दिदी तेरा देवर दिवाना…

दिदी तेरा देवर दिवाना…

घर छाडेर भागेको दिन-३




दिदी तेरा देवर दिवाना….

बिहानै यो हिन्दी गीतको चर्को स्वर कानमा आएर ठोकियो। त्यो बेला चलेको गीत थियो यो। घडी पसल, पान पसल, चस्मा पसल, चामल पसल, नुन पसल, चटपटे पसल। बिहान, दिउँसो र बेलुका यही गीत मात्र बजेको सुनिन्थ्यो।

बासँग भारत जाँदा यो गीत पहिलो पटक सुनेको थिएँ। शब्दका अर्थ नबुझे पनि पहिलो चोटी सुन्दा मन फुरूङ्ग बनाएको थियो यो गीतले। भारतका रासन दोकानमा, रेल स्टेसनमा, बाटोमा मध्य रातिसम्म चाट बेच्ने भैयाहरूका ठेलामा, धुँवाको मुश्लो छोड्दै भारतको भावरमा दौड्ने बस, ट्रक, ट्रिपरमा अनि बिवाह र ब्रतबन्धमासमेत यही गीत चलेको थियो।

भारत देखेको वर्ष सुनेको यो गीतले मलाई भारतसँग जोड्थ्यो।

झिसमिसेमै कच्चीबाटोमा दौडिदै गएको यो गीतले कान खोलेर गयो। तर मश्तिष्क खोलेन। कहाँ पुगेको हुँला सम्झिन प्रयास गरेँ सम्झिनै सकिनँ। बसपार्कबाट छुट्न लागेका बूढा गाढीका हर्न सुनिन थालेपछि दिमाग झन कन्फ्यूज भयो।

दायाँबाँया हेरेँ, चारैतिर खाली। आकाश मात्र छोपिएको। जमिन घुमेको जस्तो अनुभव भयो। म कहाँ पुगे होला भन्ने मेसो मरिगए पाउन सकिनँ।

हिजो कालीकोट कटेपछि रात पर्‍यो। अँध्यारो रात। अनकन्टार जंगल र भीरको बाटो। भोकले सब नसा गलेका थिए। साथी फर्केर गएदेखि मुखमा पानीसम्म हालेको थिइनँ। अध्यारोसँगै बाटोमा कसरी बस्ने होला भन्ने डर बढ्दै गएको थियो। नदी तरेर पारी पुगेपछि बाटोमा एउटा घर भेटियो। मान्छे बस्ने घर भेटिएपछि केही आड लाग्यो।

‘आज बस्न बास पाइन्छ?’

बा भारत जाने बेला यसैगरी बाटोका घरहरूमा बास माग्थे। मैले पनि बासँग सिकेको यही मन्त्र दोहोर्‍याएँ। ‍ओठतालु सुकेको बालकले अध्यारो रातमा एक्लै आएर बास मागेको देखेर ती आइमाइका आँखामा बेजोडको डर दौडियो। महिला दौडेर भित्र गइन्।

‘कहाँबाट आएको, कहाँ जान लागेको?’ ती महिलासँग बाहिर आएका पुरूषले प्रश्न गरे।

झुटो जवाफ मुखवाट फरर बग्यो। ‘दाई सुर्खेतमा छन्। भेटन जान लागेको।’ मैले भेट्न पर्ने मान्छे कोही कहिँ थिएनन्।

भारतका लागि भनेर भागेर हिँडेको मेरो यात्रा कहाँसम्म हो भन्ने कुरोको टुंगो म सँगै थिएन। तै पनि मैले बनावटी जवाफ फरर दिए।

ओठमुख सुकेको बालकले बोलेको कुराको किन पत्तो हुँदैन थियो र!  म घरबाट भागेर हिँडेको हुँ भन्ने कुरा खुट्याउन लोग्ने स्वास्नीलाई एक निमेस पनि लागेन।

महिलाले मलाई तलदेखि माथिसम्म हेरिन् र भनिन् ‘कठै बरा, भोकले गले छ। हेर पो थोलो’  लोग्नेसँग बास दिने सहमति माग्न उनको हनुहार तिर हेरिन्। ती पुरूष केही बोलेनन्। एकछिन पछि ती महिलाले मलाई हातले इसारा गरिन्। ‘आ भित्र।’

यो पनि पढ्नुहोस्

लोग्ने स्वास्नी खाना खान लागेका थिए। गहुँ-कोदोको रोटी र भाजीको साग। सानो बालकलाई छुट्टै थाल दिन किन पर्‍यो भन्ने लाग्यो होला शायद ती महिलालाई। आफ्नै भागको रोटी हातले टुक्रा पारिन् र मलाई खुवाइन्। सानो बच्चालाई जस्तै आफैं मेरो मुखमा हालेर खुवाइदिइन्।

यी महिलाको अनुहार मलाई सम्झना छैन। तर ब्यवहार सम्झेका बेला मेरा आँखावाट आँसुका ढिक्का बग्छन्। महिलाप्रति मेरो असिमित सम्मान छ। यो सम्मान उसै जागेको होइन। हरेक महिलाहरू मलाई मेरो आमाजस्तै लाग्छन्। मैले एउटा आमा गुमाएपछि गहुँ कोदोको रोटी र भाजीको साग खुवाउने यी महिला जस्ता हजार आमाहरू भेटेँ। म जहाँ जहाँ पुगे त्यहाँ आमाहरू भेटेँ। ती मध्ये कसैका धमिला अनुहार मात्र याद गर्छु। कसैको ब्यवहार मात्र सम्झन्छु। तर जति सम्झन्छु ती सम्झनाहरू यादगार छन्। मेरो सारा ती आमाहरुप्रति नमन।

मलाई अगेनामा सुत्न ओछ्यान बनाइदिइन् ती आमाले। ‘अब सुत है कान्छा’ भन्दै उनी भित्र कोठामा गइन्।  र उनका लोग्ने काठका दुई वटा ढोका ढप्काउन आए। ‘यो घर छोडेर उँधो गएको भए आज भूतले खान्थ्यो। भाग्यले तिमी बच्यौ कान्छा आज। पोरी खोलाको भूतले अहिलेसम्म खाइसकेको हुन्थ्यो।’ शरीर जिरिङ्ग हुने डरको पोको अगेनामा राखेर उनी सुत्न गए। ‘अब त बचिहाले नि’ भन्ने कुराले मेरो शरीरमा ऊर्जा दौडियो।

लोग्ने भित्र पसेको एकैछिनमा लोग्ने स्वास्नीका मसिना कुरा कानमा ठोकिए।

‘बालख भागेर आको र’ छ। भोलि दिनभरी यहिँ राखिदिन पर्‍यो। नाग्ममा जुम्ली होलान्। खबर गर्दिन पर्‍यो।’ शरीर थाकेर के गर्नु। मन थाकेको भए पो! सुटुक्क निस्कौँ आङ जिरिङ्ग हुने भूतको पोको खोलेर भित्र गएका छन् घरमुली। ननिस्कौँ थुनेर राख्ने र घरमा खबर गर्ने सल्लाह भइसक्यो।

हिजो घरबाट हिँडेदेखिका सबै चित्र आँखामा दोहोरिए। साथीसँग नदी तरेर हिँडेदेखि साथी घर फर्कने बेलासम्मका सबै घटना एक एक गरेर आए। साथीसँग घर छोडेर भागेदेखिको ब्याल्याक एण्ड ह्वाइट फिल्म आँखा झिमिक्क नगरेर सकियो।

घरबाट भागेको त्यो दिन डरलाई दिएको चुनौति हो। त्यो डरको पहाड काटिसकेपछि अब के को डर!

मध्यरात लोग्ने स्वास्नी सुते होलान् भन्ने पक्का भयो। उनले सुनाएर गएको डरको पोको मनसम्म नआउँदै मैलै त्यहाँबाट हिँड्ने निर्णय गरेँ। मलाई फर्केर घर जान कुनै हालतमा मन थिएन। म घर गए भने मसँगै भागेर अर्को बिहान घर फर्केको साथीले जितेको र मैले हारेको ठहरिन्थ्यो। मलाई हार्न मन लागेन।

अगेनाबाट बिरालोको चाल मारेर ढोकासम्म पुगे। फिता चुडिँएर डोरीले बाँधेको बाटा चप्पल ढोकानेर खोलेर राखेको थिएँ। बिरालोकै चालले ढोका खोलेँ। चप्पललाई हातमा समातेँ र दौडिएँ। अध्यारो रातमा बटुवा हिँडने बाटो मेलै नबिराई कसरी पार गरे सम्झन थाले भने झन अलमलमा पर्छु।

बाटा चप्पल समातेर दौडिएदेखि म कहाँ रोकिए सम्झना छैन। रातामाटाको लेकमा पुगेपछि सुर्खेतमा बिजुलीको झिलिमिली देखियो। त्यसबेला सास आएको सम्झन्छु। त्यो भन्दा बढी थाहा छैन। बिजुलीको उज्यालो देखिए पनि छिचोल्न पर्ने बाटो आधा दिनभन्दा बढीको थियो। राति कतिवेला सुर्खेत पुगे फिटिक्कै सम्झना छैन।

निन्द्रा खुलेपछि पान बेच्ने ठेलामुन्तिर सुतिरहेको पत्तो पाएँ। कसरी कहाँ आईपुगेँ भन्ने ठम्याउन मलाई कालिकोटमा आमाले बास/गाँस दिएको ठाउँ छोडेर दौडिएदेखिको समय सम्झनु पर्‍यो।

आकास मात्र छोपेको र चारैतिर खुला भएको यही घर हो। जहाँ म घरबाट भागेर आएको दुई दिनपछि आरामले सुतेँ। र रोमान्चक गीतसँगै बिउँझिएँ। ‘दिदी तेरा देवर दिवाना…’

आखिर मान्छेलाई सुत्न र खुसी हुन के चाहिने र छ!

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.