काठमाडौं मेयरले सामाखुसी घटना बुझ्न प्राविधिक पठाए, यस्तो रह्यो प्रारम्भिक निष्कर्ष

फाइल तस्बिर


काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सामाखुसीमा ‘सडक बनाउँदा पानी बग्ने ठाउँ साँघुरो भएर वर्षातको पानीले निकास नपाउँदा’ शुक्रबारको घटना भएको बताएका छन्।

‘मैले आजै इन्जिनियर र त्यहाँका वडाध्यक्षलाई घटनास्थल हेर्न पठाएँ, सडक बनाउँदा पानी बग्ने ठाउँ साँघुरो भएर वर्षातको पानीले निकास नपाएको देखियो,’ उनले आइतबार सेतोपाटीसँग भने, ‘पानी नबगेर सडक र नाली नछुट्टिँदा यस्तो दुर्घटना भएको प्राविधिकहरुले भनेका छन्।’

ढल व्यवस्थापनमा अहिलेसम्म महानगरपालिका संलग्न नभएको र यो काम ढल निकास विभागले गरिरहेको उल्लेख गर्दै मेयर शाक्यले जननिर्वाचित मेयरका हैसियतले शुक्रबारको घटनाको जिम्मेवारी भने लिने बताए।

‘ढल निकास व्यवस्थापनको जिम्मा महानगरपालिकाको नभए पनि जननिर्वाचित मेयरको हैसियतले यसको जिम्मेवारी लिन्छु, मानवीय दृष्टिले पनि यो अत्यन्तै दुखद घटना हो, यसमा हामी कोही चुप लागेर बस्नुहुन्न,’ उनले भने। यस्तो घटना दोहोरिन नदिन इन्जिनियर तथा वडाध्यक्षहरुसँग छलफल थालेको र छिट्टै सुरक्षाको निम्ति ठोस कार्यक्रम घोषणा गर्ने उनले बताए।

मेयर शाक्यले सोमबार आफू पनि घटनास्थल जाने र पीडित परिवारलाई भेट्ने बताएका छन्।

‘यो समस्यालाई दीर्घकालीन रुपमा सुल्झाउन इन्जिनियर र वडाध्यक्षसँग कुरा गरिरहेको छु,’ उनले भने, ‘सरकारी निकायसँग समन्वय पनि गर्नेछु।’

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.