तीन शीर्ष नेताको बैठक जारी- डा. केसीका मागमा छलफल हुँदै


डाक्टर गोविन्द केसीको माग सम्बोधनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासहित संसदीय समिति सदस्यहरुसँग छलफल गरिरहेका छन्। चिकित्सा क्षेत्रको सुधारका नाममा ११ औं पटक अनसनमा बसेका केसीको मागबारे कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छलफलमा सहभागी एक नेताले जानकारी दिए।

संसदमा विचाराधिन स्वास्थ्य सम्वन्धी विधेयक के कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री देउवाले छलफल चलाएका हुन्।

अहिले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भइरहेको छलफलमा सत्तारुढ माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल, प्रतिपक्षी दल नेकपा एमाले नेता केपी शर्मा ओली, उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्य मन्त्री गिरिराजमणी पोख्ररेल, महिला बालबालिका तथा समाज कल्याण समिति सभापति रन्जु झा तथा संसदीय समितिका सदस्यहरु छलफलम उपस्थित छन्।

सरकारले संसदमा पेश गरेको चिकित्सा शिक्षा सम्बन्धी विधेयकमा केदारभक्त माथेमा आयोगले दिएको प्रतिवेदन अनुसार काठमाडौं उपत्यकामा आगामी १० वर्षसम्म निजी मेडिकल शिक्षण संस्था खोल्न नपाइने लगायतका मागहरु समेट्न दबाब दिँदै डाक्टर केसी आमरण अनसनमा बसेका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.