नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले) मा गरिएको विद्रोह गलत भएको बताएका छन्।
इमेज टेलभिजनमा पत्रकार जगदिश खरेलसँगको अन्तर्वार्तामा खनालले आफूलाई त्यस्तो अनुभूति भएको बताएका हुन्।
‘जतिबेला पार्टी विभाजन गरियो, त्यो गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु। एमालेमा जुन विद्रोह गरियो। अहिलेसम्म पुष्टि नै भएन। पुष्टि नहुनुको अर्थ गलत भयो। मलाई त्यो अनुभूति भयो,’ खनालले भने।
खनालले एमाले कम्युनिस्ट आन्दोलनको राम्रो संस्था भएको बताए।
‘एमाले संस्था हो, नेपाली कम्युनिष्ट आन्दोलनको राम्रो संस्था बनाइएको थियो’, खनालले भने, ‘त्यो संस्थालाई छाड्ने, विद्रोह गर्ने कुरा गलत भयो।’
उनले अब नेपालका वामपन्थी शक्तिहरूको एकता गर्नुपर्ने बताए। ‘त्यो दिन आउँछ। यिनै नेताहरूले गलत गरिएछ भन्ने दिन आउँछ’, खनालले भने।
अन्तर्वार्तामा खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनु अस्वभाविक नभएको टिप्पणी गरेका छन्।
'पूर्व राष्ट्रपतिले राजनीतिमा लागिरहन्छु भन्ने अस्वभाविक कुरा थिएन, म स्वभाविक ठान्छु’, खनालले भने, ‘विद्या भण्डारीले ‘एमालेको अध्यक्ष हुन्छु भनिसक्नुभयो। अध्यक्ष हुने भनेपछि अध्यक्ष भइरहनुपर्ने व्यक्तिले टकराव महसुस गर्नुभयो।’
खनालले पार्टीभित्र अध्यक्ष माधवकुमार नेपालले सल्लाह गर्न छाडेको स्वीकार गरेका छन्।
उनले माओवादी केन्द्रसँग एकता गर्ने प्रस्ताव र वामदेव गौतम पार्टीमा आउने विषयबारे आफूलाई औपचारिक जानकारी नदिइएको बताए।
‘कतिपय कुरा थाहा नभएकै हो’, खनालले भने, ‘थाहा नदिइएको हो। औपचारिक रुपमा पार्टीका लिडर र कमिटीको बीचमा छलफल हुन सकेन।’
खनालले माओवादी केन्द्र वा एमालेसँग एकताका लागि आधार तयार नभएको पनि बताए।