विशेष महाधिवेशनबाट सभापति चयन भएको ९ दिनमा गगन थापा पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर पदबहाली गरे।
लगत्तै केन्द्रीय समिति बैठक बस्यो।
उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव र उपसभापति पुष्पा भुसालको समर्थनमा सिंगो केन्द्रीय समितिले भावी प्रधानमन्त्री उम्मेदवारमा थापालाई अनुमोदन गरेको छ।
योलगायत ५ वटा निर्णय गरेर केन्द्रीय समिति बैठक सकियो। प्रवक्ता देवराज चालिसेले निर्णयहरू सुनाए।
त्यसपछि बोले— उपसभापति विश्वप्रकाश शर्मा।
उनले भावी प्रधानमन्त्रीमा सभापति थापालाई प्रस्ताव गरिएको र यो किन आवश्यक छ भन्नेबारे केही कुरा बताए।
'विशिष्ट परिस्थितिको माग, परिवर्तित समयलाई सम्बोधन गर्ने क्षमता, प्रधानमन्त्रीमा खोजिने परिपक्वता, संघर्षमा सबल र सत्तामा अब्बल' जस्ता कुराहरूले सभापति थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर जाने निर्णयमा पुगिएको उपसभापति शर्माले बताएका छन्।
'देशको प्रधानमन्त्री बन्ने व्यक्तित्वले त झनै आवेगलाई होइन, संयम भाव र सौम्य प्रवृत्तिलाई अघि लगाउनुपर्ने हुन्छl त्यो सामर्थ्य राख्ने व्यक्तित्व हामीले प्रधानमन्त्री पदका लागि सर्वाधिक उपयुक्त भनेर अघि सारेका छौं,' उपसभापति शर्माले केन्द्रीय समितिमै भनेका थिए।
केन्द्रीय समितिले प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेपछि केन्द्रीय कार्यालय सानेपाको मूलढोका छेउ उभिएर सभापति थापा पनि बोले।
उनले प्रारम्भमा २००७ साल अघिदेखि जेनजी आन्दोलनसम्म जनताका लागि जीवन उत्सर्ग गरेका सबै सहिदहरूलाई सम्झिएका थिए। उनले सहिद परिवार र विभिन्न आन्दोलनका घाइतेहरूलाई पनि सम्झेका थिए।
'जननायक बिपी कोइरालालगायत पार्टीका सबै संस्थापक नेताहरू, जो हामीबीच हुनुहुन्न उहाँहरूलाई सम्झन चाहन्छु, नमन गर्न चाहन्छु,' सभापति थापाले भने, 'नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालगायत पार्टीका सबै अग्रज नेताहरूप्रति सम्मान प्रकट गर्छु।'
सभापति थापा पदबहाली गर्दा निवर्तमान सभापति देउवा भने उपस्थित थिएनन्। उनी मात्र होइन, निवर्तमान कार्यवाहक सभापतिलगायत देउवा पक्षका अधिकांश नेताहरू पनि देखिएनन्। सभापति देउवा पक्ष विशेष महाधिवेशनको पक्षमा थिएन। विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएको विरोधमा देउवा पक्ष सर्वोच्च अदालत गए पनि सर्वोच्चले अन्तरिम आदेश दिन मानेको थिएन भने फैसला आउन बाँकी छ।
सर्वोच्चले अन्तरिम आदेश दिन नमानेपछि देउवा पक्षका तरूण दलले केन्द्रीय कार्यालय कुर्न छाडेका थिए र विशेष महाधिवेशनबाट कार्यसमिति केन्द्रीय कार्यालय जान सहज वातावरण बनेको थियो।
पार्टी कार्यालयमा सभापति थापाको कार्यकक्षमा पूर्वसभापतिहरूको लहरमा निवर्तमान सभापति शेरबहादुर देउवाको फोटो पनि राखिएको छ।
सभापति थापाले भुइँ तहमा बसेर काम गरेका पार्टीका कार्यकर्ताहरूलाई पनि सम्झेका थिए।
आफूहरू विशेष महाधिवेशनबाट आएको र विधिवत् रूपमा पार्टी कार्यालय प्रवेश गरेको उल्लेख गर्दै उनले आफूलाई उपसभापति विश्वप्रकाश शर्माले सभापतिको कुर्सीमा लगेर बसाएको पनि बताए।
'यो कुर्सी कुनै बेला बिपी कोइराला बस्नुभएको कुर्सी हो। सुवर्णशम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला बस्नुभएको कुर्सी हो,' सभापति थापाले भने, 'र श्रद्धेय नेता शेरबहादुर देउवा बस्नुभएको कुर्सी हो। यो कुर्सीमा बस्न सजिलो छ तर जिम्मेवारी निर्वाह गर्ने कुरा अन्यन्त चुनौतीपूर्ण छ भन्ने कुरा मैले बुझेको छु।'
पुराना नेतादेखि नवयुवादेखिले आफूलाई यो यात्रामा सहयोग गर्ने आशा राखेको उनले बताए।
'हामी नियमित बाटोबाट यहाँ आइपुगेका होइनौं, यसैगरी आउनुपर्छ भनेर हामीले चाहेका पनि होइनौं, तर हाम्रो पार्टीका संस्थापक नेताहरूले हामीलाई यही मूल्यमान्यता सिकाउनुभयो, जतिबेला यो माटो र माटोमा उभिएको नागरिकले आह्वान गर्छ, त्यसबेला नागरिकको आवाज सुन, विशेष महाधिवेशनबाट हामीले नागरिकको कुरा सुनेको हो,' उनले भने, 'कांग्रेस बदलिनुपर्छ भन्ने पुकारलाई आह्वानलाई हामीले सम्मान गरेको हो।'
सभापति थापाले पदबहाली गर्दा 'बदल्यौं कांग्रेस, बदल्छौं देश, यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी। हाम्रो केबल एक ध्येय छ— देशको समुन्नति' भन्ने कुरा माइन्यूटमा लेखेर हस्ताक्षरसमेत गरेका छन्।