१२ घण्टादेखि दाङमा फोन सेवा ठप्प


दाङको फोनसेवा १२ घण्टादेखि ठप्प रहेको छ ।

गएरातिदेखि दाङको टेलिफोन सेवा ठप्प रहेको हो। नमस्तेको मोबाईल र ल्याण्डलाईन फोन समेत बिग्रिएपछि दाङ जिल्ला सञ्चारविहीन बन्न पुगेको छ । त्यसैले जिल्लाको इमेल इन्टरनेट सेवा समेत प्रभावित बनेको छ।

घोराही नजिकैको कटुवा खोलामा जमिनमुनी विच्छाइएको अप्टिकल फाईबर चुडिएको हुँदा गएराति सवा ११ बजेदेखि दाङको ल्याण्डलाईन फोन र नेपाल टेलिकमद्वारा सञ्चालिन सबै प्रकारको सेवा अवरुद्ध भएको दूरसञ्चार कार्यालय राप्ती तुलसीपुरका प्रमुख बलराम जोशीले जानकारी दिए । तर, जिल्लामा एनसीएलको फोन भने सूचारु रहेको छ।

तुलसीपुरको कार्यालयदेखि २७ किलोमिटर पूर्व कटुवाखोलामा अप्टिकल फाईबर चुडिएपछि फोन सेवा अवरुद्ध भएको र मर्मतका लागि प्राविधिकहरू बिहान ४ बजे नै खटाईसकेको कार्यालय प्रमुख जोशीले बताए।

अप्टिकल फाईबर कसरी चुडिन पुग्यो? भन्ने बारेमा भने एकीनका साथ भन्न नसकिने उनले बताए। कटुवा खोलामा पुल निर्माण हुँदै आएकोले खन्ने क्रममा स्काभेटरले चुडाएको हुन सक्ने वा बुधबार जिल्ला बन्द आह्वान गरेको बिप्लव समूहले उक्त कार्य गरेको हुन सक्ने आशंका गरिएको छ। मर्मत कार्य जारी रहेकोले अबको केही घन्टामै सेवा पुन:सञ्चालन हुने उनले बताए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.