नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच गोर्खाका दुवै क्षेत्रमा प्रतिनिधि सभा निर्वाचनमा माओवादी केन्द्रको उम्मेद्वार बनाउने सहमति भएको छ।
एमाले र माओवादीसँगै गठबन्धनमा रहेको नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले पनि गोर्खा २ बाट उम्मेद्वारी दाबी गर्दै आएका छन्। तर माओवादी केन्द्रले भने गोर्खाका दुवै क्षेत्रमा आफ्नो उम्मेद्वार हुनुपर्ने अडान लिदैँ आएको छ।
‘गोर्खाको कुनै समस्या होइन। गोर्खामा यसपाली माओवादी नै चुनाव लड्छ। एमाले र हाम्रो समझदारी भै नै सक्यो। दुई वटै प्रतिनिधि सभामा माओवादीलाई दिने भन्ने एमालेको तर्फबाट समझदारी भै सकेको छ’, नेता नारायणकाजी श्रेष्ठले सेतोपाटीसँग भने, ‘त्यहाँ बाबुरामजीले म उठ्छु भनेकाले विवाद भएको जस्तो मान्छेलाई लागेको हो। बाबुरामजीको लागि अर्को कुनै व्यवस्था लिडरहरुले सल्लाह गरेर गर्नुहोला।‘
श्रेष्ठ र भट्टराईको निर्वाचन क्षेत्र एउटै हो। माओवादी केन्द्रले आफूलाई गोर्खामा उम्मेद्वार बन्न नदिए गठबन्धन समेत छाड्ने चेतावनी भट्टराईले दिइसकेका छन्।
भट्टराईले बिहीबार नयाँ शक्ति पार्टीको युवा अभियान भेलामा कार्यकर्तालाई नयाँ शक्ति एक्लै चुनावमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै तयार रहन निर्देशन दिएका छन्।
माओवादी केन्द्रले नयाँ शक्तिका कारण स्थानीय तहको निर्वाचनमा कतिपय स्थानीय तहमा आफू हारेको कारण भट्टराईका लागि ‘ग्राउण्ड’ प्रतिकुल रहेको बताउँदै आएको छ। भट्टराईले एमालेको सूर्य चिन्ह लिएर निर्वाचनमा उम्मेद्वार हुने बताएपछि माओवादी केन्द्र गोर्खामा थप बिच्किएको छ।
यो पनि पढ्नुस्-
वाम गठबन्धन छाड्ने मनस्थितिमा भट्टराईको नयाँ शक्तिमाओवादीले बाबुरामलाई भन्यो- गोर्खाबाट हुन्न, काठमाडौंमा उठ्नुस्