पूर्वी पहाडी जिल्ला तेह्रथुमबाट प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि महामन्त्री गगन थापाको एकल नाम सिफारिस भएपछि कांग्रेस तेह्रथुममा असन्तोष सुरू भएको छ।
कांग्रेस तेह्रथुमको आइतबारको बैठकले फागुन २१ का लागि महामन्त्री थापाको एकल नाम सिफारिस गरेको थियो। एउटा मात्रै निर्वाचन क्षेत्र भएको तेह्रथुमबाट २०७९ को निर्वाचनमा कांग्रेसकै सीता गुरूङ निर्वाचित भएकी थिइन्।
एमाले नेता विजय सुब्बालाई पराजित गरेर प्रतिनिधि सभामा चुनिएकी उनी पुष्पकमल दाहाल नेतृत्वको सरकारका केही समय खानेपानी मन्त्री समेत भएकी थिइन्।
यसपटक जिल्ला कार्यसमितिले सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गर्दा गुरूङको नाम समेटेन।
सभापति शेरबहादुर देउवा निकट रहेकी गुरूङको नाम सिफारिस गर्ने सवालमा जिल्ला समितिले हदै पूर्वाग्रह देखाएको संस्थापन पक्षको आरोप छ।
‘ठिक छ, महामन्त्री थापा अहिले कांग्रेसभित्र ठूलो क्रेज भएको नेता हुनुहुन्छ मानियो,’ संस्थापन पक्ष निकट तेह्रथुम कांग्रेसका एक नेताले भने, ‘तर, सीताजीको नाम रोक्नकै लागि जिल्ला समितिले उहाँको नाम एकल सिफारिस गरेको छ। यो जिल्लामा देखाइएको हदैसम्मको आग्रह हो।’
निवर्तमान सांसद तथा कांग्रेस केन्द्रीय सदस्य सीता गुरूङले पनि महामन्त्री थापाको एकल नाम सिफारिस भएको भन्दै आश्चर्य प्रकट गरेकी छन्।
‘मैले चुनाव जितेर गल्ती पो गरेँ कि, जिल्ला समितिले मेरो नाम सिफारिससम्म गरेनछ,’ उनले भनिन् ‘महामन्त्रीज्यूको नाम सिफारिस हुनु गलत भएन। तर, तीन जनाको नाम सिफारिस गरेको भए राम्रो हुन्थ्यो।’
एकल नाम सिफारिस भएकाले महामन्त्री थापा तेह्रथुमबाटै चुनाव लड्नुपर्ने भन्दै गुरूङले महामन्त्रीको सम्मान गर्दै आफूले स्वागत गर्ने उनले बताइन्।
गुरूङले यसबारे धेरै बोल्न इन्कार गरेकी छन्।
तेह्रथुम कांग्रेसका नेताहरूले दिएको जानकारी अनुसार यसपटक जिल्लाबाट उम्मेदवारको नाम सिफारिस हुँदा संस्थापन पक्षले यसअघि चलाएको अनुशासनको कारबाहीले मुख्य रूपमा काम गरेको छ।
तेह्रथुम कांग्रेसका प्रभावशाली नेता एवम् संविधान सभा सदस्य तुलसी सुब्बालाई कांग्रेस अनुशासन समितिले गएको असारमा कारबाही गरेको थियो।
शेखर कोइराला निकट सुब्बालाई कारबाही गर्नुको कारण निवर्तमान सांसद गुरूङले दिएको उजुरी थियो।
सुब्बाले आफूलाई निर्वाचन हराउन खोजेको आरोप लगाउँदै गुरूङले अनुशासन समितिमा चुनाव लगत्तै निवेदन दिएकी थिइन्।
अनुशासन समितिले संस्थापन इतर पक्षकालाई छानीछानी कारबाही गरेको भन्दै कोइराला पक्षले आपत्ति जनाएको थियो।
त्यहीबेलादेखि तेह्रथुम कांग्रेसका सभापति अर्जुनबहादुर तुम्बाहाम्फे सहितका नेताहरू सीता गुरूङलाई 'तह' लगाउने उपाय खोजिरहेको संस्थापन निकट एक नेताले बताए।
‘तुलसी सुब्बाले जे भन्यो, तेह्रथुम कांग्रेसमा त्यही चल्छ,’ संस्थापन पक्षका एक नेताले भने, ‘अहिले सीताजीको नाम सिफारिससम्म नगरेर साटो फेरियो। यसरी त पार्टी कसरी चल्छ?’
तेह्रथुम सभापति तुम्बाहाम्फेले भने जिल्लाबाट उम्मेदवारका रूपमा नाम सिफारिस गर्ने एक मात्र पात्र तुलसी सुब्बालाई पार्टीले कारबाही गरेको र अरू नभएपछि महामन्त्रीकै नाम सिफारिस गरिएको बताएका छन्।
अहिले सभापति तुम्बाहाम्फे र सुब्बा दुवै जना महामन्त्री थापा निकट बनेका छन्।
यसअघिका निर्वाचनहरूमा सबभन्दा अन्तिममा मात्रै उम्मेदवार छान्ने नेपाली कांग्रेसले यसपटक बेलैमा क्षेत्रीय तहबाट नाम सिफारिस गरेको छ।
यसक्रममा महामन्त्री गगन थापाको नाम विभिन्न जिल्लाबाट सिफारिस भएको छ। कोशी प्रदेश तेह्रथुम, धनकुटा, मधेशको सर्लाही, लुम्बिनीको रोल्पा र उनकै क्षेत्र काठमाडौं ४ बाट पनि सिफारिस भएको छ।
काठमाडौं- ४ बाट चुनाव लड्दै र जित्दै आएका महामन्त्री थापाले सार्वजनिक रूपमा यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने बताइरहेका छन्।