१३ बर्षयता गया लगातार दुखिरहेछन्। उनी न राम्ररी सुत्न सक्छन्, न बस्न न त उभिन नै।
कुनै दलमा आबद्ध नभएका गयाले युद्धकालमा माओवादीकै नाउँमा थला पर्नेगरी यातना भोग्नुपर्यो। माओवादीको सशस्त्र युद्ध सकिएपछि सुप्रिमो प्रचण्ड र अर्का नेता बाबुराम भट्टराई मुलुकको प्रधानमन्त्रीसमेत भए। तर, उनको दुःख ठाउँको ठाउँ रह्यो।
कहिले उनका गाउँलेका आँसु त कहिले उनका आफन्तका हाँसो बगाउँदै बग्ने कर्णाली उसैगरी बगिरहेछ। बूढीकुलो पुलसित अडेस लागेको उनको ढेब्ली र त्यही ढेब्लीमा उनी उसैगरी लगातार दुखिरहेछन्। उनको गाउँ मुरैया हुँदै बेतालले बगिरहेको कर्णालीलाई उसैको संगीतमा बेलाबेलामा सुनाउँछन् –आफ्नै थारु गीत, हिन्दी गीत र खस गीत। कर्णालीले त सुन्ला कि भनी गाउँदा पनि अहिलेसम्म उनको दुखाइ बीसमा उन्नाईस भएको छैन।
गया अर्थात् ३६ बर्षीय गयाप्रसाद चौधरी श्रीलंकावासी हुन् किनकि बर्दियाबासीले उनको गाउँलाई श्रीलंका नाउँ दिएका छन्। एक नगरपालिका र पाँच गाविस रहेको राजापुर दुई भङ्गलामा बाँडिएको कर्णाली नदीको बीचमा छ। श्रीलंकाजस्तै टापु ठानी राजापुरलाई श्रीलंका नाउँ दिइएको हो।
गयाले कर्णाली किनारमा ढेब्ली थापेका थिए, त्यसबेला पनि। यसका साथै धेरीमजुरी गर्थे। कहिले भारतको दिल्लीमा र मसुरीमा चौकीदारी गर्थे त कहिले बम्बईमा। कहिले भारतको हिमाचलस्थित सिम्लामा स्याउका पेटी बोक्न जान्थे।
त्यस बिहान, अर्थात् २०६० पुस २ गते पनि उनी ढेब्लीमा बसिरहेका थिए। एकाबिहानै उनको ढेब्लीमा कोही उनलाई लिन आए। ती थिए, जनताका सुरक्षार्थ गाउँछेउमा मोर्चा कसेर बसेको सुरक्षाफौज। भन्थे, राजापुर बेस क्याम्प। तिनले माओवादी भन्दै उनलाई बेस क्याम्पमा लगे।
लग्दालग्दै सुरक्षाफौजले उनले लगाएको ज्याकेट खोले। त्यसैले उनको अनुहार छोपिदिए। नबोले माओवादी ठान्लान् भन्ठानी उनले सुरक्षाफौजलाई स्पष्टिकरण दिन थाले। 'बढी बोल्छ, कमाण्डर नै रहेछ' भन्दै उनलाई अलग्गै कोठामा राखे।
एक्लै राखेर उनलाई फननन तीन फन्का घुमाए। त्यसपछि फलामको पाइपले कुटे। १५/२० मिनेटपछि उनी बेहोस भए।
'कुटाइ सहन नसकी मार् भनेँ। तर कुट्नेले …तँलाई किन मौत दिने' भन्दै कुटे। मलाई मृत्यु दिएनन्, यातना मात्र दिए,' ढेब्लीमा अप्ठेरोगरी उभिएका गयाले यति भन्दा गयापत्नी कृपालीदेवीका आँखा असजिला भइसकेका थिए।
अघिल्लो दिन अर्थात् २०६० पुस १ गते उनको गाउँनजिक बम बिस्फोट भएको थियो। बिस्फोटनमा दुई सुरक्षाफौज मारिए। दुईजना मारिएको बदला लिन भोलिपल्ट एकाबिहानै राजापुर बेस क्याम्पबाट सुरक्षाफौज गाउँ पस्यो। गयाको गाउँबाट मात्र पैतिसभन्दा बढी गाउँलेलाई समात्यो।
त्यसबेला गया २४ बर्षका थिए।
'रातदिन रोएर बस्छु। मलाई त चौबीसै घण्टा पीडा छ। खाँदा पनि यसरी घुँडा टेकेर खान्छु। मेरो खुट्टा सुकेर गयो। देब्रे हात सुक्यो। दाहिने खुट्टामा चिमोट्दा नि थाहा पाउँदिनँ। चप्पल निस्केको पनि थाहा हुन्न। बस्न, उभिन र सुत्न पनि सक्तिनँ। पिसाब पनि आफैं चुहिन्छ। जिन्दगी बाँच्न धेरै गाह्रो भयो। मर्न पाए हुन्थ्योजस्तो लाग्छ। मर्न पनि सकेको छैन,' गया बग्दाबग्दै आफैं थामिए। त्यसपछि उनले सम्झिए भोजलाल थारूलाई। भोजलाल उनीसितै पक्राउ परेका उनकै आफन्त थिए र रिहा भएको केही महिनामै मरे।
रिहा भएका अरू गाउँले पनि उनीजस्तै छन्। सामान्य जीवनयापन गर्नसक्ने अवस्थामा छैनन्। कोही ढाड दुख्यो भन्छन् त कोही जिउ दुख्यो।
'हामी एकै गाउँका ३०/३५ थारू थियौं। समातिएका एकजना पहाडी थिए, उनलाई त तुरुन्तै छाड्यो,' आफूहरुलाई भने धेरै समयपछि तारिखमा छाडिएको सम्झँदै उनले भने।
कतैबाट माओवादी पुष्टि नभएपछि गया रिहा त भए तर 'न गरिखाने न मरिजाने' अवस्थामा। बस्, जिन्दगीभर दुख्ने भएर।
उनलाई सुखदुखमा साथ दिने पत्नी छिन् साथमा। तर पत्नी पनि उनीजस्तै। पत्नीको एउटा मात्र मृगौला छ। त्यसैले बेलाबेलामा जाँच गराउनुपर्छ। रिन गरेर पतिसित औषधी खानुपर्छ। त्यसैले गयापत्नीले पनि सामान्य मानिसले जस्तो काम गर्न सक्तिनन्।
उनका दुई छोरा छन् –सुमन (२३) र रामजनम (२१)। काठमाडौंमा एउटाले कुखुरा फार्ममा काम गर्छन् भने अर्कोले होटलमा।
'मलाई पनि अरुजस्तै बाँच्ने रहर त छ,' उनले सग्लो जिउ हुँदाखेरि मनमा साँचेको तिर्सना पोखे, 'म मेहनत गर्ने मान्छे हुँ। कुनैबेला सोच्थेँ, ४०/५०जनालाई काम दिन सक्छु। तर अहिले? यस्तो भयो। एक्लो जीवन पनि बचाउन नसक्ने।'
शान्तिप्रक्रियापछि माओवादी, एमाले, कांग्रेसमा लागेका नेता/कार्यकर्ता र सरकारी मान्छेले द्वन्द्वपीडितको राहत पाए। उनकै गाउँका जिम्दारले पनि जग्गा फिर्ता पाए। राहत पाए। उनी भने न कांग्रेस थिए न एमाले न माओवादी न सरकारका मान्छे। त्यसैले उनले कुनै राहत पाएनन्।
'अरु त कोही सरकारमा लागे, कोही विभिन्न पार्टीमा लागे। राहत पाए। म कतै लागिनँ। कतै नलाग्नेलाई कसले हेर्छ र? हामीले यत्तिकै कुटाइ खायौं। सिकार भयौँ,' उनले भने।
उनको पीडा सुन्न न राजनीतिक दल पुगेका छन् उनको गाउँमा न त सरकार नै।
'आउनुपर्ने त माओवादी हो। तर आउँदैनन्। उनीहरुले बम नपड्काएको भए हामी यसरी पर्दैनथ्यौ होला। सरकारले त हामीजस्ता सर्वसाधारणलाई, स्कुल जाने बच्चालाई मारेर र यातना दिएर माओवादीको बदला लियो। कसले छानबिन गर्ने?'
युएनओएचसिएचआरले २००८ मा दिएको रिपोर्टअनुसार बर्दियामा मात्रै १५६ नागरिक बेपत्ता छन्। जसमध्ये माओवादीबाट १४ जना बेपत्ता छन्। माओवादी द्वन्दमा सबैभन्दा बढी बेपत्ता बर्दियाबाट भए। त्यसमा पनि टापु जिन्दगी जिइरहेको थारू बाहुल्य राजापुरबाट सबैभन्दा धेरै बेपत्ता छन्। त्यसैले उनी बेलाबेलामा गम्छन्, 'किन थारू नै बेपत्ता पारिए र मारिए?'
'थारुको पक्षमा बोलिदिने कोही नभएर पनि होला। मजस्ता धेरै छन् जसले केही पाएका छैनन्,' एकछिनपछि उनले आफैंले जवाफ दिए।
गयाजस्ता पीडितलाई न्याय दिन सरकारले सत्य निरुपण आयोग गठन गरेको छ। आयोग गठन भएको एक वर्षपछि सरकारले स्थानीय शान्ति समितिमार्फत् बैशाख ५ देखि असार २ गतेसम्म उजुरी हाल्न भनेको छ। द्वन्द्वताका सरकारका नेतृत्व कांग्रेस–एमालेले गरेका थिए। विद्रोही माओवादी थियो। यसैगरी, द्वन्द्वमा प्रत्यक्ष संलग्न थिए, पुलिस र सेना।
द्वन्द्वमा सहभागी उनै दलका प्रतिनिधि छन्, आयोगमा। गयाहरूलाई न्याय दिलाउलान पुलिस, सेना, माओवादी, कांग्रेस, एमालेले आयोगलाई सहयोग गर्लान् त?
गयालाई शंका लाग्छ।
'सरकारले त यातनाबाहेक के दिएको छ र? सरकारले नै मलाई त पीडित बनायो। पीडकले नै कसरी निसाफ देला? मलाई कसले न्याय देला?'
मारिएका या बेपत्तालाई चासो दिए पनि आफूजस्ता यातनापीडितलाई सबैले बेवास्ता गरेको उनको गुनासो छ। उनले भने, 'म त यातनाको कारणले मर्छु। हुन त हरेक मान्छे मर्छ। मरे भने सरकारले के राहत दिन्छ त? उनीहरु (सरकार र संघसंस्था)को त बेपत्ता र मारिएकामा मात्र फोकस छ।'
१० वर्ष लामो द्वन्दमा कति होलान् गयाहरू? आयोगले ती गयाहरुलाई खोज्ला र न्याय दिलाउला?
पर्खौं। तर, पर्खनुपर्ने पो कति हो? गयालाई थाहा छैन।
उनले भने, 'नमर्दै न्याय पाए पो न्याय। मरेपछि कसलाई के थाहा?'