नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नभएमा व्यवस्थापिका संसद स्वतः पुन: स्थापना हुने बताएका छन्।
बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले संविधानतः संसदको अवधि आगामी माघ ७ गतेसम्म भएपनि निर्वाचनको मनोनयन प्रक्रिया सुरू भएकाले संसद विघटन भएको तर मंसिर १० र २१ गते तोकिएको निर्वाचन नभएमा स्वतः संसद पुनःस्थापना हुने दाबी गरेका हुन्। यस विषयमा आजै बाम गठबन्धनले आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी दिए।
उनले भने, ‘अग्रगामी र परिवर्तनका पक्षधर मिलेको देख्न नचाहने प्रतिगामी तत्वले निर्वाचन प्रक्रिया बिथोल्न सक्छन्, यसमा हामी सबै सचेत हुन आवश्यक छ।’
अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेताको सहमतिमा निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका लागि एउटै सिटमा अलग अलग मतपत्र छाप्ने प्रक्रिया थालेकाले यसमा कुनै भ्रम नराख्न आग्रह गरे।