वेष्ट हाम युनाइटेडलाई २–१ गोलले पराजित गर्दै चेल्सीले इङ्लिस प्रिमियर लिगको शीर्षस्थानको अग्रतालाई १० अंकमा पुर्याएको छ। डिएगो कोस्टा र इडेन हाजार्ड नायक भएको लन्डन डर्बीमा करिब ५५ हजार दर्शकमाझ इटालियन प्रशिक्षक आन्टोनियो कोन्टेले आफ्नो प्रभावशाली रणनीतिलाई पुनः सिद्ध गरे।
यसै सिजनदेखि चेल्सीको प्रशिक्षकमा नियुक्त कोन्टेको प्रभावशाली रणनीतिका कारण प्रिमियर लिगको २७ खेल समाप्त हुँदा चेल्सी ६६ अंकका साथ शीर्षस्थानमा छ। र, ‘ब्लुज’ को सिजनको २१ औं जित हो।
ह्यामरका ६ फिट ४ इन्च अग्ला स्ट्राइकर एन्डी क्यारोलका कारण चेल्सीलाई ‘एयर बल’ मा ठूलो चुनौती खेप्नु पर्ने आशंका गरिएको थियो। तर, कान्टेले चेल्सीको सुरक्षाकवजलाई चुस्त राखेपछि वेष्ट हामले २५ मिनेटमा ‘काउन्टर अट्याक’मार्फत पहिलो गोल खायो।
एन’गोलो कान्टेको पासमा रोबर्ट स्नुडग्रासले हाजार्डलाई गोलका लागि पास मिलाएका थिए। बेल्जियम विङ्गरले गोल गर्नुअघि पेड्रोसँग ‘वान–टु’ पास खेलेका थिए।
दोस्रो गोल कोस्टाले ५० मिनेटमा गरे। यो उनको प्रिमियर लिगको १७ औं गोल थियो। उनले हाजार्डको कर्नरमा गोल गरेका थिए।
वेष्ट हामका लागि ९० पछि थप गरिएको अतिरिक्त २ मिनेटमा लान्जिनीले गरे।
चेल्सीको प्रिमियर लिगमा यो १ सय १८ डर्बी जित थियो। जुन आर्सनलभन्दा एक खेलमाथि हो। वेष्ट हामले चेल्सीसँग भएको २२ भिड्न्तमा अहिलेसम्म २ मा मात्र जित सम्भव तुल्याएको छ। बाँकी १६ मा पराजय र ४ खेल बराबरीमा टुँगिएको थियो।