इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ।
गएराति भएको खेलमा कोलकाताले दिएको १ सय ७५ रनको लक्ष्य मुम्बई इन्डियन्सले १८ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।
मुम्बईका लागि कप्तान रोहित शर्मा ६८ र पोलार्डले ५१ रनमा नटआउट रहे। यस्तै रायडुले ३२ र जोस बट्लरले १५ रनको योगदान दिएका थिए।
कोलकाताका लागि सुनिल नारिनेले दुई विकेट लिए भने उमेश यादव र शकिब अल हसनलले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो। कोलकाताका कप्तान गौतम गम्भीरले सर्वाधिक ५९ रन बनाए।
यस्तै रोबिन उथप्पाले ३६, आन्द्रे रसेल २२, सूर्यकुमार यादव २१ रन बनाएका थिए। यस्तै क्रिस ल्यान १० र युसुफ पठान १९ रनमा नटआउट रहे।
कोलकाता ६ खेलबाट ८ अंकका साथ तालिकाको दोस्रो स्थानमा यथावतै छ भने ८ खेलमा ४ जित निकालेको मुम्बई अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।