‘त्यसैले त अस्तिको दिन घरबाट भागेर हिँडे’


(घर छोडेर भागेको दिन ४)

‘नेपालगन्ज, नेपालगन्ज…’ तिखो हर्नसँगै कालो धुँवाको मुश्लो छोड्दै आएको बुढो गाडी म सुतिरहेको ठेलाको छेउमा आएर घचक्क रोकियो। धुलाम्मे र हिलाम्मे मिनि बस साह्रै थोत्रो थियो। भारत जान सुर्खेत झरेर पिपल चौतारामा सुतेका जुम्लीहरूसँग मनलागी भाडा असुल्ने यस्तै थोत्रा बसका कण्डक्टरहरु हुन्थ्ये।

यही थोत्रो बसभित्र बजीरहेको थियो ‘दिदी तेरा देवर दिवाना…’ जुन गीतले म भागेर सुर्खेत पुगेको अर्को दिनको बिहानलाई रोमाञ्चक बनाएको थियो।

पोहोर साल भारत जाने बेला सुर्खेत झरेपछि बाले आफ्ना संगीहरूलाई सुनाएका थिए- ‘बिहानै आवाज लगाउन आउने त्यो थोत्रा गाडीमा यसपाली नेपालगञ्ज जाने होइन। यीनिहरूले बढी पैसा असुल्छन्।’

सोहि राति पिपलचौतारामा सुतेका बेला बा र बासँग आउने संगीहरूको सबैथोक चोरी भयो। बासँग ६ सय रूपैया थियो सबै चोरले लग्यो।

बिहान म बिउँझँदा सबैका अनुहारमा दुःख मात्र थियो। सुर्खेतको चौतारोमा बालाई पहिलो चोटी मैले रोएको देखेँ। ‘यो बालक ल्याएर आएको वर्ष मलाई सुर्खेतबाटै दशा लाग्न थाल्यो।’ बा यसरी रोएको मैले यसभन्दा पहिले कहिल्यै देखेको थिइनँ। कुरो के हो मैले बुझिनँ र म पनि बासँगै रोएँ।

सदरी (इष्टकोट)को खल्तीमा फाल्टै राखेको २५ रूपैया बाहेक बासँग केही बचेन।

सबै अलमलमा परे। मध्य दिउँसोसम्म के गर्ने कसैले केही टुंगो लगाउन सकेनन्। ‘नुन लिन आउँदा चिनेका एउट साहुँजी छन्। जाउँ एकचोटी कुरा गरौं। ब्याजे पैसा दिए भने भारतसम्म जाने पैसा मागौंला,’ बाले मेरो हात समाते र बाँकि साथीहरूलाई पछि लगाए।

‘साहुँजी, यो टोके छोरो बोकेर ल्याएको वर्ष यस्तो आईलाग्यो। हामी सात जनालाई भारतसम्म जाने पैसा ब्याजे दिन पर्‍यो। फर्केपछि तिर्ने मेरो जिम्मा भयो।’

ती नुन ब्यापारीको घाँटीमा पावरवाला चस्मा झुड्डिएको थियो। भेडाको बगाल ल्याएर नुन ओसार्न आएका मान्छेसँग चिनीको मोलमोलाई गर्दै थिए उनी। बाले झुकेर नमस्कार गरे। सँगै गएका अरूले पनि पालैपालो नमस्कार दोहोर्‍याए साहुँजीलाई।

साहुँजीले मुन्टो मात्र हल्लाए। ‘साहुँजीलाई ढोग गर,’ बाले मलाई पनि ढोग्न लगाए। दशैँमा सिलाइदिएको घरबुनाको रातो धर्के भोटोको बाउलाले आँखा पुछे र साहुँजीलाई ढोग गरेँ।

बाले पिपल चौतारामा राति चोरी भएको घटना सुनाए। ‘यो दूध खाने छोरो बोकेर ल्याएको वर्ष सुर्खेतमा चोर लाग्यो। भारत पुग्न खर्च छैन। मर्नु न फर्कनु भयो।’ साहुँजीले कसरी भयो सब खोजिनीति गरे। घाँटीमा झुण्डिएको बाक्लो पावरवाला चस्मा आँखामा लगाए र बाको तीन पुस्ते फाइलमा टिपोट गरे। ४ महिनापछि २५ सयको ३६ सय दिने कागज गरे। बाले काजगमा ल्याप्चे लगाए र रकम बुझे।

भारत जान चुँडिएको तुइनको डोरीलाई यी नुन ब्यापारीले जोडिदिए। बिहानभरीको दुःख सबै उड्यो। सबैका अनुहारमा खुसी दौडियो। अब यो चौतारोमा नबस्ने भन्दै सबैलाई बाले सुर्खेतको बसपार्कमा पुर्‍याए। मलाई काखमा सुताए। सबै जना रातभर जाग्राम बसे। बिहानै यस्तै थोत्रो मिनिबस आयो। ‘यो चोर ठाउँमा बस्नु भन्दा यही बसमै जाऊँ।’

बाले भाडा मिलाउन आग्रह गरे। पिपल चौतारोसम्म खोज्न जान नपर्ने गरी वसपार्कमै आइपुगेका जुम्लीलाई कण्डक्टरले भने ‘बसको छतमा बसेर जाने भए मात्र अलिकती भाडा कम हुन्छ। भित्र सिट छैन।’ बाले सानो बालकलाई माथी राख्दा चिसो लाग्ने भन्दै भित्रै बसाली दिन आग्रह गर्दै थिए।

चिसै सही मलाई भने बसको छतमै बस्ने रहर थियो। भित्र बस्ने सिट मिलेन। हामी सबै बसको छतमा बस्ने भयौँ। ‘बस हल्लिँदा लड्छ।’ भन्दै बाले दुई वटा बोराको बिचमा मलाई राखे र पछाडि आफू बसे। मैले पहिलो चोटी बस देख्ने मात्र होइन चढ्ने पनि मौका पाएँ। सुर्खेतबाट नेपालगञ्जसम्म ६ घण्टा लाग्ने त्यो कच्चीबाटोमा मैले बस होइन प्लेन चढेको खुसी अनुभव गरेँ।

बसको छतमाथि चढेर यात्रा गर्दा मेरो खुसीको कुनै सीमा बाँकी रहेन। सालको जंगलहुँदै सुर्खेतबाट बस धुलो उडाउँदै नेपालतर्फ दौडियो। कलिलो अनुहारमा खुसीका लहरहरू दौडिए। बालाई पनि सुख भयो होला। बाले हाँसे र सोधे ‘भोक लाग्यो?’ धुलो उडाउँदै दौडिएको बस छिन्चु बजारमा रोकियो। ‘बेली (हिजो) बाट केही खाएको छैन। सुन्तला खाने?।’ कलिलो काँचो गाला मुझा पारेर मैले हुन्छ भन्ने मुन्टो हल्लाए। छिन्चु बजारमा सुन्तला र काँख्राका चिरा बेच्ने म जत्रै सानो मान्छेलाई बाले बसको छतबाटै बोलाए र सुन्तला मागे।

सिलाएदेखि एकचोटी पनि नधोएको पुरानो सदरीको गोजीबाट गुटुमुटु पारेर राखेको पाँच रूपैयाको नोट निकाले र भने ‘अब नेपालगञ् सम्म यत्ति रूपैयाले खर्च पुर्‍याउने हो।’ ५ रूपैयाले कतिसम्म खर्च पुग्छ र पुर्‍याउनुपर्छ भन्ने कुरा म बुझ्ने भएको थिइनँ।

जुम्लामा नफल्ने सुन्तला खान पाउने खुसीले मन गदगद भयो। दुई वटा सुन्तला खाएँ। बोक्रो समेत फाल्न मानिनँ। ‘अब नेपालगञ्ज पुगेपछि केला किन्दिउँला।’ यति भनेपछि मलाई बाले अब नेपालगञ् सम्म कुनै चारो हाल्न परेन। सुर्खेतबाट बसको छतमाथि चढ्न पाएको खुसी। छिन्चुमा सुन्तला खान पाएको खुसी। नेपालगन्ज पुगेपछि केला खान पाउने खुसी। भारत जाँदा रेल चढ्न पाइने खुसी। यस्ता खुसी कतिकति।

बालकलाई चुम्बकजस्तै तानिरहने यस्तै सानासाना खुसीहरू त हुन्। यी यस्तै खुसीहरुले चार महिनापछि बासँग घर फर्केर आएदेखि मलाई फेरि भागेर भारत जान उस्काइरे।

त्यसैले त अस्ति…को दिन घरबाट भागेर हिँडे।

***

सुर्खेत नपुगेसम्म आफन्ती समाउन आउलान् भन्ने ठूलो डर थियो। सुर्खेत पुगेको भोलि बिहानैदेखि मेरा आफ्ना कोही मान्छे छैनन् भन्ने भूतले तर्साउन थाल्यो। हुँदा पनि सुख नहुने र नहुँदा पनि सुख नहुने यो ‘आफन्ती’को ठूलो रोग हो।

आँखा मिच्दै ठेला मुन्तीरबाट निस्किएँ र सडकमा एक्लै उभिएर रोकिरहेको बस हेरेँ। बल्ल महसुस भयो-म त एक्लो भएछु। ‘पोहोर साल पो बाले ‘हराउलास्’ भन्दै हात समातेर राख्थ्ये। अब हात समाउने कोहि भएन। ‘भोक लाग्यो?’ भनेर सोध्ने कोही भएन। बिहान छिप्पिदै गएपछि साइकल, गाडी, रिक्सा र मान्छेको चहलपहल झन बढ्न थाल्यो। अब झन बगाल हराएको बाच्छोजस्तो भएँ। दाँयाबाँया कहिँ कतै चिनेका अनुहार देखिनँ।

त्यो भिडमा कतै बा देखिन्छन् कि भनेर पट्यार लागुन्जेल हेरेँ। अहँ…देखिनँ। म एक्लै भएँ भन्ने कुराको दुःखले झनझन मन भरिएर आउन थाल्यो। जुम्लाबाट हिडेर सुर्खेत नपुगुन्जेल भारत जाने बाटोको नक्सामात्र मथिङगलमा कोरेको थिएँ। सुर्खेत पुगेपछि भारत जाने नक्सा ‘काठको पाटीमा रातोमाटो राखेर लेखिएका अक्षरजस्तो’ भयो। सबै नक्साहरु मेटिए।

९ वर्षको बालक एक्लै पर्नुको दुःख सुर्खेत पुगेको अर्को दिन ठूलो आवाजमा बिष्फोट। म सुर्खेतको मध्ये बजारमा एक्लै रूदै दौडिन थाले। क्रमशः

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.