ललितपुरको हरिसिद्धीमा गत भदौ २१ गते मन्त्री सवार गाडीले बालिकालाई ठक्कर दिएर भागको घटनामा गृहमन्त्री ओमप्रकाश अर्यालले चासो देखाएका छन्।
ललितपुर महानगरपालिका-२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय नजिकको मूल सडकमा कोशी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर सवार सरकारी नम्बर प्लेटको १ झ ६९९ नम्बरको गाडीले बालिकालाई ठक्कर दिएर भागेको घटनामा गृहमन्त्रीले चासो देखाएका हुन्।
मन्त्री सवार गाडीले ठक्कर दिँदा ललितपुर महानगरपालिका-२८ डेरा गरी बस्ने ११ वर्षीया उषा मगर सुनुवार घाइते भएकी थिइन। उनलाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएकोमा सोही दिन डिस्चार्ज भएकी थिइन्।
पछि उपचार खर्च सम्बन्धित पीडक पक्षले नै ब्यहोर्ने सहमति गरेर घटनाको मिलापत्र भएको थियो।
मन्त्री अर्यालले सडकमा बालिकालाई ठक्कर दिएर भागेको घटनामा मिलापत्र गर्न मिल्छ कि मिल्दैन, घाइतेको अवस्था के छ भनेर बुझ्नका लागि प्रहरीलाई निर्देशन दिएको गृह स्रोतले जनाएको छ।
‘मिलापत्र गर्न मिल्ने/नमिल्ने के रहेछ हेर्नू भन्नभएको हो। पीडितलाई के भएको हो भन्ने बूझ्नु भनिएको हो,’ स्रोतले सेतोपाटीसँग भन्यो।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी होबिन्द्र बोगटीले पनि मिलापत्रबारे बुझ्न भनिएको जानकारी दिए।
‘घटना पुरानो हो। पीडितको अवस्था के छ हामी बुझ्न भनिएको हो। पहिले मिलापत्र गरिएको भन्ने पनि छ। हामी बुझ्छौं,’ एसएसपी होबिन्द्र बोगटीले सेतोपाटीसँग भने।
बालिकालाई ठक्कर दिएपछि रोक्दै नरोकी हुँइकिएको थियो मन्त्री सवार गाडी
ललितपुरको हरिसिद्धीमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई ठक्कर दिएपछि रोक्दै नरोकेको भेटिएको छ।
शनिबार बिहान सवा ७ बजे ललितपुर महानगरपालिका-२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको मूल सडकमा मन्त्री मगर चढेको को १ झ ६९९ नम्बरको सरकारी गाडीले बालिकालाई ठक्कर दिएको थियो।
मन्त्री सवार गाडीले बालिकालाई ठक्कर दिएको सिसिटिभी फुटेज सेतोपाटीले प्राप्त गरेको छ।
उक्त भिडिओ फुटेजमा बालिका जेब्रा क्रसिङको केही अगाडिबाट बाटो काट्नै लाग्दा गाडीले ठक्कर दिएको थियो।
ठक्करबाट बालिका गाडीको नजिकैबाट पछारिएकी थिइन्।
बालिका सडकमै लडेपनि सो गाडी भने रोक्दै नरोकी त्यहाँबाट अगाडि बढेको भिडिओ फुटेजमा देखिन्छ।
गाडीको पछाडि आइरहेका मोटरसाइकलमा सवार एक महिलाले बालिकालाई सडकबाट उठाएको दृश्य भिडिओमा देखिएको छ।
घटनापछि गाडीलाई भने गोदावरीबाट नियन्त्रणमा लिइएको थियो।
त्यतिबेला एमालेको विधान महाधिवेशनमा सहभागी हुन मन्त्री मगर गोदावरी जाँदै थिए।
विधान महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा त्यतिबेला प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बालिकालाई ठक्कर दिएको घटनालाई राजनीतिकरण गर्न खोजिएको बताएका थिए।