काठमाडौंको घटनापछि ललितपुरमा ढल सुरक्षाको तयारी थालेका छौं: मेयर चिरीबाबु


काठमाडौंको गोंगबु र नेपालटारमा सडकछेउको नालामा वालिका खसेको घटनापछि ललितपुर महानगरपालिकाले त्यस्तो अवस्था आउन नदिन तयारी थालेको मेयर चिरीबाबु महर्जनले बताएका छन्।

‘काठमाडौंमा जुन घटना भयो, त्यो एकदमै दुःखद छ,’ ललितपुर महानगरपालिकाका मेयर महर्जनले आइतबार सेतोपाटीसँग भने, ‘ललितपुरमा त्यस्तो अवस्था आउन नदिन उच्च सावधानी अपनाउन हामीले तयारी सुरु गरेका छौं।’

‘काठमाडौंमा ढलमा छिरेर बालिकाको ज्यान गएको घटनापछि मैले तत्काल हाम्रा ढल निकास विभागका अधिकारीहरुसँग छलफल गरेर ललितपुरमा त्यस्तो जोखिमपूर्ण स्थानहरु पहिचान गरी सतर्कताको तयारी थाल्न निर्देशन दिइसकेको छु,’ उनले भने।

महानगर क्षेत्रभित्र धेरै पानी पर्दा जम्ने ठाउँहरु १/२ दिनभित्र पहिचान गरेपछि दीर्घकालीन सुधारको प्रक्रियासँगै तत्काललाई अपनाउनुपर्ने सुरक्षा सतर्कताबारे छलफल भइरहेको महर्जनले बताए। ‘तत्कालको सुरक्षाका लागि त्यस्ता जोखिमपूर्ण स्थानमा तारबार लगाएर हुन्छ कि, अन्य केही अस्थानी संरचना बनाएर हुन्छ, जसरी पनि सुरक्षित आवतजावतको ग्यारेन्टी गर्न हामी तयार छौं,’ महर्जनले भने, ‘यसका लागि मैले सम्बन्धित विभागलाई निर्देशन दिइसकेको छु र प्राविधिकहरुको टोली जोखिमपूर्ण ठाउँको पहिचानमा फिल्डमा गएर अध्ययन गरिरहेको छ।’

नागरिकको आवतजावत र लाइफलाइनसँग जोडिएको सवालमा महानगरले जतिसुकै खर्च भए पनि जोखिमपूर्ण स्थानमा सावधानीका उपाय प्रयोग गर्ने महानगरले निर्णय गरेको छ। भौगलिक बनावटका हिसाबले ललितपुरमा वाटर इन्टरलग हुने समस्या कम रहेको भए पनि काठमाडौंको घटनाबाट पाठ सिकेर तत्काल सावधानी अपनाउनेतिर लागिएको महर्जनले जानकारी दिए।

पाटन दरबार स्क्वायर र महापाल क्षेत्रमा त्यस्तो जोखिम हुनसक्ने ढल निकास विभागका प्रमुख तथा विज्ञहरुले अनुमान गरे पनि यकिन ठाउँको बारेमा प्राविधिक टोलीले अध्ययन गरिरहेको महानगरको जानकारी दिएको छ। दीर्घकालीन रुपमा व्यवस्थित ढलनिकास, फराकिलो बाटा र व्यवस्थित यातायातका लागि काम अगाडि बढ्ने भए पनि तत्कालको जोखिमबाट बचाउन आवश्यक सबै उपाय अपनाइने महर्जनले प्रतिबद्धता जनाए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.