किमलाई तर्साउन दक्षिण कोरिया ‘शिर छेदन’ टोली तयार गर्दै


दक्षिण कोरियाले उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनको हत्या गर्न विशेष टोली तयार गरिरहेको छ। ‘स्पारटान ३०००’ नाम दिइएको यो टोलीलाई किमको टाउको छिनाएर हत्या गर्ने तालिम दिइनेछ।

न्यूयोर्क टाइम्सले उल्लेख गरेअनुसार उक्त टोलीको उद्देश्य उत्तर कोरिया पुगेर किम जोङको हत्या गर्नु हो। यसका निम्ति रातको समयमा उत्तरसम्म पुग्न हेलिकप्टर र अन्य विमानमा काम भइरहेको दक्षिण कोरियाली रक्षामन्त्री सङ यङ–मूले बताएका छन्।

यो टोलीमा २ देखि ४ हजार जनासम्म सेना समावेश गरिने पनि उनले जानकारी दिए।

गत साता उत्तरले हाइड्रोजन बम भएको दावी गर्दै शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको भोलिपल्टै (सेप्टेम्बर ४) रक्षामन्त्री मूले ‘हत्यारा टोली’ बनाउने सोच बनाएका थिए। उनले कानुन निर्माताहरुसँग यसबारे छलफल गरिसकेका थिए। यो वर्षको अन्त्यसम्म यो टोली तयार हुनेछ।

किमले संयुक्त राष्ट्र संघको चेतावनी र अन्तर्राष्ट्रिय समुदायको आग्रहका बावजुद लगातार क्षेप्यास्त्र परीक्षण गरिरहेका छन्। उसका यिनै हर्कत रोक्न ‘तर्साउने’ मनसायले सार्वजनिक रूपमै दक्षिणले ‘शिर छेदन’ टोली तयार गरेको प्रचार गरेको बताइएको छ।

यो हत्यारा टोलीको अवधारणा नयाँ भने होइन। सन् १९६० दशकको अन्त्यमै यस्तै योजना किम जोङ उनका हजुरबुवा किम इल–सङको हत्या गर्न बनाइएको थियो।

त्यसबेला उत्तर कोरियाली सेनाले दक्षिण कोरियाको राष्ट्रपति भवन लुट्ने प्रयास गरेका थिए। तब, दक्षिणले जेलका कैदीलाई गोप्यरुपमा उत्तर कोरिया छिरेर इल–सङको टाउको काटेर हत्या गर्ने तालिम दिएको थियो।

यो मिसन पछि यसै सकियो। तालिम पाएकाहरुले आदेश पालना गरेनन् र आफूलाई तालिम दिनेहरुकै हत्या गरिदिए।

सोल फर्कने प्रयासमा लडिरहेका ती लडाकुहरुले पछि आफ्नै पनि ज्यान लिए र, यो घटना दशकौंसम्म पनि दक्षिणबाट सेलाएन।

अब आएर यस्तै हत्यारा टोली इल–सङका नाति किम जोङविरुद्ध तयार हुने भएको हो। यसबारे दक्षिणले खुलेरै जानकारी दिएको हो।

(न्युयोर्क टाइम्स)

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.