कपिलवस्तुमा राजपालाई हराएर राजपा विजयी


कपिलवस्तुमा स्वतन्त्र उम्मेदवारलाई हराएर अर्का स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

सोमबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार निसार अहमद मुसलमानले अर्का स्वतन्त्र उम्मेदवार कमलेशशरण चौधरीलाई हराएर शुद्धोधन गाउँपालिका अध्यक्ष जितेका हुन्।

१६०१२ मत खसेको उक्त गाउँपालिकामा मुसलमानले १८३७ मत पाउँदा चौधरीले १७६३ मत ल्याए। राष्ट्रिय जनता दलका स्थानीय नेता रहेका यी दुवै जनाले पार्टीले चुनाव बहिष्कार गर्ने नीति लिएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए। स्वतन्त्र रुपमा उम्मेदवारी दिएर जित्ने मुसलमान राजपाका पहिलो नेता हुन्। कपिलवस्तुका चार स्थानीय तहमा राजपा नेताले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

मुसलमान राजपा बन्नुअघि राजेन्द्र महतोको सद्भावना पार्टीमा थिए। यसअिघका दुई स्थानीय निर्वाचनमा उनी साबिकको बाँसखोर गाविसमा अध्यक्ष निर्वाचित भएका थिए। चौधरी भने राजपा बन्नुअघि महन्थ ठाकुरको तराई मधेस लोकतान्त्रिक पार्टीका नेता थिए।

उनीहरुसहित पाँच जना अन्य उम्मेदवारले पनि साढे १२ सय भन्दा बढी मत पाएका छन्। तेस्रो भएका नेपाल लोकतान्त्रिक फोरमका वीरेन्द्रकुमार चौधरीले १७३८ मत पाए।

त्यहाँ १६६३ मतसहित कांग्रेस उम्मेदवार चौथो भयो भने १५६४ मतका साथ संघीय समाजवादीका उम्मेदवार पाँचौं स्थानमा आए। छैठौं भएका एमाले उम्मेदवार १३६१ मत पाए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले १२७१ मत पाएर सातौं भए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.