एकाबिहानै आनन्द बोराको फोन बज्यो।
‘एउटा चितुवा इनारमा खसेको छ,’ उताबाट कसैले भन्यो।
सन् २०१२ जुलाई १९ को दिन थियो त्यो।
बोरालाई यस्ता खबर आइरहन्थे, गाउँमा शिक्षक भएकाले।
त्यस दिन भने शिक्षक भएकाले मात्र उक्त खबर आएको थिएन। उनी ‘वाइल्डलाइफ’ फोटोग्राफर पनि हुन्। वन कार्यालयका कर्मचारीले जनावर उद्दार गर्दाका विभिन्न तस्बिर उनले खिचेका छन्।
त्यही भएर जब महाराष्ट्र, बुबली गाउँमा इनारभित्र चितुवा फस्यो, थाहा पाउनेहरूले पहिलो खबर बोरालाई नै दिए। उनले बिहान ८ बजे खबर पाएका थिए। गाउँ पुग्दा इनारबाट चितुवा निकालिँदै थियो।
उनले इनारभित्र हेरे।
उसो त चितुवा हिंस्रक जनावर भनेर कहलिएको छ, त्यो बेला भने झरीमा रुझेको बिरालोझैं देखिएको थियो। ऊ पानीमा डुब्नबाट त बचेको थियो, तै डर मरेको थिएन। धेरै बेर मृत्युसँगको घम्साघम्सीले हुनसक्छ, ऊ थकित देखिन्थ्यो।
बोराले यी सबै पल क्यामरामा कैद गरे।
यिनै पल सम्झाउने तस्बिरमध्ये एउटाले यस वर्षको ‘स्याङ्चुअरी वाइल्डलाइफ कन्जरभेसन फोटोग्राफी अवार्ड’ जितेको छ। फोटोग्राफीमा यो अवार्ड महत्वपूर्ण मानिन्छ।
भारतमा मान्छे र जनावरको बढ्दो द्वन्द्वबारे चर्चा भइरहेका बेला यो तस्बिरले अवार्ड जितेपछि धेरैको ध्यान तानिएको छ। र, सँगसँगै ताजा भएको छ, पाँच वर्षअघिको त्यही घटना, जब चितुवाको ज्यान मान्छेले जोगाएका थिए।
‘अरू बेला गर्जेर जंगल थर्काउने चितुवा त्यो बेला इनारभित्र निरीह देखिन्थ्यो। तलबाट टुलुटुलु हामीलाई नै हेर्दै थियो,’ बोराले भने, ‘त्यो बेला मलाई यस्तो लाग्यो, त्यो चितुवा सोच्दैछ– यी मान्छेले मलाई दुःख दिने छैनन्, यिनीहरू मेरो मद्दत गर्न आएका हुन्।’
हुन पनि त्यो चितुवा २५ घन्टाभन्दा बढी समयदेखि इनारको पानीमा पौडिरहेको थियो, आफ्नो ज्यान जोगाउन। ऊ थकाइले चूर देखिन्थ्यो। उसको शरीरमा गर्जने ताकत पनि थिएन– न आक्रोशमा न त डरमा।
त्यत्रो इनारमा चितुवा कसरी खसेछ त?
मैले सोधखोज गरेँ।
त्यस दिन गाउँमा पानी परेको थियो। गाउँलेले जमेको पानी इनारतिर मोडेका थिए, पानी बढेपछि चितुवा इनार माथि–माथि पौडिन्छ भन्ठानेर।
उनीहरूले सोचेजस्तो भने भएन।
वन कार्यालयका कर्मचारीले त्यसरी इनारै नदेखिने गरी पानी भर्नु गल्ती भएको बताए। यसले चितुवा वा अन्य जनावर पानीमै डुबेर मर्नसक्ने खतरा उनले औंल्याए।
‘हामीले गाउँलेलाई भन्यौं, यस्तो बेला त झन् जनावर डुब्न सक्थ्यो,’ उद्दारमा संलग्न वन कार्यालयका वरिष्ठ अधिकारी सुरेश वाडकरले भने।
उद्धार टोली पुग्नुअघि गाउँलेले पनि चितुवा उतार्ने प्रयास गरेका थिए। सकेनन्।
‘हामी पुग्दा चितुवा खसेको २५ घन्टाभन्दा बढी भइसकेको थियो,’ वाडकरले भने, ‘त्यति लामो समय पौडनुपरेकोले ऊ थाकेर लामो लामो सास फेर्दै थियो।
वाडकरले चितुवालाई आराम दिने निर्णय गरे।
कसरी त?
उनले जुक्ति निकाले। गाउँलेको मद्दत मागे।
एउटा काठको फल्याक डोरीले बाँधेर इनारभित्र खसाए। भार थामोस् भनेर फल्याकमुनि दुईवटा ठूला टायर बाँधे। चितुवा फल्याकमाथि चढेपछि नधर्मराओस् भनेर दुई–चार जनाले बलियोसँग डोरी समाते।
त्यसपछि अरू दुई–चार जना खाट खोज्न हिँडे। उनीहरूले प्लास्टिक डोरीले बुनेको खटिया लिएर आए। त्यसको खुट्टा र पल्ला मात्र काठले बनेको हुँदा हलुका हुन्छ।
‘चितुवाले लगभग डेढ घन्टा फल्याकमै आराम गर्यो,’ बोराले सम्झिँदै भने, ‘जब खटिया तल झारियो, चितुवा फल्याकबाट बुरुक्क उफ्रेर खटियामा बस्यो।’
उनका अनुसार गाउँलेले खटिया माथि तानुञ्जेल पनि चितुवा चुपचाप थियो। वरिपरि भेला भएका मान्छेलाई नै टुलुटुलु हेर्दै थियो। जब माथि आइपुग्यो, ऊ झ्याम्म इनारको डिलमा उफ्रियो र जंगलतिर दुगुर्यो।
[caption id="" align="aligncenter" width="793"]
भारतको महाराष्ट्रस्थित बुबली गाउँको इनारबाट चितुवा उद्दार गरिदैँ। तस्बिरः आनन्द बोरा/बिबिसी[/caption]
‘यो क्षण केही सेकेन्डको मात्र थियो,’ बोराले भने।
बुबली गाउँमा यस्ता क्षण नौला होइनन्। उखुबारीमा घुम्ने हाइना, स्याल र चितुवाजस्ता जनावर पानी खोज्दै गाउँभित्र आइरहन्छन्। कहिलेकाहीँ आफ्नो शिकार खेदाउँदा खेदाउँदै गाउँभित्र पसेको थाहा पाउँदैनन्। त्यस्तो बेला इनार वा अरू केहीमा फसेका भेटिन्छन्।
बोराले नै यस्ता सयभन्दा बढी उद्दारका तस्बिर खिचिसकेका छन्। ती उद्दारमा ‘युरोसियन इगल अउल’ (एक प्रजातिको उल्लू) पनि परेको उनले बताए।
गाउँलेले उल्लू छटपटाइरहेको अवस्थामा भेटेका थिए। त्यो उल्लूले कागसँगको लडाइँमा एउटा पखेटा गुमाएको थियो। ‘त्यसलाई केही महिना राखेर उपचार नगरी यसै जंगलमा छाड्न मिल्दैन थियो,’ बोराले भने।
बोराले सबभन्दा बढी तस्बिर भने चितुवा उद्दारकै खिचेका छन्। त्यसमध्ये बुबली गाउँको अनुभव उनलाई ‘असामान्य’ लाग्छ। ‘उनीहरूले त्यसलाई बेहोस बनाउन भनेनन् न त डराएकै थिए,’ उनले सुनाए।
उनले चितुवा उद्दारकै अर्को गाउँको अनुभव सुनाए, जुन यसको ठीक विपरित थियो।
उनका अनुसार त्यहाँका स्थानीय चितुवासँग खुब डराएका थिए। बेहोस नपारे वन कार्यालयका कर्मचारीलाई नै कुटपिट गर्ने धम्की दिए।
‘बुबलीको घटना अलग थियो, कुनै दबाब थिएन,’ उनले भने, ‘त्यहाँ धेरै गाउँले जम्मा भएका थिए, तर सबै शान्त थिए।’
वन कार्यालयका कर्मचारीले नै ‘मान्छे नजिक हुँदा चितुवा डराउन सक्छ’ भनेर स्थानीयलाई सम्झाउनुपरेको थियो। उनको सुझावपछि बल्ल गाउँलेहरू इनारभन्दा पर गएर बसेका थिए।
वन कर्मचारी वाडकर यस्तोमा होसियार छन्। उनले आफ्नो २० वर्षको करिअरमा १२७ पटक चितुवा उद्दार गरिसके। सयभन्दा बढीमा चितुवा बेहोस बनाउनुपरेको छ। बुबलीमा भने त्यस्तो अवस्था आएन।
यो आदिवासी गाउँ भएकाले अन्यत्रभन्दा यहाँका गाउँलेले जनावरको उपस्थिति बढी ‘स्वीकार’ गरेको उनको विश्वास छ।
तै मान्छे र चितुवा जम्काभेटका सबै घटना यस्ता हुँदैनन्। सन् २०१६ मा एउटा चितुवाले गाउँकी बच्ची मारेको थियो। गाउँलेले त्यो चितुवालाई आगो लगाएर मारेका थिए।
बैंगलोरमा पनि एउटा चितुवाले स्कुलमै छिरेर ६ जनालाई घाइते बनाएको थियो। त्यसलाई भने बेहोस बनाएर पछि छाडियो।
‘यसै वर्ष नासिक भन्ने ठाउँमा चितुवा आक्रमणबाट दुई जना केटाकेटीको मृत्यु भयो,’ वाडकरले भने, ‘यहाँ भने गाउँलेले चितुवा नियन्त्रणमा लिएनन्।’
[caption id="" align="aligncenter" width="796"]
उद्दार गरिएको ‘युरोसियन इगल अउल’ (एक प्रजातिको उल्लू)। तस्बिरः आनन्द बोरा/बिबिसी[/caption]
मान्छे र चितुवाको द्वन्द्वबारे जनचेतना फैलाउनुपर्नेमा पनि उनले जोड दिए। ‘उनीहरूले मान्छे मार्ने भनेको दुर्घटना हो, चितुवाले खासमा मान्छेको शिकार गर्दैन,’ उनले भने।
भारतमा भने मान्छे र जनावरबीच द्वन्द्वका उदाहरण बढ्दै गएका छन्। जनावरसँगको ह्रिंसक मुठभेडका घटना बढ्दै गएकोबारे संरक्षणवादीहरूले पनि बारम्बर चेतावनी दिँदै आएका छन्। खासगरी बासस्थल घट्दै गएपछि जंगली हात्ती, बाघ र चितुवा मान्छेका बस्ती पस्ने क्रम बढेको छ।
भारतमा चितुवा संरक्षित वन्यजन्तु सूचीमा पर्छ। यसको शरीरका कुनै पनि अंग बेचबिखन प्रतिबन्ध छ। संख्या कति छ भन्ने वास्तविक आँकडा पनि नभएको विज्ञ बताउँछन्। हालैको वन्यजन्तु गणनाअनुसार १२ देखि १४ हजार चितुवा छन्।