प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपाली बनाउने भन्दा ठूलो लक्ष्य अर्को हुन नसक्ने बताएका छन्।
शुक्रबार भक्तपुरमा आयोजित बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने बाटोमा सरकार लागिरहेको बताए।
उनले नेपाललाई समृद्ध र जनतालाई सुखी बनाउने लक्ष्यभन्दा पवित्र लक्ष्य अर्को हुन नसक्ने बताए।
नेपाललाई समृद्ध आधुनिक देश बनाउने, नेपाली जनतालाई सुखी जनता बनाउने भन्दा ठूलो र महान अर्को गन्तव्य हुन नसक्ने उनको भनाइ छ। त्यसका लागि सरकारले स्वास्थ्य क्षेत्रमा निरोगी नेपालको लक्ष्य राखेको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले भने, ‘हामी समृद्ध, नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने बाटोमा अघि बढेका छौँ। हामी नेपाललाई समृद्ध बनाउन चाहन्छौं, आधुनिक बनाउन चाहन्छौं। विकसित बनाउन चाहन्छौं। यहाँका जनतालाई सुखी बनाउन चाहन्छौं। योभन्दा ठूलो र पवित्र उद्देश्य हुन सक्दैन। यो महानतम उद्देश्य हो। योभन्दा ठूलो अर्को उद्देश्य हुन सक्दैन। नेपाललाई समृद्ध आधुनिक देश बनाउने, नेपाली जनतालाई सुखी जनता बनाउने भन्दा ठूलो र महान अर्को गन्तव्य हुन सक्दैन। जसलाई गन्तव्य बनाएर हामी अघि बढेका छौँ। त्यस गन्तव्य प्राप्त गर्नका लागि हामीले स्वास्थ्य क्षेत्रमा निरोगी नेपालको गन्तव्य राखेका छौं। नेपाल निरोगी जनताको, निरोगी पशुपंक्षीहरूको, वनस्पतिहरूको, निरोगी माछा, चराचुरूंगी आदि सबैको निरोगी नेपाल हुनुपर्छ। जहाँ कुनै किसिको विषादी खान नपरोस्।’
प्रधानमन्त्री ओलीले रोग लाग्नै नदिने वातावरण सिर्जना गर्नुपर्ने बताए।—न्युज एजेन्सी नेपाल