पार्टी एकतापछि विजयकुमार गच्छदारसँगै 'गुण्डा नाइके' गणेश लामा पनि अब नेपाली काँग्रेसका नेता भएका छन्।
सोमबार बालुवाटारमा भएको एकता सभामा समेत उनी आएका थिए। प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा बसेको आसनभन्दा ठिक पछाडि बसेका थिए।
लामा गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य हुन्। दोस्रो संविधानसभा चुनावमा उनी फोरम लोकतान्त्रिकका लागि काभ्रेबाट उम्मेदवारी दिएका थिए।

उनी विरुद्ध ३ वर्षअघि सम्पत्ति शुद्धीकरण विभागले अपराधिक गतिविधिबाट पैसा कमाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दा अझै विचाराधिन छ।
लामा सुरूमा बाउन्सर थिए। त्यसपछि दीपक मनाङेसँग ठमेलक्षेत्रमा ‘गुण्डागर्दी’ सुरू गरे। मनाङे जेल परेपछि उनले काभ्रेली समूह बनाए। प्रहरीले निकै दु:ख दिन थालेपछि उनी पाँच वर्ष अघि गच्छदारको पार्टीमा छिरेका हुन्। त्यसयता उनलाई गच्छदारले नै संरक्षण गर्दै आएका थिए।

अपराधिक पृष्ठभूमी भएका यस्ता 'डन'हरूलाई राजनीतिक दलले संरक्षण दिँदै आएको नौलो होइन। केही अघि दीपक मनाङेलाई एमालेले पार्टी प्रवेश गराएको थियो।