नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ।
आज दिउँसो एक बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको सांगठनिक गतिविधिमा समीक्षा हुने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए। माओवादी केन्द्रको स्थायी कमिटी बैठक एक वर्षपछि बस्न लागेको हो।
बुधबार बसेको पदाधिकारी बैठकले स्थायी कमिटी बैठकको कार्यसूची तय गरेको थियो।
कार्यसूचीअनुसार पछिल्लो राजनीतिक घटनाक्रम, सांगठनिक अवस्थाबारे मिहीन छलफल हुने उनले बताए।
त्यस्तै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैली, संसदमा माअोवादी केन्द्रको भूमिकाबारे पनि छलफल हुने उनले बताए।
यस्तै एकीकृत समाजवादीलगायत विचार र दृष्टिकोण मिल्ने कम्युनिस्ट शक्तिहरूबीचको एकताबारे पनि छलफल हुनेछ।
यही स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठकको पनि मिति तय गर्नेछ।
‘पछिल्लो समय विश्व राजनीति नै ध्रुवीकृत हुँदैछ। नेपालका विचार मिल्ने, अग्रगामी विचार भएका वामपन्थी शक्तिहरू मिल्नुपर्छ भन्ने नै हाम्रो दृष्टिकोण हो। यही भएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल अगाडि बढाइरहनुभएको छ। पार्टी एकताबारे पनि यो स्थायी कमिटीले ठोस आधार तय गर्नेछ,’ गजुरेलले सेतोपाटीसँग भने।
त्यस्तै सांगठनिक ढाँचामा परिवर्तन गर्ने, पार्टीभित्र उठिराखेको अन्तरसंघर्षलाई व्यवस्थित गर्नेबारे पनि छलफल हुनेछ।
पछिल्लो समय उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डको कार्यशैलीमा प्रश्न उठाइरहेका छन्। पार्टी आन्दोलन व्यवस्थित गर्नुपर्छ भन्दा अध्यक्षको तहबाटै पार्टी विभाजनको हल्ला चलाइएको र पार्टी छाडेर जानसमेत भनिएको उनको आरोप छ।
अन्तरसंघर्ष चर्किंदा जाँदा आन्दोलनलाई क्षति पुग्ने भएकाले यसलाई व्यवस्थिति बनाउनुपर्ने धारणा सदस्यहरूको रहेको गजुरेलले जानकारी दिए।