनि छेक्न नसक्ने वैज्ञानिकहरूले पुष्टि गरेका छन्। त्यही भएर प्रत्येक साससँगै हामी धूलोका कण फोक्सोमा हुलिरहेका हुन्छौं। धूलोधुवाँकै बीच खेल्ने-कुद्ने केटाकेटीमा त यसको संक्रमण अझ बेसी हुन्छ।

निर्माणस्थल, धुलाम्मे सडक, खेतबारी, आगो बालिएको वा धुँवा निस्किरहेको ठाउँमा यस्ता कण बढी सक्रिय हुन्छन्। हावामा उड्दै गर्दा यिनै कण पावर प्लान्ट, सवारीसाधन तथा उद्योगबाट निस्कने सल्फर-डाइ-अक्साइड र नाइट्रोजन-अक्साइडजस्ता ग्याससँग मिसिन्छन्। र, स्वास्थ्यका निम्ति हानिकारक भइदिन्छन्।

पिएम-१० भन्दा साना कण अझ खतरनाक मानिन्छन्, किनकि यो हामीले फेर्ने साससँगै सिधै फोक्सो र रक्तप्रणालीसम्म पुग्छ।

हावामा हुने यी कणको न्यूनतम मात्रा देश र सहरको अवस्थाअनुसार फरक हुन्छ। काठमाडौंको न्यूनतम मापदण्ड पिएम-२.५ मा नाप्दा ४० मिलिग्राम प्रतिघनमिटर र पिएम-१० मा नाप्दा १२० मिलिग्राम प्रतिघनमिटर छ। यो आँकडामा थोरै अंक बढ्नु पनि प्रदूषणस्तर जटिल बन्दै गएको सूचक हो।

वातावरण विभागले काठमाडौं उपत्यकाको प्रदूषण मापन गर्न ६ ठाउँको विवरण लिँदै आएको छ — पुल्चोक, भैंसेपाटी, रत्नपार्क, त्रिभुवन विश्वविद्यालय, शंखपार्क र वीरेन्द्र आवासीय सैनिक स्कुल।

‘हामी दैनिक यी केन्द्रबाट तथ्यांक निकाल्छौं,’ विभागका सिनियर डिभिजनल केमिस्ट शंकरप्रसाद पौडेलले भने, ‘त्यसै आधारमा काठमाडौंको औसत प्रदूषण दर मापन गरिन्छ।’

मंगलबारको तथ्यांकअनुसार वीरेन्द्र सैनिक स्कुल क्षेत्रको प्रदूषण न्यूनतमभन्दा झन्डै दोब्बर छ।

हावामा धूलोधुवाँको कण पिएम-२.५ मा नाप्दा ४० मिलिग्राम प्रतिघनमिटर हुनुपर्नेमा वीरेन्द्र स्कुल क्षेत्रमा ७८ हाराहारी पुगेको छ। शंखपार्कमा यो ५२ भन्दा बढी छ। जाडो बढेसँगै प्रदूषण सूचक हरियो (सामान्य) बाट रातो (जोखिमपूर्ण) हुँदै गएको विभागले जनाएको छ।

जाडो याममा वायुमण्डलको माथिल्लो तहमा चिसो हावाको बाक्लो तह जमेको हुन्छ। यो तह गर्मीमा पातलो हुन्छ र सजिलै बहन्छ। जाडोमा भने जमेरै बस्छ।

‘जमिनको सतहबाट उड्ने धूलोधुँवाका कण माथिल्लो तहमा पुगेपछि हावाको बहावसँगै यताउति फैलिनुपर्ने हो, तर चिसोमा यस्तो हुन पाउँदैन,’ विभागका पौडेलले भने, ‘यो मौसममा धूलोधुवाँका कणले बाक्लो हावा छिचोल्न सक्दैन र फेरि वायुमण्डलतिरै फैलिन्छ। यसले गर्मीमा भन्दा जाडोमा प्रदूषण बढ्छ।’

काठमाडौं उपत्यकाको भौगोलिक संरचनाले पनि यतिबेला प्रदूषण जोखिम बढी छ।

‘उपत्यका कचौरा आकारको छ। यहाँबाट निस्कने धूलोधुवाँ त्यसै त बाहिर जान गाह्रो छ, जाडोमा त झन् टम्म टालिएझैं हुन्छ,’ पौडेलले भने, ‘कचौरामा धुवाँ भरेर माथिबाट छोपिदिएपछि के हुन्छ? यहाँको धूलोधुवाँ पनि यसैगरी गुम्सिएर बस्छ।’

यति मात्र होइन, काठमाडौंमा हावा छिर्ने तीनवटा बाटा मात्र छन्– चोभार हुँदै बागमतीले बनाएको गल्छी, चन्द्रागिरि र नागार्जुनबीचको थानकोट-भीमढुंगा भञ्ज्याङ र नागार्जुन-ककनी बीचको मुड्कु-तीनपिप्ले भञ्ज्याङ।

दक्षिणी हावा बागमती गल्छी भएर आउँछ भने पश्चिमी हावा थानकोट-भीमढुंगा भएर। यी दुई प्रणाली नै काठमाडौंमा सक्रिय हुन्छन्। उपत्यकाको हावामा तैरिएको धूलोधुवाँ उडाउने काम यिनै दुई प्रणालीको हो।

यी दुई मार्गबाट बिहान साढे ११ बजेपछि मात्र हावा प्रवेश गर्छ। जबकि, प्रदूषण बढाउने सवारीको प्रवेश बिहानैबाट हुन्छ। दिनभरि गुम्सिएको धूलोधुवाँ काठमाडौंले दैनिक ७५ प्रतिशत मात्र फ्याँक्न सक्छ, २५ प्रतिशत यहीँ बस्छ।

यसरी प्रत्येक दिन थुप्रँदै जाने धूलोधुवाँ नै प्रदूषण बढाउने कारण हो।

‘काठमाडौंको वातावरण नै बालबालिका प्रतिकूल हुँदै गएको छ,’ डा. धाख्वाले भने, ‘ठूला मान्छेलाई प्रदूषणबाट जोगिने उपाय थाहा हुन्छ। उनीहरू सतर्क पनि रहन्छन्। यही सतर्कता केटाकेटीमा हुँदैन।’

‘केटाकेटी मास्क लगाएर हिँड्न झिँझो मान्छन्, न धूलोधुवाँमा उफ्रिनै छाड्छन्। अझ घरबाट टाढाको स्कुल जान्छन् भने त आउजाउमै प्रदूषणको शिकार भइरहेका हुन्छन्। यसले श्वासप्रश्वास रोगको जोखिम उनीहरूमै बेसी हुन्छ। साना नानीबाबुमा रोगसँग लड्ने क्षमता कम भएकाले पनि छिट्टै संक्रमण हुन्छ,’ उनले भने।

चिकित्सकका अनुसार यहाँको हावामा पाइने धूलोका कण चुरोटभन्दा हानिकारक छ। धूलोमा हुने कार्बन-मोनो-अक्साइड, सल्फर-डाइ-अक्साइडजस्ता रसायनले सिधै फोक्सोमा असर गर्छ। सामान्य रूघाखोकीबाहेक फोक्सोमा दाग देखिने, सुन्निने र संक्रमणको एउटा मुख्य कारण यही प्रदूषण हो। आँखा चिलाउने, छाला एलर्जी हुने, सास फेर्न गाह्रो हुने, छाती भारी हुनेजस्ता नयाँ बिरामी देखिएको र दम तथा मुटुरोगीको समस्या बढेको डाक्टर बताउँछन्। केटाकेटीमा भने दम, निमोनिया र जटिल रुघाखोकीको समस्या बढी पाइएको छ।

घरबाहिरको प्रदूषणजस्तै भित्रको धुवाँले पनि केटाकेटीलाई असर पार्ने डा. धाख्वा बताउँछन्।

जाडोमा कोठा न्यानो पार्न कोइला र आगो बालिन्छ। कतिले त रातभरि बालेरै छाड्छन्। त्यही धुवाँको बीचमा केटाकेटी सुताउँछन्, जुन स्वास्थ्यलाई हानिकारक हुन्छ।

‘भर्खर जन्मेको शिशुलाई त आगोनजिकै लगेर सेकाउने चलनै छ,’ उनले भने, ‘यसले सिधै उनीहरूको फोक्सोमा असर गरिरहेको हुन्छ।’

प्रदूषणले गर्भमा हुँदादेखि नै बच्चालाई असर गर्ने विभिन्न अनुसन्धानले प्रमाणित गरेका छन्। विश्व स्वास्थ्य संगठनले सन् २००४ मै जारी गरेको रिपोर्टअनुसार प्रदूषणको सम्पर्कमा आएका आमाबाट मिति नपुगी बच्चा जन्मने, तौल कम हुने र अन्य जटिल समस्या आउने सम्भावना अधिक छ। खासगरी त्यस्ता बच्चामा मधुमेह, कुष्ठरोग, छालाको एलर्जी, सुस्त मनस्थिति हुने जोखिम पाइएको छ।

अमेरिकी अनुसन्धानकर्ताहरूले हजारौं बच्चामा गरेको अनुसन्धानबाट धूलोका कण र नाइट्रोजन-डाइ-अक्साइडले गर्भदेखि नै असर गर्ने पुष्टि गरेका छन्। ‘द न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिन’ ले प्रकाशन गरेको शोधमा पनि उच्च प्रदूषणमा बस्ने केटाकेटीको फोक्सो पूर्ण रूपमा बिग्रने गरेको देखाएको छ।

प्रदूषणले केटाकेटीको शारीरिक मात्र होइन, मानसिक विकासमा पनि असर गर्छ। बच्चाको दिमाग तेज नहुने, सुस्त र बोधो हुने, चिन्ता र डिप्रेसन बढ्ने, असामाजिक हुने लगायत समस्या पाइएको कोलम्बिया विश्वविद्यालयको शोधले देखाएको छ।

स्वास्थ्य सेवाको विभागको तथ्यांकअनुसार पनि पछिल्ला दस वर्षमा निमोनिया भएका बिरामी संख्या ९ प्रतिशत विन्दुले मात्र घटेको छ। यति घटेको पनि खोप कार्यक्रम लागू भएपछि हो।

‘देशैभरि खोप विस्तार गरेपछि जटिल खालका निमोनिया बिरामी घटेका छन्, तर आन्तरिक तथा बाह्य प्रदूषणका कारण अन्य रोगको तुलनामा समग्र निमोनियाको घट्दो दर कम छ,’ विभागको बालरोग एकीकृत महाशाखा प्रमुख परशुराम श्रेष्ठले भने।

हाम्रै छिमेकी देशका राजधानी बेइजिङ र नयाँदिल्लीका केटाकेटीमा श्वासप्रश्वास तथा अन्य विभिन्न जटिल रोग लागेको पाइएको छ।

‘हामी त जसोतसो सहुँला, नयाँ पुस्ता र खासगरी शिशुहरूलाई काठमाडौंको चरम प्रदूषणबाट जोगाउनु अहिलेको चुनौती हो,’ सहरी विकास अभियन्ता भूषण तुलाधरले भने।

छिमेकी राजधानीहरू बेइजिङ र नयाँदिल्लीले केटाकेटीलाई प्रदूषणबाट जोगाउन स्कुलै बन्द गरेका छन्। मास्क लगाएर हिँड्न सिकाउने, खुला ठाउँमा नखेल्न प्रेरित गर्ने लगायत उपाय पनि अपनाएका छन्। तर, यी अल्पकालीन समाधान हुन्।

‘काठमाडौंले दिल्ली र बेइजिङको स्तरसम्म पुग्नुअघि नै प्रदूषणको दीर्घकालीन समाधान खोज्नुपर्छ,’ तुलाधरले भने, ‘सबभन्दा पहिला निर्माणाधीन सडक जतिसक्दो छिटो पूरा गर्नुपर्यो, निर्माणकै क्रममा धूलोधुवाँ कम गराउने सबै किसिमका उपाय अपनाउनुपर्यो।’

दीर्घकालमा प्रदूषण कम गर्दै लैजान साइकल र विद्युतीय सवारीमा जोड दिनुपर्ने उनको सुझाव छ। ठमेललाई सवारीमुक्त गरेजस्तै असन, न्यूरोड, वसन्तपुर लगायत भित्री बजारमा त्यस्तै नियम लागू गरे प्रदूषण समस्या हल हुँदै जाने उनले बताए।

डेनमार्क, नेदरल्यान्ड्स, इटालीजस्ता युरोपेली मुलुकले साइकलमा जोड दिएपछि त्यहाँको वातावरण स्वच्छ हुँदै गएको उनी उदाहरण दिन्छन्।

‘हामीकहाँ पनि विद्युतीय सवारी र साइकलमैत्री सडक बनाउने हो भने आधा प्रदूषण त्यसै कम हुन्छ,’ उनले भने, ‘कालो धुवाँ फाल्ने डिजेल-पेट्रोलका पुराना गाडी हटाउनुपर्छ। सार्वजनिक सवारी सहज हुनुपर्छ। यति गरे हामी अहिलेभन्दा धेरै स्वच्छ हावामा सास फेर्न सक्छौं।’

त्यसो भइदिए खुसी हुनेमा कल्पना पौडेल एक हुने छिन्।

काठमाडौं, बनस्थलीकी उनी १२ वर्षका छोरा लिएर बुधबार कान्ति अस्पताल आएकी थिइन्। उनको छोरालाई खोकी लाग्ने, लगातार सिंगान बगिरहने समस्या देखिएको दसैंदेखि हो।

‘घरबाट निस्कनेबित्तिकै कुइरीमण्डल धूलोधुवाँभित्र पस्नुपर्छ,’ उनले भनिन्, ‘धापासीसम्म स्कुल आउजाउ गर्दा बाटोको हालत उस्तै छ।’

कल्पनाले सोध्ने प्रश्न पनि उही हो– ‘काठमाडौंको बढ्दो प्रदूषणमा केटाकेटीलाई कसरी स्वस्थ राख्ने होला?’

यो पनि हेर्नुहोस्ः

काठमाडौं बनाउने भनेकै साइकल सहर

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.