सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत मोरङ जिल्लामा पुँजीगत अनुदानअन्तर्गत १३ वटा योजना छनोट भएका छन्।
जिल्ला विकास समिति, मोरङका अनुसार विराटनगर उपमहानगरपालिकाको दुईवटा वडा, रङ्गेली नगरपालिकामा एउटा र बाँकी १० वटा गाविसमा एक–एकवटा योजना छनोट गरिएको हो।
जिविस मोरङका स्थानीय विकास अधिकारी शोभाखर रेग्मीका अनुसार योजनाहरु गाउँ परिषद्, नागरिक वडा मञ्च तथा जिविस समितिले गाउँगाउँमा अनुगमन गरी योजना छनोट गरिएको हो।
जिविसका इन्जिनियर घनश्याम दाहालका अनुसार योजनाहरु महादेवा, झुर्किया, वर्डगा, डायनिया, सोराभाग, बुधनगर, मझारे गाविस तथा विराटनगर उपमहानगरपालिका र रङ्गेली नगरपालिकाका केही वडामा सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत योजना छनोट भएका हुन्।
कार्यक्रमअन्तर्गत महत्वपूर्ण सडकमा कालोपत्रे गर्ने, पुल पुलेसो तथा कलभर्ट निर्माणदेखि सिँचाइका लागि सौर्य ऊर्जाबाट सिँचाइ सञ्चालनमा ल्याइने योजना छनोट भएका छन्।
स्थानीय विकास अधिकारी शोभाखर रेग्मीले जनतालाई बढी लाभ हुनेखालका र सबैले देख्नेखालका महत्वपूर्ण योजना छनोट गरेर काम गर्ने बताए। उनले चाँडै काम सम्पन्न भए थप बजेटका लागि आफूले पहल गर्नेसमेत बताए। रासस