काठमाडौं क्षेत्र नम्बर ६ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनालले अग्रता लिइरहेका छन्।
४४१७ मत गणना गर्दा उनले ३००७ मत ल्याएको निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिइन्। नेपाली कांग्रेसका सबुज बानियाले ६०२ भोट ल्याएका छन्।
एमालेका अमन मास्केले ३६८ मत ल्याएर तेस्रो बनेका छन्। उनी यसअघि प्रदेशसभा सदस्य थिए भने बागमती प्रदेशको मन्त्री समेत भएका व्यक्ति हुन्।
यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाका २६, २७ र २८ नम्बर वडा, टोखा नगरपालिकाका १, ८, ९, १० र ११ र तारकेश्वर नगरपालिकाका वडा १, २, ६, ७, ८, ९, १० र ११ पर्छन्।
६७ हजार ७५९ मतदाता रहेको यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शिशिर खनाल, नेपाली कांग्रेसका काठमाडौं सभापति कृष्ण सबुज बानियाँ, एमालेका अमन मास्के, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का हिमाल शर्मा लगायत २० जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
खनालले भने यसअघिको चुनाव यही क्षेत्रबाट जितेका थिए। उनी पनि संघिय सरकारमा छोटो समय शिक्षामन्त्री बनेका थिए।