मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को राजीनामा स्वीकृत भएको छ। तर उनले पुनः सरकारका लागि दाबी गर्ने बताएका छन्।
मुख्यमन्त्री नियुक्त भएको २५ दिनमा विश्वासको मत नपाउने परिस्थिति बनेपछि राजीनामा दिएका उनले त्यस्तो बताएका हुन्।
'हामीलाई अनुभूति भयो कि प्रदेशसभा र संघीयता समाप्त पार्ने खेल हुँदैछ। संघीयता, प्रदेशसभा र लोकतान्त्रिक मूल्य मान्यता बचाउन, फेरि पनि वैधानिक किसिमले सरकार गठन प्रक्रिया बढोस् भन्न मार्गप्रशस्त गर्न राजीनामा गरेको हुँ। अब कसैको खेल लाग्दैन,' उनले भने, 'भोलि–पर्सितिर एउटा परिस्थिति बन्छ। जसको बहुमत हुन्छ, उसैको सरकार बन्छ। फेरि दावा गर्छु, हामीसँग बहुमत छ, आज बहुमतलाई निस्तेज गरियो, त्यसको विरूद्धमा फेरि पनि बहुमत सांसदहरू जान्छौं।'
उनले संविधानको धारा १६८ को २ अझै जिवित रहेको समेत बताए।
'साथीहरूले सपना देखे तर यो धारा खतम भएपछि अर्को धारामा जान्छ। संघीयता विरोधीको कुनै पनि खेल लाग्दैन,' उनले थपे।
संविधानको धारा १६८ को उपधारा २ मा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने, प्रदेशसभाका सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने प्रावधान छ।
'सभामुखले षडयन्त्रपूर्वक विश्वासको मत लिने प्रक्रिया सुरू गर्नुभयो,' सोनलले आरोप लगाउँदै भने, 'संघीयता समाप्त पार्ने खेल खोज्न खोजेको आभास भयो। सरकारको पक्षमा मतदान गर्नेहरू विभिन्न कारणले बाहिर गएकाले आधा–एक घन्टा रोक्नुस्, परिस्थिति बन्छ, साथीहरू आउँदै हुनुहुन्छ भनेको हो। तर सभामुखले लगातार बेल थिच्नुभयो।'