छिमेकीसँगको सम्बन्धविच्छेदले कतारलाई के समस्या पर्छ?

छिमेकीसँगको सम्बन्धविच्छेदले कतारलाई के समस्या पर्छ?


साउदी अरब, इजिप्ट, बहराइन, युएइले, लिविया र यमनले छिमेकी खाडी मुलुक कतारसँगको कुटनीतिक सम्बन्ध तोडेपछि कतारमा त्यसको निकै ठूलो प्रभाव पर्नेछ।

शत्रु सिया राष्ट्र इरानको प्रशंसा गरेको तथा सुन्नी अतिवादी संस्था ‘मुस्लिम ब्रदरहुड’लाई समर्थन गरेको आरोपमा खाडी राष्ट्रले कतारसँग सम्बन्धविच्छेद गर्ने कदम उठाएका हुन्।

अरेवियन प्रायद्वीपको उत्तरपूर्वमा पर्ने २७ लाख मात्र जनसंख्या भएको कतारले क्षेत्रीय तथा विश्व राजनीतिमा आफ्नो सामथ्र्यभन्दा बढी भूमिका पाएको थियो।

ऊसँग प्रसिद्ध एयरलाइन कतार एयरवेज छ, प्रसिद्ध टेलिभिजन च्यानल ‘अलजजिरा’ छ, अनि सन् २०२२ मा हुने फिफा विश्वकप उसैले आयोजना गर्दैछ। प्रसिद्ध फुटबल क्लब बार्सिलोना समेत उसैको पैसाले चल्थ्यो। विश्वका नामुद बहुराष्ट्रिय निगम समेत कतारमा छन्।

तर पछिल्लो भूराजनीतिक हलचलले कतारका धेरै कुराहरुलाई अनिश्चित बनाएको छ।

त्यसको प्रत्यक्ष असर कतार एयरवेजलाई पर्नेछ। साउदी अरेवियाको ‘इतिहाद एयरवेज’ र दुबईको ‘फ्लाई इमिरेट्स’ दुबैले दोहाका लागि उडान रद्ध गरेका छन्। सस्तो उडान भर्ने ‘फ्लाई दुबई’ले कतार भएर कुनै पनि उडान नभर्ने निर्णय गरेको छ। बहराइनको गल्फ एयर र इजिप्ट एयरले पनि त्यस्तै निर्णय लिने अपेक्षा गरिएको छ।

उनीहरुले कतार एयरलाइन्सका लागि आफ्नो ‘एयर स्पेस’ पनि नदिने निर्णय गरेका छन्। त्यसको प्रत्यक्ष मार कतार एयरलाइन्सलाई पर्ने निश्चित छ। उसले दुबई, आबुधावी, रियाद र कायरोजस्ता स्थानमा उडान भर्न पाउने छैन।

त्यति धेरै देशहरूमा ‘एयर स्पेस’ बन्द भएपछि उसले उडानका लागि हवाई मार्गका लागि पनि समस्या हुनेछ। उडान मार्ग बदलिँदा कतार एयरवेजका जहाजहरूले थप घन्टौंसम्म उड्नु पर्नेछ। उडान महँगो पर्नेछ भने उडान लामो हुनेछ। उसले यात्रु संख्या गुमाउने लगभग निश्चित छ।

कतार एयरलायन्सका साथै छिमेकीसँगको सम्बन्धविच्छेद हँदा कतारलाई आइपर्ने अर्को समस्या खाद्यान्न हो। मरुभूमि राष्ट्रहरूले स्वतः खाद्य सुरक्षाको समस्या हुने गर्छ कतारका लागि अर्को समस्या भनेको जमिनबाट देशमा आउने खाद्यान्यको ठुलो हिस्सा साउदी अरेवियाको एक मात्र बोर्डरबाट आउने गर्छ। प्रत्येक दिन सयौं ट्रक उक्त सीमाबाट कतार छिर्छन्। कतारलाई चाहिने लगभग ४० प्रतिशत खाद्य उक्त सीमाबाट आउँछ।

अब कतारले हवाई वा समुद्री मार्गबाट खाद्य ल्याउनु पर्नेछ। त्यसले मुद्रा स्फिर्ति गराउन सक्नेछ जसको प्रत्यक्ष मार सर्वसाधारणलाई पर्नेछ।

त्यसको अर्थ कतारी राज खानदानले अहिले लिएको विदेश नीतिको बाटो बदल्न दबाब पर्नेछ। अन्यथा त्यसले विद्रोहको अवस्था पनि सिर्जना गर्न सक्नेछ।

कतारमा कम आय स्रोत भएका मानिस दैनिक जस्तो सस्तो खाद्यान्न किन्न साउदी अरेविया जान्छन्। अब साउदी अरेबियासँग बाटो बन्द भएपछि उनीहरु मारमा पर्नेछन्।

नयाँ घटनाको असर विकास निर्माणमा पनि पर्नेछ। कतारले अहिले एउटा नयाँ बन्दरगाह, अस्पताल क्षेत्र, मेट्रो रेल योजना र ८ वटा रंगशाला निर्माण गर्दैछ। त्यसका लागि स्टिल, सिमेन्ट जस्ता कच्चा पदार्थ समुद्री जहाजबाट मात्र होइन साउदी अरवबाट पनि आउँछ।

अब नयाँ घटनाक्रमले खाद्यान्य जस्तै विकास निर्माणमा पनि तीव्र असर पर्न सक्छ। निर्माणमा ढिलाई र योजना मूल्यमा वृद्धि हुनसक्छ।

बोर्डर र एयर स्पेस लामो समय बन्द भएमा त्यसले विश्वकप तयारीलाई प्रभावित पार्ने खतरा उत्पन्न हुन्छ।

यसो भएमा कतारमा श्रम शक्तिको पनि अभाव सिर्जना हुन सक्नेछ। अब साउदी, युएई र बहराइनका मानिसले ढिलोमा १४ दिन भित्र कतार छाडिसक्नु पर्नेछ। कतारीहरूले पनि साउदी र नयाँ देशबाट उक्त समय भित्र देश फर्किसक्नुपर्छ।

यदि इजिप्टले पनि त्यस्तै नीति लिएमा कतारलाई झन् ठूलो समस्या पर्नेछ। एक प्रतिवेदन अनुसार १ लाख ८० हजार इजिप्टका नागरिक कतार बस्छन्। उनीहरू इन्जिनियरिङ, कानुनी, मेडिकल र निर्माण कार्यमा संग्लग्न छन्।

त्यसले स्वदेशी र विदेशी कम्पनीका लागि श्रम शक्ति अभाव सिर्जना गर्नेछ।

पछिल्लो भूराजनीतिको असर व्यापारमा देखिन शुरु भइसक्यो। खाडी मुलुकका धेरै संस्थाहरूले कतारमा व्यापार गर्छन्। स्थितिमा तुरन्तै सुधार नभएमा त्यस्ता व्यापारह अस्थाई रुपले भएपनि बन्द हुनेछन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.