सम्पादकीय नोट
सेतोपाटीले प्रकाशन गरेका चुनाव विश्लेषणहरू हटाउन वा सच्याउन प्रेस काउन्सिल नेपालले पत्र लेखेपछि हामी त्यस विरूद्ध सर्वोच्च अदालत गएको हाम्रा आदरणीय पाठकहरूलाई जानकारी नै छ। हाम्रो काममा दखल नदिन र हामीमाथि कुनै पनि कारबाही अघि नबढाउन निर्वाचन आयोग र प्रेस काउन्सिल विरूद्ध अन्तरिम आदेश माग गर्दै हामी सर्वोच्च अदालत गएका हौं। सर्वोच्च अदालतले अन्तरिम आदेशबारे छलफल गर्न आयोग र काउन्सिललाई फागुन १९ गते बोलाएको छ।
हामीले लेखेका चुनाव विश्लेषणले मतदातालाई भ्रममा पारेको र निर्वाचनको स्वच्छता प्रभावित गरेको भन्दै सेतोपाटीलाई 'चुनाव विश्लेषण' प्रकाशन गर्न रोक लगाउने प्रतिषेधको आदेश जारी गर्न माग गर्दै सर्वोच्चमा दर्ता भएको अर्को रिटमा पनि शुक्रबार सुनुवाइ भएको छ। सर्वोच्च अदालतले त्यस रिटको मागबमोजिम शुक्रबार प्रतिषेधको आदेश गरेन र छलफल गर्न दुवै पक्षलाई फागुन १९ गते बोलाएको छ।
आदरणीय पाठकहरू, हाम्रो सधैं जिकिर छ — निर्वाचनबारे नागरिकले थाहा पाउने सूचनाको हक र त्यस्तो सूचना नागरिककहाँ पुर्याउने सञ्चार माध्यमको संविधान प्रदत्त हकमाथि कुनै पनि संस्थाहरूले आचार संहिताको नाममा दखल पुर्याउन पाउँदैनन्। त्यसैले यो विषयको अन्तिम निरूपण संविधानको व्याख्याता सर्वोच्च अदालतबाटै होस् भन्ने ध्येयले हामी न्यायालयको ढोका ढकढक्याउन सर्वोच्च गएका हौं। हामीलाई न्यायालयको फैसला मान्य हुनेछ।
सेतोपाटी कानुन मान्छ र आवश्यक ठाउँमा सुधारका लागि प्रयत्न पनि गर्छ। एउटा लोकतान्त्रिक समाजमा हुनुपर्ने पनि यही हो — बहस, छलफल, पैरवी र संवैधानिक, न्यायिक प्रक्रियाबाट सुधार अघि बढाउने, समाधान खोज्ने प्रयत्न गर्ने l
सेतोपाटीको बफादारिता हाम्रा पाठकहरू प्रति मात्र छ। निर्वाचन विश्लेषणमा कुनै अमुक दलको नेतालाई अप्राकृतिक रूपमा अघि वा पछि देखाउने कुरा हामीले सोच्न सक्दैनौं। त्यो हाम्रो धर्म र स्वार्थ विरूद्ध हुन्छ। हाम्रो धर्म पाठकहरूसमक्ष हामीले थाहा पाएसम्मको सही सूचना पुर्याउनु हो। हाम्रो स्वार्थ, हामीले लेखेका समाचार सही ठहरिऊन्; हामीले गरेका चुनाव विश्लेषणहरू मिलून् र हाम्रो विश्वसनीयता थप बढोस् भन्ने हो।
हामीले २०७४ सालयता लेखेका लगभग सबै विश्लेषणहरू मिलेका छन्। विगतमा हामीले गरेका निर्वाचन विश्लेषणले पनि पाठकसामु हाम्रो निष्पक्षता र विश्वसनीयता स्थापित गरेका छन्।
यसपालि पनि हामीले पहिलेको जस्तै व्यावसायिकता र सावधानीका साथ विश्लेषणहरू गरेका छौं। हामीले यसपालि थप सुधार गरेका छौं। शतप्रयत्न गर्दागर्दै पनि कहिलेकाहीँ मिडियाबाट गल्ती हुन्छन्। हामी त्यस्ता गल्तीबाट सिक्ने र आफूहरूलाई थप सुधार्ने गर्छौं। यो निरन्तर जारी रहनेछ।
प्रस्तुत छ हाम्रो आठौं चुनाव विश्लेषणः
सेतोपाटी चुनाव विश्लेषण – ८
भक्तपुर कटुन्जेको पुछारमा, बनेपा जाने बाटोको किनारतिर एउटा सानो चिया पसलमा साहुनी सहित चार जना गफ गरिरहेका थिए।
हामीले कुराकानी गर्ने इच्छा राखेपछि उनीहरूले कुर्सीमा बस्न इशारा गरे।
'लौ भन्नुहोस् के भन्ने?,' चिया खाँदै गरेका एक जनाले भने।
हामीले भक्तपुर– २ का गाउँटोलमा के समस्या, के मुद्दा छन्, यहाँका मतदाताहरू यसपालि कुन दल वा सांसदको कुन उम्मेदवारलाई किन मत दिन चाहन्छन् भन्नेबारे बुझ्न आएको जानकारी गरायौं। तपाईंहरू आफ्नो कुरा भन्नुहुन्छ भनेर पनि सोध्यौं।
सबैले सहमति जनाएपछि हामीले प्रश्न राख्यौं।
चिया खान बसेकाहरूमध्ये युवा थिए सुशील ढुंगेल। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सदस्य समेत हुन्।
पहिले उनले पनि कांग्रेसलाई भोट हाल्दै आएको बताए। २०७९ सालपछि भने रास्वपातिर गएको बताए।
'३५ वर्षसम्म पनि पुराना पार्टीले केही गरेनन्। अब रास्वपा र यसका नेताहरूले नै मुलुकमा केही गर्लान्,' उनले भने, 'पढेलेखेका नेताहरू छन्, पुरानाले भन्दा केही गर्छन् भन्ने आश छ। मानिसहरूलाई देशमै बस्ने वातावरण बनाऊलान्।'
सँगै बसेका लेखनाथ भट्टराईले भने पहिल्यैदेखि एमालेलाई मत दिएको बताउँदै यसपालि पनि एमालेलाई नै दिने बताए। यो क्षेत्रका एमाले उम्मेदवार महेश बस्नेतले विकास निर्माणका काम गरेकाले पनि आफूले उनैलाई भोट हाल्ने उनले बताए।
'म त पहिल्यैदेखि नै एमालेलाई दिएको छु। अहिले पनि एमालेलाई नै दिन्छु,' लेखनाथले भने।
उनीहरूसँगै बसेका विनोद ढुंगेलले पनि आफूले मत नबदल्ने बताए। पहिल्यैदेखि कांग्रेसलाई भोट हाल्दै आएका उनको मत यसपालि पनि कांग्रेसलाई नै जानेछ।
'म त अन्त जान्नँ,' विनोदले भने।
हामीले चिया पसल सञ्चालक महिलालाई पनि उनको धारणा सोध्यौं। उनले आफ्नो परिचय खुलाउन चाहिनन्। हामी मतदाताहरूलाई उनीहरूको परिचय खुलाउने वा गोप्य राख्ने सोधेर मात्र कुरा गर्छौं।
उनले आजसम्म नेपाली कांग्रेसलाई भोट हाल्दै आएको बताइन्। तर यसपालि कसलाई दिने भनेर निर्णय गरिसकेकी छैनन्।
'सबै पुराना पार्टीले केही काम गरेनन्, नयाँले केही गर्छन् भनिरहेका छन्। तर पुरानाले केही पनि गरेनन् भन्न त हुन्न,' उनले भनिन्, 'जति गरे त्योभन्दा धेरै गर्नुपर्थ्यो भन्ने हो।'
हामीले तीन दिन भक्तपुरको निर्वाचन क्षेत्र नम्बर–२ मा पर्ने सबै वडा घुमेर धेरैभन्दा धेरै मतदातासँग यसरी नै कुराकानी गरेका छौं। ९८ हजार ३५६ मतदाता रहेको भक्तपुर–२ मा सूर्य विनायकका १० वटा र मध्यपुर थिमि नगरपालिकाका ९ वटा गरी १९ वटा वडा पर्छन्।
यो क्षेत्रमा कांग्रेसका कवीर राणा, एमालेका महेश बस्नेत, रास्वपाका राजीव खत्री, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रामप्रसाद सापकोटा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का रमेश वैद्य, उज्यालो नेपाल पार्टीका जितराम लामा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विक्रम थापा, स्वतन्त्र उम्मेदवार शोभा पाठक लगायत प्रतिस्पर्धामा छन्।
२०७९ सालको चुनावमा यो क्षेत्रमा कांग्रेसका उम्मेदवार दुर्लभ थापाले २४ हजार २३९ मत ल्याएर चुनाव जितेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेश बस्नेतले २३ हजार २८२ मत ल्याएका थिए। त्यो बेला संसदीय चुनावमा पहिलो पटक सहभागी भएको रास्वपाले यो क्षेत्रमा ४ हजार ९८ मत ल्याएको थियो।
तीन दिन यो क्षेत्र घुमेर धेरैभन्दा धेरै मतदातासँगको कुराकानीपछि हाम्रो विश्लेषण छ — यहाँ रास्वपाका उम्मेदवार राजीव खत्री अरू प्रतिस्पर्धीभन्दा धेरै अगाडि छन्।
राजीव पूर्वपत्रकार हुन्। उनी यसपालि मात्र राजनीतिमा आएका हुन्। उनलाई मत दिन्छु भन्नेहरू उनको व्यक्तित्व र चुनावी एजेन्डाभन्दा बढी पार्टीका वरिष्ठ नेता बालेन शाह र रवि लामिछानेबाट प्रभावित रहेको हामीले पायौं।
रास्वपालाई मत दिन्छु भन्ने कतिपय मतदाताले जेनजी आन्दोलनपछि आफ्नो मन बदलिएर पुराना पार्टीलाई भोट नदिने पक्षमा पुगेको पनि बताए।
हामीले कुरा गरेका कतिपय मतदाताले एमालेका उम्मेदवार महेश बस्नेतलाई यो क्षेत्रमा विकास निर्माणका काम अघि बढाएको जस दिए। तर उनको बोली साह्रै 'छुचो' भएकाले यसपालि मत नदिने कतिपय मतदाताले बताए।
सूर्यविनायक नगरपालिका वडा नम्बर १ की एक महिलाले भनिन्, 'एमालेका महेशले विकास गरेको भए पनि उनले जित्न हुन्न। उनको मुख साह्रै छुच्चो भयो। तर हामीलाई त्यसबारे बोल्न सजिलो छैन। कसैले थाहा पाइहाले समाजमा बस्नै गाह्रो हुन्छ।'
पहिले उनले कहिले कांग्रेस त कहिले एमालेलाई भोट हाल्दै आएकी थिइन्। यसअघि एमालेलाई दिएकी थिइन्। जेनजी आन्दोलनपछि चाहिँ उनले एमालेलाई मत नहाल्ने मन बनाएकी छन्।
'भदौ २३ गते मेरो छोरा ढिलो घर फर्किँदा मेरो मनमा के बितेको थियो, त्यो मलाई मात्र थाहा छ। अझ कोख रित्तिने आमाबुबालाई कस्तो भएको होला? ओलीको (एमाले अध्यक्ष केपी ओली) घमण्ड एकदमै चुलिएको छ। एक पटक नपछारिएसम्म ठिक हुँदैन,' उनले भनिन्।
महेशको 'बोल्ने शैली' मननपरेको अरू धेरै मतदाताले पनि बताए। यस्तैमध्ये एक हुन् गत चुनावमा एमालेमा भोट हालेका सूर्यविनायक– ५ का एक पुरूष मतदाता।
उनले भने, 'जेनजी आन्दोलनपछि एमाले पार्टीका नेताहरू प्रति सकारात्मक हुनै सकिनँ। महेशजीको बोल्ने शैली पनि ठिक लाग्दैन। पुराना पार्टीले त सरकार मिलिजुली बनाउने अनि भ्रष्टाचार गर्ने! त्यसैले यसपालि रास्वपामा भोट हाल्ने सोचेको छु।'
गत चुनावमा यहाँ कांग्रेस, तत्कालीन नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित ५ दलको गठनबन्धन थियो। त्यो बेला २४ हजार २३९ मत ल्याएर कांग्रेस उम्मेदवार दुर्लभले चुनाव जितेका थिए।
यसपालि सबै दल यहाँ एक्ला एक्लै उठेका छन्।
भक्तपुर– २ मा एमाले जस्तै कांग्रेसले पनि यसपालि आफूले गत चुनावमा पाएको मत जोगाउन नसक्ने हाम्रो विश्षेषण छ। गएको चुनावमा कांग्रेसलाई मत दिएका कतिपय मतदाताले यसपालि रास्वपालाई मत दिने बताए।
यो पटक कांग्रेसले यहाँ मत गुमाउनुका दुई कारण देखिन्छन्।
पहिलो, भदौ २४ गते तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा भेटिएको 'डढेको पैसा' ले धेरै मतदाता रिसाएको हामीले पायौं।
देउवाले सो भिडिओ 'एआईले बनाएको' हो भनेको कुराले मतदाता थप चिढिएका छन्।
मध्यपुर थिमि नगरपालिका– ३ का बाबुकाजी प्रजापति २०४८ सालदेखि कांग्रेसलाई भोट हाल्दै आएका हुन्। यसपालि उनले आफ्नो मत रास्वपालाई दिने बताए।
'अहिलेसम्म कांग्रेसलाई भोट हालेँ। तर जेनजी आन्दोलनपछि मेरो मन बदलिएको छ। यसपालि मैले घन्टीमा दिने हो,' उनले भने।
उनले थपे, 'शेरबहादुरको घरमा भेटिएको पैसा एआईले बनाएको भन्छन्। हामी त कालोलाई सेतो भन्न सक्दैनौं।'
सूर्यविनायक– ५ मा भेटिएका एक मतदाताले अहिले तीन वटै ठूला पार्टी (कांग्रेस, एमाले, नेकपा) प्रति वितृष्णा जागेको बताए। अघिल्लो निर्वाचनमा उनले कांग्रेसलाई भोट हालेका थिए। यसपालि रास्वपालाई दिने सोच बनाएका छन्।
'तीन वटै ठूला पार्टीले युवा पुस्ताको भावना र आवाज बुझ्न सकेनन्। त्यसैको परिणाम स्वरूप इतिहासकै ठूलो जेनजी आन्दोलन देखियो। नेताका घरमा कागजझैं पैसा जल्दा पनि त्यसको कुनै स्पष्ट जबाफ आएन। बरू एआई भन्दै टार्ने प्रयास मात्र भयो,' उनले भने।
अर्को, यसअघि चुनाव जितेका दुर्लभले केही पनि गरेनन् भन्ने गुनासो पनि यो क्षेत्रमा छ।
सूर्यविनायक– २ बालकोटमा भेटिएका एक मतदाताले यस्तै असन्तुष्टि राख्दै यसपालि रास्वपालाई मत दिने बताए।
'चुनाव जितेर पठायौं तर दुर्लभ थापाले संसदमा गएर एक पटक पनि बोलेको थाहा छैन,' उनले भने, 'संसदमा गएर काम गर भनेर पठाएको हो नि। त्यही पनि नगरेपछि किन हाल्ने भोट? यसपालि घन्टीमा दिने हो! हेरौं नयाँले के गर्छन्!'
'नयाँ' अर्थात् रास्वपालाई भोट हाल्छु भन्ने सबैजसो मतदाताले यो दलले आगामी पाँच वर्षमा मुलुक बनाउने काममा एक पाइला सार्न नसके फेरि भोट बदल्ने बताए।
हाम्रो विश्लेषणमा यो क्षेत्रमा एमाले र कांग्रेसको प्रतिस्पर्धा दोस्रो स्थानका लागि छ। त्यसपछि चौथोमा नेमकिपा छ। यीबाहके अरू दल र उम्मेदवारमा यहाँका मतदाता खासै आकर्षित देखिएनन्।
यो क्षेत्रमा भेटिएका नयाँ मतदातामध्ये पनि अधिकांशले रास्वपालाई नै भोट दिने बताए।
बालकोटका अनिस सिलवाल यसपालि पहिलो पटक भोट हाल्दैछन्। २९ वर्षीय अनिसले यसअघि मतदाता परिचयपत्र बनाएका थिएनन्। यसपालि आफै गएर बनाए।
'मेरो हजुरबुबा नै चुनावमा उठ्दा पनि मैले भोटर आइडी बनाएको थिइनँ। यसपालि बनाएँ, भोट दिन्छु। नयाँ पार्टी रास्वपालाई दिने हो,' उनले भने।
यसपालि बालेन शाहका कारण आफूले भोट हाल्न लागेको पनि उनले बताए।
'बालेन शाह चुनाव लड्न नआएको भए भोटर कार्ड नै बनाउँदिनँ थिएँ होला,' उनले भने।
काठमाडौं महानगरपालिकामा मेयरका रूपमा बालेनको काम देखेर उनी प्रधानमन्त्री भए देश सबैतिर विकास गर्थे भन्ने भरोसा भएको अनिसले बताए।
'रास्वपाले पनि पूरै राम्रो गर्छ भन्ने होइन। कम्तीमा शिक्षा, स्वास्थ्य र रोजगारीमा मात्र काम गरे हुन्थ्यो,' उनले भने, 'तर बालेन शाहले काठमाडौंका स्कुलमा सुधार गरेको, कपनमा बाढी रोक्ने काम गरेको, पार्किङ सिस्टम र लाइट सिस्टम बनाएको मलाई राम्रो लागेको थियो। उनले समय पनि त धेरै पाएका छैनन् नि। समय र अवसर पाए काम गरेर देखाउँछन् भन्ने विश्वास छ।'
बालेनबारे यी सबै कुरा सामाजिक सञ्जालमा देखेर थाहा भएको उनले बताए।
हामीसँग कुराकानी गरेकामध्ये एमालेलाई भोट दिन चाहने मतदाता भने मुख्य रूपमा दुई थरी भएको हामीले पायौं।
एक, एमालेका परम्परागत मतदाता र अर्को, महेश बस्नेतले गरेको विकास निर्माणलाई जस दिनेहरू।
यो क्षेत्रमा २०७४ सालको चुनाव जितेका महेश अहिले एमालेका सचिव छन्। चुनाव जितेपछि यो क्षेत्रमा बाटोघाटो निर्माण गर्न उनले गरेको पहलको धेरैले तारिफ गरे। २०७९ सालमा महेशले चुनाव हारे पनि उनको काम सम्झिनेहरू धेरै नै भेटिए।
उनलाई भोट दिन नचाहने कतिपय मतदाताले समेत यहाँको विकास उनैले गरेको भनेर जस दिए।
मध्यपुर थिमि नगरपालिका– ४ का ६८ वर्षीय गोविन्दकृष्ण श्रेष्ठ महेशले आफ्नो टोललाई 'बचाएको' बताउँछन्। विगतका दिनहरूमा यहाँ हनुमन्ते करिडोरबाट बाढी आएर बस्ती डुबाउँथ्यो। महेशले आफ्नो टोलमा ढलहरू बनाइदिएर बाढी पस्नबाट बचाएको गोविन्दले बताए।
त्यसैले यसपालि पनि उनले आफ्नो मत एमालेका महेशलाई नै दिने बताए।
'यसअघि नजिते पनि उहाँ (महेश) ले हाम्रो समाजका लागि काम गर्नुभएको छ, त्यसैले उहाँलाई नै रोज्छौं,' उनले भने, 'नयाँहरूको पनि खासै केही भिजन छैन। जसले गाउँठाउँ चिनेका छन्, उसले नै आफ्नो क्षेत्रमा काम गर्छन्।'
जेनजी आन्दोलनपछि पुराना दलहरू 'बोल्नै नसकेको' अवस्थामा महेश बस्नेत 'बोलेको' सम्झिने मतदाता पनि हामीले भेट्यौं।
मध्यपुर थिमि– ४ का निरज श्रेष्ठले भने, 'जेनजी आन्दोलनपछि कोही बोलेका थिएनन्। महेश बस्नेत बोलेपछि सबै पार्टी र नेताहरूलाई पनि हिम्मत आयो। उनी लागेको कुरा खुला रूपमा बोल्छन्। यहाँको विकासमा पनि काम गरेका छन्। त्यसैले म उनैलाई भोट दिन्छु।'
महेशलाई नै मत दिने मतदातामध्ये अधिकांशले एउटा सुझाव पनि दिएका छन् — उनी छुद्र नबोलून्!
निरजले पनि भने, 'कहिलेकाहीँ नबोले पनि हुने जस्ता कुरा पनि बोल्छन् जस्तो लाग्छ।'
सूर्यविनायक– १ मा भेटिएका एक जना एमाले कार्यकर्ताले त महेश यसअघि चुनाव हारेकै 'छुच्चो मुख' का कारण भएको बताए।
'पहिले पनि उनी मुख छुच्चो भएर चुनाव हारेका हुन्। बोलीमा अलि लगाम भए हुन्थ्यो,' उनले भने।
भक्तपुर– २ मा कांग्रेसलाई भोट दिन्छु भन्ने मतदाताहरूले पनि प्रमुख दुई कारण भने।
पहिलो, पहिल्यैदेखि कांग्रेस बाहेक अन्त भोट दिएको छैन।
दोस्रो, कांग्रेस नवनिर्वाचित सभापति गगन थापाप्रति उनीहरूको भरोसा।
सानो थिमिकी विमला कँडेलले भनिन्, 'मेरो त अन्त हात नै जाँदैन, कांग्रेसमै हो। आजसम्म त पुरानो भए पनि उसैलाई हेरियो। अब बदलिएको कांग्रेसलाई हेर्ने नि। गगन थापा नेतृत्वमा आएका छन्। उनले राम्रो काम गर्छन् भन्ने भरोसा छ। विद्रोह गरेर नेतृत्व परिवर्तन गरेका छन्, नराम्रो गर्ने त छुट पनि छैन।'
यो क्षेत्रमा हामीले कुराकानी गरेमध्ये अहिलेसम्म कसलाई भोट हाल्ने भनेर निर्णय गर्न नसकेका मतदाता पनि धेरै छन्। हामीले कुरा गरेकामध्ये झन्डै २१ प्रतिशत मतदाता अनिर्णित पायौं। यसअघि कांग्रेस र एमालेलाई भोट दिएका कतिपय मतदाताहरू यसपालि कसलाई मत हाल्ने भनेर अलमलमा भएको हामीले पायौं।
कतिपय पुराना दलसँग मन भाँचिएको र नयाँ दलहरूमा पनि विश्वास बनिनसकेकाले दोधारमा परेका मतदाता पनि छन्। कतिपय भने पुरानैमा कसलाई दिने भन्नेहरू हामीले पायौं।
***
सेतोपाटी चुनाव विश्लेषण – १ ► चितवन–३ मा सोविता गौतमले जित्ने प्रबल सम्भावना
सेतोपाटी चुनाव विश्लेषण– २ ► काठमाडौं–३ मा मुख्य प्रतिस्पर्धा राजु पाण्डे र कुलमान घिसिङबीच
सेतोपाटी चुनाव विश्लेषण– ३ ► दाङ–२ मा रास्वपाका विपिन आचार्य अरूभन्दा धेरै अगाडि
सेतोपाटी चुनाव विश्लेषण– ४ ► रूपन्देही–२ मा अरू उम्मेदवारभन्दा रास्वपाका सुलभ खरेल धेरै अगाडि
सेतोपाटी चुनाव विश्लेषण – ५ ► काठमाडौं– ६ मा यसपालि पनि रास्वपाका शिशिर खनाल अगाडि
सेतोपाटी चुनाव विश्लेषण – ६ ► धनुषा–३ मा बालेन उम्मेदवार छैनन्, चर्चा भने उनकै छ
सेतोपाटी चुनाव विश्लेषण– ७ ► सिके राउतको निर्वाचन क्षेत्रमा राजनीतिक उलटफेर, रास्वपा धेरै अगाडि