प्रमुख राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची ‘दूधभात’को शैलीमा बुझाएका छन्। पूर्वी तराईमा केटाकेटीका खेलमा स-साना नानीहरू पनि मिसिन चाहे भने तिनलाई ‘दूधभात’ मान्ने चलन छ।
अर्थात् उनीहरू साँच्चैका खेलाडी हैनन्,‘ख्यालख्याल’मा मात्र खेलाइएका हुन्। ‘दूधभातु हुन्। तिनलाई वास्ता नगरे पनि हुन्छ।
निर्वाचन आयोगमा बन्द सूची बुझाउन असोज २९ गते तोकेको म्यादमा त्यस्तै ‘दूधभात सूची बुझाएर दलहरू उम्किएका छन्। २९ गते समानुपातिकतर्फको सूची बुझाउने दिन तोकिएको थियो। सूचीमा गल्ती भए सच्याउन एक हप्ताको म्याद अझै छ।
दलहरूले मिहेनत गरेर अन्तिम सूची बुझाउँछन्, त कहीँ कतै गल्ती वा छुट भएछ भने पछि सच्याउँछन् भन्ने आशा थियो।
तर प्रमुख दलहरूले भने समयमा सूची तयार गर्न सकेनन्। अन्तिममा गएर उनीहरूले ‘दूधभात’ सूची बुझाए।
दलहरू बल्ल साँच्चैको समानुपातिक सूची बनाउने गृहकार्यमा जुटेका छन्।
निर्वाचन आयोगले आइतबार दलहरूलाई बिहान १० बजेदेखि ५ बजेसम्म आयोगमा बन्दसूची बुझाउन समय दिएको थियो। तर आयोगले साँझ पाँच बजे गेट बन्द गर्दै आयोगमा उपस्थित भएका दलहरूले राती अबेरसम्ममा सूची बुझाउन पाउने छुट दियो।
राती अबेरसम्म बसे पनि उनीहरूले अन्तिम सूची तयार गर्न सकेनन्, त्यसपछि ‘दूधभात’ सूची बुझाए।
प्रमुख दल नेपाली काँग्रेसकै एक नेताले आफूहरूले बुझाएको सूची अन्तिम नभएको स्वीकार गरे। ‘ड्राफ्ट’ सूची मात्र बुझाएको उनीहरूको भनाइ छ।
काँग्रेस र फोरम लोकतान्त्रिकको एकता साँझसम्म पनि सकिएको थिएन। विजय गच्छादार नेतृत्वको फोरम लोकतान्त्रिकले साँझसम्म आफैँ टोकन लिएर बसेको थियो काँग्रेससँग टिकट बाँडफाँट नमिले फोरम लोकतान्त्रिक छुट्टै आफ्नो सूची बुझाउने तयारीमा थियो।
तर काँग्रेससँग एउटै सूची बुझाउन फोरम राजी भएपछि साँझ काँग्रेस नेताहरू निर्वाचन आयोगमा अबेर साँझ कम्युटर र ल्यापटप खोज्दै थिए।
‘प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिकमा उहाँहरूको दुई चार जनाको नाम छ, विभिन्न प्रदेशमा गरेर त १०/१५ जना नै होलान्। हामीले गच्छदारले दिनुभएको नाम समावेश गरेका छौँ, कांग्रेस नेता बालकृष्ण खाँडले सेतोपाटीसँग भने।
गच्छदारसँग पनि खाँडले ‘सच्याउने समय छ, तपाई अहिले नाम दिनुहोस्, पछि सच्याउँला’,भन्दै नाम दिएका थिए।
निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन कार्यतालिकाअनुसार आयोगले आइतबार बन्दसूची बुझाएका दलहरूलाई सच्याउन सूचित गर्नेछ।
दलहरूले बन्दसूची आउँदो ६ गतेसम्म संशोधन गर्न सक्नेछन्।
प्रत्यक्षतर्फको पहिलो चरणको मनोनयन दर्ता ५ गते हुँदैछ। यस्तोमा दलहरूलाई प्रत्यक्षमा टिकट नपाएका कतिपय असन्तुष्टलाई समावेश गराउने समय हुनेछ। यही एक साताको समयको ख्याल गर्दै दलहरूले अहिले बन्द सूची बुझाउँदा ‘दूधभात’ शैली अपनाएका हुन्।
दलहरूले यस्तो बेला बन्दसूचीमा पर्याप्त सच्याउन पाउने छन्। खाँडले गच्छदारलाई सम्झाउँदै बताएको ‘समय छ’ भनेको पनि यही हो।
त्यसो त बन्दसूचीमा खेलवाड अझै सकिएको छैन। समानुपातिकमा बन्दसूची बुझाएका दलले १ सय १० सीट जित्ने अवस्था छैन। यस्तोमा सूचीमा रहेका नामहरू तलमाथि गर्ने समय दलहरूलाई छ।
आइतबार बन्दसूची बुझाउन आयोगमा पुगेका एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ कुनै नेतालाई बन्द सूचीमा नाम रहेको जानकारी दिइरहेका थिए। साथै उनी ती नेतालाई ‘नाम माथि ल्याउने हो भने अध्यक्षज्यूसँग कुरा गर्नुस्’, भनिरहेका थिए।
यसरी दलहरूले ‘दूधभात’ सूची आउँदो कात्तिक १३ गतेसम्म मिलाउन सक्छन्। कुनै बन्द सूचीमा रहेका व्यक्तिलाई नाम फिर्ता लिन लगाएर अर्को नाम राख्न सक्छन्।
दोस्रो चरणको निर्वाचनको मनोनयन कात्तिक १६ गते हुँदैछ। यस्तोमा दलहरूले मनोनयन फिर्ता लिन लगाएर कात्तिक १५ गतेसम्म अर्को मनोनयन गर्न सक्छन्। अर्थात् १६ गतेको दोस्रो चरणको उम्मेदवारी दर्ता अघिल्लो दिनसम्म यो ‘दूधभात’ सूची यताउता गर्ने सुविधा दलहरूलाई हुनेछ।
यो पनि हेर्नुहोस्